यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

एमआरआई मेसिनभित्र आधा घण्टाको उकुसमुकुस अनुभव

गएको साता अस्वस्थ हुँदा इतिहासमै कहिले नदेखिएका यस्ता लक्षण देखिए कि डाक्टरले एमआरआई गरी हेर्न सुझाव दिए। एक्स-रे, सिटी स्क्यान त पहिले पनि गरेको हो तर यो एमआरआई भन्ने जिनिससित पहिलो पटक परिचय हुँदै थियो मेरो।

कहिलेकाहीँ गुगल गर्दा गर्भवती भएको लक्षणसँग समेत मिल्ने लक्षण आफूमा देखिएको हास्यास्पद इतिहास मेरो नभएको हैन। तैपनि यसो के रैछ यो एमआरआई भन्ने जिनिस भनेर यस्सो गुगलिने काम चैँ गरियो। धेरै घोत्लन चाहिँ घोत्लिइएन। आधा घण्टादेखि एक घण्टासम्म लाग्न सक्ने जानकारी पनि त्यही गुगलले दियो। अहो, एक घण्टा! कसरी बस्ने?


फोटो साभार : द हिन्दु।

हिजै आज मध्याह्न १२ बजेका लागि टाइम लिइएको थियो। तर पुगियो नेपाली टाइममा। हुन पनि ११ बजे टाइम लिएकाको भर्खर हुँदै रहेछ।

आधा घण्टा जति समय लाग्ने भनियो। त्यतिन्जेल कुरेर बस्नुपर्ने। एउटा कन्सेन्ट फर्म भर्नुपर्ने रैछ। रातो रङको बार लगाएर ड्यान्जर, खतरा लेखेको देखेपछि त्यतिकै तर्सिने खोज्ने बनाउने के। ‘हैट, म कहाँ तर्सन्छु,’ मैले मनलाई सम्झाएँ। तर्सनु पर्ने कारण पनि त छैन नि।

त्यत्रो आधा घण्टा भित्र के गरेर बस्ने त?

मेडिटेसन गर्दिम् ? मैले यसो फूँइ झारेँ- बूढीलाई र चिनेको डाक्टर भाइलाई।

आधा घण्टा त म विपश्यना गरेर बिताइदिन्छु भन्ने भाको थियो मलाई। केही दिनदेखि नियमित गर्नुपर्ने एक घण्टे ध्यान पनि छुटेको थियो। अब यहाँ भित्र मज्जाले गर्छु। आधा घण्टा त हो। मुहानपोखरीको विपश्यना केन्द्रमा दिनमा तीन पटक अधिष्ठान (हातखुट्टा, जिउ केही नचलाई, आँखासमेत नखोली) त बसियो, यस्ता मुला आधा घण्टा भन्ने लाग्यो।

एमआरआई गरेर एक विदेशी बिरामी बाहिरिए। अब पालो मेरो थियो। चेन्जिङ रुममा गएर सबै लुगा फुकालेर त्यहाँ राखिएको कपडा लगाएँ। घडी, मोबाइल सबै फुकालेर त्यतै राखेँ। जिउमा त्यही अस्पतालको लुगाबाहेक केही थिएन।

मलाई एमआरआई गर्ने मेसिन भएको कोठामा लगियो।

हलिउडको ‘अवतार’ फिल्ममा देखिए जस्तो गोलो जिनिस भएको मेसिनमा टाउको छिराउने भन्ने त पहिले नै गुगल गरेर हेरिसक्या मैले। त्यसभित्र छिर्दा कस्तो अनुभव हुन्छ चाहिँ अब थाहा हुँदै थियो। मलाई सुत्न भनियो। म सुतेँ।

‘पहिले गर्नुभएको छ एमआरआई?’

