वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि मतपत्रका नमूनाहरु सार्वजनिक भएका छन्। काठमाडौँ जिल्लाको मतपत्रको नमूना पनि निर्वाचन आयोगले सार्वजनिक गरेको छ। मतपत्र हेर्दाहेर्दै दङ्ग परेँ म त। मतपत्रमा ४७६ वटा कोठा छन्। त्यसमा दलको चुनाव चिह्न बाहेक स्वतन्त्र उम्मेदवार र स्वतन्त्र हैसियतले चुनाव लड्ने दलहरुका चुनाव चिह्न छन्।
एक लहरमा नअडेर चुनाव चिह्नहरुलाई दुई लहरमा राखिएको छ जस अनुसार कांग्रेसको रुख र एमालेको सूर्य पहिलो लहरमा परेको छ। माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा दोस्रो लहरको बायाँ पट्टी र दायाँ पट्टी राप्रपा नेपालको गाई छ। अहिले संसदमा रहेका दलहरुको चुनाव चिह्न त्यसरी दुई लहरमा माथि नै देखिने बनाइएको छ। बाँकी चुनाव चिह्न चाहिँ खोज्नै धौ धौ पर्न सक्छ। चुनाव चिह्न पनि अचम्म अचम्मका छन्। मोमोदेखि मोमो बनाउने भाँडासम्म, सुँगुरदेखि लामखुट्टेसम्म, उल्लुदेखि नेपालमा नपाइने कंगारु र पेन्गुइनसम्म पनि चुनाव चिह्न छ।
अचम्म त के छ भने यसपालि उम्मेदवारी मनोनयन नै नभई मतपत्र छापिएको छ। त्यसैले उम्मेदवारै नभएको चुनाव चिह्न पनि मतपत्रमा देखिने सम्भावना हुनेछ। त्यसैगरी यदि काठमाडौँको मेयर/उपमेयर वा कुनै वडाका अध्यक्षमा ६८ भन्दा बढी उम्मेदवार भए भने यो मतपत्र काम लाग्ने छैन, अर्को छाप्नु पर्नेछ।
हेरौँ कस्तो छ मतपत्र काठमाडौँको?