यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

आतंक : चरी बाघको कि पत्रकारको?

-राजु आचार्य-


बिरालो भन्ने बित्तिकै हामी बाघलाई रुख चढ्न सिकाउने गुरुको रूपमा हेर्छौँ । यी मामा भान्जाको कथा गाउँघर तिर निकै चल्तीमा छ । मामा (घरमा पालिने बिरालो) अहिले बस्तीमा मानिससँग बस्छ भने भान्जा (पाटे बाघ) अहिले पनि वनमै बस्छ। बाघ जस्तै वनमा बस्ने बिरालोहरू १२ प्रजातिका नेपालमा अभिलेख गरिएका छन् । यिनै मध्येको एक ‘चरी बाघ’ को बारेमा केही दिन अघि एउटा खबर प्रकाशित भयो।

‘भीमदत्त नगरपालिका–६ खैरेनीमा चरी बाघको आतङ्क’ शीर्षकमा खबर प्रकाशित भएपछि संरक्षणकर्मीहरू रिसाएर फेसबुकमा प्रतिकृया जनाए ।

प्राध्यापक करनबहादुर साहले ‘यो पत्रकारको आतङ्क हो’ समेत भन्न भ्याए । गलत जानकारी राखेर प्रकाशित लेखप्रति ऊनी यति बिघ्न आक्रोशित थिए । उनले थपे ‘चरी बाघले गोठ भित्र छिरेर बाख्रा मार्‍यो भन्ने पत्यार लाग्दैन’ ।

संरक्षणकर्मी टोप खत्रीले यसलाई ‘गलत पत्रकारिता’ को संज्ञा दिए ।

बिरालो प्रजातिका अध्येता यादव घिमिरेले भने ‘वास्तवमा यस्ता समाचारले मानिसहरूलाई वन्यजन्तुप्रति घृणा गर्न मलजल मात्र प्रदान गर्छ। यो समाचार केही सत्य भए पनि पूर्ण भने होइन । उनीहरू गहिराइमा पुगेर समाचार लेख्दैनन्।’

कमल राज गोसाईंले भने ‘तालिम नपाएका पत्रकारबाट सही समाचारको आशा गर्नु बेकार छ’ । उनको आशय पत्रकारको क्षमता अभिवृद्धि गर्नुपर्छ भन्ने थियो ।

समाचारमा के थियो त्यस्तो ?
समाचारमा केवल स्थानीय मानिसको विचार मात्र उल्लेख गरिएको थियो l कसैले आफ्नो आँखाले प्रस्ट देखेका थिएनन् ।

स्थानीयका अनुसार ‘राती आउने जाने, रातो पाटा भएको भनिएको छ’ । चरी बाघको रातो पाटा हुँदैन । फेरि बाख्रा नै मारेको भनिएको छ । चरी बाघले बाख्राको पाठाहरू कहिलेकाहीँ मारे पनि माउ मार्ने ल्याकत राख्दैन । यिनीहरूले मुसा, चरा, लोखर्के मारेर तिनीहरूको सङ्ख्या नियन्त्रण गर्ने गर्दछन् ।

र अर्को रिसको कारण भनेको चरी बाघलाई प्रस्तुत गरिएको तरिका थियो । आतङ्ककारी जस्तै बनाएर स्थानीयले देख्ने बित्तिकै मार्दा पनि फरक नपर्ने रूपमा प्रस्तुत गरिएको थियो ।


पत्रकारले मात्रै हो कि अरूले पनि चिन्दैनन् यो बिरालोलाई

घटना १ : आज भन्दा करिब १० वर्ष अघि लामटांग राष्ट्रिय निकुञ्जको ठुलो स्याब्रुमा केही घण्टा परबाट गाउँलेहरू संरक्षण अधिकृतलाई भेट्न आए । रसुवाको धुन्चेमा बस्ने भए पनि अधिकृत काम विशेषले त्यहाँ पुगेका थिए । गाउँलेहरू गुनासो र वन्यजन्तुको सिनो दुवै बोकेर आएका थिए ।

उनीहरू भन्दै थिए ‘यसले हाम्रो भेडा बाख्रा सखाव पार्‍यो । चौरीको बच्चा पनि छोड्दैन । मार्न पनि पाइँदैन, के गर्ने होला‘। यति भनी सके पछि बोराबाट मरेको सिनो निकाले र भने ‘यो हिउँ चितुवाको बच्चा हो । अस्ति निकै ठुलो हिउँ पर्‍यो । गाउँको छेउमा घाइते अवस्थामा भेट्यौ । बचाउने कोसिस सफल भएन । त्यही भएर बुझाउन ल्याएको’ ।

