यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

क्यानाडाको निरीह जीवन चक्र

  • शुरुका केही क्षणहरु क्यानाडाको मोहले गर्दा बितेमा भान नै भएन। एक महिनापछि जब कोठा भाडा तिर्नु पर्ने भयो, तब म त झसंग भए। एक महिनाको कोठा बहाल मात्र करिब ७५ हजार रुपैयाँ लाग्यो। यसरी नै नेपालबाट ल्याएको पैसा मास्ने हो भने त ३ महिना पछिबाट के खाउँ र के लाउँ हुने भयो। भोलिबाट त मेरी श्रीमती पनि डलर कमाउने, वाह क्या मजा। यस्तै यस्तै कुराहरु मनमा खेलाउँदा खेलाउँदै बिहानको ३ बजेको याद नै भएन।
  • काम गर्ने क्रममा त्यही फास्टफुडमा काम गर्ने एक जना सहकर्मीसित मेरी श्रीमतिको चिनजान भयो। उ मेरो डेरा नजिक बस्दथ्यो। क्यानाडामा बसेको केही वर्ष भैसकेकोले उसँग गाडी थियो। काममा जान आउन कति पनि विचलन भएको देखिँदैन थियो उ। सँधै एकै ठाउमा काम गर्ने, अनि बसाईँ पनि त्यति फरक नभएकोले गर्दा कहिलेकाहीँ सारो गारो पर्दा कामबाट फर्कने बेलामा मेरी श्रीमति पनि उसँगै आक्कलझुक्कल आउने गर्थी। यो क्रम सँगसँगै अब त कहिलेकाहीँको उनीहरु बीचको यात्रा अक्सर नै हुन थाल्यो।
  • कहिलेकाहीँ यसो फूर्सदको समयमा शहरभित्रका सीमित नेपाली साथीभाइहरुसँगको भेटघाटमा कहिलेकाहीँ नकारात्मक टिकाटिप्पणी हुने गरेको पनि देखेको थिएँ। आज फलानो र फलानी पार्कमा देखेको, फलानोले त फलानीलाइ सँधै काममा पुर्‍याउने/ल्याउने गरेको, फलानो/फलानीहरु २/४ जना भेट हुनै हुँदैन सबको नराम्रो कुरा मात्र काट्छन, फलानोहरु त भेट हुने बितिकै केटीहरुको बारेमा नराम्रा कुराहरु मात्र ओकल्छन, फलानोले त के के बहाना बनाएर त्यो केटीलाई कामबाट कोठामा पुर्‍याइ दिन्छे, फलानीसँग त घरबहाल पनि लिँदैन रे, मैले गर्दा त फलानोले कम्पनीमा काम पाएको रे, फलानोको श्रीमति त अरु नै देशको मान्छेसँग पोइल गयो रे आदिआदि कुराहरु। यस्तो बेलामा कता कता यी बज्याहरुले कतै मलाई त सीधै नभनेर बंग्याएर भन्दै त छैनन् जस्तो पनि लाग्छ।
  • उफ् मलाई कुरा कोट्याउन पनि कति गाहो भएको ! यो सम्बन्धको कुरा त मेरो लागि “नखाउँ भने दिनभरको शिकार, खाउँ भने कान्छा बाउको अनुहार” भन्ने उखान जस्तो भएको छ। नभनुँ त मेरो मन कति समयदेखि चयनसँग बसेकै हैन, जतिखेर पनि यही कुरा खुलदुल भैरहने, भनुँ भने श्रीमति बम बिस्फोट भए जस्तो गरी पडकिने पो हो कि भन्ने डर । एकतिर मनको बह, अर्कोतिर विस्फोटको डर ।

आउँदा हप्ताहरुमा क्यानाडाको सेरोफेरोमा रहेर नियमित रुपमा ब्लग लेख्‍नेछु भन्दै विवश असन्तुष्टिका नाममा ७ वर्षअघि ब्लग शृङ्खला सुरु भएको थियो। चार शृङ्खलापछि तीता प्रतिक्रियाहरुका कारण यो सुचारु हुन सकेन। त्यतिबेला पढ्न छुटाउनु भएकाहरुका लागि चारै भाग एक साथ आर्काइभ ब्लग अन्तर्गत आज राखिएको छ। ब्लगको सुरुमै लेखकले सचेत गराएका थिए- ब्लगहरु खास गरी वास्तविकतामा आधारित हुनेछ तर त्यसमा उल्लेख गरिने पात्रहरुको नाम छद्म हुनेछ। औषधि तीतो हुन्छ भने झै वास्तविकता कसै-कसैको लागि अपाच्य पनि हुन सक्छ।

