यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

मृत्युमाथि निरीह नजर

‘ह्या भिनाजु, केही हुन्न के। त्यस्तो सोच्नै हुन्न। विल पावर बलियो बनाउनु पर्छ। सबभन्दा ठूलो कुरा भनेकै त्यही हो।’

केही महिनाअगाडि पुरानो रोग (क्यान्सर) फेरि बल्झिएको र घरमै किमोथेरापी सुरु गरेको थाहा पाएपछि भेट्न जाँदा मैले भिनाजुलाई प्रधानमन्त्री केपी ओलीको उदाहरण दिएको थिएँ, ‘विल पावरका कारण त उहाँ तगडा हुनुहुन्छ।’ किड्नी ट्रान्सप्लान्ट गरेका बिरामी बाँच्ने ‍औसत समयसमेत बताएर सम्झाउँदै गर्दा उहाँ मेरो कुरामा सहमत भएको जस्तो महसूस मैले गरेको थिएँ।

एक हप्ताअघि त्यही घरमा उहाँको ‘विलपावर’कै चर्चा भइरहेको थियो। फरक यत्ति थियो, भिनाजु हाँसिरहेका थिए कोठाको एक छेउमा। अगाडि एउटा दियो बलिरहेको थियो अनि फोटोमा झुण्डिएको थियो फूलको माला।

अघिल्लो बुधबारदेखि म सामान्य हुन सकिरहेको छैन। मैले मृत्युलाई यति नजिकबाट पहिलो पटक देखेको हुँ। अरु खालको मृत्यु र आफ्नै आँखा अगाडि एक आफन्तले पीडादायी मृत्युवरण गर्दै गरेको अनि निरीह भएर त्यसलाई हेर्न बाहेक गर्न केही नसक्ने स्थिति साह्रै पीडादायी हुने रहेछ। सिद्धार्थ गौतमले २९ वर्षको हुँदा देखेको ‘चत्तारि निमित्तानि’ मध्ये एक मृत्यु पनि थियो। उनले मृत्युलगायतका पीडाबाट मुक्तिको उपाय खोजेको भनेर सानैमा स्कूलमा पढेको थिएँ। बुझेको थिइनँ- कसरी?

गएको जनवरीमा सातौँ पटक १० दिने विपश्यना ध्यान सुरु हुनुभन्दा अघिल्लो रात नै मैले गुरु, जसलाई सहायक आचार्य भनिन्छ, सित गएर भनेको थिएँ, ‘मेरो बहिनी र ज्वाइँको भर्खरै मृत्यु भएको छ। एक्सिडेन्टमा। मलाई एकदमै गाह्रो भइरहेको छ।’

कोठाभित्र भएको आगलागीमा परेका ज्वाइँ र बहिनी दुवैलाई तीन दिनको अन्तरमा आर्यघाटमा जलाएको, अस्पतालमा उपचार गर्दाको, एम्बुलेन्समा अर्को अस्पताल सार्दाको मात्र हैन सँगै ध्यान गर्दाका दृश्य फिल्म झैँ मस्तिष्कमा घुमेको घुम्यै भइरहने। अनि मनमा पीडा हुने। (पढ्नुस् ब्लग : जाडो भयो भनेर ग्यास हिटर चलाउनुअघि लाख पटक सोच्‍नुहोला है !)

‘कन्ट्रोल गर्नुपर्छ मलाई थाहा छ, तर म गर्न सकिरहेको छैन,’ मैले यसो भन्दै गर्दा सहायक आचार्य ज्ञानदर्शन उदासले जे भन्नुभो, त्यसले मलाई भित्रैदेखि छोएको थियो।

उनले भनेका थिए, ‘कन्ट्रोल गर्ने हैन, अब्जर्भ गर्ने। त्यत्रो घटना भएको छ, पीडा त हुन्छ। तर त्यो पीडासँग बग्ने हैन, पीडा छ भनेर बुझ्ने। समता भावमा बस्न प्रयास गर्ने।’

अहो, उनले कस्तो कुरा भने। ६/६ पटकको अर्थात् कूल ६० दिन विपश्यना गर्दा त्यही कुरा त सिकाइएको थियो। कस्तो बिर्सेको !

