यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

एनआरएनको चुनाव : नियममा राजनीतिक दलको हुन पाइन्न, व्यवहारमा नि? प्रम ओलीदेखि स्व. गिरिजासम्मको नामबाट चलखेल

– नवीन पौडेल –

विदेशमा बसोबास गर्ने ८० लाख नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित भएको गैरआवासीय नेपाली संघ (एनआरएन)लाई राजनीति तथा जातीय संस्थाको छायाँ पर्न नदिने परिकल्पना गरिएको छ। तर यो त सब भन्ने कुरा न हो। एनआरएनलाई राजनीतिक आहालमा डुबाउने प्रयत्न दिनप्रतिदिन भएका छन्। एनआरएनकै सक्रिय अभियन्ताहरु र नेताहरुको पार्टीगत स्वार्थका कारण एनआरएनलाई राजनीतिकरण गर्ने प्रपञ्च भएको हो। यस्तो हर्कतलाई एनआरएनको पछिल्लो दुई क्षेत्रीय बैठकले नै पुष्टि गर्छ।

असार तेस्रो साता म्यानमारको याङ्गुनस्थित हिलटन होटलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया प्रशान्त क्षेत्रीय बैठक बस्यो। यसमा नेपाली काँग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, नेकपाका सांसद डा. सूर्य पाठकसमेत सहभागी थिए। बैठकमा गैरआवासीय नेपाली संघका संस्थापक नेता डा. उपेन्द्र महतो लगायत १२ देशका २ सय जना प्रतिनिधिको उपस्थिति थियो।

दिनभरी औपचारिक कार्यक्रम हुन्थ्यो। त्यस बाहेकको समयमा भने राजनीतिक पार्टीप्रति आस्था राख्ने एनआरएनका प्रतिनिधिहरु आगामी अक्टोबरमा हुने निर्वाचनमा कसरी आफ्नो पक्षले पद कब्जा गर्ने भनेर छलफल र रणनीति बनाउन व्यस्त हुन्थे।

यो बैठकमा अस्ट्रेलिया, बेलायत, जापान लगायतका देशबाट आएका नेकपा समर्थक पार्टी कार्यकर्ताहरुले छुट्टै भेलाको आयोजना समेत गरेका थिए। भेलामा उपस्थित अधिकांशले संघको आगामी निर्वाचनमा अध्यक्ष कुमार पन्तको नेतृत्वमा पूरै प्यानलमा पार्टीको तर्फबाट उम्मेदवारी दिन नहुने तर्क गर्दै कांग्रेस समर्थक समूहलाई घेराबन्दी गर्ने रणनीति तय गर्ने प्रयास गरेका थिए।

गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष कुमार पन्तलाई समेत बैठकमा समावेश गर्न खोजिएको थियो। तर पन्तले बहिस्कार गरे।

रोचक के छ भने केही पार्टी कार्यकर्ताहरु पार्टीको आधिकारिक उम्मेदवार बनाइदिन्छौँ भन्दै उनीहरुको खर्चमा विदेश सयर गर्ने गरेका छन्।

संघको निर्वाचनमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाम समेत मुछिएको छ। कोइरालाको सम्मानमा गठित गिरिजाप्रसाद कोइराला फाउण्डेशनले समेत गैरआवासीय नेपाली संघको निर्वाचनमा आफ्नो छ्ट्टै रणनीति चयन गर्न समिति गठन गरेको छ। फाउण्डेसनको तर्फबाट नेपाली कांग्रेसकी नेतृ तथा गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले बिहीबार ५ जनाको प्रचारप्रसार उपसमिति गठन गरेको जनाएकी छन्। पत्रमा नवगठित समितिलाई ‘आगामी अक्टोबरमा हुने संघको निर्वाचनमा मात्र केन्द्रित नभई विश्वभरि छरिएका नेपालीहरुको समस्या र दोहोरो नागरिकता लगायतको मुद्दामा काम गर्न’ भनिएको छ ।

गत जुन महिनाको तेस्रोसाता डेनमार्कमा सम्पन्न नेपाली कांग्रेसका कार्यकर्ता प्रशिक्षणमा समेत एनआरएनको आगामी निर्वाचनको एजेण्डालाई प्रमुख रुपमा उठाइएको थियो। गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले भेलामा सहभागी हुँदै पार्टीले आधिकारिक रुपमा आफूलाई उम्मेदवार बनाएको खण्डमा चुनाव लड्न तयार रहेको आशय बैठकमा राखेका थिए। यद्यपि कांग्रेसका उपसभापति विमलेन्द्र निधिले एनआरएनएको निर्वाचनको विषय गौण भएको भन्दै सबैलाई प्रशिक्षणमा केन्द्रित हुन आग्रह गरेका थिए।