निरीह जीवन चक्र

By -विवश असन्तुष्टि/क्यानाडा- पहिलो पटक प्रकाशित July 15th, 2008

जीवन चक्र पनि कस्तो अचम्मको हुँदो रहेछ। परिस्थितिसँग जहिले पनि निरीह बन्नु पर्ने। विधिको विधान हो कि प्रकृतिको नियत हो कुन्नि, यसलाई कसैले पनि नकार्न सकिँदो रहेनछ।

नेपालमा छँदा मुलुकको बिग्रँदो परिस्थितिले गर्दा मन विचलन भयो। जीवनयापनको साथसाथै सन्तानको समुन्नत भविश्यको कल्पनाले गर्दा अधबैँशको उमेरमा पनि विदेश पलायन हुने रहर चल्यो। यसै सिलसिलामा एउटा परामर्श कम्पनीसँगको परामर्श लिएर क्यानाडामा स्थायी बसोबासको लागि प्रकृयाको थालनी गरेँ। स्वदेश तथा बिदेशमा आर्जन गरेको शिक्षा, सीप तथा अनुभवले गर्दा विदेश पलायन हुने सपना साकार हुन खासै दौडधुप गर्नु पनि परेन। त्यसमा पनि गतिलो परामर्शदाताको परामर्शले निर्धारित समयमा नै सम्पूर्ण प्रकृया पूरा भयो।
क्यानाडाको नियमानुसार उनीहरुको देशमा स्थायी बसोबास हुन ४ जनाको (म, श्रीमती, छोरा र छोरी) परिवारको लागि करिब २० हजार क्यानेडियन डलर साथमा लानु पर्ने रहेछ। २० वर्ष नेपालमा काम गरेर साचेको केही जोह, अन्य श्रोत खुलाउन नसकिने श्रोतको आम्दानी र सरसापटी गरेर रकमको ब्यवस्था गरेँ। जानको लागि हवाइजहाजको टिकट पनि लिए।

अनगिन्ती महत्वाकांक्षाका साथ जाडोको शुरुवातमा क्यानाडामा अवतरण गरेँ। मित्रजनको सहयोगमा बासको ब्यवस्था पहिला नै मिलाई सकिएकोले चिसोमा कठ्याङ्ग्रिनु परेन। विश्वमा नाम चलेको देशमा भविश्यको खाका कोर्न पाएकोमा म आफूले आफैलाई भाग्यमानी ठानेँ। शुरुका केही क्षणहरु क्यानाडाको मोहले गर्दा बितेमा भान नै भएन। एक महिनापछि जब कोठा भाडा तिर्नु पर्ने भयो, तब म त झसंग भए। एक महिनाको कोठा बहाल मात्र करिब ७५ हजार रुपैयाँ लाग्यो। यसरी नै नेपालबाट ल्याएको पैसा मास्ने हो भने त ३ महिना पछिबाट के खाउँ र के लाउँ हुने भयो।

एक महिना पछिबाट काम खोज्नको लागि यताउता भौतारिन थाले। तर ठूलो देशमा सबै कुरा ठूला नै हुँदोरहेछ। हामीले नेपालमा आर्ज्याको सीप, अनुभव, शिक्षा केही पनि काम लाग्ने रहेनछ क्यानाडामा। क्यानाडालाई मात्र ज्यामी आवश्यक भएकोले बिभिन्न देशबाट मान्छे झिकाउँदा रहेछन। म र मेरी श्रीमती निरन्तर रुपमा लागि नै रह्यौँ कामको खोजीमा। दिनहरु बित्दै गए, रातहरु पछ्याउँदै गए तर हामीले भने कामको सुँइको पाउन सकेनौँ। बल्लतल्ल एक महिनापछि मेरी श्रीमतीले एउता फाष्टफुडमा काम पाउने भयो। हामी दुवै जना प्रफुल्ल भयौँ। परिवारमा खुशी छायो। छोरा र छोरी पनि हषिर्त भए। मानौ माग्नेले संसारलाई कल्पे जसरी नै हामीले पनि अनायासै बग्रेल्ती सपनाहरु कल्पी रह्यौँ। भोलिबाट त मेरी श्रीमती पनि डलर कमाउने, वाह क्या मजा। यस्तै यस्तै कुराहरु मनमा खेलाउँदा खेलाउँदै बिहानको ३ बजेको याद नै भएन। अव त जसरी नै निदाउनु पर्‍यो भनेर निदाउने प्रयास गरेँ र कति खेर हो भुसुक्कै निदाएछु।

