यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

स्वस्थानी व्रत : १९ फोटो, १९ रोचक तथ्य


स्वस्थानी व्रत आजदेखि सुरु भएको छ। यो व्रतबारे केही रोचक तथ्य यस्ता छन्-
तथ्य १ : यो हिन्दू नेपाली समाजको मौलिक व्रत हो। भारतीय हिन्दूहरूमा स्वस्थानीको व्रत बस्ने र कथा सुन्ने प्रचलन छैन। यो व्रत पहिलेपहिले नेवार समाजमा मात्र लिइने चलन थियो।

तथ्य २ : स्वस्थानी कथाको पुरानो रूप ५०० वर्षजति अघि नेवार भाषामै रहेको पाइन्छ। लगभग त्यति नै वर्षयता नेपाली भाषामा पनि अनुदित भई व्रत बस्ने र कथा सुन्ने परम्पराको विकास भयो। अहिले पनि साँखुलगायतका स्थानमा नेवार भाषाको स्वस्थानी व्रतकथा पाइन्छ।

तथ्य ३ : स्वस्थानी माहत्म्य भए पनि कथामा देवीको उत्पत्तिबारे खुलाइएको छैन। कथाका एक तिहाइ भाग सकिँदासम्म स्वस्थानी देवी को हुन् भन्ने खुल्दैन। पार्वतीले अनेक प्रयास गर्दा पनि महादेव पति नपाएपछि भगवान् विष्णुले ‘श्री स्वस्थानी परमेश्वरी’को व्रत गर्ने सल्लाह दिन्छन्।

तथ्य ४ : पद्म पुराणअन्तर्गत पार्वती–सदाशिवसंवाद भनिएको स्वस्थानी व्रतकथा १५३ श्लोकको छ। एउटा बाहेक सबै श्लोक अनुष्टुप छन्दमा छन्। यहाँ महादेवले पार्वती स्वस्थानीको व्रतविधि र कथा बताएका छन्।

तथ्य ५ : प्रत्येक अध्याय सकिएपछि व्रतकथामा एउटा संस्कृत वचन राखिएको पाइन्छ– इति श्रीस्कन्दपुराणे माघमाहात्म्य केदारखण्डे… इत्यादि । यस वचनअनुसार श्री स्वस्थानी व्रतकथाको आधार स्कन्द पुराण हो, यही पुराणको माघ माहात्म्य केदार खण्डबाट कथा बनाइएको हो । तर होइन, स्कन्द पुराणमा मात्र स्वस्थानीमा आउने सबै कथा भेटिँदैनन् । स्वस्थानीका ३१ अध्याय बनाउन अरू पुराणहरूको पनि सहायता लिइएको छ । स्कन्द, भागवत, पद्म आदि विभिन्न पुराणका कथांश जोडी सिंगो स्वस्थानी व्रतकथा बनाइएको हो । कथालाई रोचक पार्न केही थपिएका केही घटाइएका कारण पुराणका प्रसंग केही ठाउँमा अमिल्दा पनि देखिन्छन् ।

तथ्य ६ : विधिपूर्वक व्रत नबस्नेले पनि प्रत्येक दिन एक अध्यायका दरले स्वस्थानी व्रतकथा पढ्ने र अन्तिम दिन विशेष पूजा गर्ने गर्छन् । विशेषगरी स्वस्थानी कथामै आउने लावण्यपुर (साँखु) मा एक महिनासम्म विधिविधानसँग व्रत बस्ने चलन अहिले पनि छ। (रामप्रसाद धितालको लेखबाट)

