यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

काठमाडौँवासीलाई ‘स्वर्ग लैजान’ मध्यरातमा टोल टोल चहार्ने यो अनौठो पात्र- दागीँ


मध्यरात हुनै लाग्दा मरु सतः अर्थात् काष्ठमण्डपपछाडि रहेको भुति सत्तलबाट धिमे भुस्या नामको एउटा परम्परागत बाजा बजाउँदै गजुर नभएको मन्दिर मरु गणेशस्थाननिरबाट प्याफलतिर अगाडि बढ्छ। त्यसैको पछाडि एउटा सेतो मुकुण्डो लगाएको मान्छे बाहिरिन्छ। जामा पहिरिएको यो मान्छेको आँखा कसैले छोपेको हुन्छ। आँखा छोप्नेले मरु गणेशस्थान आएपछि बल्ल छोपेको हात निकाल्छ। तर पनि यो अचम्मको आकृतिको दुवै हात फैलिएको हुन्छ। ती हातहरु अन्य सहयोगीले समातिरहेका हुन्छन्। टङटङ टङटङ संगीतको तालसँगै यो आकृति रातको बेला नगरपरिक्रमा गर्न निस्कन्छ। यो आकृतिको पछि पछि हुन्छ सयौँ मानिसहरु। ती सबै सेतो पहिरनमा हुन्छन्। काठमाडौँमा हरेक वर्ष इन्द्रजात्राका बेला देखिने यो दृश्यको रहस्य के हो त ? आखिर को हुन् यिनी ?

इन्द्रजात्रा भनेर काठमाडौँ उपत्यकामा चतुर्दशीमा एक दिन विदा दिइन्छ। राष्ट्रप्रमुख र अन्य गण्यमान्यहरुको सवारी हुन्छ वसन्तपुरमा र कुमारीको रथ तानिन्छ। धेरैजसो मिडियामा आउने समाचार यही हो। इन्द्रजात्रा भनेको यतिमात्रै हो भन्ने धेरैलाई लाग्न सक्छ। कहाँ त्यतिमात्र हुनु, त्यो त इन्द्रजात्राको एउटा पाटो पो हो त। खासमा इन्द्रजात्रा त आठ दिन मनाइन्छ। प्रत्येक दिन उत्सव सरह हुन्छ। रथ मात्रै तीन दिन तानिन्छ।

हरेक दिन विभिन्न नाचहरु देखाइन्छन्। हाथु द्यः (श्वेत भैरव), आजु द्यः (आकाश भैरव) का विशाल मूर्तिहरुलाई बाहिर प्रदर्शन गरिन्छ। हाथु द्यःको मुखबाट थ्वं बगाइन्छ जसलाई हाथु हायेकेगु भनिन्छ।

इन्द्रजात्रामा पनि कुमारी, गणेश र भैरवको रथ तान्न सुरु गरेपछि राष्ट्रप्रमुख फर्कन्छन्। यो यात्रा सुरु गर्ने कान्तिपुरका राजा जयप्रकाश मल्लको पालामा यस्तो थिएन। जयप्रकाश मल्ल आफै रथमा बसेर यात्रा चलाउँथेँ। राति अबेर भए पनि रथ वसन्तपुरमा नफर्किउन्जेल यात्रामै हुन्थे।

रथ क्वने अर्थात् तल्ला टोलहरु काष्ठमण्डप, मरु, चिकंमुगल, जैसिदेवल, लगन, ब्रह्मटोल, कोहिटी, भीमसेन स्थान, काष्ठमण्डप हुँदै पुनः वसन्तपुरमा लगेर कुमारी, गणेश र भैरवलाई कुमारी घरमा भित्र्याइसकेपछि सुरु हुन्छ दागीँ। आज कुमारीलाई वसन्तपुर निवासमा भित्र्याउँदा नै रातिको पौने ११ बज्न लागिसकेको थियो। ११ बजिसकेपछि बल्ल निस्कियो दागीँ।

कस्तो हुन्छ त यो ? हेर्नुस् भिडियोमा-

त्यंगःका एक ज्यापु (नेवारमा अरु जस्तो एक जात नभएर त्यसभित्र विभिन्न उपजाति हुन्छ। नेवारभित्रै पनि बाहुनदेखि लिएर कथित दलितसम्म हुन्छन्। नेवारहरुमा कृषि कार्य गर्ने जातिलाई ज्यापु भनिन्छ) ले सेतो मुकुन्डो लगाउँछन्। काष्ठमण्डपपछाडिको भुति सतःबाट आँखा छोपेर उसलाई ल्याइन्छ। उसको हात दुई जना सहयोगीले समाएका हुन्छन्। एक जना तुलाधरको घरमा यो मुकुण्डो राखिएको हुन्छ।

