सीमाङ्कनसहितको संघीयताका लागि आएको प्रस्तावको विरोध गर्दै अहिले विभिन्न ठाउँमा अखण्डे आन्दोलन भइरहेका छन्। सीमाङ्कनक प्रस्तावमा रुकुमलाई पनि पूर्व र पश्चिम गरी टुक्राउने भनिएको छ। अहिले त्यहाँ केहीले अखण्ड रुकुम भन्दै आन्दोलन पनि गरिरहेका छन्।
जिल्ला टुक्राउनु र सदरमुकाम परिवर्तन गर्नुको असर कस्तोसम्म हुनसक्छ भन्नेबारे रुकुमकै विगतको उदाहरण हेरे हुन्छ। २०५२ सालपछि झन भन्दा झन् सोचेभन्दा छिटो देशभर माओवादी फैलिएपछि यसको मूल जड पत्ता लगाउन अमेरिकाको अन्तर्राष्ट्रिय विकास सम्बन्धी संस्था युएस एडले आफ्नो खर्चमा रबर्ट गेर्सोनीलाई कन्सलट्यान्ट बनाउँदै एउटा अध्ययन गर्न लगाएको थियो। ‘सोइङ द विन्ड : हिस्ट्री एन्ड डायनामिक्स अफ दि माओइस्ट रिभोल्ट इन नेपाल्स राप्ती हिल्स’ शीर्षकमा २००३ मा प्रकाशित प्रतिवेदनमा माओवादी जनयुद्धको उद्गम स्थलमा विद्रोह सुरु हुनुका विभिन्न कारण पहिल्याइएको छ। त्यसैमध्ये एउटा कारण उल्लेख गरिएको छ- रुकुमको सदरमुकाम परिवर्तन।
पूर्वी रुकुम सन् ७० को दशकभन्दा अघि बाग्लुङ जिल्लासँग जोडिएको थियो, जसको सदरमुकाम ७५ देखि ९० किलोमिटर टाढा थियो। पूर्वी रुकुमका नेताहरुले आफ्नो क्षेत्र रुकुम जिल्लासँग जोडिनु पर्नेमा जोड दिँदै आएका थिए। रुकुमको क्षेत्रीहरुको बाहुल्य रहेको सदरमुकाम रुकुमकोट त्यहाँबाट नजिकै पर्थ्यो। बाग्लुङ र पश्चिमी रुकुमका बासिन्दाहरुले भन्दा यहाँका बासिन्दाहरुले उनीहरुसित राम्रै व्यवहार पनि गर्थे। प्रशासनिक कामहरु रुकुमकोटबाटै भए उनीहरुलाई सजिलो पर्थ्यो। ७० को दशकको सुरुतिर दरबारले हालको पूर्वी रुकुमका जिल्लाहरुलाई रुकुम जिल्लामा गाभ्ने निर्णय गर्यो। उनीहरुको सदरमुकाम रुकुमकोट भयो।
तर पूर्वी रुकुमका मगरहरुले यो खुसियाली धेरै मनाउन पाएनन्। अधिराजकुमारी शारदाको बिहे भएको कुमार खड्ग विक्रम शाहको ठाउँ मुसिकोट र राजा महेन्द्रसँग राम्रो सम्बन्ध भएका ध्रुवविक्रम शाह र उनका छोरा सैनिक जनरल विवेक शाहको गाउँ बाफ्लिकोटको शक्तिको प्रभावले पश्चिमी रुकुमले दरबारलाई रिझाउन सफल भयो। र, सदरमुकाम रुकुमकोटबाट मुसिकोट सारियो। राजपत्रमा सन् १९७३ को अप्रिलमा यो सूचना छापिएपछि अञ्चलाधीश लक्ष्मीराज भक्तले रुकुमकोटबाट सरकारी फर्निचर र फाइल नयाँ सदरमुकाममा सार्न आदेश दिए। प्रहरी मुसिकोटका बासिन्दाहरुसहित गएर सामान सारे। यसक्रममा सानोतिनो झडप भयो।
