यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

बहस गरौँ : गल्ती हुँदा मिडियाले बन्द कोठामा मात्र स्वीकार्ने कि पाठकसित पनि सार्वजनिक माफी माग्नुपर्ने?


नेपालको नम्बर वान अनलाइन न्युज पोर्टल अनलाइनखबरको एउटा समाचारमाथि उठेको बहस कायम राख्न यो ब्लग लेखेको हुँ। नम्बर वान भएपछि स्वभाविक रुपमा यसका जिम्मेवारी अझ धेरै हुनुपर्ने हो। किनभने धेरैले उसैलाई पछ्याउन खोज्छन्। उसैलाई धेरैले विश्वास गर्छन् र उसैबाट प्रभावित भएर ‘विचार’ बनाउँछन्। कपिपेस्ट गर्नेहरुले कति फैलाउँछन् र त्यसको असर कतिसम्म हुन्छ त अनुमानै लगाउन सकिन्न। यही विषयमा जुन ३० मा एउटा ब्लग लेखिएको थियो- अनलाइनखबरका सम्पादकलाई पीडितको प्रश्न – ‘तपाईँले लेखेको जेपिटी न्युजले हाम्रो जीवनमा के असर पार्‍यो, फिल गर्नुभा छ?’ यो ब्लगको पृष्ठभूमि थियो, यसका सम्पादक अरुण बरालले ‘निर्मला पन्तका हत्यारा पक्राउ नपर्नुको दोष मिडियामाथि लगाउन खोजिँदैछ’ भन्दै लेखेको फेसबुक स्टायटस। हाल उनले यो स्टायटस डिलिट गरिसकेका छन्। यो केस यति धेरै गिजोलिएर ‘अनसल्भ्ड मिस्ट्री’ बनाइनुमा मिडियाको पनि प्रमुख भूमिका छ, आठ महिनासम्म यही विषयमा डेप्थ रिपोर्टिङ गरेपछिको निश्कर्ष हो यो मेरो। यसका लागि मैले संकलन गरेका तथ्यहरु आधार छन्। मिडियाले आफ्नो भूमिकाबारे बहस गर्नैपर्छ। तर के मिडियाले आफ्नो कमजोरी बन्द कोठामा मात्र स्वीकार गरे पुग्छ कि पाठकलाई पनि सार्वजनिक रुपमा भन्नुपर्छ?

भदौ ८, २०७५ मा कहाँ लुके निर्मलाका हत्यारा ? ‘भीआइपी’माथि स्थानीयको शंका शीर्षकमा समाचार अनलाइनखबरमा आएको थियो। यो समाचारको विशेषता के थियो भने यसअघिसम्मका बजार हल्लालाई ‘वैधता’ दिने काम यसले गरेको थियो। र, यही समाचारपछि यो केसमा एसपी दिल्लीराज विष्टका छोरा किरण विष्ट मुछिएका थिए। यही समाचारमा बम दिदीबहिनीहरुको चरित्रप्रति घुमाउरो रुपमा प्रश्न उठाइएको थियो। समाचारमा तथ्यगत त्रुटिका १९ बूँदा त पुरानो ब्लगमा लेखिसकेको छु। पढ्न क्लिक गर्नुस्। बजार हल्लालाई वैधता दिने काम यसले नै गरेको थियो।

यसको प्रभाव कतिसम्म पर्‍यो भने त्यसको भोलिपल्टै प्रहरी प्रमुख एसपी विष्टलाई सरकारले निलम्बन गरिदियो।

भदौ ८ मा मात्र हैन भदौ ९ गते ‘निर्मला हत्या प्रकरणः बबिता र रोशनी पक्राउ’ शीर्षकको समाचारमा पनि ‘रहस्यमय घर, शंकास्पद वस्तुस्थिति’ शीर्षकमा यही वाक्य लेखिएको छ। भदौ ९ गतेको अनलाइनखबरको समाचारमा लेखिएको छ-

निर्मला पन्त किताव लिनका लागि जुन घरमा गइन्, त्यही घरदेखि नै यो घटना रहस्य सुरु हुन्छ । र, अनुसन्धानको सुरुवात पनि त्यही घरबाट सुरु गर्नुपर्ने देखिन्छ ।

बम दिदीबहिनीमात्रै बस्ने त्यो घर दुईतल्ले छ । उनीहरुको घर लगभग रित्तैजस्तो भए पनि भाडामा लगाइएको छैन । बबिता र रोशनीका बुबाआमा दार्चुलामा बस्ने गरेका थिए । घरमा छोरीहरु रोशनी आँचल र बबिता मात्रै बस्थे । निर्मलाकी साथी रोशनी १८ वर्षकी छिन् भने उनकी दिदी बबिता अझै जवान भइसकेकी छिन् । निर्मला उक्त घरमा होमवर्क गर्न राति नभएर बिहान ११ बजेतिर गएकी थिइन् ।

