यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कालिकोटमा भेटिएको अनौठो रुख : स्थानीय भन्छन् रुखले गर्छ फूल्ने कि नफूल्ने आत्मनिर्णय

-राजु आचार्य-


कालिकोट जिल्ला भात्तडी गाउँ। जेठको चर्को घाम। हामी पसिनाले निथ्रुक्क थियौँ। साथमा रहेको एक बोतल पानी पनि सकिसकेको थियो। तिर्खा लागिरहेको थियो। धमिलो कर्णाली हेर्दै माथितिर लाग्दै थियौँ। कर्णाली हेर्नु बाहेक कुनै विकल्प पनि थिएन। म र सोम जिसी पानीको खोजीमा थियौँ। जताततै सुख्खा थियो।

खोला छेउको वन सकिएपछि खेतको डिल भेटियो। डिलमा बाख्रा चराउँदै गरेका दुई जना स्थानीय भेटिए। हामीलाई भगवान् भेटे जस्तो भयो। हामीले पानीको मुहान सोध्यौँ। उनले पछि लाग्न भने। स-साना गह्रा हुँदै केही महिना बस्नका लागि बनाइएको अस्थायी बस्तीतिर जाँदै थियौँ। यो ठाउँमा खेतीपाती गर्ने बेलामा मात्र बस्नको लागि भनेर स-साना बस्ती नै बनाइएको हुन्छ। खेतको बीचमा अलि परबाटै एउटा रुख देखे पछि सोधिहालेँ।

‘दाइ कत्रो हुन्छ ऊ त्यो रुख, खेतको बीचमा छ त। भोलि त सेपले खेती गर्न गाह्रो होला नि’

उनले भने ‘काँ रुख भन्नु भएको सर, यो त कुल देउता पो त !’

हामी रुख भएको दिशातिर नै जाँदै थियौँ। मनमनै सोचे ‘पुर्खाले प्रकृति र संस्कृतिलाई कहिले फरक देखेनन्।’ प्रत्येक ढुङ्गामा देउता देखे, माटोमा भुमिस्थान देखे। खोलामा र वनमा तिनै भगवानको बास देखे। आफूलाई चाहिने प्रयोग गरे तर कहिले पनि दुरुपयोग गरेनन्। वनमा सिकार खेल्दा पनि वन्यजन्तु गर्भिणी नहुने र बच्चाहरूलाई अप्ठ्यारो नपर्ने गरी गरे। बेचेर कहिले कमाएनन्। अहिले जस्तो पैसाको लागि सबै बेच्ने खालका थिएनन्। दूर दराजमा अझै त्यो माया जीवितै छ।

हामी हिँडिरह्यौँ। रुख नजिक पुगेपछि, रुखको वरिपरिको केही धजाहरू देखिन थाल्यो।

‘यो रुख खेतमा मात्रै हो कि अरू ठाउँमा पनि पाइन्छ?’

उनले भने, ‘अरू ठाउँमा पनि हुन्छ सबैमा देउताको रूप हुन्न। यसको फल त असाध्यै मिठो हुन्छ। अरू ठाउँमा फल टिपेर हामी खान्छौँ पनि।’

मलाई उत्सुकता जाग्यो, ‘अनि यो रुखमा फल फल्यो भने त, केटाकेटीहरू चढ़लान नि त। देउताको टाउकोमा चढेर फल टिप्दा पाप लाग्दैन?’

उनी मेरो कुरा सुनेर हाँसे। भने, ‘हो, केही जुठो सुत्केरो तथा केटाकेटीको कारणले यस्तो हुन सक्छ भनेर यो रुखमा फल नै फल्दैन। त्यसो भएपछि कोही पनि चढ्दैन। रुखले निर्णय गर्छ। अनि यो रुखमा फूल पनि फुल्दैन र फल पनि लाग्दैन।’

मलाई हाँसो लाग्यो। तर हाँसो निकालिनँ। गाउँ आइपुग्यो।

उनले थपे ‘खेत रोप्नु अघि हामी ‘बोगटी’ थरकाले यो रुखको पूजा गर्छौँ। यसले खेत र हाम्रो समुदाय दुवैको सुरक्षा गर्छ।’

कुन रुख थियो त्यो?