भाग २
बिहानको ५ बजेतिर छेउमा सुतेकी मेरी अर्धागिनी उठेर काममा जानको लागि हिँडेकोले हो कि वा वातावरण नै चिसो भएको हो बुझ्नै सकिनँ। चिसोको कारणले ब्युँझे। छेउमा सँगै सुतेकी अर्धागिनीलाई छाम्न खोजेँ। तर उनी मेरो ओछ्यान नजिक थिइनन्। अनायास आँखा खोलेर यताउता नजर घुमाएँ तर उनी कोठामा नै थिइनन्।

बिहानको ५ बजे नै काम शुरु हुने भएकोले उनी त बिहानको ४ बजे नै मबाट टाढा भैसकेकी रहिछिन्। वातावरण एकदम चीसो थियो। यति चीसो कि हामी नेपालीहरुले हिमालको काखमा हुर्केको भएता पनि त्यति चिसो महशुस सायदै गर्नु परेन होला। काममा जानको लागि मेरी श्रीमती बिहान ४ बजे नै खाजा नास्ता तयार गरी बसपार्कतिर लम्किसकेकी थिई। धन्य बसपार्क डेरा नजिक नै भएकोले त्यति सारो सिरेटो खप्नु पर्दैन उनीलाई। यहाँ त जाडोको समयमा माइनस २० को तापक्रमलाई त्यति चिसो मानिदैन यति त्यसबेला सिरेटो चलेको छैन भने।
देश अनुसारको भेष भने झैँ क्यानाडामा त काम पनि डेरादेखि धेरै टाढा मात्र पाइँदो रहेछ कि कुन्नि मेरी श्रीमती काममा पुग्न नै करिब करिब १ घण्टा अगावै डेराबाट निस्किसक्नु पर्दोरहेछ। क्यानाडाको हामी नयाँ बासिन्दा भएकोले आफ्नो गाडी थिएन। काम नगरे माम नजुर्ला भन्ने पीर। जहाँ भए पनि कामको लागि जानै पर्‍यो। त्यसमा पनि म बुढो भनाउँदाको कामसाम केही थिएन। धन्न उनको अलिकति टाढा नै भए पनि सानो काम मिलेकोले जोह खर्चनु परेन।

एक दिन होइन दुई दिन होइन, हप्तामा ५, ५ दिन काममा जानु पर्ने। कहाँ सजिलो छ र बसको यात्रामा गन्तब्यमा पुग्न। मेरी श्रीमति नेपालमा छँदा त गृहिणी मात्र थिइन्। तर राम्रा, नराम्रा सबै कुराहरु बाध्यता र विवशताले पनि सिकाउँदो रहेछ। उनी मातृभूमिमा छँदा मातृभाषा बाहेक अरु भाषा सायद विरलै बोल्थिन्। यसको कारणले गर्दा उनीलाई अंग्रेजी भाषा बोल्नमा केही कठिनाइ थियो। अंग्रेजीमा भन्न नजाने पनि भनेको केही हदसम्म सजिलो गरी बुझ्थिन्। आफ्नो गाडी नभए पनि काम पर्दा जस्को गाडी भए पनि सजिलै माग्न सक्थिन् उनी। कहीँ जान गाडी तड्कारो भएन हाम्रो लागि मेरी श्रीमतिको बोलक्कड बानीले गर्दा। चाहे फुर्सदको बेला कहीँ घुम्न जान होस् वा कुनै अवसरमा राति पार्टीमा सामेल हुन होस्।

काम गर्ने क्रममा त्यही फास्टफुडमा काम गर्ने एक जना सहकर्मीसित मेरी श्रीमतिको चिनजान भयो। उ मेरो डेरा नजिक बस्दथ्यो। क्यानाडामा बसेको केही वर्ष भैसकेकोले उसँग गाडी थियो। काममा जान आउन कति पनि विचलन भएको देखिँदैन थियो उ। सँधै एकै ठाउमा काम गर्ने, अनि बसाईँ पनि त्यति फरक नभएकोले गर्दा कहिलेकाहीँ सारो गारो पर्दा कामबाट फर्कने बेलामा मेरी श्रीमति पनि उसँगै आक्कलझुक्कल आउने गर्थी। यो क्रम सँगसँगै अब त कहिलेकाहीँको उनीहरु बीचको यात्रा अक्सर नै हुन थाल्यो। एकै ठाउँमा काम गर्ने भएपछि यति मित्रवत् ब्यवहार हुनु त प्राकृतिक नियम पनि त हो नि। मैले पनि यसलाई स्वाभाबिक रुपमा नै लिएँ।

