यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कथा : यो कथा होइन

saturday-fiction ४६ साल तिरको कुरो हो। बहुदलको आगमनसँगै नेपालीहरुमा बैदेशिक रोजगारीमा जाने लहर चल्यो। म भर्खरै एसएलसी दिएर बसेको थिएँ। गाउँमा म भन्दा सिनियर दुइजना जो आइ ए पढ्दै हुनुहुन्थ्यो , एक जना गुरुङ र एकजना छेत्री दाइ आएर भन्नु भयो – ‘ओइ केटा सिंगापुर जाने हो ?। राम्रो कम्पनिमा काम छ रे , दुई वर्षको भिसा लाग्छ। जाने भए हिड हामी संग ‘।

मैले नजाने कुरा गरें। त्यसको केहि महिनामा वहाहरु पढाई सढाई हापेर सिंगापुर तिर उड्नु भयो। दुवैजनाले एकै कम्पनीमा राम्रो काम पाएका छन् अरे , खुब पैसा कमाएका छन् रे भनेर गाउँमा चर्चा चल्न थाल्यो।

मैले आइ ए पनि सक्नु , वहाहरु दुवैजना तामझामका साथ् नेपाल फर्किनु संगसंगै जसो भयो। गाउमा वहाहरुको शाननै बेग्लै थियो – नया कपडा ,जुत्ता , सिको घडी , कालो चस्मा , सोनी वाकमेन। यी सबै देखेर आफु उनीहरुसंग विदेश नगएकोमा खुब पछुतो लाग्यो। दुवैजनाले फर्किदा नगद एक -एक लाख पनि ल्याएका रहेछन। त्यो बेलाको एकलाख रुपिया भनेको नि ठुलै रकम हो।

छेत्री दाइ अल्लि बाठो खालको हुनुहुन्थ्यो। त्यो एकलाखले चितवनको पर्यटकीय ठाउँ सौराहामा पाँच कठ्ठा जग्गा लिन भ्याउनु भएछ। गाउमा कुरा काटियो – ‘बाँदर बाठो भयो , त्यस्तो खोलाको बगर किन्यो , एक लाख त्यस्सै डुबायो’।

उता गुरुङ दाइले भने ५५ हजारमा १४ इन्च सोनी रंगीन टिभी र ४५ हजार हालेर भी . सी . आर . डेक किन्नु भयो। हाम्रो गाउँमा पहिलो रंगीन टिभी र भी .सी आर भएको घर वहाकै मात्र थियो। त्यसपछिका दिनहरुमा गाउँलेहरुको अगाडी वहा ‘हिरो’ जस्तो हुनुभयो।

जहा गएपनि चिया नास्ता खुवाउने , दिल खोलेर खर्च गर्ने गुरुङ दाइको पछिपछि हुल मान्छेहरु हुन्थें। म पनि त्यही हुलमा मीस्सिन्थे कहिले काँही। घरमा टिभी , फ्लिम हेर्न आउनेहरुको सधैको भिडभाड। सम्पूर्ण रामायण ,महाभारत जस्ता धाराबाहिक आउने बेलामा त वहाको घर-आगनमा खुट्टाहाल्ने ठाउँ हुन्थेन। गुरुङ्ग्नि भाउजु त्यहा उपस्थित सबलाई चियानास्ता बनाएर खुवाउनु हुन्थ्यो। सोचाई आउँथ्यो – काश ! म पनि गुरुङ दाइ जस्तै हुन पाए !

त्यसको केहि समय लगत्तै गाउँ छोडेर हाम्रो परिवार बजारतिर बसाई सराइ गर्यो। गाउँको हालखबर त्यति धेरै थाह हुन छोड्यो। अस्तिको पाली नेपाल छुट्टीमा जाँदा आफु जन्मेको गाउँठाउँ हेर्ने रहरले त्यहा पुगेँ। सबभन्दा पहिले उही गुरुङ दाइलाइ भेट्ने रहर पलायो – सोच्दै थिएँ ‘ सबको हाईहाइ गुरुङ दाइ कस्तो हुनु’भो होला ?।

दाइले पहिलेको शानको पुर्खेउली बार्दली हालेको घर बेचेर , गाउको पुछारमा सानो घर बनाउनु भएको कुरा थाह पाएँ। गाउँकै एउटा फुच्चेकेटोले वहाको बस्ने बास देखाई दियो। देख्नासाथ दाँतमा ढुंगा लाग्या जस्तो भयो। घर के भन्नु ? झुप्रो भनम न त्यसलाई , त्यहिपनि अब्यबस्था र फोहोरको थुप्रो लागेको। झ्याल बिहिन अँध्यारो कोठाहरु भएको घरभित्र पस्नासाथ एकप्रकारको नमिठो गन्धले उल्टी होला जस्तो भयो।। गुरुङ दाइ मैलो न मैलो डस्ना भएको खाटमा ढल्केर बर्सौं पुरानो च्यातिएको टिशर्ट र जिन्स पाइन्टमा त्यहि १४ इन्चको थोत्रो टिभी हेर्दै हुनुहुदो रहेछ। मलाई केहिबेर असमंजको भावले हेरेपछी चिन्नु भयो र शुस्क स्वरमा भन्नु भयो – ‘ केटो कहिले आइस इजरेलबाट ?।

