यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

कथा : ठूलो मान्छे

-राजु अधिकारी –

सानो छँदा उसलाई ठुलो मान्छे बन्ने रहर थियो। त्यसमा खास गरी दुईवटा कुराले भूमिका खेलेको थियो। पहिलो कुरो त ठुलो मान्छेहरूले गर्ने कतिपय कृयाकलापहरुमा उसलाई रोकावट थियो जुन उसले गर्न चाहन्थ्यो। केही रमाइलो चिज गर्न खोज्यो ‘यो ठुलो मान्छेले गर्ने काम हो, तँ अझै सानै छस् ठुलो भए पछि गर्लास्’ भनेर आमा बुवाले रोकी हाल्थे। दोस्रो कारण चाहिँ दसैँमा टिका लगाइदिँदा सबै जसो मान्यजनहरूले एउटै आशीर्वाद दिन्थे- ‘पैसा कमाउनु, ठुलो मान्छे बन्नु।’ त्यसैले उसलाई छिटो भन्दा छिटो ठुलो मान्छे बन्ने मन थियो। एक कक्षामा पढ्ने बालकलाई ठुलो खासमा मान्छे भनेको के हो थाहा थिएन। उसले सोच्ने गर्थ्यो ठुलो मान्छे भनेको उमेर ठुलो भएकोलाई ठुलो भन्ने की, अग्लो मान्छेलाई ठुलो मान्छे भन्ने की, मोटो मान्छेलाई ठुलो मान्छे भन्ने? तर उसलाई जति सक्यो छिटो ठुलो मान्छे बन्नु थियो।

एक पटक प्रधानपञ्चको छोरोले गाउँकी बठिन्यालाई जबर्जस्ति गर्न खोजेकोमा गा उमा ठुलै हल्लाखल्ला मच्चियो तर पछि सहर बाट पुलिसहरू आएर थारुहरूलाई सबैलाई तर्साए पछि त्यो घटना साम्य भयो अनि कसैले पनि त्यो घटनाको बारेमा फेरी कुरा निकाल्ने आँट गरेनन्। प्रधानपञ्चको छोरोले गल्ती गरेको भन्ने सबैलाई थाहा हुँदा हुँदै पनि उसलाई कसैले केही गर्न सकेनन् किन भने उसका बाबु ठुलो मान्छे थिए। उसले गाउँघरमा मान्छेहरूले कुरा गर्दा यस्तै भन्ने गरेको सुनेको थियो। त्यो सुने पछि उसले पहिले बुझेको ठुलो मान्छेबारेको सिद्धान्तले पनि एक दिन हावा खायो किन भने गाउँका प्रधानपञ्च न अग्ला थिए, न मोटा थिए न गाउँका सबभन्दा पाको उमेरका मान्छे थिए।

अनि एक दिन बा सँग गएर सोध्यो- ‘बा ठुलो मान्छे भनेको के हो?’

‘धनी मान्छे।’ के उत्तर दिने भनेर पनि नसोची बा ले उसलाई चुप गराउन उत्तर दिए।

‘तर प्रधानपञ्चसँग त पैसा छैन त।’ उसले आफ्नो तर्क राख्यो।

‘काँ बाट प्रधानपञ्चको कुरो आयो फेरी?’

‘अस्ति तपाइले प्रधानपञ्च ठुलो मान्छे हुन् भनेको होइन? तर उनीसँग त पैसा छैन।’

‘कसले भन्यो तलाई उनीसँग पैसा छैन भनेर?’

उसले गाउँघरमा मान्छेहरूले कुरा गरेको सुनेको थियो की केही कसैको काम गर्दिनु प-यो भने प्रधानपञ्चले पैसा माग्छन् रे भनेर। यदि उनीसँग पैसा भएको भए उनले अरूको पैसा पक्कै माग्दैनथे होलान्। उसले बालाई बिस्तारमा बतायो।

‘झल्ला कुरा नगर। अरूले सुने भने के भन्लान्? सानो भएर ठुलो कुरा गर्छ।’ बाले बढी कुरा गर्न चाहेनन्। उसले पनि त्यो भन्दा बढी सोचेन। उसलाई लाग्यो सायद अर्कासँग पैसा मागीमागी प्रधानपञ्च धनी भए होलान्। तर जे भए पनि प्रधानपञ्च नहुँदै ठुलो मान्छे भईदैन भनेर।

