यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

पत्रकारितामा यौन दुर्व्यवहार : को होलान् ती ‘दाइ’हरु?


पत्रकार बिनु सुवेदीले सेतोपाटीमा लेखेको ‘दाइ’हरुको डर शीर्षकको ब्लगले ल्याएको तरङ अझै साम्य भएको छैन। हुनत ‘केटीहरु पनि त उस्तै हुन् नि’ भन्दै ‘तिर्खा लाग्यो पानी खाएँ, मैले के बिराएँ’ पाराका काउन्टर ब्लगहरु पनि नआएका हैनन्। तर त्यसो लेख्नेले मूल मर्म नै बिर्सेको जस्तो लाग्यो- राजीखुसी र जबर्जस्ती। व्यवहार र दुर्व्यवहार। यत्रो वर्षसम्म त्यस्तो दुर्व्यवहारलाई मनमै दबाई, #MeToo को यत्रो हल्लाखल्ला हुँदासम्म पनि केही भन्न नसकी बल्लतल्ल आँट गरेर आफ्नो अनुभव बाँड्न खोज्दा ‘किन नाम लेखिनस्, नाम नलेखी सबैलाई एउटै घानमा किन हालिस्, पहिले किन भनिनस्, किन उजुरबाजुर गरिनस्, पुरुषलाई मात्र किन नङ्ग्याइयो आदि लेखेर काउन्टर दिइयो। अनि त बल्लतल्ल आँट गर्ने यस्तो लेख्न बाध्य भइन्।

नाम लेख्दैमा हुने नै के हो र। काठमान्डु पोस्टमा कृष्ण भट्टचनको नामैसहित आएको हो त। छुटाउनु भएको भए यता छ लिङ्क। भयो के ? सहप्रकाशन कान्तिपुरले समेत यसलाई छाप्न सकेन। काठमान्डु पोस्टका ‘क्रान्तिकारी’ सम्पादक अनुप काफ्लेले नेपालको अङ्ग्रेजी पत्रकारिताकै इतिहासमा पहिलोपल्ट अङ्ग्रेजी न्युज पोर्टलमा नेपाली भाषामा समाचार अनुवाद गरी प्रकाशित गराए।

तर त्यो लिङ्कमा यो ब्लग लेखिरहँदा क्लिक गर्ने हो भने पूरा समाचार खुल्दैन। “अध्यापक कृष्ण बहादुर भट्टचनले छात्राहरुलाई अनुचित तरिकाले छुने, सुम्सुम्याउने तथा अशिष्ट यौनजन्य प्रतिक्रिया जनाउने गरेको भूतपूर्व विद्यार्थीहरुको आरोप; यी क्रियाकलापहरुमा आफ्नो संलग्नतालाई अस्विकार गर्दै यी आरोपले आफू ‘अचम्म’मा परेको भट्टचनको प्रतिक्रिया” लेखिएको बाहेक अरु केही पढ्न पाइन्न। (अपडेट मध्याह्न १२ बजे : यो ब्लग प्रकाशित भएपछि त्यो लिङ्कमा भएको पूरै सामाग्री पढ्न सकिने भएको छ)

प्राविधिक समस्याका कारण यसो भएको हो कि पावरका कारण- खोज पत्रकारिता कसैले गर्ला, हामी चैँ मूल मुद्दामा आउँ।

बिनुले ‘दाइ’हरुबाट भोग्नुपरेको व्यवहार।

बिनुले भन्दा अघि भारतमा #MeToo ले ठूलो चर्चा पाइरहँदा मीना कैनीले सिनियर पत्रकारको दुर्व्यवहार बारे ट्विट गरेकी थिइन्। त्यसो त उनले सन् २०१७ मै यस्तो लेखेकी थिइन्-

तर उनलाई नाम नखुलाई यति लेख्न पनि एक वर्ष लाग्यो-

पत्रकारिता छाडेर अमेरिकी दूतावासमा काम गरेर हाल त्यहाँबाट पनि अवकाश लिइसकेकी मिनाले त्यसमा एक सिनियर पत्रकारले आफ्नो कारमा उनलाई किस गर्न खोजेको र मेन्टर सम्झेका एक जना होटलको कोठामा आएर जान नमानेको जस्ता दुर्व्यवहार उल्लेख गरेकी छिन्।

