यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

शुद्ध नेपाली लेख्न प्रयास गरौँ

— राजु अधिकारी —

प्रविधिको विकासले भाषाको विकासमा पनि निकै टेवा पुर्‍याएको छ । अझ हाम्रो जस्तो सापेक्षिक रूपमा सानो समूहको भाषाको प्रवर्धन र विकासमा त प्रविधिले झन् ठुलो भूमिका खेलेको छ । सामाजिक सञ्जालमा अहिले नेपाली भाषाको व्यापक प्रयोग देख्न पाइन्छ अनि नेपाली भाषाका वेबसाइटहरू पनि बग्रेल्ती खुलेका छन् । यो निकै राम्रो पक्ष हो तर यसले भाषाको शुद्धतामा सानातिना विकृति पनि भित्र्याएको छ । सामाजिक सञ्जालमा लेखिएको नेपाली हेर्दा भाषाको दयनीय स्थिति प्रतीत हुन्छ । नजानेर या शुद्ध लेख्न अल्छी लागेर जे भएर भए पनि अशुद्ध भाषाको प्रयोग भाषा र संस्कृति विकासको लागि हितकर हुँदैन ।

कुनै पनि भाषाको शुद्धता त्यसका शब्द, वाक्य रचना तथा व्याकरणले निर्धारित गर्छ । मातृभाषा नेपाली भएका अधिकांश मानिसहरूका लागि नेपालीका शब्द चयन र वाक्य संरचनामा त्यति कठिनाइ हुँदैन तर नेपाली भाषाको एउटा विशेषता ह्रस्व र दीर्घ पनि हो, त्यसमा चाहिँ हामी धेरैजसोले गल्ती गर्छौँ । सायद हामीहरू सबैलाई सानै देखि ह्रस्व र दीर्घले निकै सताएको पनि हुनुपर्छ । त्यसैले यहाँ मैले ह्रस्व दीर्घको बारेमा र अन्य केही द्विविधा गराउने वर्ण चयनको बारेमा लेख्ने प्रयास गरेको छु । हुन त म कुनै भाषाविद् होइन तर पनि नेपाली मातृभाषी भएको हैसियतले आफ्ना अनुभव र विचारहरू पाठकहरू समक्ष बाँड्दै छु ।

स्कुल पढ्दा जति कोसिस गर्दा पनि कहिल्यै नेपाली शुद्ध लेख्न सकिएन । पहिले पहिले मलाइ लाग्थ्यो किन शुद्ध लेख्नु पर्यो् र, भाषा भनेको एउटा मान्छेले अर्को मान्छेलाई आफ्ना मनमा लागेको कुरो बुझाउने माध्यम मात्र त हो नि किन शुद्धताको चाहियो ? तर विगत दुई वर्षदेखि नेपाली भाषामा लेख्न थालेपछि यो भाषाको सुन्दरताले मलाइ यसको शुद्धता प्रति पनि सजग गरायो । हरेक भाषाका आ-आफ्ना मौलिकता र विशेषता हुन्छन्, यदि त्यसलाई वास्ता नगर्ने हो भने त्यो भाषाको अर्थ नै के रह्यो र ? त्यसैले पनि शुद्ध लेख्नु जोसुकैको लागि पनि अनिवार्य हो जस्तो मलाइ लाग्छ । अर्को कुरा शुद्ध नलेख्दा कहिलेकाहीँ अर्थ को अनर्थ पनि लाग्न सक्छ । जस्तो कि ‘भए’ र ‘भय’ मा निकै ठुलो अन्तर छ । त्यस्तै ‘दिन’ र ‘दीन’, ‘फुल’ र ‘फूल’ अनि धेरै यस्तै ।

उदाहरणको लागि ‘आजभोलि प्रदूषणले गर्दा खोलाको पानी विष भएको छ’ लेख्नेमा यदि ‘आजभोलि प्रदूषणले गर्दा खोलाको पानी बिस भयको छ’ लेखियो त्यसले दोहोरो अर्थ लगाउन सक्छ । हुन त बोलीचालीको भाषामा त्यसको लवज र प्रसंगले गर्दा त्यसको अर्थ बुझ्न सकिएला तर सरकारी अड्डा या अदालतमा यसले ठुलै असर पार्न सक्छ ।

अहिले कम्प्युटरको प्रयोगले गर्दा नेपाली लेख्न निकै सजिलो भएको छ । लेख्न मात्रै होइन यदि लेखमा कतै गल्ती फेला परेर त्यसलाई सच्याउनु पर्‍यो भने पनि निकै सजिलो भएको छ । त्यसैले प्रविधिले यति सुविधा दिएको युगमा आफ्नो ज्ञान र क्षमताले भ्याएसम्म शुद्ध नेपाली लेख्नु हामी सबैको कर्तव्य पनि हुन आउँछ ।