तथ्य ७ : सिंगो स्वस्थानी कथाभित्र मूलतः तीन कुराको चर्चा पाइन्छ— सृष्टि वर्णन, महादेवले देवहित र लोकहितका लागि गरेका कार्य र स्वस्थानी कथाको महात्म्य। यस हिसाबले संक्षिप्त सृष्टि वर्णन र महादेवका लोकहितका कार्य नै स्वस्थानी कथाको मूल विषयवस्तु मान्नुपर्ने हुन्छ । तर, स्वस्थानी स्वयंको भने कुनै परिचर्चा यसमा पर्दैन। सृष्टि वर्णनका कुरा स्कन्दपुराणबाहेक अन्य पुराणमा पनि पाइन्छ।

तथ्य ८ : स्वस्थानी कथामा मिहिन रूपमा रहेको र सर्वाधिक आलोचनाको विषय त्यसमा वर्णित लैंगिक सम्बन्ध हो। कथाले पुरुषप्रधान समाजको एउटा कठोर तर सजीव चित्रण गरेको छ। सबभन्दा अनुकरणीय उदाहरण भनेर पार्वतीको व्रतलाई उल्लेख गर्ने गरिन्छ। एउटी महिलाको जिन्दगीको उद्देश्य योग्य पुरुषलाई पतिको रूपमा प्राप्त गर्नुमात्र हो त भन्ने ठूलो प्रश्न यसले खडा गर्छ।

तथ्य ९ : एकातिर पुरुषलाई अनमेल र बहुविवाह गर्न छुट दिइएको छ भने अर्कातिर एउटा पति पाउन पनि महिलाले कठोर व्रत, तपस्या र परीक्षासमेत सामना गर्नुपर्ने हुन्छ। रावणको तपस्याबाट प्रफुल्ल भएर महादेव पत्नी पार्वती नै रावणलाई दिएर पठाउँछन्।

तथ्य १० : छोरीलाई बाबुले जुन पुरुषका साथ पठायो ऊसँग जान बाध्यताभन्दा पनि क्रूर लाग्ने पत्नीदान गर्न पाउने अधिकारले समाजमा महिलाको हैसियत बताइदिन्छ। बालिका गोमालाई उसका मातापिताले बिदाइका बेला दिएको उपदेशले महिलाको अस्तित्वको टुंगङ्गो पतिमै सीमित रहेको सन्देश दिन्छ।

तथ्य ११ : देवाधिदेव महादेवले इन्द्रको राज्य डगमगाउन लाग्यो भनेरै शिवभट्टको परिवारलाई दिएको कठोर दण्डसजायको कुनै तर्क फेला पर्दैन। एउटी सानी बालिकालाई उसको बालसुलभ अज्ञानताका कारण सात वर्षकै उमेरमा सत्तरी वर्षको वृद्धसँग विवाह होस् भनेर स्वयं महादेवले सराप दिनुको औचित्य कतै पनि पुष्टि हुँदैन।

तथ्य १२ : शक्तिमा आधारित सामाजिक सम्बन्धले समाजको तल्लो तहका मानिसलाई माथि उठ्न नदिएको उदाहरण हो यो। शिव शर्माको रूपमा भेष बदलेर सात वर्षकी गोमालाई विवाह गरेर महादेवले दिने सन्देश निश्चितै रूपमा सकारात्मक लाग्दैन। प्रारब्ध र भाग्यको तर्क पनि यहाँ सही ठहर्दैन । आफैं सराप दिने र त्यसको परिणाम भोगाउने पनि आफैं ? महादेवले गर्ने सहयोग इन्द्रजस्ता शक्तिशालीहरूको सत्ता टिकाउनमात्र हो त?