नाम नबताए पनि मिनाले काम गरेका दुई पत्रिका द काठमाडौँ पोस्ट र द हिमालयन टाइम्स हुन्। त्यतिबेला उनका सिनियर को हुन् र कोसित त्यतिबेला कार थियो, यति हिन्ट्सले मान्छे मज्जैले चिनिन्छ, नाम किन खुलाउनु पर्‍यो। तर नाम खोलेर पनि हुने के रहेछ र!

त्यतिबेला पत्रकारहरु सुबिना श्रेष्ठ, रश्मिला प्रजापति, उज्ज्वला महर्जनहरुले पनि आफूमाथि भएका दुर्व्यवहारबारे बोलेकी थिइन्। परिणाम उस्तै। दुर्व्यवहार गर्नेहरु पत्रकारिता क्षेत्रका थिएनन्। बिनु त्यतिबेला चुप थिइन्। शायद् लेख्ने आँट थिएन। मंगलबार बल्ल मनका कुरा खोलिन्।

उनले लेखेका विवरणबाट उनलाई दुर्व्यवहार गर्ने ‘दाइ’हरु को हुन् भन्ने बारे संकेत पाइन्छ।

जस्तै उनले विस्तृतमा लेखेका तीन वटा प्रसंगमध्ये एक संसदीय रिपोर्टिङसम्बन्धी छ। २०६२/६३ को आन्दोलनपछि संसद पुनर्स्थापना भयो। उनले त्यसमा रिपोर्टिङ गर्न थालिन्। उनले लेखेकी छिन्-

मलाई थाहा थिएन, संसदीय मामिलामा रिपोर्टिङ गर्ने अर्का पत्रकार ‘दाइ’ मलाई पनि छोड्न चाँहदैनथे। म पुनर्स्थापित संसद सचिवालयले पत्रकारका लागि बनाइदिएको मिडिया सेन्टर जाने बाटोमा थिएँ। त्यहाँनिर सानो गल्लीजस्तो छ। ती दाइ मेरो पछिपछि आए, पछाडिबाट चपक्कै अंगालो हाले। एकै हातले लपेटे र मसित ठेस्सिए। के भइरहेको छ भन्ने मेसो पाइनसक्दै ती दाइको जिब्रो मेरो कानवरीपरि नाच्यो। म दिगमिगाए।

मेरो निरीहताको परीक्षण दोस्रो पटक भयो। मध्यरातमा होइन, मध्यदिनमा संसद भवनमा। अहँ यसपालि पनि म उम्किनुबाहेक केही विकल्प देखिनँ। यो संवेदनशील ठाउँमा ती ‘सम्मानित दाइ’ ले गर्न सक्ने हर्कत गरिसकेका थिए। यदि अहिलेको अवस्थामा हुन्थेँ भने ती पात्रलाई सबैभन्दा पहिले यसो नगर भन्थेँ। नत्र चिच्याउँथेँ होला कराउँथेँ होला। नजिकैको मिडिया सेन्टरमा भएका अरू पत्रकार दौडिदै आएर ती ‘दाइ’ को झाँको झार्थे होला। वा त्यसो नहुन पनि सक्थ्यो। उनीहरूले आएर मलाई नै उल्लीबिल्ली पार्न पनि सक्थे।

समय बित्दै गयो, संसद सचिवालयतिर जम्काभेट भइरहन्थ्यो ती पत्रकारसँग। म बाटो मोड्दै गएँ। सकेसम्म उनको छेउछाउमै गइनँ। उनका अगाडि मेरा आँखा सधैँ झुकिरहे, एक बहादुरसामू घनघोर अपराधी झुकेझैं।

उल्टो ती ‘दाइ’ ले गरेका अनर्गल प्रचारका हुइयाँहरू मेरो कानमा पनि ठोक्किन आइपुग्थे। खबर बोकेर आउनेले भन्थे— हावा नचली पात हल्लिन्न। म झन निरीह हुँदै गएँ।