म पनि कामको खोजीमा दिनरात नभनिकन भौँतारिन थालेको अब त वर्षदिन पनि बितिसक्यो। क्यानाडाको रहनसहन, रीतिरिवाज, भाषा, मानव संजाल बिस्तार आदिका लागि विभिन्न निकायहरुमा नधाएको पनि होइन। साथै आधारभूत तालिमहरुमा सहभागी भएर सीपलाई रुपान्तरण पनि सक्दो रुपमा गरिसकेको छु। यसै क्रममा क्यानाडाको अनुभव संगाल्न केही स्थानीय संस्थाहरुमा बिना तनखा काम पनि गरेँ। तर भाग्य नै त्यस्तै हो कि के हो कुन्नि मैले आफ्नो मनले खाएको जागिर हात लगाउन सकिनँ। त्यसकारण ब्यवहार धान्नको लागि आफूमा भएको सीप, शिक्षा, अनुभव सब कुराहरुलाई ठाटी राखी जीवन निर्वाहको लागि पसिना चुहाउँदैछु। अनि आफूले आफूलाई सम्हाल्नको लागि आफूले चिनेजानेका आफन्तहरुसँग तुलना गर्छु मनमा सन्तुष्टि लिन्छु किनभने धेरै जसोको हालत मेरो हालतसँग अधिक रुपमा मेल खान्थ्यो भने केही त मेरो भन्दा नि खस्कँदो स्थितिमा जीवन गुजारिरहेका थिए।

भाग ३
विदेशको बसाईँ त्यति सजिलो कहाँ छ र त्यसमाथि झन डलरको खेति नै हुने जस्तो विचार लिएर आएपछि त अझ गोलार्ध्द नै परिवर्तन भए झैँ हुँदो रहेछ। आफ्नो विचार र यहाँको कामको प्रकृतिलाई नियालेर हेर्ने हो भने त नेपाली प्रचलित उखान “काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर” हुबहु मिलेको भान हुन्छ। तर के गर्नु यी त सबै “आकाशको फल आखा तरी मर” भने जस्तो हुँदो रहेछ। अब मलाई यो विदेशको बसाईँ “नखाऊँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाउको अनुहार” साबित भैरहेको छ।

जिन्दगीमा जे पनि खानु तर हरेश चाहि कहिले पनि नखानु भने झैँ मैले पनि यो विदेशको कर्मभूमिमा कर्म गर्न कहिले पनि कन्जुस्याँई गरिन। मैले पनि अभिभावकको भूमिका निर्वाह गर्नु त कर्तव्य नै ठाने। जन्मभूमिलाई छोडेर कर्मभूमिमा आएपछि शुरुदेखिका नियतिहरु भोग्नै पर्दो रहेछ, जुन कुराहरु मैले अहिले विस्तार विस्तारै भोग्दैछु। यसै क्रममा मैले पनि सानो नोकरीको रुपमा अर्को शहरमा कारखानामा काम पाएँ। यो कारखाना म बसेको शहरदेखि नजिकको शहरमा थियो। मैले कारखानामा नै भए पनि काम गर्ने निधो गरेँ।
म नियमित कारखानामा कामको लागि जान थालेँ। मेरो काम त्यो कारखानामा साँझको भएतापनि अक्सर गरेर फर्कने बेला झिसमिसे उज्यालो नै भैसकेको हुन्छ। त्यसको करिब एकाध घण्टा पछि त मेरी श्रीमति दिनचर्याको लागि जाने बेला पनि भैसक्थ्यो। विधिको विडम्बना भनौँ या मेरो फुटेको कर्म हो कुन्नि, मलाई त क्यानाडाको यो जीवनचक्रदेखि नै रुष्ट हुन थालिसकेँ अब त। समय चक्र कुम्हालेको चक्र जस्तै नियमित रुपमा कसैको पर्वाह नगरी घुमिरहँदो रहेछ। त्यस चक्रब्युहमा परे पछि दिन/रात, आमा/बुवा, छोरा/छोरी, दाजु/भाइ, दिदी/बहिनी, र नाता/कुटुम्ब कसैको पनि पर्वाह नहुँदो रहेछ। मेरी श्रीमतिसँग राम्रोसँगै सुत्‍न नपाएको पनि करिब करिब ८ महिना जति हुन लागिसक्यो।