त्यो बेला उ गोठाला जानु को साथै पढ्न स्कुल पनि जान्थ्यो। गाउँका स्कुल जाने थोरै केटाहरू मध्य उ पनि एक थियो। केटीहरू कुनै पनि स्कुल जाँदैनथे अनि उसको उमेरका अधिकांश केटाहरू पनि स्कुल नगएर खेतबारीमै बा आमालाई सघाउने काम गर्थे। उसलाई पनि स्कुल जान पटक्कै मन पर्दैनथ्यो तर बाबुआमाले ठुलो मान्छे बन्न पढने पर्छ भनेको हुनाले मन नलागी नलागी पनि उ स्कुल जान्थ्यो।

प्रधानपञ्च बन्ने उसको इच्छा तीव्र हुँदै गयो। अर्को दिन स्कुलबाट फर्केर घर भित्र नपस्दै अचानक बासँग उसले सोध्यो- ‘बा प्रधानपञ्च बन्न के गर्नु पर्छ?’

छोराको अनौठो प्रश्नले भुटेको भटमास चपाउँदै पेटीमा बसेका उसका बाबु एक छिन त अलमल परे के सोध्दै छ भनेर अनि उल्टै उसलाई सोधे- ‘हैन किन प्रधानपञ्चको पछि लाग्या छ यो?’

‘मलाई प्रधानपञ्च बन्न मन लागेको छ।’

‘खुस्किस् की क्या हो?’ बाबुले रिसाउँदै सोधे? किन बन्नु प-यो प्रधानपञ्च?’

‘मलाई ठुलो मान्छे बन्न मन लागेको छ त्यसैले।’

‘ठुलै बन्ने भए अलि ठुलै बन न। प्रधानपञ्च भन्दा ठुला त् कति छन् कति। कमसेकम सोचाइ त् ठुलो राख।’ बाबुले एक मुठी भटमास मुखमा हाल्दै भने।

‘सबभन्दा ठुलो को हो त?’

‘राजा। राजा हुन् सबभन्दा ठुलो।’

‘उसो भए म राजा बन्छु।’ उसले तुरुन्तै बन्यो।

‘के भनिस्?’ आफैले दिएको सल्लाहमा पछुताउदै बाबुले चर्को स्वरमा सोधे।

‘म राजा बन्छु।’

‘चुप लाग, कसैले सुने भने जेलमा लगेर थुन्देलान्।’

‘अनि दसैँमा टिका लगाउँदा ठुलो मान्छे भएस् भन्नु भा हैन?’

‘राजा बन भनेको हो त?’

‘राजा सबभन्दा ठुला भएपछि, राजा त बन्नु प-यो नि।’

छोराको त्यो उत्तर सुने पछि बाबुको अनुहारमा चिन्ता र डरको भाव स्पष्टै देखिन्थ्यो। कसैले सुनेर प्रहरीमा गएर भन्दिए भने सोझै जेल जानु बाहेक अर्को कुनै उपाय थिएन।

तुरुन्तै उसलाई लतारेर भित्र लगेर उसकी आमाम सँग उसको ‘पागलपन ‘ को बिस्तार लगाए। आमाले पनि उसलाई राम्री सम्झाइन। उसले केही बुझे जस्तो ग-यो तर राजा बन्ने भूत उसको मनबाट हटेको थिएन।
अर्को दिन स्कुलमा दिन भरि त्यही सोचाइले उसलाई सताई रह्यो। अनि महेन्द्र माला पुस्तकको द्रोशो पृष्ठमा उसले बाले लेखिदिएको आफ्नो नाम ‘राम बहादुर रोका’ लाई केरमेट गरेर आफ्नै चरीनंग्रे अक्षरमा ‘राजा बहादुर रोका’ लेख्यो।

दुई दिन पछि बाबुले उसलाई स्कुल पठाउँदा किताब मिलाइदिँदै थिए। उसले किताबमा लेखेको त्यो नाम देख्दा उनको सातो पुत्लो गयो। अनि दुई झापड लगाए छोरालाई। उसले त्यति बेला सम्म पनि बुझेको थिएन किन आफूले मन पराएको नाम राख्दा अनि उसले झापड खायो भनेर। तर झापडले पनि उसको ढिपी छुटेन, उसले आफ्नो नाम राजा राख्न जिद्दी ग-यो। अनि आमाको मध्यस्थतामा अन्तमा बाउ छोराले ‘राज बहादुर रोका’मा सम्झौता गरे।