देशमा संविधान सभाको चुनाव भयो। संविधान सभाले नयाँ संविधान बनाउने प्रक्रिया बुझ्ने चाहना अरू पत्रकारलाई जस्तै मलाई पनि थियो। रेडियोको पत्रकार भएकाले मसँग समयको केही सीमितता हुन्थ्यो। प्रमुख रिर्पोटिङ भने कहिल्यै छुटाउन मन लागेन।

यही मेसोमा मैले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले पत्रकारहरूसँग नियमित भेटघाट गर्छन् भन्ने थाहा पाएँ। मलाई पनि त्यो भेटमा सरिक हुन मन लाग्यो। म पनि छेउमा टुसुक्क बस्ने र नेम्वाङका कुरा ध्यान दिएर सुन्न थालेँ। नेम्वाङ पहिले नै कार्यकक्षमा रहेछन् भने त खास फरक पर्दैनथ्यो।

उनलाई कुर्न पर्ने भयो भने अर्कै महाभारत हुन्थ्यो। दुई जना ‘दाइ’ यसरी बोल्थे तिनका शब्द कतिपय सार्वजनिक शौचालयका भित्तामा लेखिएका शब्दसँग ठ्याक्कै मिल्थे। तीनले त्यो मर्यादित ठाउँलाई नै चर्पीको भित्तो बनाएपछि म सहन नसकेर धेरै पटक बाहिर निस्किन्थेँ।

ती दाइ को हुन् भन्ने थाहा पाउन त्यतिबेला संसदीय बिटमा रिपोर्टिङ गर्नेहरु को को थिए बुझे संकेत पाइहालिन्छ। को-को हुन् त?

आउनुस् खोजौँ।


संसदीय मामिला पत्रकार समाजले २०७३ सालमा यो किताब प्रकाशन गरेको छ। त्यो किताबको पेज नम्बर १८९ मा ‘व्यावसायिकता प्रवर्द्धनमा सामूहिक प्रयास’ शीर्षकमा वासुदेव शर्मा ‘बबिन’को एउटा लेख छ।

यो लेखको अंश-

पुनर्स्थापित संसद जतिबेला मिडिया सेन्टरमा जाँदै गर्दा बाटैमा अंगालो मारेर दुर्व्यवहार गरियो, त्यतिबेला संसदीय मामिला पत्रकार समाजका ‘दाइ’ पदाधिकारीहरुको नाम यसमा छ। यिनै मध्ये कुनै दाइ हुन् कि पदाधिकारी नभएका अरु दाइ हुन्, खोजे भयो।

त्यसैगरी संविधान सभाको चुनाव भइसकेपछि सुवास नेम्वाङको कार्यकक्षमा मुख छाड्ने दुई जना ‘दाइ’हरु को होलान्, त्यतिबेलाको पदाधिकारीहरुको नाम पनि त्यही लेखेको पछिल्लो अंशमा छँदैछ। यिनै मध्ये कुनै दाइ हुन् कि पदाधिकारी नभएका अरु दाइ हुन्, ती पदाधिकारीहरुलाई सोधे थाहा भइहाल्नु पर्ने हो।

त्यसैगरी अर्को प्रसंग छ-

रेडियो छोडेर मैले एनजिओको जागिर सुरू गरिसकेकी थिएँ। मसँग लेख्नै पर्ने केही ‘घच्ची’ सूचना थिए। यसलाई ठूलो समाचार बनाउन पर्‍यो भन्ने लाग्यो।

एउटा गतिलै सञ्चारमाध्यमका समाचार सम्पादक‘दाइ’लाई फोन गरेर सबै कुरा बताएँ। उनले थप छलफलका लागि भोलिपल्ट दिउँसो १ बजेको समय दिए। समयमै म उनको कार्यकक्षमा छिरेँ। सामान्य औपचारिकतालगत्तै म मेरो विषय र स्टोरीको ‘एंगल’बारे कुरा गर्न थालेँ। ५ मिनेटसम्म म एकोहोरो बोलिरहँदा पनि उनले कुनै प्रतिक्रिया दिएनन्।

मैले कागजमा गाडिएको आँखा उठाएर उनको अनुहारतिर हेरेँ। दाइका आँखा अघिदेखि मेरो मेरो शरीरमा केन्द्रीत रैछन्।

एकछिनको सन्नाटापछि ती समाचार सम्पादक ‘दाइ’ ले सोधे, ‘उमेरदार छौ, मिलेको शरीर छ, एक्लै छेउ, मनमा केही रहर लाग्दैन, रमाइलो गर्न मन लाग्दैन?’

