वसन्तपुरको ट्युसन सेन्टरमा दुई किशोरीमाथि तेजाब छ्यापेको घटना तीन साता बित्न लागिसक्दा पनि प्रहरीले दोषी पक्रन सकेको छैन। अधिकारीहरु ९० प्रतिशत अपराधीनजिकै पुगिसक्यौँ भनेर गफ दिन्छन्। तर बाँकी १० प्रतिशत कहिले पूरा हुने हो टुङ्गो छैन। एक किशोरी त निकै गम्भीर घाइते भएकी छिन्। अर्की किशोरीको वीर अस्पतालमा उपचार जारी छ। उनले अस्पतालको बेडबाटै प्रधानमन्त्री सुशील कोइरालालाई चिट्ठी लेख्दै भनेकी छिन्- ‘कानुन किन बनेको ? यस्तो समस्या समाधान गर्न होइन? हामीमाथि एसिड आक्रमण भएको आज १७ दिन भइसक्दा पनि एक जनालाई पनि पक्राउ गर्न सफल नभएको देखिन्छ।’
उनले अपराधीलाई फाँसीको सजाय दिनु पर्ने माग गर्दै लेखेकी छिन्, ‘प्रधानमन्त्री सुशील कोइराला ज्यु, म यति चाहन्छु कि म र संगीतामाथि एसिड प्रहार गर्ने पापी त्यो अपराधीलाई कानुनी दायरामा ल्याई फाँसीको सजाय होस्।’ पत्रको पूर्ण विवरण पढ्नुस्।
पिडित भन्दा पिडकको पृष्ठपोषणमा अधिकारवादीको हुल र बल ठूलो छ । अधिकारवादीहरू अपराधी र अपराधको विरुद्ध नभै अपराधिको संरक्षणमा कुदेका दृष्टान्त छन् । हत्याराले दसौँजना मारे पनि हत्याराको बाँच्न पाउने अधिकार हनन भएको देख्ने अधिकार कर्मीहरू छन् यो देशमा । मृत्युदण्ड त नेपाली कानुनले पहिले नै “हटाइ सकेको” भन्ने कानुनका हर्ताकर्ताको बलका अगाडी यो माग फितलो बन्छ । तर केही समय यता यस्ता एसिड प्रहार, बलात्कार र तत् पश्चात हत्या जस्ता जघन्य घटनाको बढोत्तरीसँगै मृत्युदण्डको आवस्यकता महशुस हुन थालेको छ । नराम्ररी बिथोलिएको सामाजिक चालचलन र भाँडिएको आचरणसँगै मृत्युदण्ड रिसिवि साँध्ने माध्यममा परिणत हुनसक्छ । आर्थिक जलखेल, पहुँच र बलको प्रयोग गर्दै निर्दोषहरू मारिने माध्यम पनि मृत्युदण्ड बन्न सक्छ भन्नेमा सचेत रही निष्पक्ष न्याय प्रणालीको विकास गरिनु जरुरी हुन्छ ।