समयले कोल्टो फे-यो। अलि ठुलो भए पछि उ विद्यार्थी राजनीतिमा लाग्यो। तर अलि ठुलो भैसकेपछि उसले आफू सानो हुँदा ठुलो मान्छे बन्ने त्यो जिद्दीलाई बिर्सिसकेको थियो। तर उसको त्यो ठुलो मान्छे हुने इच्छा उ बच्चा हुँदा यति तीव्र थियो की उसको दिमागको भित्री भागमा त्यसले डेरा जमाएर बसिसकेको थियो। वैज्ञानिक हरूले भन्ने गरेका छन्- मान्छेको दिमागको शक्ति यति धेरै हुन्छ की यसले हामीले नसोचेका काम पनि सजिलै गर्न सक्छ। उसको स्थितिमा पनि त्यही भयो- उसले थाहै नपाई उसको दिमागमा बसेको तीव्र इच्छाले उसलाई त्यही ठुलो मान्छे बन्ने बाटोतिर डो-याउदै लाग्यो। अनि राजनीतिमा लागेपछि अन्य अग्रज नेताहरूको सिको गर्दै साम, दाम, दण्ड, भेद सबै अपनाउँदै उ बिस्तारै राजनीतिमा सफलताको खुड्किलो चढ्दै गयो। पछि मन्त्री पनि भयो। मन्त्री भए पछि नैतिकता, स्वाभिमान, इज्जत, देशभक्ति सबै बिर्सेर उसले निकै धन पनि कमायो। भाग्यको खेल भनौ की उसको बाल्यकालको तीव्र इच्छाशक्तिको असर भनौ राजनीतिक पार्टीहरू भित्र खिचातानी हुँदा उसलाई नेपालकै राष्ट्रपति बन्ने चिठ्ठी प-यो जुन उसले सपनामा पनि चिताएको थिएन होला। त्यसपछि चाहिँ उसलाई लाग्यो उ साँचै ठुलो मान्छे बन्यो भनेर।

कहिले एकान्तमा बसेर विगतका कुराहरू सोच्दा उसलाई आफ्ना बाल्यकालका त्यही स्मृतिहरू निकै रमाइलो लाग्थ्यो। उसले त्यति बेला बल्ल थाहा पायो सोचे पछि जे पनि पुग्दो रहेछ भनेर। बाल्यकालको बेला अझ ठुलो किन सोचिएनछ भनेर भित्र भित्रै पछुतो पनि मान्यो। तर ठिकै छ। नेपालको सबभन्दा ठुलो मान्छे बनिसकेको थियो उ। त्यसैले सन्तुष्ट थियो।

उसले सोचे जस्तो राजा नै नभए पनि उ राजा भन्दा पनि ठुलो भएको थियो किनभने उहिलेका राजालाई भन्दा उसलाई बढी सुविधाहरू थिए, मन सम्मान थियो, सुरक्षा थियो। तर जीवन भनेको साइकल को पांग्रा जस्तै हो, उसको राष्ट्रपति काल पनि सकियो। तर उसलाई ठुलो मान्छे बन्नु थियो उ बन्यो। राष्ट्रपति बाट बाहिरिए पनि उ सानो भएको थिएन। उसलाई सबै खर्च राज्यले नै ब्यहोर्थ्यो। पेन्सन देखि सुरक्षा कर्मी अनि बस्ने घर देखि मोटर र मोटर चालक सहित सबै सुविधा थियो उसलाई।

राष्ट्रपति बाट बाहिरिए पछि उसको दिन चर्यामा परिवर्तन भयो। पहिलेको त्यो व्यस्त दैनिकीबाट उ अकस्मात खालि हुन पुगेको थियो। दिनभरि घरमा आफ्नी आमा र नाति नातिनीहरूसँग खेल्थ्यो, उनीहरूलाई आफ्ना बाल्यकालका स्मृतिहरू सुनाउँथ्यो। बाल्यकालको आफ्नो जिद्दी सम्झेर उसलाई हाँसो उठ्थ्यो अनि कहिले मुस्कुराउथ्यो कहिले गम्भीर हुन्थ्यो।

एक दिन उसकी आमा अचानक बिरामी परिन। घरमा केही बच्चाहरू बाहेक उ मात्रै थियो ठुलो मान्छे। आमालाई मुटुको रोग थियो। आमा अचानक बिरामी परे पछि उ निकै अत्तालियो। सरकारले दिएको गाडी उसको जेठो नातिले कता लगेको थियो, तुरुन्तै ड्राइभरलाई बोलाएर आफ्नै निजी गाडीमा आमालाई लिएर अस्पताल दौडायो। ड्राइभरले आफ्नो बलबुताले भ्याएसम्म गाडी कुदायो। उ भने पछिल्लो सिटमा आमालाई आफ्नो काखमा राखेर उनको प्राणरक्षाको लागि भगवानसंग प्रार्थना गरिरहेको थियो। एक एक मिनेट उसको लागि एक एक घण्टा जस्ता लागेका थिए। जतिसक्यो चाँडो अस्पताल पुग्न पाए आमालाई बचाउन सकिन्छ कि भन्नेमा उ थियो। मुटुको रोग लागेको मान्छेलाई जतिसक्यो चाँडो अस्पताल पु-याउनु पर्छ नत्र भने जति ढिलो ग-यो उति खतरनाक हुन्छ भन्ने उसले सुनेको थियो।