त्यहाँ उपस्थित कांग्रेस कार्यकर्ताले आगामी निर्वाचन नेपाली कांग्रेसले नेतृत्व लिनुपर्नेमा जोड दिए पनि निधिले पहिला विदेशस्थित नेपाली कांग्रेसका कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिएका थिए। त्यसपछि मात्र पार्टीले विचार गर्न सक्ने भन्दै सो प्रसंगलाई उनले त्यसै टुंग्याइदिएका थिए ।

सो भेलाले एनआरएन निर्वाचनको लागि ३ जना रहेको उपसमिति गठन भएको एकथरीले दावी गरेका छन् भने केही कार्यकर्ताले पार्टीले औपाचारिक समिति गठन नगरेको तर सो समितिलाई संघका गतिविधिको बारेमा समन्वयन गर्ने अनौपाचारिक जिम्मा दिएको बताएका छन्।

समितिमा एनआरएनएका पूर्व संरक्षक दिल गुरुङ, पूर्वसल्लाहकार विश्वआदर्श पण्डित र अमेरिकास्थित जनसम्पर्क समितिका नेता विष्णु सुवेदी रहेका छन्। सो समितिलाई विस्तार गरेर ७ जना बनाउने कांग्रेसको तयारी छ।

प्रधानमन्त्री केपी शर्मा ओली समेत एनआरएनको निर्वाचनमा अछुतो छैनन्। प्रधानमन्त्री ओलीको युरोप भ्रमणको बेलामा समेत संघको निर्वाचनले चर्चा पायो। फ्रान्स भ्रमणका क्रममा गत जुन १३ तारिखमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई छोटो प्रशिक्षण दिने बहानामा एनआरएनएको निर्वाचनमा आ–आफ्ना नेता तथा कार्यकर्तालाई जिताउन निर्देशन दिए। होटेल मोरिसको चौथो तलाको कोठामा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबाहेक अरुका लागि प्रवेश खुला थिएन। तर प्रशिक्षणमा एनआरएनए युरोप संयोजक शिव बरुवाल र उपाध्यक्ष कुमार पन्त पनि सहभागी थिए।

गैरआवासीय नेपाली संघ साझा र स्वतन्त्र संस्थाको रुपमा परिकल्पना गरिए पनि संघकै अभियान्ता नेताहरु र पार्टीको ढोका ढकढाउन सकृय छन्।

अगष्ट महिनाको पहिलो साता रोममा सम्पन्न संघको क्षेत्रीय बैठकमा समेत एनआरएन अभियन्ताहरु राजनीति भन्दा पृथक रहन सकेनन्। रोम बैठककै क्रममा युरोपस्थित नेपाली कांग्रेसको भ्रातृसंस्था जनसम्पर्क समितिले छुट्टै बैठकको आयोजना गरेको थियो। बैठकमा संघका उपाध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली संघको राष्ट्रिय निर्वाचनमा अहिलेको संस्थापन पक्षले नेपाली कांग्रेसको कार्यकर्ता माथि थिचोमिचो गरेको भन्दै पार्टीभित्र आफ्नो उम्मेदवारी बलियो बनाउने प्रयास गरेका थिए। उनलाई कांग्रेसको रामचन्द्र पौडेल समुहले उम्मेदवार बनाउने तयारी गरेको हो।

बैठकलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विदेशस्थित नेपाली जनसम्पर्क समिति आबद्ध नेता तथा कार्यकताहरुलाई गैरआवासीय नेपाली संघ जस्तो साझा संस्था भित्र राजनीति नगर्न आग्रह गरेका थिए। तर जनसम्पर्क समितिकै केही नेताको जोडबलमा राजनीतिक प्रभाव देखाउने प्रयास स्वरुप उनलाई रोम सम्मेलनमा बोलाइएको एनआरएनभित्र चर्चा छ।