सबै कुराहरुलाई जीवन चक्रको स्वभाविक रुपमा लिँदै जाँदा कहिलेकाहीँ केही अस्वाभाविक कुराहरु पनि विकसित हुँदै आउँदो रहेछ। देश अनुसारको भेष भने झैँ मैले मेरी श्रीमतिले जतिजनासँग मित्रवत ब्यवहार -मानौँ केटा साथी (boy friend) भन्ने गरेको देखेतापनि खासै कुनै शंकाको दृष्टिकोणले कहिले पनि हेरिनँ किनभने नेपालमा करिब २ दशक गृहिणीको रुपमा सामाजिक परिवेशमा बन्दी भएर रहनु परेकोले क्यानाडामा आएपछि स्वभाविक रुपमा केही परिवर्तनकारी भूमिका मात्र निर्वाह गर्न खोजेको होला जस्तो लागेको थियो। साथै केटासाथीलाई Boy friend र केटी साथीलाई Girl Friend भन्नु पनि त शब्दकोषको अर्थले पनि सकारात्मक नै लिनु पर्दछ। मान्छेको मन त हो, कहिलेकाहीँ शंका/ उपशंका लाग्नु त स्वभाविक पनि त हो नि। मैले पनि कहिलेकाहीँ शंकाको घेराभित्र मेरी श्रीमतिको मित्रवत् ब्यवहारले कहिँ कतै अर्कै रुप त लिने होइन भनेर नसोचेको हैन। तर आफैले आफूलाई सम्हाल्दछु र आफूले आफूलाई नै धिक्कार छ। हो यदि मैले यसरी मेरी श्रीमतिलाई नकारात्मक रुपमा लिने हो भने मसँग एउटै मात्र विकल्प छ, त्यो उसलाई कुनै पनि बाह्य कामकाज नदिई नेपालमा जस्तै घरायसी कामकाजमा मात्र सीमित गरी गृहिणीको रुपमा पाल्नु पर्ने हुन्छ जुन कुरा क्यानाडामा प्रायः असम्भव जस्तै छ।

कहिलेकाहीँ यसो फूर्सदको समयमा शहरभित्रका सीमित नेपाली साथीभाइहरुसँगको भेटघाटमा कहिलेकाहीँ नकारात्मक टिकाटिप्पणी हुने गरेको पनि देखेको थिएँ। आज फलानो र फलानी पार्कमा देखेको, फलानोले त फलानीलाइ सँधै काममा पुर्‍याउने/ल्याउने गरेको, फलानो/फलानीहरु २/४ जना भेट हुनै हुँदैन सबको नराम्रो कुरा मात्र काट्छन, फलानोहरु त भेट हुने बितिकै केटीहरुको बारेमा नराम्रा कुराहरु मात्र ओकल्छन, फलानोले त के के बहाना बनाएर त्यो केटीलाई कामबाट कोठामा पुर्‍याइ दिन्छे, फलानीसँग त घरबहाल पनि लिँदैन रे, मैले गर्दा त फलानोले कम्पनीमा काम पाएको रे, फलानोको श्रीमति त अरु नै देशको मान्छेसँग पोइल गयो रे आदिआदि कुराहरु। यस्तो बेलामा कता कता यी बज्याहरुले कतै मलाई त सीधै नभनेर बंग्याएर भन्दै त छैनन् जस्तो पनि लाग्छ। यस बेला म मेरी श्रीमतिको विगतका ब्यवहारहरुलाई सम्झन्छु र कस्तो म निष्ठुरी भएको भन्छु। अनि मनमनै नेपालीहरुको बानी जहाँ गए पनि उस्तै १२ वर्ष कुकुरको पुच्छर ढुग्रोमा राखे पनि बाङ्गाको बाङ्गै भने जस्तो पनि लाग्छ।

मेरो मित्र पनि म भएको बेलामा भन्दा म नभएको बेलामा आउँदा धेरैजसो बढी नै समयमा बसेको थाहा पाउँदा भने कतै मलाई कौतुहल पो हुन्छ र शंका/उपशंका पनि जाग्छ। मेरो साथी किन हो त्यसरी म भएको बेला भन्दा नभएको बेला बढी समय बस्यो त। कहीँ कतै कुनै नियत त खराब छैन मेरी श्रीमतितिर जस्तो पनि लाग्छ। फेरि अर्को मनले मेरै साथीले यस्तो कुदृष्टि कतै लगाउँछ त जस्तो पनि लाग्छ। यसरी मनलाई दुविधामा राख्दै कर्मभूमिमा पसिना चुहाउँदैछु, चुहाउँदैछु।

भाग ४
सुरुमा त क्यानाडाको जीवनको तीतो सत्य ओकल्ने क्रममा तेस्रो भागपछि काम विशेषले यो चौथो भाग लेख्‍न अलि ढिला भएकोमा क्षमा माग्छु। अबदेखि हरेक साता यो क्रम फेरि सुचारु हुनेछ।