स्थानीयका अनुसार त्यो घरमा दुईजना केटाहरु प्रायः आवत-जावत गरिरहन्थे । पछि पत्ता लागेअनुसार ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा रहेछन् । अर्काचाहिँ भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन् । स्थानीयका अनुसार दिदी बहिनीमात्रै भएको त्यो घरमा ती दुई युवकहरु बाक्लै आउने-जाने गर्थे ।

अनलाइनखबरलाई नै विश्वास गरेर कति फैलियो यो जानकारी इन्टरनेटमा, त्यो हेर्न एकचोटी गुगल गरौँ।

करिब ५ सय वटा रिजल्ट देखिन्छ। त्यो पनि एक्ज्याक्ट वर्ड राखेर हेर्दा। कतिको दिमागमा यो समाचारले यही साँचो कुरा रहेछ भन्ने पार्‍यो त्यसको त हिसाबै छैन।

स्वयं खेम भण्डारीले यो समाचारको सुरुवात अनलाइनखबरबाट भएको दावी गर्छन्। खेम भण्डारी उनै हुन् जसबारे हामीले #WhoKilledNirmala शृङ्खला २६ मा लेखेका थियौँ- निर्मला प्रकरणलाई ‘ट्विस्ट एन्ड टर्न’ गराउने ती शक्तिशाली व्यक्ति

अदालतमा मुद्दाहरु पर्न थालेपछि उनले चैत २४ गते आफ्नो पत्रिका मानसखण्ड दैनिकमा यस्तो लेखेका थिए

निर्मला हत्याकाण्डमा किरण विष्ट र आयुश विष्टको नाम मैले जोडेको होइन । भदौ ८ मा अनलाइनखबर डटकमको सनसनीपूर्ण समाचारपछि उनीहरु चर्चामा आएका हुन् । प्रकरणमा नाम जोडिएपछि उनीहरु समेत मिडियाको रुचि र निगरानीमा हुने नै भए । म र मेरो अखबारले पनि त्यो स्वाभाविक रुचि र निगरानी बढाएकै हौं । तर, मैले कहिंकतै किरणको निर्मला हत्याकाण्डमा हात छ भनेर लेखेको छैन ।

त्यसो हो भने अब अनलाइनखबरले देशभर यति धेरै फैलने गरी राखेको समाचारको बारेमा आफ्नो स्पष्टिकरण दिनु पर्ने कि नपर्ने?

हामीले खोज्दा बम दिदीबहिनीहरुको घरमा त्यस्तो शंकास्पद आवतजावत कसैको नहुने भनी उनीहरुकै छिमेकीले भनेका छन् भने उनीहरुसँग एसपीको छोरा र मेयरका भतिजाको परिचय नै थिएन। त्यसैले घरमा आवतजावत हुने त कुरै भएन।

अनलाइनखबरले के आधारमा यो लेख्यो? त्यो सही हो कि गलत? सही भए यो कारणले सही भनी तथ्य देखाउनु पर्‍यो कि परेन? गलत भए माफी माग्नुपर्छ कि पर्दैन?

बन्द कोठामा कमजोरी स्वीकार्ने, सार्वजनिक रुपमा केही नभन्ने?

त्यतिबेलाको स्थिति एकदमै नाजुक थियो। स्पाइरल अफ साइलेन्सको एकदम चरम रुप थियो। फरक आवाज त आएकै थिएन। निलम्बित भएपछि एसपी विष्ट भदौ अन्तिममा काठमाडौँ आएका थिए। उनले त्यतिबेला नयाँ बानेश्वरको एउटा कोठामा अनलाइनखबरका सम्पादक अरुण बरालसहितको टोलीलाई भेटेका थिए। त्यतिबेला के भनिएको थियो? विष्टकै मुखबाट सुनौँ-

भनेपछि त्यतिबेला नै कमजोरी भएको स्वीकारिएको त रहेछ त। त्यो कमजोरी त्यसरी बन्द कोठामा मात्र स्वीकार्ने कि लाखौँ पाठकलाई त्यो संवेदनशील समयमा गलत समाचार दिएर दिमागमा गलत धारणा बनाउन सहयोग पुर्‍याएकोमा सार्वजनिक रुपमा माफी माग्नुपर्ने? अब यो बहस जरुरी छ।

अहिले के हुँदैछ?