मैले दाइको हेराइ र भनाइको आशय बुझेँ।

मैले व्यक्तिगत कुरामा नजाऔं, ‘इस्यु’ मै कुरा गरौं भनेँ। उनी रोक्किएनन्। भने, ‘मलाई तिम्रो शरीर पहिल्यैदेखि मन पर्थ्यो।’

एक कदम अघि बढेर उनले प्रस्ताव गरे, ‘हामी ‘रमाइलो’ गरौं तिमीलाई अहिले पाइरहेको तलबभन्दा धेरै दिएर यहीँ जागिर मिलाउँछु।’

उनको प्रस्ताव ‘सेक्स’ मा पुगेर रोकियो।

कुनै अत्याचारको रिपोर्टिङ गर्छु भनेर त्यहाँ पुगेकी म ती दाइको अत्याचारी नजरमा परेँ। मलाई अरूको बारेमा लेख्न खोजेको त्यो इस्युभन्दा मेरो निरीहतामाथि दया लाग्न थाल्यो।

यसमा धेरै हिन्ट्स छैन। गतिलै सञ्चार माध्यमका समाचार सम्पादक ‘दाइ’ भनिएको छ। बिनुले सन् २०१० मा रेडियो उज्यालो छाडेकी थिइन्। सन् २०१५ मा एनजिओमा ज्वाइन गरेकी थिइन्। प्रसंग सन् २०१६ तिरको हो। त्यतिबेला गतिलै सञ्चार माध्यमका रुपमा छापामा कान्तिपुर र नागरिक थिए। अर्को चलेको सञ्चार माध्यम टिभी थियो। अनलाइनहरु पनि प्रशस्त खुलेका थिए। २०१६ हल्लीखल्लीका साथ रेडियो चलाइरहेको एउटा संस्थाले अनलाइन र टिभी पनि सुरु गर्ने भनेको थियो र अनलाइन चाहिँ सुरु भइसकेको थियो पाका अनुभवी सम्पादकको नेतृत्वमा। छापा हो कि इलेक्ट्रोनिक माध्यम नखुलेको कारण यसमा अनुमान लगाउन सजिलो छैन।

अर्को प्रसंग छ-

प्रधानमन्त्री निवास बालुवाटारबाट तुफानको बेगमा आएको बाइक सोल्टीमोडनेर घचक्क रोकियो।

राति १ बजेसम्म पनि सात दलको बैठक कुर्दाकुर्दा कुनै उपलब्धी नभएको स्टेटमेन्ट रेकर्ड गरेर फर्किएकी थिएँ। भोलि बिहानै ६ बजेको समाचारमा त्यो आवाज आफ्ना स्रोतालाई सुनाउन चाहन्थेँ। त्यसैले दाइले चलाएको बाइकभन्दा मेरो मनको बेग तीव्र थियो।

म सिकारू।

‘कुल एडिट’मा मेरा हात दौडिनु सिकारू नाइले कपाल काटेजस्तै थियो- थरथरी र बाङ्गोटिङ्गो। मलाई कताकता अब देश दुनियाँ चिनिसकेँ भन्ने भ्रम पनि थियो। किनकी दुनियाँलाई जगाएको ०६२/६३ को जनआन्दोलनको साक्षी जो बनेकी थिएँ। राजाले जनताको अघिल्तिर घुँडा टेकेको पनि देखेकी थिएँ।

तर ‘म तिमीलाई रविभवनमा रहेको अफिससम्म पुर्‍याइदिन्छु’ भनेर सोल्टीमोडमै बाइक घचक्क पार्ने ‘दाइ’ को नियत भने बुझ्न सकेको रहेनछु।

मैले सोधेँ, ‘दाइ, के भो?’