समयको कालचक्र सँगसँगै सब क्रियाकलापहरु निरन्तर रुपमा गतिशील हुँदो रहेछ । मेरी श्रीमति काममा जान आउन प्रायजसो उसँगै काम गर्ने मित्रको लिफ्टमा हुन्थ्यो भने मलाई पनि काममा जानको लागि खास गाह्रो भान भएन। किनभने मैले पनि सँगै काम गर्ने मित्रको साथ पाएको थिए जान आउनको लागि । तथापि कहिलेकाहीँ उनीहरु समयमा जाने टुङ्गो नहुँदा भने दिक्क पनि लाग्दथ्यो । उता मेरी श्रीमतिको त्यो मित्रसँगको सम्बन्ध पनि दिनदिनै प्रगाढ हुँदै गरेको भान हुन्थ्यो मलाई । अनि कहिलेकाहीँ त्यो मित्रसँग नजान सल्लाह पनि दिन्छु तर अर्को विकल्प पनि त थिएन । यसकारण पनि गाडी एउटा त नकिनी नहुने भएको छ ।
करिब करिब एक वर्षको अथक प्रयासपछि हामी सब जनाले सानोतिनो काम पायौँ । सबैको कमाई भएकोले घर खर्चवर्च कटाउँदा पनि अलिअलि जोहो हुन थाल्यो । काममा जाँदा प्रायजसो मानिसहरु आ-आफ्नो गाडीमा सरर आउने जाने गर्दाको क्षणहरुलाई परिकल्पना गर्दा मात्र पनि कति आनन्द हुँदो रहेछ । अब त मेरो पनि आफनै गाडी किन्न पनि आँट आइसक्यो । क्यानाडामा गाडी किन्न खास त्यति गाह्रो पनि छैन यदि इच्छा र आकांक्षा भए । नेपालमा जस्तो गाडीको लागि ऋण लिन त्यति गाह्रो पनि छैन ।

अन्तत्वोगत्वा मेरो पनि आफनो सवारी साधन भयो । परिवारका सबैजनालाई काममा आउजाउ गर्न सक्दो मद्दत गर्न कोशिश गर्छु। तर कता-कता मेरी श्रीमति मेरो गाडीमा जानु भन्दा उसैको मित्रको साथमा जान पाए हुन्थ्यो जस्तो गरेको महशुस हुन्थ्यो कहिलेकाहीँ । उनी सकेसम्म बिहानको काममा जान मन पराउँदथे भने मेरो काम अपराह्नको भएकोले कहिलेकाहीँ मात्र काममा लाने र ल्याउने गर्दथेँ । खासमा गाडीको सही उपयोग भएको जस्तो मलाई लागिरहेको थिएन ।

अब त हुँदाहुँदा मौका मिल्नासाथ त्यो साथीसँग बजारमा किनमेल गर्न र साथीभाइहरुसँग भेटघाट गर्न पनि जान थालेको कुरा बिस्तार बिस्तार एक कान दुई कान मैदान भने झैँ मलाई पनि असल मित्रहरुले सुनाउन समेत थालिसके । यसकारण मैले कहिलेकाहीँ काममा ब्रेकको समयमा घरमा फोन गर्छु पनि श्रीमतिले फोन उठाउँछे कि भनेर। तर एक/दुई पटक बाहेक फोन पनि उठेन । मेरो मनमा अब त भुमरी पनि चल्न थालिसक्यो के हो कसो हो भनेर। तर के गर्नु विवश भएर चुपचाप सहेर बस्नु परेको छ । किनभने मैले उसलाई काममा पुर्‍याउने र ल्याउने गर्न सकिरहेको थिइनँ । कहिलेकाहीँ समय जुर्नासाथ फोन किन नउठाएको भनेर सोध्छु बस जहिले पनि रेडिमेड उत्तर पाउछु एकै म त फलानो साथीसँग, फलानो साथी कहाँ पो गएकी थिएँ भनेर। उसलाई बहाना बनाउन खास गाह्रो छैन भन्ने कुरा मलाई पनि राम्ररी नै थाहा छ । एवंरितले दिनहरु बित्दै गए तर मेरो मन चैनसँग बसेको थिएन । यो कुरो साथीभाइहरुको माझमा गरुँ, आङ कनाएर जिउ देखाउनु जस्तै हुने भयो। नगरुँ त आगोको झिल्का जस्तो होला भन्ने पीर । अहो, म कति दोधारमा ।

