यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

चन्द्रलोक कसको ?

(आज छिमेकी देश भारतले चन्द्रमामा चन्द्रयान २ पठाएको छ। ४८ दिनपछि त्यो चन्द्र धरातलमा उत्रँदैछ। हामी नेपाली पनि कम छैनौँ। नील आर्मस्ट्रङले चन्द्र धरातलमा पाइला राख्नुभन्दा १० वर्षअघि महाकवि देवकोटाले उडेर चन्द्रमा छुने उद्देश्य लिनुपर्ने बताएका थिए। अनि चन्द्रलोक कसको भनेर यो व्यङ्ग्य लेख भैरव अर्यालले ५७ वर्षअघि नै लेखेका हुन्। जयभूँडीमा संग्रहित यो व्यङ्ग्य धेरैले उहिले नै पढिसकेका हुन्। पुनः स्मरणका लागि साभार गरिएको)


उहिलेका कुरा खुइलिहाले, कोही सुन्दैन । अहिलेका कुरा सबैलाई थाहा छ, सुनाउनै पर्दैन । त्यसैले म कुरा झिक्तै छु- एक्काइसौं शताब्दीको उत्तरार्द्धतिरको, जुन बेला चन्द्रलोकको जग्गा वितरण गर्नेबारे संयुक्त मुलुकसङ्घमा दिनहुँ बहस हुन्थ्यो । आकाशमा चील घुमेझै घुमिरहने टेलस्टार, घरघरमा चलचित्रझैं झलमलाइरहने टेलिभिजन इत्यादिले गर्दा कहाँ के भइरहेछ, कसले के भने इत्यादि थाहा पाउन कत्ति गाह्रो थिएन । भोजपुरको खबर कान्तिपुरमा आइपुग्न महिना दिन लाग्ने वर्तमान अवस्थाका हामीलाई यो कुरा सुन्दा अचम्म लाग्छ । तर, त्यतिखेर हावामा जेटको स्टेसन बनाउने र हावैद्वारा पेटको भोक मार्ने व्यवस्था हुनहुन आँटिसकेको थियो । “यो के हावा बिग्रेको कुरा गयो” भनी तपाईंहरू अकमकिनुहोला, तर वास्तवमा यो हो इतिहासमा नयाँ प्रयोग ।

इस्वी सन् १९२८ को डिसेम्बर महिना थियो, तारिखचाहिँ मैले बिर्से, चन्द्रलोकको जग्गा आबाद गर्न जाने भनी धेरैजसो मुलुकका बलिया-बाङ्गा नेताहरू जेनेभामा जम्मा भएका थिए । संयुक्त मुलुकसङ्घको सूचना थियो“त्यहींबाट अन्तर्ग्रहयामी जेटद्वारा सबैले चन्द्रलोक जानुपर्छ । अनि Moonland Division Commission अर्थात् चन्द्रलोक विभाजन आयोगले तयार पारेको नापनक्साबमोजिम आआफ्नो भागमा आआफ्नो झन्डा गाड्नुपर्छ ।”

संयुक्त मुलुकसङ्घको बनोट अहिलेको संयुक्त राष्ट्रसङ्घजस्तै थियो तापनि त्यति बेला भिटो पाउने दुई मुलुक मात्र थिए । सङ्घको अफिस थियो भर्खरै आबाद गरिएको सहारा नगरमा, जसलाई भूगोलमा एउटा नयाँ प्रयोग भनिदिए हुन्छ ।

म नब्बे पुगी हब्बे न कब्बे भैसकेको थिएँ, तैपनि उडिरहेको टेलस्टार जेनेभाको दृश्य सबै रिले गरिरहेको थियो, मेरा नातिनीबुहारीहरू सञ्जयले धृतराष्ट्रलाई महाभारत सुनाएझै झ्यालमा बसेर मलाई बेलीबिस्तार लगाउँदै थिए ।