उनको बैठकमा सहभागितालाई लिएर नेकपा निकट समर्थकले उनलाई कसले र किन बोलायो भनेर सोधिखोजी समेत गरेका थिए। सोही बैठकमा नेपाल सरकारको प्रतिनिधि भन्दै नेकपा नेता तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललगायतसमेतको सहभागिता रहेको थियो। यद्यपि त्यो बोलाउन नेकपा निकटकै एनआरएन नेताहरुको जोडबलमा भएको थियो।

राष्ट्रिय समितिमा पनि उस्तै रोग
एनआरएनएको विधानले प्यानल बनाएर चुनाव लड्न प्रतिबन्ध गरे पनि विभिन्न देशमा राजनीतिक दलका भ्रातृसंस्थाले खुलेआम प्यानल बनाएर चुनाव लडेका छन्। त्यसको सुरुवात सबैभन्दा पहिला एनआरएनए अमेरिकाले गरेको थियो। वर्तमान अध्यक्ष सुनील शाह नेपाली कांग्रेसको समर्थनमा नेतृत्वमा आएका हुन् भने मलेसिया, बेल्जियम, फ्रान्स, स्वीजड्ल्याण्ड, क्यानडा लगायतका देशमा वामपन्थीको बर्चस्व छ। यस्तै चुनाव हुन बाँकी राष्ट्रिय समितिहरुमा समेत दलगत निर्वाचन हुने खतरा बढेको छ।

राजनीतिक दलबारे वैधानिक व्यवस्था
गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई राजनीतिक तथा जातीय संस्थाको छायाँ पर्न नदिने परिकल्पनासहित संघले केही वैधानिक प्रावधान समेत व्यवस्था गरेको छ।

संघको निर्वाचन सम्वन्धी नियमावलीको धारा ७ को ६ मा उम्मेदवारले संघको आचारसंहितामा लिखित प्रतिबद्धता गरी उम्मेदवारी मनोनयन फारमका साथमा पेश गर्नु पर्ने व्यवस्था छ।
नियमावलीले उम्मेदवार राजनीतिक, जातीय वा धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य पद धारण गरेको भए सो पद त्याग गरेको प्रमाण (राजीनामा वा स्वीकृत) मनोनयन फारमका साथ पेश गर्नु पर्नेछ व्यवस्था गरेको छ।

नयाँ नेतृत्व चयनको लागि गैर आवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन १३ देखि १७ अक्टोबरमा काठमाडौँमा हुँदैछ।

(यो माइसंसारलाई प्राप्त पाहुना ब्लग हो। तपाईँ पनि आफ्नो ब्लग पठाउन चाहनु हुन्छ भने blog@mysansar.com मा पठाउन सक्नुहुन्छ)

सम्बन्धित ब्लगहरु
एनआरएन चुनावको प्रभाव : बिना सूचना ‘डिलिट’ गर्नुपर्ने गरी ‘कान्तिपुर’ले के छाप्यो यस्तो?

एनआरएन : दान दिने संस्थाबाट दान लिने संस्थामा रुपान्तरण

एनआरएन आए, भोज खाए, देशको ढुकुटीबाट साढे १३ लाख रुपियाँ रित्याए

गैरकानुनी एनआरएन, ठिमाहा सरकार र सिटीवाली राजदूत

निकम्मा छ अमेरिकी एनआरएन

अनि ब्याज चाहिँ कति जम्मा भइसक्यो त एनआरएन सा’ब?

एनआरएनका डाक्साप हावा वेबसाइटमा शृङ्खलालाई भोट माग्दै

एनआरएन अध्यक्ष उम्मेदवारको प्रेस विज्ञप्ति

जापानका एनआरएनबीच हात हालाहाल

एनआरएनको भ्रम र यथार्थ

एनआरएनका ‘किङमेकर’ उपेन्द्र महतो नै

2 comments to एनआरएनको चुनाव : नियममा राजनीतिक दलको हुन पाइन्न, व्यवहारमा नि? प्रम ओलीदेखि स्व. गिरिजासम्मको नामबाट चलखेल

  • madan bajracharya

    दलिय नेताहरु र तिनका पिच्छलगुहरुले हाम्रो नेपाल भन्ने कुनैको पनि प्रतिनिधित्व गर्दैन/ आफ्नो उच्चता स्विकारे तिरस्कार हुनु पर्नेलाई अंगाल्ने दलहरु र तिनका ठुला नेताहरु कस्ता छन् भनेर हामीले भन्ने पर्दैन उनीहरुले नै भन्दै छन् कुन दल र तेस्को नेता कस्तो छन् भनेर/ इनिहरुको कुरा मान्ने हो भने सिंहदरवार देख्न देखाउन पनि लाज लाग्ने हुन्छ/ दलका ठुला नेताहरु त् तेस्ता छन् भने तिनका पिच्छलगुहरु कस्ता होलान?