केही बोलेनन्। बाइक रोकिरहे। एकछिनपछि मैले फेरि भनेँ, ‘दाइ, बाइक बिग्रयो?’

‘दाइ’को मुख चलेन। बाइक पनि चलेन।

उनका हात भने सलबलाउन थाले। म छाँगाबाट खसेजस्तै भएँ। राति १ बजे सोल्टीमोड चोकमा थाहा छैन ती दाइले अरू के गर्थेँ!

तर म हुत्तिएँ, दौडिएँ। तुफान कति छिटो दौडिन्छ? अहिले सम्झिँदा मलाई लाग्छ- म तुफानभन्दा पनि तीव्र बेगमा दौडिएर रविभवनको डेरामा पुगेँ।

त्यतिबेला सात दलको बैठकमा रिपोर्टिङ गर्ने सीमित पत्रकार हुन्थे। उनीहरुमाझ यो पात्र लुकेको छैन। नाम मात्र नखुलेको हो।

नाम आउनु र नआउनु ठूलो कुरा रहेन। यति लेख्दा पनि उनले सहनु परेको आक्रमण एक ठाउँमा छ। तर आक्रमण मात्र हैन उनलाई साथ दिन जुर्मुराएका आवाजहरुले पनि यो प्रवृत्तिलाई हच्काउने नै छ भन्ने आशा गर्न सकिन्छ। पत्रकारितामा भित्रिएका नयाँ पुस्ताले अब यस्ता दुर्व्यवहार सहन्नौँ भन्ने संकेत दिए भने ‘दाइ’हरुसँग डराउनु पर्ने हैन, दाइहरु आफै दुर्व्यवहार गर्न डराउनु पर्ने स्थिति आउनेछ।

3 comments to पत्रकारितामा यौन दुर्व्यवहार : को होलान् ती ‘दाइ’हरु?

  • Hangsem Kerung

    प्राडा कृष्ण भट्टचन सरको सन्दर्भ पनि जोड्नु भएको रहेछ। तेस्को बारेमा केही बोल्न मन लाग्यो। तेस्को बारेमा भट्टचन सरले सिधै अस्विकार गर्नु भएको छ। उहाँ संग पढेका अन्य महिला बिध्यार्थिहरु जो अहिले वकिल लगायत विभिन्न पेसामा आवद्द छन ,उहाँहरुले कयौं वर्ष सर संग कलास लिदा तेस्तो व्यावहार नदेखिएको सामाजिक संजालमा भनेका छन। उहाँकै श्रीमतीले समेत आपत्ती जनाउनु भएको थियो। यदि भट्टचन सरले ती आरोप लगाउने बिध्यार्थी माथी अनैतिक काम गरेको नै हो भने समाचार प्रकाशित पछि ती पिडित भनिएका विध्यार्थिहरुले कार्वाहिको लागि किन पहल गरेनन् ? पत्रीकाले पुन फ्लोअप किन गरेन? कृष्ण भट्टचन सरले एउटा टेलिभिजनमा आदिवासीको पक्षमा ससक्त वकालत गरेको लगतै त्यो समाचार छापिएको थियो। भट्टचन सरले आदिवासी को पक्षमा बोलेकै ले तेस्तो आरोप लगाईएको हाम्रो ठहर छ।

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • बासु

    हो, नाम नभनेपनि खास्सै फरक पर्दैन। यति भन्नसक्नुको अर्थ हो बिनुको ऑट
    र ति दाईका मनमा पहिरो पुर्याउनु हो। तिनका मनमा कति ढ्याङ्ग्रो ठोकेको होला र आत्मग्लानीमा होलान् तिनै जानुन्।
    कमसेकम केहि हदसम्म ति दाई र भबिष्यत् दाईहरुका हात र मुख चल्न थौरै भएपनि नियन्त्रण होला। कुनै दाई सार्है नै नकच्चरा र घृणित रहेछ भने त तुरुन्तै नाङ्गिने नै छ।
    बिनुको बिरोधमा बोल्नेहरु या त यौन कुण्ठित हुन् या साॅघुरो मानसिकताका हुन्।
    तर म चाहिँ ‘स्याब्बास बिनु’ भन्छु।