बुद्धले जन्म, बुढ्यौली, पीडा, बिरामी र मृत्युको बारेमा उत्तर खोजेका थिए भन्दा नबुझेको कुरा यही त रहेछ। तर बुझ्नु र व्यवहारमा लागू गर्नु गाह्रो काम हो। बुझ्ने बित्तिकै हुने भए त सबै बुद्ध भइहाल्थे नि।

अचम्मको संयोग
कहिलेकाहीँ यस्तो घटनामा अचम्मको संयोग जुर्ने रहेछ। म सामान्यतया साँझ साढे ५ बजेको समयमा ज्योति भवनमा सामूहिक मेडिटेसनका लागि गइरहन्छु। त्यो दिन बालकोटमा साथीलाई भेटेर फर्किँदा अलि छिट्टै भएको थियो। त्यसैले ४ बजे नै गइयो। ५ बजे म त्यहाँबाट निस्केर घर पुगेँ।

बूढीले अलि अगाडि बिरामी भिनाजुलाई हेर्न जाँदा ‘उमेशलाई लिएर आऊ है’ भन्नुभएको रहेछ। त्यो दिन अलि छिट्टै घर पुगेकोले जाउँ न त भन्ने कुरा भयो। खासमा जानु पर्ने अर्कै ठाउँमा पनि थियो। त्यहाँ एकछिन पसेर जाने सल्लाह भएको थियो। बाटोमा सीधै उता जाने कि भन्ने कुरा हुँदा हैन भिनाजुलाई हेर्न जाउँ भनेर मैले नै भनेँ।

भिनाजुको घर पुग्दा पो थाहा पाइयो, अन्तिम क्षणमा पो हुनुहुँदो रहेछ उहाँ। बेडभरी आफन्त। आँखा खोल्न गाह्रो भइरहेको थियो। भान्जीले ‘पापा, आँखा खोल्नु, किन बन्द गर्नुभा’ भनेपछि आँखा खोल्नुहुन्थ्यो। बोली लर्बरिएको थियो, प्रष्ट थिएन। आँखा खोलेर मलाई पनि हेर्नुभयो। मेरी बूढीलाई ‘प्रभा’ भनेर नामै लिएर बोलाउनु भयो। म बोल्न केही सकिरहेको थिइनँ। त्यो कारुणिक दृश्य हेरिरहेको थिएँ। भान्जी त हैन दिदी चाहिँ बारम्बार नियन्त्रण गुमाउनु हुन्थ्यो। आँखाबाट आँसु बगाउनु हुन्थ्यो। पीडा हेर्न नसकेर भिनाजुका भाउजु, दिदीहरु कोठाको अर्को छेउमा गएर रोइरहनुभएको थियो।

म अवाक् थिएँ। मैले न केही गर्न सक्थेँ, न बोल्न सक्थेँ। म हेरिरहेको थिएँ, बस हेरिरहेको थिएँ। भिनाजु कहिले उठाइदेऊ मलाई भन्नुहुन्थ्यो, कहिले सुताइदेऊ। कहिले दिदीहरुलाई खुवाऊ भन्नुहुन्थ्यो। कहिले डाइजिन खाने भन्नुहुन्थ्यो। बोली प्रष्ट नभए पनि बुझिन्थ्यो भन्न खोजेको कुरा।

यत्तिकैमा मोबाइल भाइब्रेट गर्‍यो। मेरो मोबाइल अक्सर साइलेन्टमै रहन्छ। त्यो दिन भने भाइब्रेसन अन रहेछ र थाहा पाएँ। ट्रु कलरले थाहा दिइहाल्यो रवि लामिछानेको फोन। निर्मला काण्डमा सीधा कुरा जनतासँगको टिमले केही गर्न खोजिरहेको सुनेको थिएँ। त्यही बारे केही बुझ्नलाई फोन गरेको हो कि भनेर एक छेउमा गएर फोन उठाएँ। हैन रहेछ। बिहेको निम्तो दिनलाई रहेछ। उनी नगरकोटको होटलमा शुक्रबार राति बसेर शनिबार बिहान ब्रेकफास्ट खाएर छुट्टिने गरी निम्ता दिएको कुरा बताउँदै थिए, म यता घरको रुवाबासीको स्थितिमा थप केही भन्न सक्ने स्थिति थिएन। सानो स्वरमा अँ, हस्, हुन्छ मात्रै भन्दै थिएँ।