जेनेभामा साँच्ची एउटा अभूतपूर्व मेला लागेको थियो । नलागोस् पनि किन ! हजारौं पटक यही सहरमा हजार थरी सम्मेलन भए, सहरभरिका घर थर्किए, भुईं र भित्ता चर्किए, न निरस्त्रीकरण हुन सकेको थियो न विश्व शान्ति । त्यसैले चन्द्रलोकको यात्रा यहींबाट सुरु हुनुलाई जेनेभाले आफ्नो ठूलो | गौरव र सफलता सम्झेको थियो ।

अन्तर्ग्रहयामी जेट दुइटा मात्र थिए, एउटा अमेरिकन, एउटा रसियन । हुन त त्यस बेला सबैभन्दा जोधाहा र जुधाहा मुलुक थिए लन्डन र पेकिङ, तैपनि विज्ञानका कुरामा रूस र अमेरिकाको नाम जाज्वल्य हुँदै थियो । अहिलेका केनेडी र खुश्चेभझै त्यति बेला लव्लेस र च्याङ्बो नै त्यस्ता व्यक्तित्व थिए, जसको एक झोकमा पृथ्वीको दैनिक गति बटारिन सक्थ्यो ।

अन्तर्राष्ट्रिय एकता भन्दाभन्दै अङ्ग्रेजको राज्य फेरि कहिल्यै घाम नअस्ताउने स्थितिमा पुगिसकेको थियो । उता पेकिङ भनिरहेको थियो- परापूर्वकालमा चीनका राजा चूयान दर लोत्सेले राज्य गरेकाले मूनल्यान्डको नाम चन्द्रलोक रहेको हो । त्यसकारण चन्द्रलोकको प्रभुसत्ता चिनियाँ सन्तानकै हातमा र हुनुपर्छ। चन्द्रलोकको प्रशासनका लागि लासाको एउटा ध्याङमा खडा भैसकेको थियो- गवर्नमेन्ट अफ् मूनल्यान्ड क्वीनल्यान्ड रिपब्लिक । प्रभुसत्ता आफूले लिए तापनि चन्द्रलोकको जग्गा वितरण गर्न ऊ मन्जुर थियो । चीन भनेर तपाईंहरू हाम्रो अहिलेको शान्तिप्रिय छिमेकी राष्ट्रलाई सम्झनुहोला नि, उस बेलाका पेकिडेहरू अर्कै किसिमका थिए बुझ्नुभएन के ? बुझे बुझ्नोस् नबुझे नबुझ्नोस्, यो थियो- अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ प्रयोग। । अँ, यता प्रबन्ध हुँदै थियो, उता अमेरिकन जेट पाइलटले मौका छोप्नु बुद्धिमानी हो भन्ने ठान्यो । सायद रूसीले पनि उही सम्भ्यो होला । परस्पर सिडौरी खेल्दाखेल्दै आफआफैं सिङ फुक्लेर ठुटे भएका साँढेहरू (रूस र अमेरिका) वाहिर नुन खाएका कुखुराजस्तै अलि झोक्राएका भए तापनि भित्र अनौठा सपना देखिरहन्थे । त्यसैले भाग लाउने भन्दाभन्दै फुत्त बाँदरले लड्डू उडाएझैं जेटहरू भुर्र उडिहाले ।