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • Shankar

    यौबन र यौन ले हिन्दु समाज मा योनिहरु असुरक्षित भएको आज को घटना हैन | मुस्लिम समाज मा पनि एउटा ले ४ वोती सम्म राख्न पाउने र के के नियम छ, नारीलाई तैपनि उनीहरुले पनि उचित स्थान र सम्मान दिएर राखेको छ भन्ने उनीहरुको भनाइ छ | यो मि टु
    पश्चिमी हावा इन्डिया आउदा आउदै येस्मा मेन टु पनि जोडियो | तर पनि अमेरिकी र पश्चिमी देश मा प्रसासन , पुलिस , पादरी , हलिवुड जता ततातई नारि सोसन भएको कुरा अमेरिकी रास्ट्रपति , पश्चिमी नेताहरुको बिरगाथा पढे था हुन्छ बा पत्रपत्रिका ले दिएकै छ |
    तेसैले आजको ग्यान र बिज्ञान , मिडिया युग बिर्सिम | जंगली अबस्था देखिको आजसम्म बिचार गरम |
    जंगली अबस्थामा बलियोले निद्रा , भोक , आहार र मैथुन को सुख प्रचुर मात्रामा लिन्थ्यो , निर्धो हिस्स बुढी हरियो दात हुन्थ्यो | सबैको लागि भनेर मान्छेले नियम बनाए |
    मुखले प्रजातन्त्र , लोकतन्त्र , गणतन्त्र , रामराज्य भनेपनि मान्छे ले पाए सकेसम्म धन बटुल्ने , यौन सुख लिने गर्छ | जंगल बात आएको मान्छे भित्र जंगली जनाबार जिउदैछ | हिजो जनाबार नाङ्गै हुन्थ्यो , आज टाइ लगाएर हिड्छ फरक तेत्ति हो |
    अब हैन मान्छे भगवान को सृस्ती हो भन्ने मान्ने हो भने , हिन्दु सास्त्र र मन्दिर , टुडाल हेरम |
    भगवान नै लोग्ने न भएको बेला गएर आर्काको स्वास्नी सग गएर सेक्स गरे , ( बिस्नु भगवान , इन्द्र अहिल्या ) , महादेव पार्वती एकान्त मा सेक्स गरेर बसिरा बेला अग्नि भिक्ष्या माग्न आउछन , महादेव ले सेक्स गर्दा निस्केको विर्य नै ल लैजा भनेर भिक्ष्या दिन्छन् , कथा अगाडी लेख्छ , त्यो जोगीले पनि त्यो भिक्ष्या हत्त पत्त मुख मा हाल्छ – — – – –

    मुस्लिम राजा महाराजा हो सोख हेर्नुस अकबर को रानी कत्ति थिए ? आजका सुल्तान का कति रानी छन् ? हुन् त् साउदी को एउटा रानीले इंग्ल्याण्ड गएर मि टु , मि टु गर्दैछिन क्यार |

    अमेरिकी देश का धेरै बा ( रास्ट्रपिता )हरु को इतिहास हेर्नुस , बिल बा , डोनाल्ड बा ले कति यौन सोसन गर्नु भो ?
    अमेरिकी स्कुल हरुमा कति गुरुमा ले आफ्ना सिस्य को यौन सोसन गर्नुहुन्छ ?
    येत्रो बक बक गर्नुको आसय , यौन एस्तो बिसय हो , लोग्ने मान्छे ले स्वास्नी मान्छे को गर्ने यौन सोसन र स्वास्नी मान्छे ले लोग्ने मान्छेको गर्ने यौन सोसन हिजो पनि थ्यो , आज पनि छ र भोलि पनि रहन्छ | पत्रकार हरु ले बाख्रा को पुछार खाएर बेला बेलामा यो बिसय उछ्लने मात्र हो |तैपनि हलिवुड , बलिउड हुदै कलिवुद छिरेको यो टपिक्स बासि भैसक्यो |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0