यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

डायस्पोरा साहित्य कि डलर साहित्य ?

-पंचम अधिकारी-

लाखौं नेपालीहरूले समुन्द्र तरेपछि नेपाली स‍ंस्कृति र साहित्यले पनि सात समुन्द्र पार गरेको छ। समुन्द्रपारको साहित्य ‘डायस्पोरा साहित्य’ रूपमा चर्चित बन्दैछ भने कसैकसैले ‘डलर साहित्य’ पनि भनेको सुनियो। पश्चिमी देशतिरको भनेपछि हिजोआज डलर वा युरोको ट्याग लगाइदिने चलन जो फस्टाइरहेको छ!

हालै एक अनलाइनमा ‘डलर साहित्य’ देखेपछि मेरा आँखा टाठा भए। पढेपछि लाग्यो- ‘यो त ‘टेबलोइड’ लेख रहेछ- साहित्य बारे।’ चर्को विशेषणले धेरैको आँखा त तान्छ, तर विषयवस्तुको गाम्भीर्यता चाहिँ फास्सफुस्स भएपछि त्यो मर्छ। टुकुचामा बगाइ दिए हुन्छ।

उसो त नेपाली ‘डायस्पोरा’ साहित्यको शब्दप्रति नै सहमति-विमति छ। तैपनि, त्यसले दर्शाउन खोजेको अर्थको सारलाई लिउँ। बिचरो नवजात ‘डायस्पोरा साहित्य’ बामे सर्न नपाउँदै कलिलैमा डलर र गफाडीको संज्ञा पाउन थालेको छ।

डायस्पोरा लेखनको बारेमा जान्न त्यहाँको वास्तविकता बारे बुझ्नु जरूरी छ। व्यवसायिकता धेरै उन्नत नभए पनि नेपालमा एकथरि मान्छेहरू छन् जो बिहान उठेदेखि नसुतेसम्म लेखन कै बारेमा चिन्तन गर्ने र त्यसैसँग सम्बन्धित पेशा गर्छन्। डायस्पोराका लेखक भनेका चाख वा रहरले लेख्ने हुन्। तिनको पूर्णकालीन पेशा नितान्त फरक हुन्छ। प्रायशः तिनको स्कुलिङ नेपाल कै सेरोफेरो हो। बस् ! डलर/युरो फल्ने देशमा बस्छन्। केही डलर कै रामरमाइलोमा भुल्छन्। केही आफ्नो माउ देशको भाषा-संस्कृतिप्रति माया राखेर स्वअध्ययनले लेख्छन्। त्यो लेखनले न तिनले डलर फल्ने देशमा कुनै ‘पेनी’ पाउँछन्, न माउ देशका प्रकाशन गृहले फुटेको पैसो दिन्छन्। सीधाभन्दा, आत्मरतिका लागि वा शौखका रूपमा लेख्छन्।

निश्चित रूपमा, नलेख्नेको बीचमा लेख्नेको चर्चा हुन्छ। लेख्नेहरूको हुल भएपछि स्तरीय लेख्नेको नाम हुन्छ। प्रतिस्पर्धा बढेपछि नै स्तर उकासिने हो। सुन्तलाको बोट पनि भोलिपल्टै हर्लक्क हुर्कंदैन।

जर्मनीमा ६ हजार फुटबल क्लब छन्। त्यसैले त्यहाँ फुटबल धेरै खेलिन्छ र स्वभावतः प्रतिस्पर्धा पनि प्रचण्ड छ। अनि त अब्बल दर्जाको राष्ट्रिय टीम छ। साहित्य पनि त्यस्तै हो। जुनसुकै साहित्यमा पनि थुप्रै लेखिन्छन्। थोरै पठनीय-मननीय हुन्छन्, र अत्यन्त न्यून ‘मास्टर पिसेज्’ बन्छन्। घरदेशकाले लेख्दा पनि त्यही हो, परदेशकाले लेख्दा पनि त्यही हो।