“ए बितायो बा !” भन्दै एउटी पेकिडे युवती र एउटी लन्डने युवती हत्त न पत्त एकोटा जेटको पुच्छरमा झुन्डिन पुगे । सायद उनीहरूको मनमा चढ्यो होला चन्द्रलोकमा पुग्नेबित्तिकै जेट ल्यान्ड गरुन्जेलमै प्यारासुटबाट उत्रेर आफ्नो झन्डा गाडिहाल्नुपर्छ । लन्डने युवतीको चतुरयाईं बुझी हत्त न पत्त उसको खुट्टा समाउन पुग्यो थाइल्यान्डको युवक, अनि देख्तादेख्तै पहिलेका पश्चिमाभिमुख देशका प्रतिनिधिहरू पनि ऊ उसको खुट्टामा, ऊ उसको खुट्टामा हत्त न पत्त झुन्डिन पुगिहाले । यता पेकिडे युवतीको खुट्टा पक्रन पुग्यो क्युबाली ठिटो । त्यसपछि क्रमैसँग पहिलेका पोल्यान्ड, चेकोस्लाभ, हङ्गेरी र अल्बानिया आदि पनि त्यसै गरी झुन्डिए । फसाद पन्यो पहिलेका तटस्थ हौं भन्नेहरूलाई । उडू आफ्नो जेट छैन, नउडू मन मान्दैन । तटस्थको केही अस्तित्व भएको बेलामा त एउटा न एउटा लोभले मै हुँ भन्ने तटस्थहरू शक्ति गुटको पाउ दाब्न पुग्छन् भने त्यतिखेर त को तटस्थ, को अतटस्थ आखिर उड्न नपाउनेमा परे मुलुकसङ्घका सेक्रेटरी मिस्टर तयाङतुरुङ ।

म कोठामा पल्टिरहेको थिएँ । मेरी कान्छी नातिनीबुहारी फलानो यो फलानो ऊ भन्दै टेलिस्टार र टेलिभिजनको प्लेटमा मलाई चिनाइरहेकी थिई । टेरलिनको हाफपैन्ट र नाइलनको फ्रक लगाएकी मेरी नातिनीबुहारी गाला चाउरिएर पनि छाला टिमिक्क परेकी देखिन्थी । सम्पूर्ण पारदर्शक आवरणमा सुरक्षित उसको छाती र तिघ्राको सुडौलपनले हामी जोसुकैको अङ्गमा पनि घरीघरी अन्तरइन्द्रियगामी जेट उडाइदिन्थ्यो । हुन त व्यक्तिव्यक्तिको यौन स्वतन्त्रतामा हाडनाताले पर्खाल लाउनु उसको वैयक्तिक मौलिक अधिकार हनन गर्नु हो भन्ने तत्कालीन जाग्रत् समाजको एक मत थियो, तापनि म यिनताकको रूढ़िवादी बूढो भएकोले त्यति प्रगतिशील हुन सकेको थिइनँ ।

“यी सबै भएपछि चन्द्रलोकमा कसको चाहिँ प्रमुख सत्ता कायम होला त ?” मैले नातिनीबुहारीसित सोधे ।

म अलि कान नसुन्ने भएकोले माउथ स्पीकरद्वारा उसले विश्लेषण गरी- “मेरो विचारमा महायुद्धपछिको जर्मनीजस्तै तानातान र खोसाखोस त होला नि !” उसको कुरा मलाई पनि ठीकै लाग्यो र प्वाक्क भनिहालें- “अब तेस्रो महायुद्धको कारण र क्षेत्र चन्द्रलोक त हुन आउने होइन ? तै अहिलेसम्म सत्रोटा युद्ध भइसके पनि महायुद्ध त हुन सकेको छैन !”

कुरा गर्दागर्दै लामालामा पुच्छर गाँसेका चङ्गार्भी अकास्सिरहेका जेटहरू बादलपारि पुग्न लागिसकेछन् । दुवैतिरबाट चर्काचर्की नारा लागेका थिए । एउटा लाम भन्थ्यो- चन्द्रलोक कसको ? साम्यवादीको । अर्को लाम भन्थ्योचन्द्रलोक कसको ? समाजवादीको । एउटै लाममा पनि कोही जनवादीका भन्थे त कोही गणवादीको, कोही सुधारवादीको भन्थे त कोही उदारवादीको । अलिहेका सम्पूर्ण नाराहरू मानौं पुनः जाग्रत् भइरहेका थिए चन्द्रलोकका यात्रीहरूमा । यता विश्व मुलुकसङ्घका सेक्रेटरी मिस्टर तयाङतुरुङ ट्रष्ट्रीशिप काउन्सिलको बैठकमा भन्दै थिए- “चन्द्रलोकको संरक्षण मुलुकसङ्घअन्तर्गत हुनुपर्छ ।” अफिसका मेच-टेबुलहरू मात्र मौन रहेर उनको भनाइमा सम्मति जनाउँथे । अरू भन्थे– “काग कराउँदै गर्छ पिना सुक्तै गर्छ ।”