कुनै पनि कुराहरुको आफ्नै समय हुन्छ भन्ने कुरा मलाई पनि थाहा पक्कै छ । त्यसैले म कहिलेकाहीँ चाजोपाजो मिल्नासाथ यस सम्बन्धको बारेमा कुरा कोट्याउन खोज्छु । तर उनी त्यस कुरालाई ढाकछोप गरी कुरालाई अन्त अन्ततिर मात्र मोड्न खोज्छिन् । अब त हुँदै भएन भनेर एकदिन त छोरा/छोरी काममा जाने दिन पारेर आफूले काममा नै बिदा लिएँ कुरा गर्न सजिलो होस् भनेर । छोरा/छोरी दुबै जना काममा हिँडेको केही समयपछि मैले मेरी श्रीमतिलाई यस बारेमा कुरा गर्नको लागि बोलाएँ। तर उनी भने पेट दुखेको बहाना बनाएर लिभिङ्ग रुमको सोफामा पल्टेर बसेकी थिइन् । मलाई यो सम्बन्धको कुराले निकै नै आघात पुर्‍याइसकेकोले यस बारेमा कुरा नगरी मन हलुका हुन सक्ने अवस्था नै थिएन । परन्तु उनी निदाए जस्तो गरुन्जेल म पनि चुपचाप लिभिङ रुमको एक छेउको कुनामा छोरा सुत्‍न राखेको बिस्तरामा मनमा अनगिन्ती कुराहरुलाई खेलाउँदै घरीघरी उनीलाई हेर्दै बसेँ । करिब करिब अपराह्नको ४ बजेतिर उनी सुस्तरी उठिन् । पेट दुख्‍न अलि कम भयो भन्दै चिया खान मन लाग्यो भनेर चिया पकाउनको लागि किचेन तिर लागिन् । मैले पनि यो नै सही समय हो, उनीलाई चिया बनाउन सघाएर कुरा गर्ने मौका भनेर जुरुक्क उठेर किचेन तिर लागेँ ।

एकैचोटी त्यस विषयमा प्रवेश गर्नुभन्दा सुस्तसुस्त गरी कोट्याउँदा बेस हुन्छ जस्तो लाग्यो मलाई । अनि बिस्तार बिस्तार अरु कुराहरु गर्न थालेँ । हेर न कस्तो मौसम सफा भएको, आजको दिन जस्तो छयाङ्ग मौसम त क्यानाडामा विरलै देखिन्छ । उनले पनि मेरा कुरामा सही थपी टाउको हल्लाएर सहमति जनाइन् । मैले फेरि उसको मन फुरुङ्ग होस् भनेर उसको पेट दुखाइको बारेमा कोट्याएँ । अँ साच्ची अहिले कस्तो छ त तिम्रो पेटको दुखाइ । उनीले पनि सहज नै उत्तर दिइन्- ठीकै छ, अघिको दाँजोमा यो दुखाइ त केही पनि होइन । उफ् मलाई कुरा कोट्याउन पनि कति गाहो भएको ! यो सम्बन्धको कुरा त मेरो लागि “नखाउँ भने दिनभरको शिकार, खाउँ भने कान्छा बाउको अनुहार” भन्ने उखान जस्तो भएको छ। नभनुँ त मेरो मन कति समयदेखि चयनसँग बसेकै हैन, जतिखेर पनि यही कुरा खुलदुल भैरहने, भनुँ भने श्रीमति बम बिस्फोट भए जस्तो गरी पडकिने पो हो कि भन्ने डर । एकतिर मनको बह, अर्कोतिर विस्फोटको डर । यस्तो दोधारको बीचमा आफूलाई राख्दै जीवनको चलायमान घडीलाई निरन्तरता दिँदै गएँ, दिँदै गएँ। क्रमशः

लेखकले क्रमशः भनेर लेखे पनि त्यसपछि यो शृङ्खलाबाट उनी गायब भए। यो ब्लग पढिरहनुभएको भए उनले त्यसपछि के भयो भन्नेबारे फेरि लेख्ने जमर्को गर्लान् कि!

9 comments to क्यानाडाको निरीह जीवन चक्र

  • raju rijal

    विवस असन्तुस्टी,नाम अनुसारको लेख रहेछ!