अस्पताल नेर पुग्नै लाग्दा त्यहाँ सयौँ गाडीहरू लाम लागेका थिए। किन हो भनेर बुझ्दा राष्ट्रपतिको सवारीले गर्दा उनीहरूलाई रोकिएको रहेछ। उसलाई छटपटी भयो, पसिना आयो। आमा झन् पछि झन् सिकिस्त हुँदै थिइन। उसले ड्राइभरलाई अर्को बाटोबाट अथवा अर्को अस्पताल जान भन्यो। तर उनीहरूका पछाडि अरू सयौँ गाडीहरू जम्मा भैसकेका थिए। उनीहरू न अगाडि जान सक्थे न पछाडि। हिँडेर जाने स्थिति पनि थिएन अझै केही दुरी बाकी थियो।

उ कहिले बाहिर निस्कन्थ्यो अनि भित्र जान्थ्यो आमालाई हेर्थ्यो। आमा झन् झन् शिथिल हुँदै थिइन। भगवानलाई पुकार्नु बाहेक उसको लागि अरू केही उपाय थिएन। लगभग आधा घण्टा पछि राष्ट्रपतिको सवारी सकिएको हुनाले जाम खुल्यो। उसलाई अलिकति भए पनि राहत भयो। अनि ड्राइभरले वायुको गतिमा सबैलाई छिचोल्दै गाडी कुदायो। अस्पतालको ढोकानेर पुग्दा आमाले उसको काखैमा प्राण त्यागिन। ‘आमा, आमा’ भन्दै रुन्चे स्वरमा उ जोड जोडले करायो। तर आमाले उत्तर दिईनन। तैपनि बचाउन सकिन्छ की भनेर उसले दौडाउँदै अस्पतालको आकस्मिक कक्षमा लाग्यो। पूर्व राष्ट्रपति भएको हुनाले उसले अरूको पालो मिचेर त्यहाँ डाक्टर लाई हेर्न लगायो।

डाक्टरले भित्र लगेर सबै जाँच गरे। उसकी आमालाई पुनर्जीवन गर्न सके जति प्रयत्न गरे तर केही लागेन। केही मिनेट पछि निराश मुद्रामा डाक्टर कोठाबाट निस्किएर भने- ‘सरी सर, केही उपाय लागेन। दश मिनेट जति अगाडी ल्याएको भए बचाउन सकिने लगभग निश्चित जस्तै हुन्थ्यो। तर अलिकति ढिलो भयो।’

पुर्पुरोमा हात लगाएर उ थचक्क भुइमा बस्यो अनि डाको छोडेर रोयो। उसलाई ट्राफिक जाम गराउने त्यो राष्ट्रपतिको घाटी निमोठेर मारौँ जस्तो लाग्यो जसको सवारीले गर्दा उसकी आमाको निधन भएको थियो। तर उसले केही गरे पनि आमा फर्केर आउदैनथिन त्यसैले चित्त बुझाउनु बाहेक अर्को उपाय थिएन। त्यसैले अकालमै मरेकी आमाको लास बोकेर उ घर फर्क्यो।

किरिया पुत्री भएर बसेको बेला उसले आफ्नो राष्ट्रपति काल सम्झ्यो। त्यति बेला उ जहाँ जाँदा पनि चारै तिर सुरक्षाकर्मीहरूले घेरिएको हुन्थ्यो मानौँ की उसलाई केही भयो भने देशको सम्पूर्ण राजकाज नै ध्वस्त हुनेछ जस्तै। उसको सवारीमा महँगा गाडीहरू प्रयोग हुन्थे। उसको सवारी हुँदा उ हिँड्ने बाटोमा सर्वसाधारणलाई हिँड्न रोक लगाइन्थ्यो।