पूर्वी रुकुमका बासिन्दाहरु यसबाट साह्रै आक्रोशित भए। त्यहाँका युवाले घर घर गएर हामीहरुको भविष्य सदरमुकाम रुकुमकोटमा फर्काउनुमा छ, त्यसैले विरोध प्रदर्शनका लागि प्रत्येक घरबाट कम्तिमा एक जना उपस्थित हुनुपर्ने उर्दी जारी गरे।
अप्रिल १३, १९७३ का दिन १० हजारभन्दा बढी संख्यामा प्रदर्शनकारीहरु मुसिकोटतिर लम्किए। उनीहरुसँग ६० वटा बन्दूक, ५० वटा खुकुरी थिए। लाठी त कति हो कति। मुसिकोटमा कर्फ्यु लगाइएको थियो। तर भिडले त्यसलाई वास्ता गरेन। सब इन्सपेक्टर नरबहादुर खड्काले हवाई फायर गरे, तर भिडले टेरेन। प्रहरी र स्थानीय बासिन्दाले गोली चलाए। रुकुमकोटका २३ वर्षीय एक क्षेत्री त्यहीँ मारिए। एक मगर महिला घाइते भइन्। पछि उनको पनि मृत्यु भयो। एक जना सन्यासी पुरुष र अर्का क्षेत्री पुरुष घाइते भए। अग्लो डाँडामा बसेका प्रहरी र मुसिकोटका बासिन्दाहरुले ढुंगामुढा गरेपछि भिड तितरबितर भयो।
सरकारले यो विरोध जुलुसका आयोजकमध्येका नौ जनालाई गिरफ्तार गर्न वारेन्ट जारी गर्यो। यो घटनाको एक वर्ष पुगेको दिन रुकुमकोटका युवकहरुले राजतन्त्रविरोधी पम्पलेट टाँसे। उनीहरुविरुद्ध पनि वारेन्ट जारी भयो। सरकारले कसैलाई पनि पक्रन सकेन। उनीहरु या त भूमिगत भए या भागेर भारत पुगे जहाँ उनीहरुले कम्युनिस्ट पार्टीका कार्यकर्तालाई भेटे। सन् १९७४ को कम्युनिस्ट पार्टीको चौथो महाधिवेशनले पनि रुकुमको सदरमुकामको आन्दोलनलाई सम्बोधन गरेको छ।
माओवादी सशस्त्र युद्ध सुरु भइसकेपछि पनि पूर्वी रुकुममा माओवादीको दबदबा रह्यो भने पश्चिमी रुकुममा माओवादीविरोधीहरुको।
ईतिहास खोतल्ने हो भने एस्त विरोधाभासपूर्ण कति घटना छन् – छन् ! लेखा जोखा गरि साध्य छैन !
देशमा दीगो शान्ति ल्याउने हो भने सबैले सद धर्म, सद कर्म सद विचार, सद बुद्धि, र सद विवेक लगाएर अघि बढ्नु पर्छ ! हिजोकै तालले अघि बढ्ने हो भने देशमा ठुलो दुर्घटना हुने सम्भावना छ !!! चेतना भय !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
गॉउ र जिल्लाको पुन: सिमांकन गर्दा साना तिना कुराहरुमा हामीहरुलाई धेरै दुख: न हुन सक्छ । तर यहॉ त सिंगो नेपाल नै टुक्रीने लक्षण चिन्ताको बिषय बारे नेपाली समाजमा ब्यापक चर्चा हुन थालेको छ ।
नेपालमा द्वन्द पछि द्वन्द, आन्दोलनै आन्दोलन, बन्दै बन्द हुनु र २०४७ साल पछि बिगत २५ बर्षमा १५ बर्ष (६०% समय) स्थानीय राजनैतिक निकाय न हुनुको दुर्भाग्यले देशको प्रगतिमा ठुलो अवरोध भएको छ ।
डा. सुरज श्रेष्ठ
नेपालगंज