यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

कविता : म फर्कँदैछु दाजु…

—महेन्द्र थुलुङ राई—

camel-1574449_640हाउ जीवनको अक्करे भिरमा
पालाम गाउँदै
एक भारी घाँस काट्ने दाजु
फर्कैदैछु म पनि
अक्रमबक्रम जीवन सकेर
सात वटा घामको देशबाट।

किन–किन ?
आजकाल जीवन
त्यो अक्करे भिरभन्दा पनि अक्कडो लाग्यो
लज्जावती झारभन्दा पनि लज्जा आउन थाल्यो
ढुङ्गाको जाली लगाएर छेकेजस्तै

M thulungमनको खेत
भदौरे भेलमा
कति दिन टिक्दो रैछ र है
यो बालुवासङ्गको प्रेम !
न त रस आयो,
न निस्चित आकारै बन्यो
न त कुनै स्वाद
न कुनै सम्बाद
मौसमी हावाको बेइमान लहरले
एकै छिनमा आफै माथि थुपारिदिन्छ
केही दिनमा नै अर्को माथि थुपारिदिन्छ
मबाट कुनै महल ठडिँदैन
मेरो देशको लागि
मैले साँच्चै बुझे अब।

म फर्किदैछु दाजु
अब हिडिन्न होला
जति हिँडे, त्यति पछाडि परे।

त्यो भन्ज्याङ मुन्तिरको सितल कुवा
त्यो देउरालीको सिरसिरे बतास
गुराँसे वन
कोइलीको भाका
मुनालको नाच
त्यस्तै छ कि ?
मजस्तै आधा उमेरको
अर्ध पागलजस्तै भयो ?
उसले पनि देश छोडेर
कतै परदेशमा देश खोज्दैछ कि
म मुलाङजस्तै…
जत्ति पसिना बगाए पनि
नुनिलो पानी नबग्ने देशको नदी
जत्ति रगत खन्याए पनि
सेतै फुल्ने सुनाखरिको सन्तान
आफैले आफैलाइ कराए पनि
चराहरुले सम्झाउने चराहरुको साथी
कस्सोरी कस्सोरी बिचरा हुँदैछु हौ…
नेपाली कोठामा स्वागत छ
रङ नमिलेको झन्डा
दुरुस्तै नभएको देशको नक्सा
बिदेशको अरुकै ढोकामा टाँसेर
कति दिन नेपाली जस्तो भैरहौ ??

भोगाइ नै त्यस्तै छ दाजु,
त्यसमाथी, मुहान सानो
बग्दा बग्दै सुकिजानु पर्ने ।

पाखाबारी आमाले जोतिनन्
सिस्नो टिप्न गएका दाजु फर्किएनन्
बाबु, कसैको नजरमा आतंकबादी
र कसैको नजरमा शहीद बनेर
बेनाम छन, अनाम छन, गुमनाम छन्
भौसे पलायो,
मेरो बाबुको अंशमाथि
म अरुलाइ सराप्दै यता दुबो रोप्दैछु,
मेरो बाबुले सुन्दै नसुनेको देशमा
चिहानमा माटो दिन नपाएको छोराहरुको लाममा
अपुताली बन्न हुँदैन भनेर आमाले पठाइन्
बाबुको नाममा कपाल नकाटेको छोरोले
आमाको सास बोकेर पनि हिड्न सकिन्न रैछ
आजकाल लाग्छ,
मेरो बाबुको चिहान पुरै देश हो ।
सगरमाथाजस्तै शिर थियो
टेम्के पहाडजस्तै छाती थियो
तराइजस्तै पाइतला थियो
र, बुद्धका जस्तै आँखा थिए
सम्झिँदा,
देश
आमा

बाबू
नभए टुहुरो भैन्दो रैछ ।
भोगियो, बुझियो है बुझियो ।

हाउ जीवनको अक्करे भिरमा
पालाम गाउँदै
एक भारी घाँस काट्ने दाजु
फर्कदैछु म पनि
अक्रमबक्रम जीवन सकेर
सातवटा घामको देशबाट ।
—हाल : साउदी अरेबिया ।

5 comments to कविता : म फर्कँदैछु दाजु…

  • Limbu naYan

    —हाउ, जीवनको अक्करे भिरमा
    पालाम गाउँदै
    एक भारी घाँस काट्ने दाजु
    फर्कैदैछु म पनि
    अक्रमबक्रम जीवन सकेर
    सात वटा घामको देशबाट!

  • Shankar

    साथि
    तिम्रा ब्यथा हरु राम्रै सग
    अक्ष्यर बनेर पानामा दौडिएछन् | मन अलि हलुङ्गो भयो होला |कामना पुरा होस् , तरदेश मा चै खग्रास ग्रहण लागेको छ | महिसासुर को सासन चलिरहेछ | जाँदा दुर्गा माता लाइ पनि लिएर जाउ |पापिहरुको नास गर्ने |
    नत्र महिसुर हरुले फेरी तिमीलाई बिदेसिन बाध्य पार्ने छ |

  • Laxmi

    सलाम नेपाली बेदना बोकेका यि हरफहरुलाई!!!!
    “पाखाबारी आमाले जोतिनन्
    सिस्नो टिप्न गएका दाजु फर्किएनन्
    बाबु, कसैको नजरमा आतंकबादी
    र कसैको नजरमा शहीद बनेर
    बेनाम छन, अनाम छन, गुमनाम छन्”

  • Ekraj

    सार्है मार्मिक र हिर्दए छुने|

  • Anu

    कति दिन टिक्दो रैछ र है
    यो बालुवासङ्गको प्रेम !
    न त रस आयो,
    न निस्चित आकारै बन्यो
    न त कुनै स्वाद
    न कुनै सम्बाद