यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

१४ घण्टाको उडानपछि सिड्नीमा

sal_0061
सकेसम्म दिनमा एउटा भए पनि ब्लग पोस्ट गर्ने गरे पनि दुई दिनदेखि ब्लगमा केही लेख्न सकिएन। खासमा म अहिले अस्ट्रेलियाको सिड्नीमा छु। साहित्यकार साथी बुद्धिसागरसँगै आइपुगेकोहुँ। आइतबार यहाँ एउटा अन्तर्क्रिया कार्यक्रम छ। मंगलबार राति काठमाडौँबाट उडेर यहाँको समय अनुसार बुधबार राति बल्ल सिड्नी पुगेँ। राति ११ बजे उडेर ढाका हुँदै हङकङ पुग्न नै ६ घण्टा लाग्यो। हङकङमा दुई घण्टाको ट्रान्जिटपछि अर्को विमानबाट ८ घण्टाको पट्यारलाग्दो उडानपछि बल्ल सिड्नी पुगियो। यति लामो समयसम्म आकाशमा उडेको यो पहिलोपल्ट थियो।

ड्रागन एयर र क्याथे प्यासिफिकको उडानमा पर्सनल टिभीका कारण समय कटाउन सजिलो भए पनि लामो यात्रामा सडकभन्दा हवाई यात्रा गाह्रै हुने रहेछ। निद्रा राम्रोसँग नपर्ने भएर पनि गाह्रो नै हुने।

हङकङको समय अनुसार बिहान पुगियो। ड्रागन एअरका कर्मचारीले झरेदेखि नै गाइड गर्दै अर्को उडान हुने ठाउँसम्म पुर्‍याए। पहाडहरु भएको हङकङलाई एयरपोर्टबाटै हेर्दा हाइराइज बिल्डिङहरु बाहेक काठमाडौँ जस्तो देखिन्थ्यो वातावरण।

विमानस्थल कति ठूलो भन्ने त ट्रान्जिटमा एउटा प्लेनबाट झरेर अर्को प्लेनसम्म पुग्न एयरपोर्टभित्रै रेल चढ्नुपर्नेबाट थाहा हुन्छ। हामीसँगै सिड्नी जानेहरुमा एक अधवैँशे जोडी पनि थिए। बिचराहरुलाई कति अप्ठेरो परेछ। काठमाडौँबाट हङकङ र हङकङबाट सिड्नीसम्म दुवैको बोर्डिङ पास काठमाडौँ विमानस्थलमै दिइएको थियो। काठमाडौँ विमानस्थलमा बोर्डिङ पासको अधकट्टी च्यात्नेले श्रीमानको बोर्डिङ पास च्यात्दा काठमाडौँ-हङकङको च्यात्नु पर्ने ठाउँमा हङकङ-सिड्नीको च्यातिदिएछ। पछि हामी सबैले भनेपछि एयरलाइन्सका कर्मचारीले नयाँ बोर्डिङ पास इस्यु गरिदिए।

हङकङबाट ८ घण्टाको उडान साह्रै पट्यारलाग्दो थियो। सिट अगाडि रहेको टिभी चलायो, म्याप हेर्‍यो- अहो अझै यति घण्टा बाँकी छ भनेर गम खायो, बस्यो। भेज खाना पनि पास्ता बाहेक अरु नपाइने रैछ। खाना पनि मिलेन। गाह्रै भयो।

immi
सिड्नी विमानस्थलमा रातिको साढे आठ बजेतिर झारिदियो। दुई तीन वटा विमान एकै पटक ल्यान्ड गरेकोले हो कि किन हो, इमिग्रेसनको भिड त अहो..! ५ सय जनाको लाइन। कहिले सकिने हो कन्फ्युज। इ पासपोर्ट हुनेहरुलाई चाहिँ सजिलो रहेछ। त्यहाँको मेसिनमा आफै पासपोर्ट छिरायो, निस्कियो। अरुलाई भने लामो लाइनमा बस्नुपर्ने बाध्यता।

फेरि रमाइलो त के हो भने पहिलो पटक अस्ट्रेलिया आउँदै गरेका बुद्धि र मलाई नै कन्फ्युज भएका यात्रीहरु के गर्ने कता जाने भनेर सोध्दै थिए। त्यसमा अस्ट्रेलियन नागरिक पनि थिए।

aakash
आकाशबाट सिड्नीको पहिलो झलक।

काठमाडौँमा र हङकङको विमानस्थलमा पनि मजाले वाइफाइ चलाउन पाइएको थियो तर सिड्नी विमानस्थलमा भने निःशुल्क वाइफाइ चलाउन झण्डै जन्मकुण्डली नै बुझाउनु पर्ने रहेछ। कहाँबाट आएको? कता जाने? नाम, इमेल सब बुझाएपछि बल्ल वाइफाइ एक्सेस पाइने !

केही उपाय नलागेपछि लाइन बस्नै पर्‍यो। भिडभाडमा बच्चाहरु भूइँमै पल्टिएका थिए। काउन्टरमा मान्छे कम भएकोले पनि होला लाइन लामो भएको। लाइन बस्दै गर्दा हाम्रो लाइनमा रहेकी बोर्डर सेक्युरिटी फोर्सकी महिलाले आफ्नो घर जाने बेला भएको भन्दै काउन्टर बन्द गर्ने भनिन्। धन्न एक पुरुष अधिकारीले आएर यी दुई जनाको गरिदिउँ भने र बुद्धि र मलाई राहत भयो। नेपालको इमिग्रेसन भन्दा पनि सजिलै एमआरपी रिड गरेर पासपोर्टमा अराइभलको छाप हानेपछि हामी त्यहाँबाट निस्कन पायौँ।

अस्ट्रेलियाको भिसा पासपोर्टमा स्टिकर पनि नलगाइने रहेछ। इमेलमा आउने भिसामा सबै लेखिएको हुने। त्यो सबै त्यहाँको सिस्टममा रेकर्ड हुने। हामीलाई भने पासपोर्टमा स्टिकर भएको भिसा हेर्ने बानी परेको। अस्ट्रेलियाको कार्यक्रम आयोजकमध्येका एक मन्डेला कन्सलटेन्सीका सञ्जीव पाण्डेले सुरुमा भिसा पासपोर्टमा लाग्दैन भनेको सुन्दा अचम्मै लागेको थियो।

इमिग्रेसनको काम सकाएर ब्यागेज लिई बाहिर निस्कँदा केही घण्टा समय गइसकेको थियो। बाहिर सञ्जीव पाण्डे, नेपालीपत्रका सम्पादक ऋषि आचार्य, साहित्यकार निष्प्रभ सजी हामीलाई लिन आइसकेका थिए। हामी लामो यात्रामा थकित भइसकेका थियौँ। तैपनि गफगाफ राति अबेलासम्म चल्यो। बुधबारको दिन यसरी धेरै आकाशमा थोरै धर्तीमा बित्यो।

prog1
यतै हुनुहुन्छ भने कार्यक्रममा आउनुस् है, भेट हुनेछ।

2 comments to १४ घण्टाको उडानपछि सिड्नीमा