तथ्य १३ : समाजशास्त्रीय दृष्टिले विचार गर्दा पुराणहरूले वर्णन गर्ने देवता, दानव, दैत्य, मानव सबै नै विभिन्न वर्ग र हैसियतका मानव समुदाय नै हुन्। ब्रह्मा, विष्णु, महादेव तीनै वरिष्ठ देवताहरू देवता वा दानव जुनसुकै कुलका भए पनि आफ्ना भक्तलाई वर दिन्छन्, तर संरक्षणचाहिँ देवताको मात्र गर्छन्। स्वस्थानी कथामा यस्ता उदाहरण पटकपटक आउँछन् । मय दानवले सृष्टि गरेको त्रिपुर भष्म गर्नुको औचित्य इन्द्रको राज्य जोगाउनुबाहेक केही देखिँदैन। विष्णुले छल गरेर परस्त्री वृन्दासँग राखेको यौनसम्बन्ध र महादेवले छल गरेर बालिका गोमासँग विवाह गरेर गर्भिणीसमेत तुल्याई चरम दुःखमा अलपत्र पारेको दुवै प्रसंग नैतिक लाग्दैनन्। यद्यपि वृन्दाले विष्णुलाई सराप दिन्छिन्, तर सरापको परिणामस्वरूप शालिग्राम, कुश बनेका विष्णु ती रूपमै पनि पूजनीय मानिन्छन् । पवित्र, शुद्ध रहेर सुनिने कथा यही हो त ? यसले पुरुषहरूको प्रधानता र महिलाको निरीहतालाई नै प्र श्रय दिइराखेको हुन्छ।

तथ्य १४ : कथामा वर्णित महादेव द्वैध चरित्रका छन् । एकातिर सतीदेवीसँग महादेवको गहिरो प्रेमको प्रदर्शन गरिएको छ भने पछि पार्वतीलाई असाध्यै सताइएको छ । यद्यपि पार्वतीसँगको सम्बन्धलाई शिवलीला भनिएको छ । कामदेवलाई भष्म गरेका महादेव अन्यत्र अत्यन्त कामी पनि देखाइएको छ। कामले वशीभूत महादेव आफ्ना पुत्र गणेश पनि चिन्दैनन् र पार्वतीसमक्ष पुग्न आतुर भएर गणेशको हत्या नै गरिदिन्छन् । किरात रूपमा भेष बदलेर श्लेषमान्तक वनमा घुम्दै गर्दा किरातिनी भेषकी पार्वतीलाई नचिनेर यिनै किरातिनी सुन्दरीसँग विवाह गर्न हत्ते गर्छन्। यो बेला महादेवले आफू विवाहित हुँ भन्ने कुरा बिर्सन्छन्। पार्वतीसँग सम्भोगरत अवस्थामा आएको भिक्षार्थीलाई महादेव आफ्नो वीर्य भिक्षाका रूपमा दिन्छन्। उन्मत्त र नांगो भेषमा पृथ्वी चाहार्छन्। यी सबै घटनाको गूढ र प्रतीकात्मक अर्थ निकाल्न सकिएला, यसका आध्यात्मिक आयाममा विशिष्ट अर्थ राख्लान्। तर, सर्वसाधारण र निरक्षर मानिसले यी कथाहरूलाई कसरी लिन्छन् भन्ने प्रश्नको उत्तर छैन। विद्यमान सामाजिक स्थिति र शक्तिसम्बन्धहरूलाई यथावत् राख्नाले यस्ता उटपट्याङ लाग्ने तर जटिल कथाहरूले भूमिका खेलिराखेको हुन्छ।

तथ्य १५ : पति परदेश गएका बेला सासूलाई एक्लै छोडेर माइत गएकी तर पछि पति फर्केर राजा भएको खबरले पतिमिलनमा आतुर चन्द्रावती स्वस्थानीको व्रत गर्न भनेर बीच बाटोमा अलपत्र छोडेर विलम्ब गर्ने डोलेहरूसँग रिसाउनु स्वाभाविक हो। स्वस्थानी देवीको बारेमा पटक्कै ज्ञान नभएकी चन्द्रावतीले डोलेहरूको कुरा नपत्याउनु उसको मानसिक अवस्थाको सापेक्षमा स्वाभाविक लाग्छ। स्वस्थानीको निन्दा गरेको भनेर जुन दुःखकष्टको भुमरीमा चन्द्रावती परेको वर्णन छ, त्यो कहालीलाग्दो छ। तर, स्वस्थानी देवीको व्रत, उपासना गरेपछि सबै पाप पखालिन्छ । गोमाको व्रतको प्रभावले पुत्र छोरा फर्किआएको मात्र नभई ब्राह्मण भईकन पनि राजा हुन पाएको प्रसंग छ।