थोरै लेखेर धेरै चर्चा खोज्नु पनि ‘सार्वभौमिक सत्य’ नै हो। फोकटमा मान्छेले किन लेख्छ? मान-सम्मान खोजेर नै हो। मान्छेले जीवनमा अनेक रस्साकस्सी गर्छ, मान-सम्मान कै लागि। मोफसल, काठमान्डु खाल्डो र डायस्पोरा जो जहाँ भए पनि सबैलाई मान-सम्मान पाउँला, कदर होला भन्ने लोभ हुन्छ। जसले त्यसभन्दा माथि उठेर लेख्छ, ‘निर्वाण’ पाएछ भन्दा हुन्छ।

अझै पनि नेपाली साहित्यमा समीक्षा गरिदिने र चर्चित बनाइदिने भनेको काठमाडौंका मुस्किलले औंलामा गन्न सकिने ‘समिक्षक’ हरूको एकाधिकारको कुरा हो। तिनैले कुशल लेखकलाई छायाँमा राखी राख्न सक्छन् र औसत लेखकलाई ‘नामूद’ स्रष्टा बनाइदिन सक्छन्- तात्कालिक अवधिका लागि। त्यसैले त, पछिल्लो केही वर्षहरूलाई हेर्दा तिनैको चर्चा छ जो मिडियामा साहित्यको बिट समात्नेका नजिक छन्।

सबैले अत्युत्तम दर्जाको लेख्छन् भन्ने छैन। को अब्बल दर्जाको हो भन्ने कुरा समयान्तरले देखाउने हो। हो, कसैको लेखनमा शब्दहरू गुञ्जन्छन् र मनको तालमा लय मिल्छ। लेखनमा एक त रचनात्मक पक्ष हुन्छ, अर्को यान्त्रिक पक्ष हुन्छ र त्यसको परख गर्ने पाठक हुन्छ। रचनात्मक पक्षमा महान पात्रहरू, दामी डायलग, चखिलो कथावस्तु आदि आउँछन्। यान्त्रिक पक्षमा ब्याकरणको महत्व, शैली, भाव, भाषिक प्रयोग, एकरूपता जस्ता कुराहरू पर्छन्। पाठकको रूचि अजीबको पक्ष हो। त्यो ‘ट्रिकी’ बन्नसक्छ। सामान्यतः लेखनमा रचनात्मक र यान्त्रिक पक्ष दरो भए पाठकको मन जित्न सकिन्छ, तैपनि पाठकको प्रतिकृया अप्रत्यासित हुनसक्छ।

रचनात्मकता र लेखन कला दुबै नभएरै पनि ठूलो पाठक बनेका उदाहरण प्रशस्त छन्। खासगरी समसामयिक घटना बारे लेख्दा त्यस्तो भएका पाइन्छन्। लेखन राम्रो-नराम्रो मान्ने कुरा वैयक्तिक हो। कुरा यत्ति हो, धेरै लेखिनुपर्छ। विदेशमा बस्नेले लेखे डलर साहित्य, धनीले लेखे बुर्जुवा साहित्य, अनि मोफसलकाले लेखे पाखे साहित्य भनेर हाँसो गर्नु सर्जकको सराहाना गर्न नजान्नु हो।

पुस्तक लेख्दैमा धेरै आशा गर्ने कुरा हुँदैन, तैपनि लेख्नेको कदर र मूल्याङ्कन हुनै पर्छ। लेखनमा प्रतिस्पर्धा र व्यवसायिकता होस्, गुणस्तर त्यहीँबाट ठाडो उकालो लाग्छ।

[अधिकारी हाल बेल्जियमको ब्रसेल्समा बस्छन्]

12 comments to डायस्पोरा साहित्य कि डलर साहित्य ?