हामी हेर्दै र सुन्दै थियौं, घुमिरहेकों टेलस्टारको मद्दतले- आफ्नै कोठाको टेलिभिजन र रेडियोमा । उसले उसको खुट्टा, उसले उसको खुट्टामा बलैसँग समातेर तन्द्रङ्ग झुन्डिंदै अकास्सिरहेका ताँतीमा जोस र उत्तेजना बढ्दै गइरहेको थियो । दुइटै जेटहरू आआफ्ना मान्छेमय पुच्छर झुन्ड्याएर समानान्तर रेखाबाटै उडिरहेका थिए । सम्मुख-सम्मुख परेकाले सबभन्दा माथिको पेकिडे युवतीले कानै खाने गरी कराई- चन्द्रलोक कसको ? पेकिङको ।” उसको यो फुर्ती देखेर लन्डने युवतीको तालुदेखि पैतालासम्म तातेर आयो । “यी यत्रो त हो चाइनाको !” भनी हत्त न पत्त लोप्पा ख्वाउन हात झिक्ती भएकी जेटमा झुन्डिएको लाम खन्द्रयामखुन्दुम ।।

यसरी आफ्नो प्रतिस्पर्धी म खन्द्रयामखुन्दुम भएको देखेर पल्लो जेटमा झुन्डिने पेकिडे युवतीलगायत सबैलाई खितितित्त हाँसो उठ्यो । हर्षको आवेशमा ‘हा ! !’ गर्दै हात ठटाउन खोजेको उनीहरू पनि चल्र्यामचुर्लुम्म । | पुच्छरमा झुन्डिएका गहगह तानहरू एक्कासि झ्वाट्ट छुट्टिदा जेटहरू हुत्त हुत्तिए । एकअर्कामा ड्याङ्ग बजारिन पुगे । त्यसै बेला झिमिक्क के हो झिल्केको थियो टेलिस्टारको बत्ती झ्याप्प निभ्यो । अनि के भयो म भन्न सक्तिनँ । दिमागमा भने अझै त्यो झल्का आउँदै छ- चन्द्र लोक कसको ? रस्साको । चन्द्रलोक कसको ? अमेरिकाको । यो पनि मेरो स्मरण शक्तिको नयाँ प्रयोग होइन त ?

मुकुट, माघ २०१९, नैकन्तला

सम्बन्धित ब्लग
छिमेकी देशको ९७८ करोड रुपैयाँको चन्द्र अभियान- चन्द्रयान २ : जान्नै पर्ने १५ तथ्य

3 comments to चन्द्रलोक कसको ?

  • madan bajracharya

    चन्द्रमा नेपालको हो/ किनभने नेपाल चन्द्रमाको बाउ ब्रम्हाकै सन्तान मालिक हुने देस भयकोले चन्द्रमा र नेपालको भुमि दुवै ब्रम्हाको सन्तानको पुर्ख्यौली सम्पति हो/ त् चन्द्रमा कालापानी हो र भने झण्डा गाद्दैमा अर्काको हुने? अख्तियार दुरुपयोग आयोगले ब्रम्हास्त्र ठोक्ला तव थाह पाउला उनीहरुले/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Shankar

    नेपाल को नम्बर वान हास्यब्यन्ग्कार !

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Prem

    https://www.youtube.com/watch?v=pXh7vLTLTEc

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0