माइतीघरमा गुठी विधेयकविरुद्ध भएको विशाल खबरदारी सभामा क्रममा नेपालमा भएका अरु आन्दोलनभन्दा फरक भद्र र सभ्य दृश्यहरु देख्दा मनै आनन्द भयो। तपाईँ हेर्नुस् त, तपाईँलाई पनि आनन्द लाग्न सक्छ।
१) प्रहरीलाई फूल
यो प्रहरीलाई फूल बाँड्ने अभियानका नेता चाहिँ ‘जब सन्ध्या हुन्छ..’ गायक योगेश्वर अमात्य हुन्। गज्जबै गरे उनले। घाममा तात्तिएर आन्दोलनकारीहरुको नानाभाँती गाली सुन्दासुन्दा दिक्क हुन्छन् बिचरा प्रहरीहरु। उनीहरु पनि बिचरा आदेशपालक न हुन्। भोकैप्यासै ड्युटीमा खट्नु पर्ने। यसरी आन्दोलनकारीहरुले फूल बाँड्दा उनीहरुको मनमा अलिकति भए पनि सम्मान भाव त पक्कै जाग्यो होला। अनि आन्दोलनकारीहरुलाई पनि प्रहरी भनेको त साथी हो भन्ने पक्कै भयो होला। धन्यवाद योगी दाइ। हेर्नुस् त प्रहरी मुस्कुराएका !
२) पानीको फोहोरा छ्याप्नेलाई प्यास मेट्न पानी
जेठ २६ गतेको आन्दोलनमा पानीको फोहराले प्रहार गरियो। तर वैरभाव लिएनन् प्रदर्शनकारीले। न शान्तिपूर्ण प्रदर्शनलाई उत्तेजित नै बनाउन खोजे। बरु गाग्री बोकेर पानी खुवाए आन्दोलनकारीले प्रहरीलाई समेत। मिनरल वाटरको बोतलदेखि जारको पानी खुवाउनेसम्मको व्यवस्था गरिएको थियो। चर्को गर्मीका कारण मैले पनि तीन चार पटक पानी खाएँ।
३) एम्बुलेन्सलाई बाटो छोडेको
हङकङमा हालै भएको आन्दोलनमा प्रदर्शनकारीहरुले एम्बुलेन्सलाई बाटो छोडेको दृश्य निकै भाइरल भएको थियो। बुधबारको आन्दोलनमा यताका प्रदर्शनकारी पनि कति सभ्य भए। उनीहरुले पनि आइरहेको एम्बुलेन्सको बाटो छोडिदिएको दृश्य साह्रै चित्त बुझ्ने खालको थियो। आइन्दा हुने आन्दोलनहरु पनि यस्तै भइदिए हुन्थ्यो। कति टायर बालेको आन्दोलनमात्र हेर्ने। सानुराज महर्जनको भिडियो
४) फोहर उठाएको
हाम्रो बानी साह्रै नराम्रो। कार्यक्रम गर्ने, सकिएपछि फोहर यत्तिकै छाड्ने। भर्खरै हङकङमा भएको आन्दोलनमा आन्दोलनकारीहरुले फोहर पनि उठाएको समाचार हेर्न पाइएको थियो। नराम्रो कुरामात्र नक्कल गर्ने भनेर बदनाम हामी यस पटक भने राम्रो कुरा पनि नक्कल गर्न सक्षम भएको देखियो। कार्यक्रम सकिएपछि भूइँको फोहर टिप्दै गरेको, प्लास्टिकका बोतलहरु टिप्दै बोरामा राख्दै गरेका दृश्य साँच्चै अनुकरणीय नै थिए। अब हुने आन्दोलन र अरु कार्यक्रममा पनि हामीले यस्तै बानी लगाउनु पर्ने भएको छ।
पहिला त यो आन्दोलनको स्वरुपले नेवा: सभ्यता अनि नेवा: को सहिष्णुता लाइ झल्काउनछ| तर यसलाई हाम्रो कमजोरीको रुपमा ब्याख्या गरेमा चाही यो भन्दा नराम्रो केहि हुने वाला छैन | हामीले इतिहास को पाना बाट सिक्नु पर्छ कसरि हामी माथि दमन भयो चाहे त्यो भाषिक रुपमा होस् वा संस्कृतिक रुपमा होस् वा राजनैतिक अनि प्रसाशनिक रुपमा अनि धार्मिक रुपमा पनि | हामीले यो पनि बुझ्नु पर्छ कि यो नेपा: मण्डल बाहिरका अधिकांश सत्ता संग पहुच भएकोले हाम्रो बारेमा के सोच्छ ? इतिहास साक्षी छ | यो हाम्रो मौन ताको पनि परिणाम हो कि बारम्बार हाम्रो सम्पदा, संस्कृति र पहिचानको विरुद्ध यस्ता गतिबिधि भएका छन् | यदि हामीले यो कुरा नबुझ्ने हो भने यो बारम्बार दोहोरिन्छ | इतिहास साक्षी छ | अनि नेपा: मण्डल बाहिरका अधिकांश सत्ता संग पहुच भएका को सोच | बेलैमा सचेत हुवौ |
Kati sabhya adolan! Sarai khusi lagyo!