  • Bhibhian Shrestha

    पंचमजीको लेख मलाई बेस्करी मन पर्यो | उहाँको उपन्यास ‘पथिक प्रवासन’ मैले पढेको छु । सायद पछिल्लो ५-६ वर्षमा राम्रो लेखीकन पनि चर्चामा नआएको थोरै पुस्तकमा पर्छ यो । रामजी ले भने झैं डायस्पोरामा slc का नानीले लेख्ने जस्ताले चर्चा पाउने तर इज्जत नहुने भएकोले यस्तो भएको हो ।

  • Ram Rasaili

    एक नेपाली मूल कि अमेरिकी कथाकर कवि छिन्। यिनको लेखाइ slc को नानिहरु जस्तो छ। पैंतिस बर्स भयो रे लेख्न थालेको। यिनिहरु जस्तैले डुबाएकाछन् डाय्स्पोराको लेखनिलाई। फेरि यिनिहरुको किताब छापेर नै डलर तान्न सकिन्छ भनेर नेपालकाले बुझेकाछन्। दुबैलाई फाइदा, घाटा पढ्नेहरू र स्तरिय खोज्नेलाई। नेपाली साहित्यले त्यस्ता स्वघोषित ‘आचर्य’हरुको मूर्खकारीताबाट कहिलयै चोखिन पाएन।

  • साहित्य स्तर उकास्न वा संख्या थप्नका लागि हुनुपर्ने हो कि असल समाज निर्माणमा योगदान गर्नका लागि ?
    िनेपाल अधिराज्यको भूभाग भित्रको होस चाहे प्रवासको, नेपाली साहित्यलार्इ कसले कहाँ कति सकारात्मक योगदान गर्यो भन्ने तराजुमा जोख्न राम्रो हुन्छ भन्ने मेरो धारणा छ ।
    साहित्यले यथास्थितिको वकालत पनि गर्न सक्छ र अग्रगमन तिर डोर्याउन योगदान गर्न पनि सक्छ । समाज सुधार तथा असल समाज निर्माणमा योगदान गर्ने साहित्यलार्इ राम्रो गुणको मान्ने कसी तोक्नु पर्छ भन्ने आजको आवस्यकता हो ।

  • पंचम अधिकारीज्यूको लेख सन्तुलित र समसामयिक छ | मलाई चै खूब मन पर्यो |

  • पंचम अधिकारी

    स्तरियताको सवाल र लेखनको कदर भन्ने (सिक्काका) दुई पाटाहरू बारेमा नै विचारहरू आएका हुन् । बादेशको कमेन्ट रमाइलै लाग्यो । … व्यंगको पनि टेक्ने आधार हुन्छ । हो, डायस्पोराको राजनीति, समाज-सेवा र साहित्य सबै क्षेत्रमा घरदेशको सरूवा रोगले आक्रान्त छ । यसै मेसोमा हामी एकथरि सबैलाई उडाएर सबैथोक हलुका बनाइदिन्छौं । यही हलुका सन्देश प्रोत्साहित नहोस् भनेर मनका छिटफुट कुरा लेखिएको हो । यस्ता लेखहरू र बहशले साहित्यिक उत्थान कै निम्ति मद्दत गर्छ ।

  • shiva

    अमेरिकाका विभिन्न नेपाली समुहका पदमा बसेकाहरुले जे पायो त्यहि लेख/कबिता /कथा छापेर ताई-न-तुइका साहित्यकार बन्न खोजेको देख्दा यो डलर साहित्य नै लाग्छ | होलान केहि त राम्रै होलान तर छाप्नेले स्तर ख्याल नगरेर जे भेटे पनि साहित्य भन्दै छाप्न थालेपछि पाठकले यस्तो अवस्य भन्छन | यसलाई कि पचाएर हिडौ, कि स्तरमा ध्यान दिउँ |

  • आफु पालिन एउटा साधारण जागिर खोज्नको लागी आफ्नो सामान्य सी.भी. सुद्ध लेख्न नजान्ने नेपाली डायास्पोराहरुले नेपालको मुलधार साहित्यमा के योगदान पुर्याउन सक्लान र? एका-दुइ बाहेक, न बिदेशमा बस्ने नेपालीहरुले नेपालको साहित्य राम्ररी बुझेका छन्, न विश्व साहित्य सम्बन्धि नै उनीहरुको पूर्ण ज्ञान छ ! डलरको भर्याङ्ग माथी चढेर साहित्यकारको पगरी गुथ्न खोज्ने अनि बिदेशमा बसेर नेपाली साहित्यमा म केहि गर्छु भन्ने नेपाली साहित्यकारहरुको स्थिति देख्दा दया लगेर आउछ !