मैले उत्तर दिने मेलोनै नभेट्टाई प्रतिप्रश्न गरेछु – ‘ दाइ ! के हालत हो यो ?’।

वहाको आँखामा छुट्याउन नसकिने बिभिन्न भाव तैरियो। शायद आफ्नै अतितको गर्भमा पुग्नुभयो क्यारे। एकछिनको तन्द्राबाट ब्युझिएर भन्नुभयो -‘ देख्दै छस नि भाइ , मेरो हालत। यो सब आफ्नै बुद्दिले बनाएको हुँ , यसमा कसैको दोष छैन।’

‘अनि भाउजु खोइ त ?’

शायद मैले वहाको घाउमा नुन छर्किदिएछु , मेरो सोधाईले मर्माहत जस्तै हुनुभयो। उत्तर नपाउदै वहाको अनुहारबाटै थाह पाएँ – भाउजु अन्तै हिडी सकिन। हुनपनि को नै बस्थ्यो र ? यस्तो हालत हुनेसंग।

‘केटो ! त्यो बेलामा एक लाखले किनेको यो टिभी र भी सी आर … भी सी आर त बिग्रीसक्यो म जस्तै के मुल्य हुनु र ?….. यै टिभी अहिले बेचें भनें कति आउला ?। फिस्स हास्दै म तिर वहाको अल्लि अनौठो प्रश्न तेर्सियो।

के भनु के भनु भयो। तैपनि भन्दिहालें ‘खोइ दाइ , अहिले त यसको के मुल्य पाइएला र ?। त्यस्तै ४ -५ हजार जाला …. नयानै ८-१० हजारमा आउछ।’

”तलाई थाह छ ? म संगै फर्किएको त्यो छेत्री के तनि ! .. सबले बाँदर बाठो भयो खोलाको बगरमा पैसा हाल्यो भन्थें नि। साच्ची मैलेपनि त्यहि सोच्या थिएँ त्यो बेलामा …. आजको भाउमा त्यो जग्गाको मुल्य करोड भन्दा बढी आउँछ। अहिले उसले त्यै ठाउमा टुरिस्ट होटेल बनाएको छ। उ संग निजि कार छ। १२-१५ जना कामदारहरु छन्।, बैंक ब्यालेन्स छ। श्रीमती जहान बच्चाहरु छन्। यी सारा गाउले पनी अहिले उसैको चर्चा परिचर्चा गर्छन। भलै , उसको गाउ प्रतिको देन भनेको यिनीहरुलाई कारले उडाएको धुलो खुवाउनु मात्र रहेको छ। बोल्दा पनि पैसो पर्ला जस्तो गर्छ उ। तैपनि उसैको गुणगान हुन्छ। मैले नबुझेको कुरो , म यिनीहरुकै सुख दुखमा काम आउछु। मलामी जान कसैको छुटाउदीन। कसैको असजिलोमा आर्थिक नसके पनि भौतिक सहयोग गर्न कहिलै पछि हट्दिन र पनि यी गाउलेहरु मसंग राम्रो मुखले बोल्न डराउछन्। त्यस्सै तर्किन्छन …. किन होला ?। आज बर्सौंपछि मेरो यो झुप्रोमा छिर्ने तै होस् भाइ।”

गहिरो पिडा मिश्रित अनुहार लाएर खाटबाट उठ्नु भयो। चुल्होको धुँवाले कालो न कालो बनाएको खोपी जस्तो ठाउबाट चुरोट र सलाई निकालेर सल्काउदै भन्नुभयो – ” कुनैबेला सारा गाउँलेहरु मेरो पछिपछि लाग्दा एकपल्ट तैले भन्या थिस’ओइ – ‘ दाइ ! म पनि तपाई जस्तै हुँन चाहन्छु ‘ भनेर …. आज तलाई भन्दैछु ‘भाइ ! तँ ,न यो गुरुङ जस्तो हुनु , न त्यो छेत्री जस्तो ‘।”

हामी दुवै धेरैबेर एकार्कालाइ हेर्दै बसिरह्यौं।

10 comments to कथा : यो कथा होइन

  • Sam Sharma

    सस्मरण कथा राम्रो र बस्तुपरक छ / तर निष्कर्ष अलि अधुरो लाग्यो / दुवै (गुरुङ र छेत्री) जस्तो नहुनु भनिएको रहेछ तर कस्तो हुने भन्न यश जी चुक्नु भएछ / मेरो निष्कर्समा अबको समयमा निश्चित पैसा (आफ्नो गास, बास, र कपास को जोहो भएपछी) समाज र देशको आर्थिक उत्थानमा खर्चिनु उचित हुनेछ / ब्यक्तिगत पैसा वा सम्पत्ति कति भए पुग्छ भन्ने कुरा आफ्नो ब्रम्ह (आत्मा) ले निर्णय गर्ने कुरा हो / साधा जीबन बाच्न सिकौ र पैसा खरानी बनाउने नराम्रो लत (नशा वा आदत) मा नलागौ / बरु बचेको पैसाले आ-आफ्नो गाउमा आम्दानि सिर्जना हुने सामुदायिक साना (वा ठुला) कृषि- ब्यापार वा उद्दोग खोलौ र नाफाको निस्चित प्रतिशत स्थानीय बिकाशमा खर्च गरौ / गरिब किसान र गाउलेहरुलाइ यस्ता ब्यबसाय मार्फत रोजगार देऔ / धन्यबाद /

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 2

  • समयको माग बुझ्न जरुरी छ !! राम्रो सन्देस दिएको छ कथाले !!