निरीह नजर
कल डिस्कनेक्ट भएपछि फेरि कोठामा गएँ- छलफल हुँदै थियो। के गर्ने होला? भिनाजुको दाइले भन्नुभयो- अब के गर्ने? हस्पिटल लाने केस पनि हैन यो।

हस्पिटलले पनि नल्याउँदा हुन्छ भनिसकेको थियो। डाक्टरलाई फोन गर्दा हस्पिटलमा पनि केही हुने हैन। पीडा कम गर्न मोर्फिनै दिने हो। त्यो घरैमा दिने व्यवस्था पनि थियो।

हस्पिस लगे हुने सल्लाह आयो।

हस्पिस?

मलाई त्यतिबेलासम्म हस्पिस बारे केही थाहै थिएन। पछि पो थाहा भयो, बाँच्ने आशा नभइसकेका बिरामीहरुको मृत्यु सहज बनाइदिने ठाउँ रहेछ हस्पिस। नेपालकै पहिलो Palliative Care Centre का रुपमा स्थापना भएको लगनखेलको यो हस्पिस नेपाल च्यारिटी अगर्नाइजेसन रहेछ।

इन्डिया जाने, लिभर ट्रान्सप्लान्ट गर्ने, निको भएर फर्कने अनि मनकामना जाने प्लान सुनाउँथे रे भिनाजुले। करिब २० वर्षअघि वीर अस्पतालमा मेडिकल मिराकल भएर बाँचेका थिए भिनाजु। त्यतिबेला क्यान्सर भएको भाग काटेर फ्याँकिएको थियो। उहाँलाई देखेर डाक्टरहरु पनि छक्क पर्थे भनेर भिनाजु आफै सुनाउनु हुन्थ्यो। यस पटक पनि त्यसरी नै फर्किने विलपावर थियो होला उहाँको।

तर चमत्कार भनेको सधैँ हुँदैन रहेछ।

उहाँलाई मात्र थाहा नदिइएको हो, अरुलाई डाक्टरहरुले थाहा दिइसकेका थिए- उहाँको जीवनका अन्तिम दिनहरु सुरु भइसकेका छन्।

मलाई एउटा खट्किएको वा म आफू प्रष्ट हुन नसकेको एउटा विषय- यस्तो बिरामीलाई उनको स्वास्थ्य स्थितिका बारेमा थाहा दिनु उचित कि अनुचित। आफू मर्दैछु भन्ने थाहा भएको भए उहाँले आफ्ना केही इच्छाहरु पूरा पो गर्नुहुन्थ्यो कि। अथवा त्यस्तो थाहा भएमा हताश भएर झन् छिटो स्वास्थ्य बिग्रने भएर पो थाहा नदिनु नै उचित हुने हो कि।

भिनाजुलाई थाहा थिएन। त्यसैले घरको बेडबाट एम्बुलेन्सको बेडमा राख्नुअघिसम्म उहाँ अस्पष्ट भाषामा भन्दै हुनुहुन्थ्यो- मलाई राम्रोसँग जाँच भन्नु त्यहाँ।

ब्ल्याक टीमा बिस्कुट आफैले चोपलेर खानुभएको थियो।

उता भिनाजुलाई एम्बुलेन्समा राखेर हस्पिसतिर लगियो, यता घरमा भाउजुहरु ‘सिक्क हे सास्ती नल’ (एकदमै पीडा भयो) भन्दै रुनुभयो। उहाँहरुलाई लागिसकेको थियो- अब देवर फेरि फर्किएर घर नआउने पो हो कि।

एम्बुलेन्स अगाडि लागिसकेको थियो। हामी पनि गुगल म्याप हेर्दै अलमलिँदै लगनखेलको हस्पिस नेपालको भवनमा पुग्यौँ। अक्सिजन लेभल कम भएकोले मास्क लगाइएको थियो। अप्ठेरो भएर होला बारम्बार उहाँ हात चलाएर मास्क खोल्न खोज्नुहुन्थ्यो। अर्धचेत अवस्था थियो। पीडाले मुखबाट निस्केको आवाज प्राइभेट रुम नजिकैको ८ बेडको जनरल वार्ड र प्रतीक्षालयसम्म मात्र हैन बाहिरसम्मै सुनिन्थ्यो।

