यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

देवी माधवी, सकेँ भने तिमीलाई फेरि भेट्नेछु

-मदनमणि दीक्षित-

देवी माधवी !

मदन पुरस्कारद्वारा तिमी पुरस्कत भयौ। तिम्रो द्विरागमन सम्पन्न भयो । इतिहास फर्किएर आएको छ, बढी फराकिलो. बढी जिउँदो र बढी मान भएर । बढी सौम्य, झन् विदुषी उत्सर्गवति-सहनशिला-निष्ठावति र आत्मदर्शी भएर तिमी माधवी फेरि आयौ हजारों वर्षपछि । यसपालिको तिम्रो मन्त्र भने शान्तिमन्त्र हुनेछ । तिमीले देख्ने विमोचन उपन्यासका पिच्छल, सारिका, भल्लाक्ष, गिरिका र शान्ताका जस्ता होइनन् कि मानव मात्रकै पूर्ण विमोचनको अब साक्षी हुनेछ्यौ तिमी, माधवी !

त्यसैले व्यासकी माधवी तिमी हजारों वर्षपछि अहिले मात्र पुरस्कृत भयौ किनभने तिमीले वरुणवलीमा अब कनै शिशुलाई अर्पित गर्नुपर्ने छैन, घोडाहरुसित साटिनुपर्ने छैन, नियोग निम्ति विश्वामित्रको आदेश पालन गरेर प्रमतकलाई विरक्त स्वागत गर्नुपर्ने छैन र आफूले उनेको मालामा गालवका फूल निम्ति अब रत्तो ठाउँ छाड्दै जानुपर्ने छैन ।

हर्यश्व दासशालाको ‘अमोह मस्मि’ मन्त्रको त्यो अज्ञात दासले गरेको भविष्यवाणी “अमोह मस्मि ! शान्त हो पुलह शान्त ! हाम्रो प्राणहरण निम्ति आदेश दिन थालिस् ? अन्त्य त मेरो पो आउँदै छ, हामी दासहरूले एक दिन दासशालाका श्रृंखलाको यो संसारबाट मोक्ष पाउनेछौं, यो संसारबाट अँध्यारो सागरपारिको प्रकाशमा हामी पुग्नेछौं, बरु तिमीहरू नै त्यो अँध्यारो सागरमा डुब्नेछौ”- आजको संसारमा चरितार्थ हुँदै छ- तिम्रो वैष्णवी मन्त्रपछि आजको वर्ग-विमोचनका मन्त्रद्वारा ।

मेरा आँसु, रगत र पसिनामा निथ्रुक्क भिज्दै तिमीले फेरि यो संसारमा गएको चैत्रमा शब्दरूप पाएकी थियौ, गालवले दोस्रोपटक गुरुदक्षिणा चढाएर गुरुतर भारबाट मुक्ति पाएको थियो। म प्रसन्न थिएँ । तिम्रो र गालवको साहचर्यमा न्याना उच्छ्वास छाड्दै मैले ती सात वर्षजति बिताएर २९ चैत्रमा तिमीहरूसित बिदा लिएको थिएँ । अहिले यो पुरस्कार पाएर गालवले सधैं नै देवी ‘माधवी !’ भनेर सम्बोधन गरिएकी तिमी वारुणी महामाया फेरि मेरा सामु आइपुग्यौ। शब्दरूपमा, कर्मरूपमा र शब्द तथा कर्मको समन्वय रूपमा ।

शब्दरूपमा स्वागत छ देवी माधवी, तिमी यसै गरी सधै-सधैं फर्किएर आइरहे मेरा शब्द भएर, अरूका शब्द भएर, लाखौं नेपालीका शब्द भएर । वाणी, भारती, सरस्वतीका रूपमा सधैं हाम्रा हदयमा बास गरिरहे । अनि विमोचनकारी कर्म भएर पनि तिमी बारम्बार आइरहे यो नेपालमा । लेनिनले समाजिक परिवर्तन निम्ति सड़गठन गर्दा कर्म र शब्दलाई सधैं सर्वोच्च ठाउँ दिएका थिए । आजको यो संसारलाई देखेर तिमीले बुझेकी छदै छौ नि देवी !