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 3

  • Bishnu Adhikari

    भगवानले सबैलाई एक चोटी अवसर दिन्छन रे मात्र सो अवसर लाइ पहिचान गर्न र सहि सदुपयोग गर्न जसले जान्यो उही मान्छे सफल भयो / बस येही नै फरक हो गुरुङ दाई को र क्षत्री दाई को पनि /
    बिष्णु अधिकारी

    मन परे हरियो नपरे रातो ! Thumb up 13 Thumb down 2

  • ramesh babu

    – ” कुनैबेला सारा गाउँलेहरु मेरो पछिपछि लाग्दा एकपल्ट तैले भन्या थिस’ओइ – ‘ दाइ ! म पनि तपाई जस्तै हुँन चाहन्छु ‘ भनेर …. आज तलाई भन्दैछु ‘भाइ ! तँ ,न यो गुरुङ जस्तो हुनु , न त्यो छेत्री जस्तो ‘।”
    खै के भन्नु ? आफ्नो पनि हालत गुरुङ कै होला होला जस्तोपो लाग्छ ! म आफैले काम सिकाएको , आइडिया दिएको र काम गर्ने केटा साथीभाई हरु २-३ जना धेरै सम्पति भएर सम्पति सुद्रिकरण मा मुद्दा खेप्दै छन् , कोहि ४-५ जना त सभासदै भएर मोज गर्दैछन , पहिला मोटर साइकल नहुने साथी भाइको अहिले ल्याण्डक्रुसर र पजेरो मात्र देख्छु आफनो चाही उही पुरानो गाडी र डेराकै बसछ तर पनि ति धपधप बलेका संसारलाई कमिला झैँ देख्ने साथीभाई मेरो आघिल्तिर पर्दा अलि हिच्किचाउछन तेहीनै गर्ब लाग्छ! हेर्दै जाउ अझ केके देख्न पाइन्छ ! जिन्दगि येस्तै येस्तै हुदोरैछ !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 1

  • BT Malla

    येश जी, कथाको रुपमा वास्तविक घटना लाई प्रस्तुत गर्नु भयो, धन्यवाद / यो आम घटना हो, भएका छन् र हुँदैन पनि छन् / यो कथा पढे पछि कोहि पनि एस्तो दुर्घटनमा न परुन / बाच्नु त छदैं छ तर धेरै दुखमा पनि पर्नु हुँदैन र धेरै सुखमा पनि भुल्नु हुँदैन ///

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 1

  • Utsav bhatt

    दुख पाईस मंगले आफ्नै ढंगले !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

  • हाम्रा नेता हरु नि त्यस्तै हुन् खुब मोजमस्ती गर्न पर्छ

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 2

  • Suraj Shrestha Maskey

    मानिसको जीवनको दौरानको कुरा गर्दा यौटा कुरा भन्न मन लाग्द छ:

    “भाग्यमा जे छ त्यो भन्दा धेरै पाईदैन र समय भन्दा अघि केहि हुदैन”

    मेरो बिचारमा कता कुन बेला सहि वा गलत निर्णय हुन्छ, तर कोशिस गर्दै रहनु पर्दछ !!!

    सुशील कोइराला जवानीमा होलिवुड गएको भए अहिले नेपालको प्रधानमन्त्री अरु कोहि हुने थियो !
    बाबुराम भट्टराईले नेपाल सरकारको छात्रवृति अनुसार सरकारी सेवा गरेको भए ?
    सुर्य बहादुर थापाले लोकसेवा आयोग गरि सरकारी सेवामा गरेको भए ?

    येस्ता धेरै कथाहरु छन्
    बिलगेटले बिचैमा पढाई न छोडेको भए ?
    दीपक बोहराको शैक्षिक प्रमाणपत्र बारे प्रश्न न उठेको भए ?

    राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गतेको कदम न उठाएको भए ?

    सुरज श्रेष्ठ मास्के

    मन परे हरियो नपरे रातो ! Thumb up 22 Thumb down 1

  • सारै राम्रो ! कथा होएन यो त हाम्रो समाज मा घटेका वास्तविक घटना हरु हो.

    मन परे हरियो नपरे रातो ! Thumb up 15 Thumb down 3

  • kedar

    मती हुनेको बुद्धि हुँदैन
    बुद्धिवाल हुँ भन्नेको मती भ्रष्ट
    भनेको येही हो

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 3