‘छैन’

‘टाउको नहल्लाउनुस् है।’

‘तपाईँलाई अप्ठेरो केही भयो भने यो थिच्नुस्’ भनेर दायाँ हातमा एउटा रबरको डल्लो दिइयो। जतन गरेर समातेँ।

टाउकोमा ठ्याक्क ठ्याक्क के के राखियो। कानमा हेडफोन राखिदिए। धून बजिरहेको थियो। ल धूनै सुनेर बस्न पाइने रहेछ नि त भन्ने भयो। आँखा चिम्लेँ।

सुइँय्यय लाएर जब जिउ मेसिन भित्र छिर्‍यो, केही हुन्न भन्ने थाहा हुँदाहुँदै अज्ञात भयले सिरिङ भयो मन। आँखा खोलेर हेरेँ- सेतो बत्ती बलेको र प्लास्टिकको सामान बाहेक केही देखिन्न। टाउको नहल्लाउनू भनेको छ। जिउ पनि सकेसम्म हल्लाइनँ। किन हो कुन्नि खुट्टा चाहिँ एकमाथि अर्को खप्ट्याएर बस्दा सहज लागेकोले सुरुदेखि त्यसरी बसेको थिएँ।


फोटो : www.mblynchfirm.com

मधूर संगीत आएको आयै भए त के गाह्रो हुन्थ्यो होला र। म कम्तिमा आनापाना गर्थेँ होला विपश्यना नसके पनि।

तर कहाँ सोचेको जस्तो हुँदो रहेछ र। एकैछिनमा वार्निङ साउन्ड बजे जस्तो आवाजले तर्सायो। एकोहोरो बजेको बज्यै। मैले श्वास प्रश्वासमै ध्यान दिन खोजेँ। तर ध्यान गए पो।

फेरि ट्वाक ट्वाक, ठ्वाक ठ्वाक आवाज आयो। कानमा हेडफोन राखेर बजेको म्युजिकको भन्दा चर्को आवाज त त्यो पो थियो त। तैपनि टाउकोदेखि पैतालासम्मको विपश्यनाको नियम पूरा गर्न सकिन्छ कि भनेर बसेँ। अहँ टाउको भन्दा मुनि गए पो।

फेरि घाँटी खसखस भए जस्तो भो। अहो, श्वास फेर्नै गाह्रो भए जस्तो पो भो। हैट, उकुसमुकुस पो भो। हातमा भएको रबरको डल्लो थिच्दिम् कि के हो गाह्रो भयो भनेर संकेत गर्न जस्तो लाग्यो।

त्यही गुगल गर्दा खोक्न हुन्न भनेर लेखेको देखेको थिएँ। त्यसैले घाँटी सफा पार्न ‘अखुम्’ पनि गर्न सकिनँ।

फेरि करौँतीले काटेको जस्तो क्वाइँयय पो आवाज आउँछ त। त्यो सकिन पाएको छैन यता ट्वाक ट्वाक उता ढ्वाक ढ्वाक। उफ्। के भाउँतो आइलाग्यो यो। पुग्यो पुग्यो भनौँ कि के हो जस्तो पनि भयो मनमा।

फेरि हैट कति अस्थिर भएको यो मन भनेर सम्झाएँ। आँखा खोलेर हेरेँ। उही सेतो प्लास्टिकको सामान र बत्ती बाहेक केही देखिने भए पो। के हेर्नु यस्तो ? फेरि चिम्लिएँ आँखा अनि मन शान्त बनाउन खोजेँ।

के शान्त हुनु मन। खुट्टा चाहिँ चलाइदिएँ आ जे त परोस् भनेर। अनि फेरि विपश्यना गर्ने ट्राइ गरेँ। मनलाई टाउकोभन्दा मुनि पनि पुर्‍याएँ। तर टकटक ढकढक च्वाइँय्यय, टुइँट टुइँटले डिस्टर्ब गर्न छाडे पो !