    यदि आत्मवृतान्त हो भने लेख को आधार तयार भएपछी नाम जुरेको जस्तो लग्यो I तर ब्लग मा राखेपनि राम्रो उपन्यास तयार गर्नुस मेरो सुझाव मात्र I
    यदि होइन भने पनि कथा कौतुहल पूर्ण छ र next episode पनि राख्नु होला I

    मेरो सल्लाह तपाइलाई,

    तपाई जस्ता संसार मा धेरै जना छन् भन्ने कुरा बुझ्नुस , तपाई का बच्चाहरु काम गरेर खाने भै सकेका रहेछन I चिन्ता नगर्नुस जीवन बाँच्ने तिर सोच्नुस I
    क्यानाडा मा गइ हाल्नु भो कमाउनुस बचाउनुस अनि नेपाल फर्कनुस I खुट्टा भए जुत्ता जति पनि, जीवन भएपो जीवन साथी I निर्जीव कुरा छाड्नुस I तपाई को समस्या सल्टेको छ भने म पनि खुसि , छैन भने चिन्ता छैन, खुसि संग खुसि हुन दिनुस संसार मा तपाई का साथी हरु धेरै बन्न सक्छन तर जीवन एउटा मात्र हुन्छ I

    राजु रिजाल

  • Ram Thapa

    राम्रो छ लेखाई | लेख्न अभ्यास गर्नु केही न केही विषय त चाहियो नै ….तर भाइ, तपाइंको राम कहानी ठुला भएका छोरा छोरीले पढे भने उनीहरुको दिमागमा ठूलो चोट पर्न जान्छ ; यस्ता नितान्त व्यक्तिगत कुराहरु अरुलाई सुनाउनु भन्दा बरु प्रिन्ट गरेर श्रीमतीको पोस्ट बक्समा खसाले कसो होला ? मेरो अनुभव अनुसार आइमाई हरुमा पैसा कमाउन थाले पछि अनेक किसिमको वैंश चढ्ने, मनपरी गर्ने, जसले विदेश पुर्यायो त्यसलाई हेप्ने र अरुको जवान श्रीमान वा केटाहरुतिर मात्र ध्यान जाने हुदो रहेछ विदेशमा | तपाईं प्रति मेरो ठुलो सहानुभूति छ, म पनि पत्नी पिडीत नै हो विदेशमा….

    • Pandey

      तपाई को कुरा मा मेरो असमति भएपनि, तपाई को लास्ट वाक्य चै खतरा लग्यो! :p

  • भाबेस राइ

    आफु नि तरुनी को लिफ्ट मागेर हिडे भै हाल्यो नि ! सम्बन्ध राख्नु र परिवार चलाउनु बेग्लै कुरा हो ! घर बाट छुटेको कुकुर ले कता टोक्छ कता भुक्छ ? छोरा छोरी नि काम गर्ने भैसकेछन ! अब आसय थाहा पाउनु भो होला नि !

  • nani

    very nice article, plz continue to further episode. i am very much curious. and dont go after the bitter comment

  • Aayush

    येस्तै हो ………………….खाली पैसा पैसा मात्र भनेर हिद्नुपरेपछी स्वास्नी ले खेताला लगाई हाल्छन नि केहि समय सम्म त जसले पनि सम्झौता गर्छ तर धैर्यता टुटे पछि त …….मनै हो

  • Shankar

    एकतिर मनको बह, अर्कोतिर विस्फोटको डर । यस्तो दोधारको बीचमा आफूलाई राख्दै जीवनको चलायमान घडीलाई निरन्तरता दिँदै गएँ, दिँदै गएँ। क्रमशः

    अन्नायास श्रीमती ले भुइक्क पादीन, सोध्न त् मिलेन तिमीले पादेको हो भनेर | किनभने औपचारिकता मा तेस्तो कुरा गर्दा पनि अलि असभ्यताको महसुस हुन्छ |
    तर मैले धेरै पर्खनु परेन | उनीले नै थपिन , ” बल्ल आङ्ग हलुको भयो ” हिजो जोसेफ रुपाखेती काँ पार्टी थ्यो , फुड प्वाइजनिग भए जस्तो छ |” अब म लाइ त्यो साथीको नाउ ” जोसेफ ” भनेर थाह पाउन पनि कुनै दिमाग केलाउन परेन | साथै मैले के पनि अनुमान लगाए भने केटो पक्कै बुढो हुनु पर्छ | किनभने बुढो ले हावा सिबाय के पम्प गर्न सक्छ ?

    उफ !!कस्तो पापी मन के सोचेको मैले | बाहि प्वाँ प्वाँ हर्न बज्छ , म झसंग हुन्छु |

  • indra magar

    लेखक ज्यु सिङ हुने र धिङ हुनेको बिस्वास नगर्नु भन्छन

  • Mk

    मेरो विचारमा, सारा संसार मा , खाने दाँत र चपाउने दाँत वेग्ला वेग्लै हुन्छ /तेसैले न त् क्यानाडा न त् नेपाल नै अपवाद होला / यो ठिक हो कि क्यानाडा को प्रमुख व्यापार भनेको मान्छे लाइ अनेक वहानामा भित्र्याउनु पनि हो भन्नुमा अत्युक्ति न होला कि ?