वास्तवमा शुद्ध नेपाली लेख्न त्यति गाह्रो चाहिँ रहेनछ । अलिकति मेहनत गर्योि भने निकै हदसम्म शुद्ध लेख्न सकिन्छ । मैले आफूले लेखेका पहिले पहिलेका लेख हेर्दा अहिले आफैलाई लाज लाग्छ । त्यो बेला अज्ञानता अनि शब्दकोश हेर्न नचाहने अल्छीपनले गर्दा साना साना कुराहरू पनि मैले गल्ती लेखेको रहेछु । जस्तो कि ‘ठूलो’ लाई ‘ठुलो’ ‘आफू’ लाई ‘आफु’ अनि ‘तिमी’लाई ‘तिमि’ ।

तर पछि बुझ्दै जाँदा र लेख्दै जाँदा मेरो लेखन पनि बिस्तारै सुधारिँदै गयो । नजानेका कुराहरू तुरुन्तै शब्दकोशमा खोजेर मैले सकभर शुद्ध लेख्न थालेँ । त्यति गर्दा पनि १००% शुद्धता त नहोला (यही लेखमा पनि केही त्रुटिहरू फेला पर्लान्) तर पनि आफूले गर्न सक्ने र गर्नु पर्ने कोसिस मैले गरिरहेको छु ।
मैले आफ्ना अनुभवको आधारमा यहाँ केही सामान्य नियमहरू पाठकहरू समक्ष प्रस्तुत गरेको छु आशा छ त्यसले तपाइहरूलाई पनि शुद्ध नेपाली लेख्न केही हदसम्म मद्दत गर्ने छ । यी सामान्य नियमको परिधिभित्र रहेर लेख्ने प्रयास गर्नुभयो भने लगभग तपाइको लेखनमा ९०% सम्म शुद्धता आउन सक्छ । बाँकी १०% भनेको आफ्नो अनुभवले सुधार्ने हो ।

मेरो अनुभवमा ह्रस्व दीर्घ बाहेक अधिकांश द्विविधामा पार्ने वर्णहरू भनेका ‘ए’ र ‘य’, ‘ब’ र ‘व’, ‘इ’ र ‘ई’, ‘स’ र ‘श’ हुन् ।

• सबभन्दा सजिलो नियम के हो भने आफूलाई थाहा नभएका अधिकांश शुद्ध नेपाली भाषाका शब्दहरू ह्रस्व लेख्दा फरक पर्दैन । हुन त त्यसमा पनि अपवादहरू नभएका चाहिँ होइनन् तर ह्रस्व लेख्दा गलत हुने सम्भावना कम हुन्छ ।

• अर्को सामान्य नियम हो- हात्ती, खसी र सम्धी बाहेक पुरुष जातिलाई जनाउने शब्दहरू ह्रस्व र स्त्री जाति र नपुंसक जातिलाई जनाउने शब्दहरू दीर्घ ।

• नामहरू (स्त्रिलिंगका नाम बाहेक) ह्रस्व र सर्वनामहरू दीर्घ हुन्छन् ।

• ‘चाहिँ’ बाहेक अन्तिममा ‘-ही’ आउने शब्दहरू सबै दीर्घ हुन्छन् जस्तो कि केही कोही, यही, त्यही ।

• अन्तिममा ‘-सरी’ आउने शब्द सबै दीर्घ हुन्छन् जस्तो कि कसरी, जसरी त्यसरी, उसरी ।

• ‘ए’ को प्रयोग प्राय: जसो क्रिया या क्रियापदमा हुन्छ भने अन्य ठाउँमा ‘य’ को प्रयोग बढी हुन्छ ।

• त्यस्तै स्त्रिलिंगको क्रियापदको अन्तमा ‘ई’ प्रयोग हुन्छ भने अन्य ठाउँमा ‘इ’ ।

• ‘श’, ‘ष’ र ‘स’ अनि ‘ब’ र ‘व’ मा चाहिँ मैले अझै खास नियम खुट्याउन सकेको छैन । अनुभवकै आधारमा लेख्ने प्रयास गरेको छु ।
शुद्ध लेख्नको लागि आधिकारिक नेपाली पुस्तक र वेबसाइटहरू जति धेरै पढ्यो त्यति धेरै ज्ञान हुन्छ । अनि लेख्दा कहिले गल्ती लेखियो भने नियम थाहा नहुँदा पनि त्यो लेखेको अलिकति सुहाएन कि जस्तो आफैमा अनुभव हुन्छ अनि त्यसलाई शब्दकोशमा हेरेर पुष्टि गर्न सकिन्छ र अर्को पटक त्यो शब्द लेख्दा आफै नै शुद्ध लेखिन्छ ।