सबैभन्दा अगाडि मरु टोलका ज्यापुहरुको एउटा समूह हुन्छ। याकको रौँ लामो बाँसमा राखेर बनाइएको घुन्याँ घुमाउँदै धिमे भुस्या बजाउँदै अगाडि उनीहरु हिँडेका हुन्छन्। दागीँको पछाडि भने त्यो वर्ष ज्यान गुमाएका मानिसका आफन्तजन हुन्छन्। सबै सेतो पहिरनमा।

बाजाको तालमा यिनीहरु छिटोछिटो हिँड्छन्। हिँड्दा उनीहरुले मृतकको नाममा नौ थरी गेडागुडी बाटोमा छर्दै हिँड्छन्। दागीँको पछि पछि स्वर्गमा गएर घर फर्कने बाटो नबिर्सोस् भन्नलाई यसरी छर्कने चलन चलेको रे।

यिनी वास्तवमा देवराज इन्द्रकी आमा हुन् रे दागीँको भेषमा काठमाडौँ आएका। काठमाडौँमा पारिजातको फूल चोर्न आएका इन्द्रलाई यहाँका बासिन्दाले पक्रेर थुनेर राखेपछि उनकी आमा बसुन्धरा आफ्ना छोराको खोजी गर्दै काठमाडौँ आएका रहेछन्। यहाँको दरबारमा इन्द्रलाई चोर झैँ हात बाँधेर राखेको देखेपछि उनले काठमाडौँमा शीत ल्याइदिने वाचा गरेर उनलाई छुटाएछन्। काठमाडौँका बासिन्दालाई मृत आफन्तलाई भेट्न स्वर्ग लैजाने वाचा पनि गरेछन्।

मरु गणेशस्थानबाट प्याफल हुँदै नरदेवी, असन, इन्द्रचोक, बसन्तपुर, चिकंमुगल, लगन, जैसिदेवल, ह्युमत, भीमसेनस्थान हुँदै काष्ठमण्डप गएर टुंगिन्छ यो यात्रा। यात्रा सकिएपछि भुति सतःमा बाँकी सामान फाल्छन्। मरुहिटीमा मुख धोएर उनीहरु घर फर्कन्छन्। कोही भने राति नै १२ किलोमिटर टाढा थानकोटमा रहेको इन्द्रदहमा नुहाउन भनेर पुग्छन्। पहिले त अँध्यारो हुन्थ्यो, बत्ती हुँदैन थियो। चिप्लेर खस्यो कि सीधै स्वर्ग गइन्थ्यो।

दागीँसँगै अर्को एउटा परम्परा पनि हुन्छ जसलाई बौमतः भनिन्छ। यसमा भने सायमि (मानन्धरहरु)को सहभागिता हुन्छ। तेलको काम गर्ने नेवारहरुलाई सायमि भनिन्थ्यो पहिले। बौमतः निकाल्नेहरुले दागीँ र दागीँले बौमतः हेर्नु हुन्न भन्ने गरिन्छ। त्यसैले दागीँले माथिल्लो सहरको परिक्रमा गरेर तल्लो सहर परिक्रमा गर्न हिँड्ने बित्तिकै बौमतः निस्कन्छ माथिल्लो सहरको परिक्रमा गर्न।

बौमतःमा दुई मिटरसम्मको लामो बाँसहरुलाई जुटले बाँधिएको हुन्छ र त्यसमा दीयो बालिएको हुन्छ। दीयोलाई गोबरले टाँसिएको हुन्छ। यो लामो बत्तीले दागीँ कै बाटो पछ्याउँदै नगर परिक्रमा गर्छ। अघिको दागीँ जुलुसमा गएर फर्किएकाहरुले बाटो नबिराउन् भनेर यो बत्तीको जुलुस निकाल्न थालिएको पनि भनिन्छ।

बौमतः जुलुस सकिँदासम्म अबेला भइसकेको हुन्छ। त्यस्तै बिहानको २-३ बज्छ बौमतः यात्रा सकिँदासम्म। त्यसैले विदेशीहरु इन्द्रजात्रामा रथ तान्ने, लाखे, महाकाली नाच हेर्ने गर्छन्, यसमा उनीहरुको आँखा गएको हुँदैन।

दागीँ र बौमतः कस्तो देखिन्छ? हेर्नुस् माथिको भिडियो

इन्द्रजात्रा बारे थप ब्लगहरु

Comments