आमाको निधनले उसलाई सामान्य मानिस भएर सोच्न बाध्य बनाएको थियो। उसलाई लाग्यो कति पटक उसको सवारीले गर्दा सुत्केरी हुन अस्पताल पु-याउन लागेकी महिलाले बाटोमै शिशु जन्माइ होलिन्, अन्तर्वार्ता जान तयार भएको युवकले आफ्नो अन्तर्वार्ता गुमायो होला, जाँच दिन हिँडेको विद्यार्थी जाँच दिन ढिला पुग्यो होला, अनि कति बिरामीहरू उसको सवारीका कारण समयमै अस्पताल पुग्न नपाएर प्राण त्यागे होलान् उसकी आमाले जस्तै। त्यो सबै सम्झेर उसलाई आत्म ग्लानी भयो। ठुलो मान्छे हुने धुनमा उसले कतिलाई दुख दिएको रहेछ, कति मानिसको जीवन बर्बाद गरेको रहेछ उसलाई बल्ल थाहा भयो। सायद तिनै मानिसहरूको श्रापले पो हो की उसकी आमाको अकालमै निधन भएको भनेर पनि उसले सोच्यो। उसलाई आफूले ठुलै पाप गरे जस्तो लाग्यो अनि छटपटी हुन् थाल्यो। आखिर उ त ठुलो मान्छे होइन, निकै तुच्छ र निच मान्छे पो भएको रहेछ। अनि मनमनै आफूले गरेको पापको प्रायश्चित गरेर आफ्नो पाप पखाल्ने प्रण ग-यो।

आमाको निधन पछि उसको व्यवहारमा निकै परिवर्तन आएको थियो। उसले आफ्नो शक्तिले भ्याएजति आफ्नो पाप पखाल्ने कार्यहरू थाल्यो। अनि अर्को पुस्ता आफ्नो पुस्ता जस्तै ठुलो मान्छे बन्ने रहरमा पथ भ्रष्ट हुनबाट रोक्नुपर्छ भन्ने उसलाई लाग्यो।

अर्को वर्ष दसैँ आयो। उ घरको सबभन्दा पाको मान्छे। छोरा, छोरी, बुहारी, ज्वाई, नाति नातिनी सबै उसको हातबाट टिका थाप्न आए। जयन्ती मंगला काली…. पहिले दसैँमा आशीर्वाद दिँदा उसले पनि उसका बाबु आमाले जस्तै – पैसा कमाउनु, ठुलो मान्छे हुनु,… भन्ने गर्थ्यो। तर यसपालि उसले आशीर्वाद बदल्यो- ‘इज्जत कमाउनु, राम्रो मान्छे हुनु,….’

4 comments to कथा : ठूलो मान्छे

  • Hridaya

    कृपया अझै लेख्दै जानु होला !!

  • madan bajracharya

    राजनीतिमा कुन शक्ति निर्णायक हुन्छ तेसैको आधारमा व्यबस्थाको नामकरण हुन्छ/ भोट दिने नागरिक निर्णायक हुन्छ भने त्यो प्रजातन्त्र पनि हुन् सक्छ लोकतन्त्र पनि हुन् सक्छ/ तर भोट माग्न आउने बेला नागरिकलाई नमस्कार पनि गर्ने पाउ पनि धोक्ने तर भोट लिसके पछि उनीहरुको कोठे निर्णय नागरिकले मात्रै होईन सदन र सांसदले पनि हुकुम सरह मान्नु पर्ने र उनीहरु नागरिकको निमित पनि माननिय हुने उनीहरु बाटोमा आय मात्र पनि नागरिकले बाटो छोड्नु पर्ने ब्यबस्था त् फताहको फताहतन्त्र मात्रै हुन् सक्छ/

    उनीहरुले धम्क्यायर चन्दा भनि भिख माग्दा कानुन नलाग्ने तर मात्र बाच्नको निमित कुनै अर्को बिकल्प नै नभयकोले मागेकोमा पनि कैद र जरिवाना ठोक्ने कानुन बनाउने ले बिकल्प नभयको बाच्न पनि मागी खानु पर्नेलाई फोहरको कचारानै ठाने बाट पनि स्पस्ट हुन्छ इनिहरुको को हो र इनिहरुको तन्त्र के कस्तो तन्त्र हो भनेर/

  • hira kumar

    एकदम मनमोहक र बेबहारिक लेख

  • Vicky Dev

    अति सुन्दर लेखन, मार्मिक वास्तविकता को चरम उदगार प्रस्तुस गर्छ यो कथा.
    धन्यबाद तथा शुभकामना राजु अधिकारी जी, येस्तै अरु कथा /लेख को पर्खाइमा…….

    विक्की देव