के म्युजिक बजाको होला यो, बरु कुनै गीतै बजाइदिएको भए त्यसैको तालमा मनमनै गुन्गुनाउन सजिलो हुन्थ्यो नि जस्तो पनि लाग्यो।

आधा घण्टा त यस्सै बिताइदिन्छु भन्ने लागेको मलाई यति समय बिताउन निकै गाह्रो भो। अझ कति समय लाग्ने हो भनेर सोच्दासोच्दै मान्छे भित्र पस्यो। अहो बल्ल सकियो भन्ने भयो। त्यसपछि सुतेको ठाउँ बिस्तारै अगाडि सर्‍यो। कानबाट हेडफोन निकालियो, टाउको छेउबाट अरु सामानहरु निकालियो। बेडबाट उठ्दा अर्कै संसारबाट बाहिरिएको जस्तो पो लाग्यो।

जिन्दगीमा एमआरआई भन्ने जिनिसको अनुभव पनि गरियो।

बाहिर आएर चेन्जिङ रुममा गई त्यो लुगा फुकालेर आफ्नै लुगा लगाउँदासम्म त्यही आधा घण्टाको ह्याङओभर थियो।

त्यो ह्याङओभर तीन घण्टापछि रिपोर्ट लिएर डाक्टरलाई देखाएपछि बल्ल उत्रियो। 🙁 बाट 🙂 भइयो रिपोर्ट हेरेपछि।

8 comments to एमआरआई मेसिनभित्र आधा घण्टाको उकुसमुकुस अनुभव

  • roshan shrestha

    मलाई चै पड्दा नै सकस किन हो किन थाहा छैन ? फिल्म मा कोइ लड्दा जिउ नै सिरिङ्ग हुन्छ किन होला ? फूटबल को खेलाडी घिर्सिदा मलाई घुडा सिरिङ्ग हुन्छ के भाको हो ?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

  • Hangu Lama

    हन के भाको रैच हौ साँच्चीकै। एसो अमिलो पीरो धेर खान मन पराएर मात्र हो कि क्या हो जाँकेका तपाईंलाई त्यो जिनीस्‌मा?

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • Sanjaya

    सलोक्य सर्, खासमा के को लागि गर्नुपर्ने रहेछ यो एम आर आइ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • kapur shah

    आखीर भएको चाही के रहेछ त दाजु ? सिघ्र स्वास्थ लाभको कामना

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 2

  • Arun

    मलाई चाही बानि परि सक्यो। बर्सेनि दुइ चोटी टाउको र ढाडको प्रतेकको ४५ मिनेट गर्नु पर्छ। मैले गर्ने ठाउमा metal नभएको टिसर्ट, ट्राक र स्पोर्ट सुज लगाए hospital को कपडा लाउन पर्दैन। सिरानी मिलेन भने वा उकुसमुकुस भएर सास फेर्न गारो भए nasal drop हालेर गए सजिलो हुन्छ। टाई टाई तूइ तूइको बीचमा हल्का gap हरु हुन्छ। तेस्मा adjust गर्दा हुन्छ। चल्यो भने पनि तेतिबेला को प्रक्रिया दोहोर्याउने मात्र हो, खासै फरक पर्दैन। MRI मेसिनमा microphone पनि हुन्छ र operator संग दोहोरो कुरा गर्न मिल्छ। एकचोटी टाई टाई तूइ तूइ गर्दा गर्दै सुस्तरी के बढबढआएको थिए उता बाट ‘तिमि ठिक छौ?’ भनेर सोदयो। बीच मा सुइ लगाउने भनेको blood dye (Gadolinium Contrast Medium) दिने हो। एसले MRI scan को गुणस्तर बदाउच।

    मन परे हरियो नपरे रातो ! Thumb up 4 Thumb down 3

  • Tej Bantawa Rai

    तपाईंलाई गाह्रो भएको भए पनि मलाई पढ्न चाँही मज्जा लाग्यो । मान्छे भनेको यस्तै त र’छ नी । अर्काको पीडामा मज्जा मान्ने, अर्को लड्दा खित्का छोडेर हाँस्ने । तर जे होस्, जिन्दगीमा मैले पनि गर्नु परेछ भने यही सम्झेर उस्तो पीडा नहोला ।

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 3

  • what a experience

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 4

  • Padam S Tandan

    रगत को नमुना पनि लिन्छ नि त्यसो गरेन त ? मैले युरोप मा ४ पटक MRI गरेको थिए त्यसैले……

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 3