यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

व्यङ्ग्य : उहाँलाई शरम लाग्न थाल्यो

आजभोलि उहाँलाई निकै शरम लाग्न थालेको छ रे । हुन त उहाँ शरम मान्ने मान्छे होइन, तर पनि खै के कारणले हो शरम मान्न थाल्नु भएको छ रे । मैले भनेको होइन, उहाँ आफैले भन्नु भएको । त्यसमा पनि खास गरी उहाँलाई शरम लाग्ने भनेको बुद्धिजीवीहरूसँग मात्र हो, अरूसँग त शरम मान्नुहुन्न । बिचरा पढ्ने बेलामा खुकुरी समातेर मान्छेका टाउका गिंड्न हिँड्नु भयो त्यसैले पढ्ने मौका पनि पाउनु भएन । फुत्केको माछो ठुलो हुन्छ भन्छन् नि त्यसैले उहाँलाई पनि मौकामा नपढेकोमा निकै पछुतो लागेर आफू भन्दा पढे लेखेको, जाने बुझेको मान्छे देखेपछि उहाँलाई शरम लागेको पो हो कि ?

तर त्यो कसरी हुन्छ ? अहिले त उहाँ सायद नेपालकै सबभन्दा पढेलेखेको मान्छे हुनुहुन्छ, त्यसैले बुद्धिजीवीहरूसँग शरम नलाग्नु पर्ने हो । उहाँसँग चार चार वटा पी एच डी का प्रमाण पत्रहरू छन् । नेपालमा त्यति धेरै पढेको मान्छे को नै होला र अरू ? बरु बुद्धिजीवीहरूले नै उहाँसँग शरम मान्नु पर्ने हो त्यत्रो धेरै पढेको मान्छेको अगाडि ।

उसो भए उनलाई शरम लाग्नु पर्ने अर्को कुनै कारण छ त ? के हो त त्यो कारण ?

माफ गर्नु होला, मैले माथिल्लो अनुच्छेदमा ‘उहाँलाई’ लेख्नु पर्नेमा ‘उनलाई’ लेखेछु, कृपया सच्चाएर पढ्नुहोला । आजभोलिका बुद्धिजीवी र पत्रकार भनाउँदाहरुले कसैलाई पनि आदरार्थी शब्द प्रयोग गर्दैनन् । तिनैको असरले मेरो कलम पनि झुक्कियो । बाबुलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबालाई पनि तिमी ! हैन यी बुद्धिजीवीहरूलाई के भएको हो हँ ? आफ्नो भाषा, संस्कृतिको ख्यालै छैन । जे पायो त्यही लेखेका छन् । भाषा संस्कृतिको जगेर्ना गर्ने भन्छन् तर व्यवहारमा चाहिँ ठ्याक्क उल्टो गर्छन् । सायद त्यही कुराले उहाँलाई उनीहरूसँग शरम लागेको पो हो कि ?

उहाँ हाम्रो धर्म संस्कृति प्रति निकै सचेत हुनुहुन्छ । यसलाई जगेर्ना गर्नमा उहाँले निकै ध्यान पुर्‍याउनु भएको छ । उहाँको राजनीतिक पृष्ठभूमि धर्मलाई ध्वस्त पार्ने भए पनि उहाँ अरूभन्दा अलि बेग्लै हुनु हुन्छ । आफ्नो मौलिक धर्म र संस्कृतिलाई जगेर्ना गर्न कसरी आधुनिकीकरण गर्नुपर्छ भनेर नै उहाँले त्यसलाई व्यापारीकरण गर्न थाल्नु भएको छ । व्यापारीसँग लगानीको लागि पैसा हुने नै भयो, पैसा भए पछि अनि आधुनिकीकरण सजिलो हुने भयो अनि धर्म, संस्कृति, भाषा जोगिने भयो ।

उहाँ निकै उदार पनि हुनुहुन्छ । हाम्रो देशको रैथाने धर्म संस्कृति मात्रै होइन, उहाँले सभ्य र आधुनिक भनिने देशका धर्म र संस्कृतिको पनि त्यत्तिकै ख्याल राख्नुहुन्छ । त्यसैले त उहाँले निर्बाधरुपमा ती सभ्य देशका धर्म संस्कृतिको नेपालमा प्रचार प्रसार गर्न छुट दिनुभएको छ । उनीहरूको कतिपय कार्यक्रममा आफै उपस्थित हुनुहुन्छ, उनीहरूको पवित्र प्रसाद ग्रहण गर्नुहुन्छ, आफू उपस्थित हुन नसक्ने स्थितिमा आफ्ना मान्छे पठाउनु हुन्छ । आफ्नो दलका सांसदको माध्यमबाट जिल्लाका विकास बजेट चर्चहरूको स्तरोन्नतिको लागि खर्च गर्न लगाउनु हुन्छ । त्यति राम्रो काम गर्दा पनि बुद्धिजीवीहरूले नबुझे पछि उनीहरूले आफूलाई के को आधारमा बुद्धिजीवी भनेका होलान् भनेर उहाँलाई ‘ताजुब’ लागेर शरम मान्नु भएको पो हो कि ?