जब माइसंसारमा जुन ३० मा ब्लग छापियो, त्यही दिन नम्बर वान अनलाइनका सम्पादकले यो केसलाई यहीँ सल्टाउँ भन्दै फोन गरेको सुनाउँछन् दिल्लीराज विष्ट। उनले खण्डन पठाउनुस् हामी छापिदिन्छौँ भनेका थिए। विष्टले खण्डन नपठाउने तपाईँहरु आफै स्थलगत रिपोर्टिङमा आएर आफ्नो विश्लेषण लेख्नुस् भनेछन्।

तर हिजो अचानक एउटा न्युजको मुन्तिर सम्पादकीय टिप्पणी अर्थात् समाचार सही हो वा हैन भन्ने बारे आफ्नो केही भनाई नराखी किरण विष्टले पठाएको खण्डनमात्र जस्ताको तस्तै छापियो। हेर्नुस् अपडेट गरिएको अनलाइनखबरको लिङ्क

के यसरी खण्डन जस्ताको तस्तै छाप्दैमा नम्बर वान अनलाइन वा अरु कुनै पनि मिडियाको जिम्मेवारी पूरा हुन्छ ? अनलाइनखबरमा त्यो समाचार पढेर लाखौँले आफ्नो धारणा बनाएका थिए- बम दिदीबहिनी र*, वे* हुन्, उनीहरुको घरमा एसपीका छोरा र मेयरका भतिजा गइरहन्छन्। उनीहरुले नै निर्मलालाई रेप गरी मर्डर गरे होला। अनि उनीहरुलाई नै बचाउन किरणको बाउ एसपीले प्रमाण मेटाउन लगाएका होलान्। जबकि सत्य त्यस्तो थिएन। बम दिदीबहिनीको घरमा त्यस्तो शंकास्पद आवतजावत हुँदैन थियो। किरण र मेयरको भतिजको बम दिदीबहिनीसित चिनजान नै थिएन। यदि छ, प्रमाण छ भने देखाओस्। शंकाका आधारमा मिडिया ट्रायल गरेर कसैको जीवनलाई पीडामा धकेल्न पाइन्छ?

अब त्यो पुरानो समाचारको लिङ्कमा छुस्स एउटा खण्डन हालिदिएर नम्बर वानको जिम्मेवारी पूरा हुन्छ? पीडितको जीवनमा परेको गम्भीर असरको क्षतिपूर्ति यसरी खण्डन छाप्दैमा हुन्छ? तपाईँलाई के लाग्छ? आफ्नो विचार तल कमेन्टमा, सामाजिक सञ्जालमा वा व्यक्तिगत कुराकानीमा, जसरी पनि हुन्छ राख्नुस्- बहस होस्।

पीडितको पीडा यस्तो छ, सुन्नुस्-

तपाईँको एउटा जेपिटी न्युजले हाम्रो जीवनमा कस्तो असर पर्‍यो त्यो तपाईँले फिल गर्नुभएको छ? पीडितको प्रश्न। ‘फिल’ गर्न नम्बर वन र हामी त मिडिया हौँ भन्ने दम्भ अलिकति कम गरेपछि मात्रै सकिन्छ।

नेपालमा एउटा नराम्रो चलन छ- एउटा मिडियाको बारेमा अर्को मिडियाले न्युज नै लेख्न नहुने। अझ केही सम्पादक त मिडिया वा मिडियाकर्मीले सोसल मिडियामा अर्को मिडिया बारे केही लेख्यो कि आचार संहिता विपरीत भनेर धम्क्याउन पछि पर्दैनन्। खासमा त्यस्तो प्रावधान आचार संहितामा भए पनि त्यसलाई हटाउनु पर्छ। किनभने मिडिया पनि ठूलै जिम्मेवारी बोकेको संस्था हो। त्यतिमात्र नभएर नाफा कमाउने उद्देश्यका साथ स्थापित भएपछि यो उद्योग पनि हो। राज्यका तीन अंग (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका) लाई निगरानी र खबरदारी गर्ने चौथो अंग भनेर आफूलाई मिडियाले दावी गर्छ भने यो चौथो अंगको चाहिँ खबरदारी कसले गर्ने नि? यो मात्र भगवान त हुँदैन। यसका पनि गल्ती, कमजोरी त हुन्छन्। यसको निगरानी कसले गर्ने? स्वभाविक रुपमा यसको निगरानी पनि मिडियाले नै गर्नुपर्छ। विदेशमा त्यस्तै हुन्छ।


न्युयोर्क टाइम्समा बिजनेस सेक्सन अन्तर्गत मिडिया र विज्ञापन उद्योग सम्बन्धी समाचारहरु राखिन्छ।