नर्सले भनिन्- यस्तो अवस्थामा हामीले बिरामीलाई पेन कम गराएर सहज गराउने हो। निको हुन्छ भनेर त यहाँहरुले ल्याउनु भएको हैन तपाईँहरुले बुझ्नु भएकै छ। केही भन्न सकिने अवस्था छैन।

मैले सुन्न सकिनँ। बेडमा गएँ। पीडाले भिनाजु कराइराख्नुभएको थियो, दिदी र भान्जी नजिकै बसिरहनुभएको थियो। कसैले केही गर्न सकिरहेका थिएनन्। निरीह नजर लगाएर मृत्युको पर्खाइबाहेक अरु विकल्प नै थिएन।

सुन्निएको खुट्टामा एउटा मेसिन जडान गरेर मोर्फिन र अर्को औषधीको मिक्स दिएर पीडा कम गराउने भनियो। ‘यो मेसिन आवाज आइराख्यो भने भन्नुस् है, अनि यहाँ मोबाइल पनि नचलाउनु होला,’ नर्सले भनिन्,’यो औषधिले चार घण्टापछि काम गर्छ।’

राति १०/साढे १० बजिसकेको थियो। दुई जना मात्र कुरुवा बस्न दिने, अरु जानुस् भने। दिदी र भान्जी अनि भिनाजुको दाइ बस्नुहुने भयो। हामी मन भारी गरेर निस्कियौँ।

यो बीचमा मैले एउटा निर्णय पनि लिएको थिएँ। मृत्युमाथिको यो निरीह नजरले मलाई यो निर्णयमा अझ कठोर हुन अप्रत्यक्ष रुपमा बल दिइरहेको थियो। आखिर मायाले केही नहुने रहेछ। माया छ भन्दैमा रोक्न नसकिने रहेछ। एक किसिमको मोहभंगको स्थिति। जीवनको पुनरावलोकन। कति नै बाँच्नु छ र अब। बाँकी जीवनमा बेकार व्यर्थको भागदौडको अर्थ के?

रातभर राम्रोसँग निद्रा परेन। भिनाजुको अनुहार झल्झल्ती आइरह्यो।

बिहानै खबर आयो- त्यही भयो, जे हुन्छ भन्ने ठानिएको थियो।

‘राम्रो भयो’, थाहा पाउने बित्तिकै मैले भनेँ।

आखिर त्यो पीडाबाट मुक्ति त पाउनु भयो भिनाजुले। पीडा पाउनेलाई पनि सास्ती, हेर्नेलाई पनि सास्ती। यस्तो त कसैलाई नहोस्।

भिनाजुको बैकुण्ठ बास होस्।

सबको मंगल होस्।

8 comments to मृत्युमाथि निरीह नजर

  • AS

    Sorry for your loss. RIP .

  • bijay

    Sorry for your loss.
    Your story is reminding me of a similar first hand experience that i went through several years ago. And it is indeed a dilemma to inform the person of his condition.
    May his soul find the happy place in his journey ahead.

  • राजु आचार्य

    यो रोगबाट गुज्रेका व्यक्ति र परिवारसँग नजिक बसेर समय बिताएको छु l तपाईंको अनुभवलाई म पनि केहि अनुभव गर्न सक्छु l भिनाजुको बैकुण्ठ बास होस्। सबको मंगल होस्।