रुस्का गाउँका ती बोगटी दाजुले त्यो रुखको नाम वेडु बताएका थिए। मैले काठमाडौँ आएर फेसबुकमा फोटो पोस्टिएपछि यो रुखको नाम र नालीबेली थाहा भयो। नेपाली भाषामा पनि वेडु नै भन्ने रहेछन्। वन विज्ञ देवेश त्रिपाठीले यसको वैज्ञानिक नाम Ficus palmata बताए। सुदूरपश्चिममा फैलिएको रहेछ। यसको फल पुस माघतिर असाध्यै मन पराइन्छ। यसको फल चराहरूले पनि मन पराउँछन्। बाख्रालाई घाँस पनि हुन्छ र दाउराको रूपमा प्रयोग पनि गरिन्छ। यो बिरुवा समुन्द्र सतहदेखि ६०० देखि २३०० मिटरसम्मको उचाइमा अभिलेख गरिएको छ।

के कुनै रुखमा फूल र फल नलाग्न सक्छ र ?

वनस्पतिहरू दुई किसिमका हुन्छन् । सम्पूर्ण वनस्पतिलाई फूल फुल्ने (सपुष्पक) र नफुल्ने (अपुष्पक) गरी दुई भागमा वर्गीकरण गरिएको छ। रुख पनि वनस्पति नै हो।

वनस्पतिहरूले फूलेर बिउ उत्पादन गर्ने गर्दछन्। यसले तिनको वंश कायम रहन्छ। बिरुवामा फूल फूल्नको लागि पानी, प्रकाश, तापक्रम, खनिज पदार्थको आवश्यकता पर्दछ। यिनै कुराहरूको मात्रा कम वा बढी भए फुल फुल्ने बिरुवाहरू पनि नफुल्न सक्छन्। यसका अतिरिक्त बिरुवाको उमेर, तिनमा गरिएको काँटछाँट, तिनीहरू उम्रिएको स्थान आदिले पनि फूल्ने र नफूल्ने निर्धारण हुन्छ।

कहिलेकाहीँ फूल फूलेपछि फल नफल्ने पनि हुन् सक्छ। परागसेचनको कारणले पनि यस्तो हुन सक्छ। हावाहुरी, वर्षा, चिसो मौसमले पनि पराग सेचन प्रक्रियालाई बाधा पुर्‍याउँछ।

वनस्पति विज्ञ दीपेश प्याकुरेल भन्नु हुन्छ ‘रुखलाई अति आवश्यक पर्ने खनिज पदार्थहरूको मात्रा तल माथि भयो भने फूल फूल्ने रुखहरू नफुल्न सक्छन्। नफूले पछि फल लाग्ने कुरै भएन।’

2 comments to कालिकोटमा भेटिएको अनौठो रुख : स्थानीय भन्छन् रुखले गर्छ फूल्ने कि नफूल्ने आत्मनिर्णय

  • Pradip

    Hello all,
    Well, it is not really a unique tree. There are various different types of animals and trees around the world who can decide if they want to give reproduction or not depending on the current food supply, weather conditions. Marsupial mammals can control their reproduction, menstrual cycle etc purely based on food supply. Trees are the same, one should note, reproduction, whether it is for tree or animal, including the human being, is a big project which requires huge energy from them, that is why we need to good extra nutrients to pregnant women. Trees require extra energy( food supply) and if it detects less for those seasons, some trees have ability to pause the reproduction.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Raju Acharya

    सुझावको लागि धन्यवाद र सच्याइएको बारे !

    वेडुको फल पाक्नेबारे पश्चिम तिर एउटा गित छ ‘वेडु पाको बार्है मास काफल पाको चैत’ l गीतको मात्रै भर गरेर नहुने भएकोले , ‘फल पाक्ने विषयमा’ मैले सोहि क्षेत्रमा काम गरिरहेका वनकर्मी उदित अर्याललाई सोधेको थिए l उंहाले फल पाक्ने समय पुष माघ भनेर जानकारी गराउनु भएको थियो l त्यसैले सोहि समय उल्लेख गरेको हुँ l एउटा प्रजातिको बिरुवाको फलहरु सबै क्षेत्रमा एकै समयमा नपाक्न पनि सक्छन् l ठाउँ, उचाई अनुसार फरक पर्न सक्छ l

    यसबारे बनस्पती बिज्ञ दीपेश प्याकुरेललाइ सम्पर्क गर्दा उहाँले तलका जानकारी पठाउनु भएकोले सोहि अनुसार बुझ्न अनुरोध गर्दछु l

    साथै यो रुखमा किन फल/फुल हुँदैन भन्दा पनि यो लेखले सबै बिरुवालाई समेटेर कारण खोतल्ने प्रयाश गरेको हो l

    Ficus palmata (bedu)
    Figs usually solitary, pear shaped, dark purple or pink when ripe; flowers during May- July; fruits during June to November.

    Altitude in Nepal: 600-2700 m in western Nepal (west of Kali Gandaki river) सुदुर पश्चिममा मात्र होईन.

    Global distribution: N.E. Africa, Arabia, Afghanistan, N. Pakistan, Himalaya (Kashmir to Nepal).

    लेखक

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0