म त्यतिखेर कार्बन परियोजनामा काम गर्थे । मैले पनि हिउँ चितुवाको बच्चा नै भनिठाने । खिचिएका तस्बिरहरू पछि काठमाडौँमा सो विषयका विज्ञ यादव घिमिरेलाई देखाए । उनले भने ‘यो त चरी बाघ हो नि, त्यो पनि वयस्क’ । बर्षौ देखि काम गरिरहेको म पनि झुक्किए भने पत्रकार त झन् नझुक्किने कुरै भएन ।

घटना २ : २०५५ सालतिर म अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको, इलाका संरक्षण कार्यालय सिक्लेसमा रेन्जर पदमा कार्यरत थिए । सिक्लेस देखि दुइदिन हिँडेर पुगिने नागिधार गाउँमा बाघ मरेको (स्थानीयहरू चितुवालाई पनि बाघ भन्ने गर्छन्) खबर आयो । सहकर्मी मित्र गौतम पौडेल र म, एकै दिनमा पुगियो । स्थानीय निकाएको रोहवरमा मुचुल्का गरेर गाड्नु पर्ने थियो । हामी गाउँ पुग्दा मरेको ४ दिन भैसकेको थियो । गाउँलेहरूले गनाउन लागे पछि गाडिसकेका थिए।

हामी राती ९ बजे गाउँ पुगेर सिनो हेर्नको लागि फेरी खनेउँ । खन्न १ घण्टा लाग्यो । गाउँलेले भनेको त्यो बाघ वास्तवमा ‘चरी बाघ’ थियो । गाउँलेको भनाइ अनुसार धन्सारमा सुतिरहेको एक जना गाउँलेको छातीमा बाघले टेके पछि उ डरायो । नजिकै रहेको चिर्पटले अन्धाधुन्ध हान्दा सो बाघ मरेको थियो । ‘बाघको बच्चा रहेछ सर, राती डराएर हान्दा मर्‍यो’ । त्यो चरी बाघको केही दोष नहुँदा पनि मारिएको थियो।

रसुवामा भेटिएको र गाउँलेले हिउँ चितुवाको बच्चा भनेको ‘चरी बाघ’ थियो।

चरी बाघ कस्तो हुन्छ ?
यसको आकार सानो भएकोले पनि हाम्रा पुर्खाले ‘चरी बाघ’ नाम राखे होलान् । यसको जिउमा बाक्लो कालो थोप्लाहरू हुने भएकोले यो सानो चितुवा जस्तै देखिन्छ । जसले गर्दा प्राय मानिसहरू यसलाई चितुवा वा हिउँ चितुवाको बच्चा भनेर पनि झुक्किने गर्दछन् । यही कारणले मानिसहरू आत्तिएर चितुवा भन्ठानेर यसलाई मार्ने वा घाइते बनाउने गर्दछन् ।

यसको तौल १ देखि ४ केजी सम्म हुन्छ । यो बिरालो तराईदेखि हिमाली भेगसम्म (समुद्री सतहबाट ४५०० मिटर माथिसम्म) अभिलेख भएको छ ।

संसारभर ४१ प्रजातिका बिरालाहरू अभिलेख गरिएका छन् । नेपालमा जम्मा १२ बिराला प्रजातिहरू पाइन्छन् जुन विश्व भरिको झन्डै ३० प्रतिशत हुन्छ । नेपालमा पाइने वन बिरालाहरूमा पाटे बाघ, हिउँ चितुवा, ध्वाँसे चितुवा, खिया-थोप्ले बिरालो, चरी बाघ, मलाहा बिरालो, वन ढाडे, पलासको बिरालो, पाहन बिरालो, छिरबिरे बिरालो, सुनौलो बिरालो र चितुवा हुन् । थप जानकारीका लागि यादव घिमिरेको यो ब्लग उपयोगी बन्न सक्छ ।


क्यामेरा ट्रयापमा परेको चरी बाघ

1 comment to आतंक : चरी बाघको कि पत्रकारको?

  • कपिल प्रधान

    काँठे पत्रकार हरु ले डुबाउनु डुबाए / विचरो विराला लाइ बाघ बनेर हौवा खडा गर्ने
    आज रिसी धमला हिजो इन्दु कान्त शर्मा जस्ता अघोर ठग काठे पत्रकार हरु ले झुठ को खेति गरेर माला माल भएको देखेर त्यसकै देखा सिकी गरि अरु फरेबी काँठे पत्रकार हरु मौलाउन थालेका छन्

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0