  • Sunil, London

    उमेश जी ले “बिरामी लाइ थाहा दिने कि नदिने” भन्ने कुरा उठाउनु भएको रहेछ ….यो ठाउँ अनुसार फरक फरक हुने रहेछ ! हामी बस्ने ठाउँ (लण्डन) मा डाक्टर ले बिरामी लाइ सिधै भनिदिने चलन छ, यसो नभन्नु भनेर डाक्टर लाइ सिकाउदा उल्टै हामीलाई सिकाइदिये, यो बिरामीको मानव अधिकार हो रे उसले आफुलाई के भैरहेछ त्यो थाहा पाउनै पर्छ रे !!!
    २ वर्ष अघि एकजना आफन्त लाई ब्रेनक्यान्सर भएको र बेल्जियम को हस्पिस मा राखेको खबर पायौ, उनलाई हेर्न पुगियो ! त्यहाँ हामी डाक्टर संग घुमाएर कुरा गर्दै थियौ, तर डाक्टरले बिरामी लाइ नै मज्जा संग तपाई लाइ त यहाँ पिडा कम गर्न मात्र राखेको हो, अब कुनै उपचार छैन भनिदियो, त्यो देखेर हामी तर्सियौ….केहि गर्न सकिएन !
    दुनियामा को होला जसलाई अब तपाई मर्ने बेला भयो भन्दा पनि “विल पावर” कायम राख्न सक्ला ? मेरो बिचारमा बिरामी लाई सोझै केहि भन्नु हुदैन बरु उनको इच्छा के छ त्यो घुमाउरो पाराले पत्ता लगाएर पुरा गरिदिनु पर्छ !
    अमेरिका मा पनि बिरामी लाई सोझै भन्ने चलन रहेछ !!!
    यहाँ लाइ हार्दिक समवेदना प्रकट गर्दछु !

  • SURAJ

    May his soul rest in peace

  • madan bajracharya

    सालोक्यज्यु/
    सब्दनै छैन के भनु/ क्यान्सर को पिडा कस्तो हुन्छ देखेको छु/ म यहालाई मैले देखेको क्यान्सर भयर….भयको घटना भन्छु सायद तपाइको आफन्तको वियोगको पिडा केहि कम हुन्छ होला/

    मुलुकी ऐन को लेखक सर्वोच्च अदालतको न्यायधिस लेखाबिर बस्नेत ज्यु मेरो अत्यन्त घनिष्ट मित्र बिरेन्द्रको बुवा हुनु हुन्थ्यो/ उहा घांटीको सामान्य बिमारी जचाउन बिर हस्पताल जानु भयको थियो/ घान्तिको सानो अपरेसन गरियो/ तेही बल्झियो र क्यान्सर भयो/ इन्डियामा धेरै उपचार गर्नु भयो तर निको भयन र घरमा फर्कनु भयो/घान्तिको क्यान्सर को कारण उहाको ताउकोनै डवल ठुलो हुने गरि सुन्नियको थियो आखाको परेला पनि ठुलो भयर आँखा पनि देख्न नसक्ने भयको थियो/ मुख आँ परेको जिव्रो पनि सुन्नियर …भयको/ दुखाईको कारण २४सै घण्टा छटपटाई रहनु हुन्थ्यो/ क्यान्सरको अन्तिम समयमा अत्यन्त भयनाक पिडा हुने रहेछ र त्यो पिडा कुनै औशादिले पनि कम गर्न नसकिने रहेछ/ यक दिन अवस्था अतिनै बिग्रियो/ त् शान्त भवन अस्पताल लगियो/ डाक्टरले कुनै उपायनै नभयको भन्दै नर्सलाई दुखाई कम हुने इन्जेक्सन दिन भनेर जानु भयो/ नर्स अमेरिकन थियो/ अवैतनिक सेवा गर्थे/ त्यो नर्सले सबै बिरामीको आफन्तलाई कोठा बात बाहिर पथायर उनीले इन्जेक्सन दियर बिरामीलाई सुताउनु भयो/ उहा सुतेको सुते नै हुनु भयो/ नर्सले नै केहि गरेको रहेछ/ नर्सले सबै परिवारकै क्यान्सरको अन्तिम समयमा हुने पिडा बात मुक्ति पाउने तेही मात्रै बाटो भयको भने/ त्यो नर्सलाई कार्यवाही गराउने कुरा भयो तर तेस्तो पिडामा रहनु भन्दा नर्सले जे भने गरे तेही ठिक रहेको कुरामा लेखाबिर बस्नेत्ज्युको छोरा बिरेन्द्र सहमत भयो/ नर्स माथि गरिनै लागेको केस गरियन/ तेसपछी त्यो नर्स तत्कालै अमेरिका फर्के/

    सालोक्यज्यु;पिडा नै मृत्यु हो; पिडा बात मुक्त हुनु नै मृत्युलाई जित्नु हो/

  • Raju

    Sorry for your loss Umeshji. My heartfelt condolence to you and your family.

  • Roshan

    sorry for your loss !