  • krishna thapa

    दूबै को लेख पढियो । शिव प्रकाश जि को ब्यङ्य भने पनि अाशय बिबादित छ । पंचम जि को लेख सामयिक् लाग्यो । समग्र मा दूबै लेखन राम्रो हो ।

  • बादेश

    मैलेपनि पढेको त्यो लेखको आशय पंचमजीले बुझ्नु भएन जस्तो छ | तरपनि साहित्यको बारेमा लेख्नु भएका विचार चाहिं राम्रै लाग्यो | तै पनि डलर साहित्य र डायस्पोरा साहित्य एकै ठाउंमा राखेर तौलिनु भएकोले त्यस लेखको चुरो बुझ्नु भएन भनेको हुँ | र यो कमेन्ट लेख्न मलाई बल पर्यो | किनभने शिर्षक नै बिझाउने खालको छ | कहाँ राजा भोज, कहाँ के भने जस्तो |
    डलर साहित्य व्यंग्यात्मक र हेयात्मक नाम हो | नेपालका केहि साहित्यकारहरुले नेपाल बाहिर बसेर रचेका कृतिहरुलाइ स्तर भएन भनेर गरिएको क्षणिक व्यंग्यात्मक टिप्पणी हो | यो शव्द कतैपनि मान्यता वा चर्चाको विषय बनेको छैन | त्यसकारण अधिकारिक पनि होइन, छैन | जबकी डायस्पोरा शव्दको इतिहास निकै लामो छ र नेपाली साहित्यमा यो शव्द भित्रिएको सामान्य एक दशकभन्दा केहि बढि भयो होला | भलै नेपाल बाहिर रचिएका साहित्यलाई डायस्पोरिक भन्ने, नभन्ने, या के भन्ने भन्ने बारे अझै छलफल कै विषय छ | त्यतातिर नजाउँ अहिले | तर एकातिर गहन शव्द बोकेको शव्द र अर्को तिर हल्कासँग लिईएको शव्द एकै ठाउंमा राखेर साहित्यलाई तुलना गर्न प्रयोग गरिएको कुरा पटक्कै ठिक भएन |
    अब लेखकको शिर्षक नै माइ संसारले फेरेको हो भनेपनि ठिक होइन |

  • Bhawana

    डलर साहित्य का शब्दकार चैं व्यंग्य विनोदी विवादास्पद लेखक शिव प्रकाश नै हुन् ।
    पंचमजीले पनि वहसमा ल्याउनु भो राम्रो गर्नु भो । प्रवासी नेपाली साहित्यले पैसाका वलमा क्वान्टिटी मात्र दियो क्वालिटी दिन सकने भने प्रवासी नेपाली साहित्यप्रति हामी पाठकको वितृष्णा अझ बढ्न सक्छ ।

  • उपासक उदास

    ….”पुस्तक लेख्दैमा धेरै आशा गर्ने कुरा हुँदैन, तैपनि लेख्नेको कदर र मूल्याङ्कन हुनै पर्छ। लेखनमा प्रतिस्पर्धा र व्यवसायिकता होस्, गुणस्तर त्यहीँबाट ठाडो उकालो लाग्छ।”
    …” मान्छेले जीवनमा अनेक रस्साकस्सी गर्छ, मान-सम्मान कै लागि। मोफसल, काठमान्डु खाल्डो र डायस्पोरा जो जहाँ भए पनि सबैलाई मान-सम्मान पाउँला, कदर होला भन्ने लोभ हुन्छ। जसले त्यसभन्दा माथि उठेर लेख्छ, ‘निर्वाण’ पाएछ भन्दा हुन्छ।”
    यी दुइटा कुराहरुलाई लेखक र पाठक मात्र होइन समालोचक र समिक्षक ले पनि गम्भिर रुपले मनन गरेको खण्डमा नेपाली साहित्य ले पनि विश्व रंग मन्चमा आफ्नो ठाउँ लिने निश्चित छ, यसमा कसैको विमति होला जस्तो लाग्दैन.

  • nabin

    पंचम जी खुसि लग्यो तपाइको लेखन कला तपाई जहाँ भए पनि अनवरत लागि रहनुस धेरै धेरै शुभ कामना