    जात थर फरक भयको भनेर नेपालीलाई अछुत बनाउने र राजनैतिक आस्था फरक भयकोले ..गर्नेहरु सबै नेपालीको साझा नेपाललाई आफ्नो बपौति बनाउन खोज्ने जमात हो/ इनिहरु मन्दिर बनाउने होईन् अरुको मन्दिरको गजुर फेरेर आफ्नो बनाउने हुन्/ गजुर फेर्न नसकिने भय मन्दिरको जग नै भत्काउने हुन्/ इनिहरु आफु भन्दा बढी सम्मानित हुने विचार व्यक्तिको अपमान र अनादर गर्न जे पनि गर्न सक्छ/ इनिहरुले हिजो पनि तेस्तै गरेको थियो आज पनि तेस्तै गर्दै आयकैछ/

    बहिस्कृतनै हुनु पर्ने सम्मानित त् जवरजस्ति बिबस बनाय मात्रै सम्भव हुन्छ/ यस्तै भयकोले ज्यानमार्ने पल्सरे, प्रेसर कुकरे देखि नेपालमा भारतीय स्वार्थमा घोप्टेहुन् तयार हुने पनि महान नेता हुन्छ/ गणेशमान कृष्ण प्रसाद सुसिल मदन भण्डारी मनमोहनहरु जस्तो व्यक्तित्वहरु त्यागिने फालिने भुलिने पात्रहरु हुन्छ/ भुटान जस्तै नेपाल बन्ने सन्धि गर्न, नेपाल पसे पछी तराई नेपाल बात अलग्याउने भन्नेलाई नागरिकताको माला लगायर स्वागत गर्न, टनकपुर महाकाली सन्धि पास गर्न नेपाललाई बरावरको फाइदा दिनु पर्ने सर्त तेर्साउने; सप्तकोसी मा भारतको उच्च बाँध बनाउन बाधक हुने सदन र संबिधान खारेज हुनु “तानाशाहको अन्त भयको उत्सव” हुन्छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • पहिलो कम्युनिस्ट NRN अध्यक्ष हुनेछन् पन्त

    कांग्रेसले जति मोर्चाबन्दी गरे पनि गैर आवासीय नेपाली संघमा यस पटक कम्युनिस्ट नेतृत्व आउँदैछ। २०७६ साउनको पहिलो साता कुमार पन्त काठमाडौंमा थिए। उनले त्यतिबेला नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेलसहितका नेतासँग भेटवार्ता गरी चुनाबी रणनीति बनाएका छन्। त्यतिबेला उनी ‘दुई तिहाइको सरकार हुँदा पनि मैले जितिनँ भने ठिक हुँदैन’ भन्ने पाराले उनी प्रस्तुत भएको नेकपा वृत्तमा चर्चा छ। कम्युनिस्ट नेताहरूलाइ उनको भरथेग पहिलैदेखि छ। पन्त अध्यक्ष जित्ने अर्को कारण उनी जीवा लामिछानेका व्यापार साझेदार हुन्। लामिछाने एनआरएनलाई आफ्नो नियन्त्रणमा राखेर त्यसैमार्फत् नेपालमा आक्रमक रुपमा व्यापार फैलाइरहेका साहित्यकार हुन्। दुवैको संयुक्त लगानी युरोपभरि छ।
    अर्को तर्फ भूमिगत गिरोह सञ्चालक उपेन्द्र महतो तथा नेपालको दोस्रो सरकार मानिने कान्तिपुरका मालिक कैलाश सिरोहिया समेत कुमार पन्तलाई जिताउन लागिपरेका छन्। केही समय अगाडि कुल आचार्य एनआरएन अध्यक्ष उम्मेदवार हुने भन्ने समाचार कान्तिपुर अनलाइनमा प्रकाशित भएको थियो। सिरोहियाले त्यसलाई कच्याक्क पारिदिए। डिलिट नै हान्न लगाए। यसैले पनि देखाउँछ यो पटक पन्तको विजय सुनिश्चित छ। उनी आरआर क्याम्पस पढ्दादेखिकै अखिल कार्यकर्ता हुन्।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1