त्यसैगरी सिएनएनले पनि रिलायबल सोर्सेज शीर्षकको कार्यक्रम प्रसारण गर्छ। यसमा प्रस्तोताले मिडियामा आएका समाचारहरुको विश्लेषण गर्छन्। समाचारभित्रको समाचार दिन्छन्।

बेलायतबाट प्रकाशित हुने गार्जियनमा पनि मिडियासम्बन्धी छुट्टै सेक्सन छ।

नेपालमा कहिलेसम्म यो मिडिया हाम्रो फलानो साथीको, यो चिलानोको साथीको, साथीको नजिकको साथीको, भविष्यमा मिडियामै काम गर्नुपर्छ, कसैले जागिर दिँदैनन्, मिडिया भएर मिडियाकै गल्ती लेख्नुहुन्न भनेर चुप बस्ने? बोल्ने कि नबोल्ने अब?

नाफामुखी मिडिया व्यापार हो। व्यापारीले उत्पादन अर्थात् यो सन्दर्भमा न्युज बेच्छन्। न्युज बिक्ने चिज बनाउनु पर्छ। यहाँसम्म सही छ। तर जब बिक्ने बनाउने हैन बिकिने चिज बनाउन थालिन्छ, तब गलत हुन थाल्छ। यसले झुटको विष समाजमा फैलाउँछ। यसै म मिडियारुपी ‘विषकुण्ड’ बाट अलग्गिएर बसेको हैन।

भ्रम के पनि पाल्नु हुन्न भने यसले मिडियालाई कमजोर बनाउँछ। हैन, जिम्मेवार बनाउनका लागि अभियान हो यो। अरुलाई जिम्मेवार बनाउनु पर्ने मिडिया आफै पनि जिम्मेवार हुनै पर्छ। यसले मिडियाको विश्वसनीयता झन् बढाउँछ।

8 comments to बहस गरौँ : गल्ती हुँदा मिडियाले बन्द कोठामा मात्र स्वीकार्ने कि पाठकसित पनि सार्वजनिक माफी माग्नुपर्ने?

  • Shankar

    पाखे चोर हरु स्वभाबै हो छुस्स लगाउने र आफु चै बडो साधु बन्ने , त्यो पाजी अनलाइन खबर लाइ बन्द नै गर्दे हुनेरहेछ तर बन्द गर्नु अगाडी ढाड सक्नेगरी जरिबाना चै गर्नुपर्ने हो |
    तर फेरी पनि प्रश्न जहीको त्यहि छ , कसले बलात्कार गरेर मार्यो निर्मला लाइ ?

  • Shanti

    खतरा बिस्लेशन .. धन्यवाद.
    नाफामुखी मिडिया व्यापार हो। व्यापारीले उत्पादन अर्थात् यो सन्दर्भमा न्युज बेच्छन्। न्युज बिक्ने चिज बनाउनु पर्छ। यहाँसम्म सही छ। तर जब बिक्ने बनाउने हैन बिकिने चिज बनाउन थालिन्छ, तब गलत हुन थाल्छ। यसले झुटको विष समाजमा फैलाउँछ। यसै म मिडियारुपी ‘विषकुण्ड’ बाट अलग्गिएर बसेको हैन। — माथि बाट

  • Sharad Subedi

    २-४ जना पत्रुकारलाई जेल नजाकी निर्दोषलाइ दोषी ठहर गर्ने news portals हरु सुध्रिने आशा नगर्दा नै बेस होला. So sad.☹️☹️

  • यसमा युटुबे न्यायधिसको पनि भूमिका निक्कै ठुलो छ, यो कुरा MYsansar ले छाडे जस्तो छ !!!!

  • Trilok

    हृदय देखि नै आभार . यति गहिराइमा पुगेर पहिला नै समाचार बनाएको भए कम्तिमा हामी पाठकलाई भ्रम त पर्दैन थियो

  • Anu Gtm

    मैले निर्मला काण्ड सुरु देखि नै हेर्दै आएको छु , कुरा के साचो हो भने onlinekhabar ले तेही बेला गल्ति गरेकै हो अरुण जी तपाई ले माफी मागे तपाई को तौल कम हुदैन , हामी नेपाली को बानि के छ भने बास्तबिकता नबुझी हल्ला को भर मा बोल्ने र लेख्ने . यै बानि ले गर्दा मिडिया पनि चिप्लियो .

  • Kristina

    माफी मागेर पुग्दैन. JPT खबर छाप्नेलाई कानुनी कार्बाही गर्नु पर्छ ।