उहाँलाई जनताले उहाँका उखान टुक्कामा विश्वास गरेर ठुलै मान्छे बनाइ दिए, तर उखान टुक्काले मात्र त जनता सधैँ जनता मूर्ख बनाउन सक्ने कुरो भएन । उखान टुक्का बाहेक आफूले जानेको अरू पनि छैन, सल्लाह लिऊँ भन्ने हो भने जाने बुझेका बुद्धिजीवीहरू त छन् तर उनीहरूलाई देख्दै शरम लाग्ने भइहाल्यो ।

त्यसो त राम्रो काम गर्न, ठुलो मान्छे बन्न धेरै पढ्नु जरुरत छैन तर पढेलेखेका, बुद्धिजीवीहरूको सुझाव सल्लाह लिन चाहिँ जरुरी नै हुन्छ । एक्लैले काम गर्न कसैले पनि सक्दैन, उहाँले पनि सक्ने कुरो भएन, सहयोगी त चाहियो नै । कस्तो सहयोगी खोज्ने त ? उहाँलाई बुद्धिजीवीहरूसँग शरम लाग्ने भएकोले आफ्ना सहयोगीको रूपमा उहाँले अरिङ्गाल पाल्न थाल्नु भयो । अहिले तिनै अरिङ्गालको जत्थाभित्र आफूलाई सुरक्षित रूपमा राखेर उहाँ बस्नु भएको छ । बाहिर बुद्धिजीवीले जति घोक्रो फुलाएर कराए पनि बुद्धिजीवीको कुरो तिनै अरिङ्गालहरूको भुनभुनले गर्दा उहाँले सुन्दै सुन्नुहुन्न । जे भन्छन् तिनै अरिङ्गालले भन्छन्, जे गर्छन् तिनै अरिङ्गालहरूले नै गर्छन् । उहाँको कानमा बतास लागे पो ।

बुद्धिजीवीहरुहरुले राम्रै मनले उहाँलाई सुझाव दिन चाहे पनि अरिङ्गालहरूले बुद्धिजीवीहरूलाई उहाँसम्म पुग्नै दिँदैनन् । कोही अलिकति बोल्यो, सल्लाह दिन खोज्यो भने हुल का हुल अरिङ्गाल आएर बुद्धिजीवीहरुलामाथि जाइ लाग्छन् ।

तर अरिङ्गालको जात, किन सुखसँग बस्न दिन्थे र ? उहाँलाई काण्डैकाण्डमा फसाइदिए । एकपछि अर्को गर्दै ‘यातायात सिन्डिकेट काण्ड’, ‘निर्मला पन्त हत्या र बलात्कार काण्ड’, ‘३३ किलो सुन काण्ड’, ‘वाइड बडी जहाज काण्ड’, बालुवाटार जग्गा हडप्ने काण्ड’ गुठी काण्ड’हरूले उहाँसँग भएको साख शरीरबाट कपडा फुकाले जस्तै गरी एक एक गर्दै फुकालिदै गयो ।

तिनै अरिङ्गालहरूले अझै पनि उहाँका बाँकी रहेका केही साखका कपडाहरू एक एक गर्दै उतार्दैछन् । तर ‘राजाको नयाँ लुगा’ भन्ने कथामा भने जस्तै अरिङ्गालको बथानलाई वरिपरि लगाएर उहाँ जताकतै शानसँग हिँड्नु हुन्छ । उहाँलाई सायद थाहा छैन, उहाँ लगभग नाङ्गो भइसक्नु भएको छ तर अरिङ्गालहरू चाहिँ ‘आहा कति राम्रो लुगा, कति सुहाएको’ भन्दै उहाँलाई पुरै नाङ्गै पारेर सहर घुमाउन उद्धत छन् । बरु ‘के जाते गर्नेलाई भन्दा देख्नेलाई लाज’ भने जस्तै, उहाँ बाहिर निस्कँदा उहाँको त्यो नग्नता देखेर जनताहरू नै आफ्ना आँखा छोप्न बाध्य भएका छन् ।

सायद आजभोलि आफू नांगिदै गएको उहाँले शङ्का पाएर हो कि उहाँलाई शरम लाग्न थालेको ? सामान्य जनतालाई त उहाँले गन्दै गन्नु हुन्न- उनीहरूसँग शरम मान्ने कुरो पनि भएन, त्यसैले बुद्धिजीवीसँग शरम लागेको हो पो कि ? मैले जति कोसिस गर्दा पनि उहाँलाई शरम लाग्नु पर्ने ठोस कारण मैले पत्ता लगाउन सकेन, तपाईँलाई थाहा छ भने कृपया ‘कमेन्ट’मा बताइदिनु होला ।

1 comment to व्यङ्ग्य : उहाँलाई शरम लाग्न थाल्यो

  • Shankar

    भन्नाले मित्र नेपाल को बिकास अरिंगाल ले गर्न न दिएको रहेछ | ओली ले न गरेको बा न चाहेको हैन ?
    हिजो पनि भन्थे , राजा हरुलाई भारदार के गर्न दिएन , सड्यन्त्र गर्यो ?
    राजा हरु बिकास चाहन्थे |
    कतिपय केस मा तपाइको तर्क ठिक हो पनि , हैन पनि | जबाफ देहिता मूल मान्छे ले नै लिन पर्ने हुन्छ | चामल मा पनि घुन त् हुन्छ , घुन पन्छाउदै भात खान पर्छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0