तथ्य १६ : नदीमा बगाएको स्वस्थानीको प्रसाद फेला परेकै कारण बाह्र वर्षसम्म बिछोडिएका नाग र नागिनीको भेट गराएको छ। स्वस्थानी व्रतकथामा वर्णित यी घटनाले पाठक, श्रोतालाई कर्ममा भन्दा पूजा, अर्चना र व्रत, उपासनामा मात्र लाग्न प्रेरित गर्नसक्छ। मानव प्रगतिको सन्दर्भमा यो किमार्थ व्यावहारिक होइन।

तथ्य १७ : स्वस्थानी व्रतकथाको किताब हरेक घरमा हुनुपर्छ भन्ने लोकविश्वास हो । वर्षको एकपटक त्यसको पठन पनि हुनुपर्छ। पठन पनि मौन होइन, सस्वर ! स्वस्थानी कथाको नाममा समाजमा पठन संस्कृति र साक्षरतामा ठूलो क्रान्ति भएको छ।

तथ्य १८ : कम्तीमा स्वस्थानी पढ्नसक्नु भनेको देवनागरी लिपिमा लेखिएको कुरा पढ्न सक्नु हो। हाम्रो परिप्रेक्ष्यमा यो सकारात्मक उपलब्धि हो। शिक्षाको व्यापकता नभएको त्यो समयमा पठन संस्कृतिलाई वृद्धि गर्ने अनुपम तरिका सिद्ध भएको छ स्वस्थानी कथा। –

तथ्य १९ : स्वस्थानी व्रत विशेष गरेर महिलाले बस्नुपर्ने धारणाले उनीहरूलाई कथा पढ्नसक्ने हुन प्रेरित गर्‍यो। नेपाली समाजमा सीमित र पुरुषकेन्द्रित पठन संस्कृतिलाई चिरेर महिला साक्षरतासम्म पुग्न स्वस्थानीको ठूलो योगदान छ। (राम लोहनीको स्वस्थानीको समाजशास्त्र लेखबाट)

5 comments to स्वस्थानी व्रत : १९ फोटो, १९ रोचक तथ्य

  • Sanju

    As a kid i hated reading swosthani and i dont read it anymore. For the little girl i was, the sexist stories in swosthani, the general nepali culture made me feel inferior and question my worth. I will never let my daughter grow up reading stuffs that says a woman is worthless. It’s time we change our books/ traditions/habits if we want to save our religion. I dont think we realise/care in Nepali society how much the small daily things we carry on to save our traditions impact our psychology and behaviour.

    मन परे हरियो नपरे रातो ! Thumb up 6 Thumb down 9

    • त्यसो भए तपाइँ ले मन्दीर मा पनि दर्शन गर्न जान बन्द गरिदिनुस / किनकी त्यहा पनि यौनिक मुद्रा मा अनेक मुर्ति हरु राखिएका छन् /हो मैले स्वोस्थानी किताब मा यौनिकता छैन भनेको हैन / छ तर त्यति धेरै पनि छैन जुन अहिलेको हाम्रो परिवेशमा छन् जस्तै टिभी अन गर्नुस त्यहाँ लोक गित को नाममा छाडा शब्द हरुको बर्षा नै हुन्छ /त्यो सबै बन्द गर्ने /कुनै पनि खराब कुराको पछाडी पनि राम्रो कुरा लुकेको हुन्छ त्यसलाई चिन्न सक्नु पर्यो / त्यो खराब कुरा बाट हामि शिक्षा लिन सक्छौ ,अब आइन्दा यसो गर्न नहुने रहेछ भनेर / यो त खाली हाम्रो बुझाइको फरक मात्रै हो /आधा भरि गिलास र आधा खालि गिलास जस्तै!! हो तपाई आफ्नो सन्तान लै यस्ता खराब कुरा बाट पर राख्नु हुन्छ तर के यौनिकता खराब कुरा हो त ?

      मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 4

    • आफ्नो नाममा कतिको गर्व छ सन्जु जी ,,, यो नाम फेर्न सक्नु पर्यो ,, हिम्मत छ ? कुरो नमिले जस्तो लाग्यो होला होइन त ,, हो पक्कै पनि ,, किनकि सिधा हेर्दा मिल्दैन पनि तर ,,, त्यो नाम पछाडी हाम्रै परम्परा जोडिएको छ ,, अलि समय पछी तपाईलाई त्यो नाम मन पर्दैन .. चेन्ज गरे पछी पुन लेख्नु होला |

      मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 2

  • Ratna

    धेरै राम्रो विश्लेषण | श्री स्वस्थानी पौराणिक कथा हो, पुरातन धर्म र संस्कार हो, अरु धर्ममा पनि छन् उनीहरुका आ-आफ्नै पौराणिक कथाहरु, यथार्थहरु | समय हरेक दिन परिवर्तन हुन्छ, हजारौं वर्ष अघिको कथा, चलन, संस्कृति आदि आजको युग नसुहाउँदो हुन सक्छ; यो त घोर कलियुग नै हो, यसमा न स्त्रीहरुले लोग्नेको सम्मान गर्छन्, न त लोग्नेहरुले नै | हरेक दिन समाचारमा लोग्ने आफ्नी प्रेमिका वा स्वास्नी हुदा हुदै अर्कीतिर सल्केको, सुतेको कुरा पढ्न पाइन्छ , त्यसरीनै प्रेमिका वा स्वास्नीहरु पनि अर्काको प्रेमी वा लोग्ने ताक्ने, पोइल जाने, नाजायज सन्तान जन्माएर मारेर जंगल, टोइलेट, नदीमा लगेर फाल्ने, गाड्ने आदि समाचार आई रहेकै छन् | त्यसमाथी वैदेशिक रोजगारीमा गएका लोग्नेहरुका श्रीमतीहरुको काण्ड र श्रीमानहरुको चर्तिकला पनि समाचारमा आई नै रहन्छन | भन्नुको मतलब के हो भने समय बदलिएको छ र महिला अधिकार, संस्कार आदि कुरामा विकाश हुदै आएको पनि छ, तर आधुनिक चस्मा लाएर श्री स्वस्थानी ब्रत कथामा लेखिएका प्रसंग, कथा, यथार्थ आदिलाई हेपेर कतिपय महिलावादी संस्था, महिलाहरु स्वयं र अल्ट्रा मोडर्न केटीहरुले नाना थरिको निन्दा गरेको, वर्तमानमा असान्धर्विक भएको, र ब्रत बस्ने र कथा पढ्ने सुन्नेको आलोचना गर्ने गरेको पाइन्छ | तर जबसम्म पशुपतिनाथको मन्दिर नेपालमा रहन्छ तबसम्म त्यस्ता निन्दाहरु र आलोचक आलोचकनीहरुको केही सीप लाग्दैन | यो परम्परा र संस्कृति हाम्रोलागि अतुलनीय र अनुकरणीय छ र रहने छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 6

    • Kishor

      सति प्रथा, बाल बिबाह, नारी माथि अत्याचार को महिमा देक्छु म त्यो कथा मा| म Hindu हो र हाम्रो राम्रो सभ्यता जोगाउनु पर्छ भन्ने कुरा मा विश्वास राक्छु| तर राम्रो र नराम्रो छुट्याएर मात्र राम्रो जोगौन सकिन्छ भन्ने लाग्छ |

      मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 1