मानव समाजमा कर्म र शब्द अमृत, अजर, अमर र शाश्वत् छन् । शब्दले ईश्वरसमेतको सृष्टि गयो, कर्मले ज्ञान-विज्ञान र विकासमा क्रान्ति गरिरहेछ र दुवैको समन्वयले विश्वमा स्थायी शान्ति ल्याउने भएको छ। तिमी त्यो समवेत रूप हो माधवी र समवेत भएरै मेरो जीवनमा आयौ- आफ्नो अधुरो रहेको कर्म, त्यो स्वयम्बरलाई हजारौँ वर्षपछि नेपालमा यहाँ पूरा गयौ। साँच्चै नै आजको संसार मानव जीवनको परिपूर्तितर्फ नै त झन्झन् लम्किरहेको छ। आऊ अघि बढौं- सँगसँगै। त्यो कर्णिकार मुन्तिर गालवसामु गरेको आफ्नो त्यो प्रतिज्ञालाई आज फेरि सम्झ- “सहनाभवतु । भुनक्तु सहवीर्य करवावहै… ।” त्यस दिनको तिम्रो त्यो प्रतिज्ञा नै आजको हाम्रो, नपालीको प्रथम प्रतिज्ञा हुनुपरेको छ। लौ आऊ देवी माधवी, सँगै उभिएर शान्त प्रतिज्ञालाई आज हामी सबै फेरि दोहोऱ्याऊँ। मेरो जीवनमा तिम्रो द्विरागमन प्रतिज्ञामा सार्थक हनेछ-अब तिमीले र गालवले त्यसरी पहिले दासत्वमा रिदै हिँड्नुपर्ने छैन र सजिलै गुरुदक्षिणा- भारबाट मुक्ति पाउनेछौ ।

“चरैवेति-चरैवेति” कै त त्यो तिम्रो जीवन थियो। आज त्यसमा झन् नयाँ दिशा – नयाँ वेग थप्नुपरेको छ. लौ फेरि सँगै काम गरौं, सबै नेपालीमा नयाँ शक्ति थपौँ। व्यासासनसामु हात जोडेर हजारौ वर्ष मौन उभिरह्यौ महाभारतमा, अब हिँड र नेपालको तीर्थयात्रा गर्दै संसारलाई अँगालोमा अटाउने कोसिस गर । नेपालीहरू तिम्रा साथ छन्। यी सात हिमाल र ती एक्काइस सागर तिनै कर्मक्षेत्र हुन् ।

मलाई थाहा छैन देवी माधवी, तिमी के भाषा बोल्थ्यौ। तर तिम्रो जीवनले यो मेरो नेपाली भाषामा थप पूर्णता र बढी परिपर्ति पायो- त्यो परिपूर्ति नभएको भए तिमी पुरस्कृत पनि हुने थिइनौ र एउटा ठूलो राष्ट्रिय सम्मानबाट वञ्चित हुने थियो । तिम्रो यो सम्मानमा आज व्यास नै कति प्रसन्न भए होलान्, मेरो त के कुरा ! तिम्रो समयमा मुद्रा थिएन देवी- मन्त्र र माला थिए। त्यसकारण आजको यो पुरस्कारको राशिलाई भन्दा पनि साथको यो दीयोको प्रकाशलाई हेर, आफ्नो अमोहमस्मिको- म प्राण हुँ. म मानिस हुँ- भन्ने मलमन्त्रलाई सार्थक तुल्याउन नेपाली वाङ्मयको अझ बढी सम्बर्द्धन निम्ति यो परस्कारलाई, यो दीपशिखालाई न्याय र विवेकका दृष्टिले हेरेर ग्रहण गर अनि झन् सन्दरी, झन विदुषी, झन् आत्मनिष्ठ, आत्म-निग्रही, झन् उज्याली र शब्द-कर्म-समन्वयी भएर नेपाली वाङ्मयको आभार निम्ति हरेक वर्ष आऊ र यसैगरी परस्कार र दीप शिखा ग्रहण गर्दै नेपाली लेखनीको सरस्वतीरूपको सम्बर्द्धन गर देवी ! यो मदन परस्कार भनेको तिम्रै निम्ति थियो, तिम्रै निम्ति भयो र तिम्रै निम्ति रहिरहने निश्चित विश्वास गर। आत्मविश्वासलाई गुमाउनु पर्नेछैन भन्ने बुझ।

मलाई थाहा छ, आजको यो कथाबारे पनि तिमीले व्यास, वैशम्पायन र शुकलाई मुटु अठयाउने गरी सुनाउनेछयौ। तिमीले आफ्नो कथाको यो निम्ति त तिमीप्रति आभार व्यक्त गर्छु। तिमीसित मेरो यस्तो साक्षात्कार नै त मेरा निम्ति ठूला ज्ञानका श्रोत बनेका छन्।

धन्यवाद छ देवी, म फेरि पनि तिमीप्रति नै ऋणी रहनेछ र सकेँ भने फेरि तिमीलाई भेट्नेछु।

साथै, यो वरिष्ठ सभामा मेरो कतिलाई लिएर यो विद्वान समुदायबाट जे जति उद्गार भएका छन्, त्यसको निम्ति म हार्दिक धन्यवाद अर्पण गर्दछु ।

धन्यवाद !

(संवत् २०४० साल आश्विन २५ गते आयोजित समारोहमा ‘माधवी’ ग्रन्थको लागि प्रदान गरिएको संवत २०३९ सालको मदन पुरस्कार त्यसका रचयिता श्री मदनमणि दीक्षितले ग्रहण गरेपछि व्यक्त गर्नुभएका उद्गार” नेपाली त्रैमासिक अङ ८६ बाट उद्धृत गरिएको हो। वि. सं. १९७९ मा जन्मिएका दीक्षितको आज २०७६ साउन ३० गते निधन भयो)

Comments