नेपाली भाषाको आधिकारिक र अद्यावधिक शब्दकोश तलको वेबसाइटबाट सित्तैमा प्राप्त गर्न सकिन्छ ।
http://nepalacademy ।org ।np/?page_id=1193&lang=ne

त्यस्तै मैले निकै प्रयोग गर्ने अर्को वेबसाइट भनेको विक्सनरीको नेपाली-नेपाली शब्दकोश हो जुन तलको लिङ्कबाट खोल्न सकिन्छ ।

आउनुस् सबै मिलेर आफूले सके जति शुद्ध नेपालीमा लेख्ने प्रयास गरौँ ।

9 comments to शुद्ध नेपाली लेख्न प्रयास गरौँ

  • राजु

    नाम चलेका नेपाली वेबसाइटहरुले समेत भाषाको शुद्धतालाई गम्भीरतापूर्वक लिंदैनन् भन्ने कुरो तलको लिंकमा लेखिएको लेखले देखाउँछ । १००० शब्द भन्दा पनि कमको एउटा लेखमा १४ वटा गल्ती भेटिन्छन् ।

    https://www.onlinekhabar.com/2019/09/799889

    1. ति (ती)
    2. यहि (यही)
    3. साक्षतकार (साक्षात्कार)
    4. तारतम्या (तारतम्य)
    5. जमार्को (जमर्को)
    6. आवश्यक्ता (आवश्यकता)
    7. परिपक्क (परिपक्व)
    8. आफु (आफू)
    9. अवधी (अवधि)
    10. माध्याम (माध्यम)
    11. बर्षेनी (वर्षेनी)
    12. भाँसिने (भासिने)
    13. हिरोइन सृष्टि हो कि दृष्टि ?
    14. यसमा उनका सहयोगी छिन्, दृष्टि (उनकी हुनुपर्ने)

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • PP

    उपयोगी लेखको लागि धन्यवाद |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • राजु अधिकारी

    सबै पाठकहरु अनि प्रतिक्रिया र सुझावको लागि धन्यवाद।
    मैले खोल्दा माथिका दुवै ‘लिंक’हरु खुल्छन् । यदि तपाईंको कम्प्युटरमा खुलेन भने गूगलमा ‘ नेपाली-नेपाली_शब्दकोश’ भनेर खोज्नुहोस् अनि त्यसमा आएको सबभन्दा पहिलो लिंकबाट विक्सनरीको नेपाली शब्दकोशमा जान सक्नुहुन्छ ।

  • श्रीकृष्ण अधिकारी

    नेपालीमा ह्रस्व दीर्घको ज्ञान मलाई पनि छैन अझै भनौ केही पनि थाहा छैन तथापी केटाकेटीमा हाम्रा नेपाली गुरु श्री अग्नि प्रसाद सापकोटाज्यूले एउटा कविता घोकाउनु भएको थियो ।
    पदान्तमा भाले ह्रस्व तर पोथी दीर्घ
    जस्तै दाइ भाई ह्रस्व दिदी बहिनी दीर्घ
    सर्वनाम, विशेषण, पेशा, जाती थर
    हात्ती, सम्धी, साथै सँधै दीर्घ लेख्दे गर
    यहाँले उल्लेख गर्नु भए अनुसार “नामहरू (स्त्रिलिंगका नाम बाहेक) ह्रस्व र सर्वनामहरू दीर्घ हुन्छन्” मलाई खासै ज्ञान त छैन तर उतिबेला उहाँले नाम स्वतन्त्र हुन्छ, ह्रस्व दीर्घ जस्तो पनि हुन सक्दछ भन्नु भएको थियो । जस्तै उदारहरणको लागि उहाँको नाम अग्नी थियो तर कसैले अग्नि लेखेपनि गल्ती भएन । सायद उहाँले व्यक्तिको नामको सन्दर्भमा मात्र भन्नु भएको थियो कि ! यदि “अग्नी” शब्द आगोको रुपमा लगाउन खोज्दा चाँही सायद ह्रस्व दीर्घको नियम लागू हुन्छ होला ।

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • तेमाले तामांग

    सही कुरो| धन्यवाद, सिक्न पाइयो|
    प्रयास गरे सकिने कुरो हो| तर जनजिब्रो र वाल्यकालदेखिको संस्कार, अभ्यास र बानी पनि हो|
    आदिवासी जनजाति नेपाली शुद्ध लेख्न नसकेर लोकसेवाको जांचमा तीन बल्ड्याङ्ग पछारिन्छन| फेरि उठन सक्ने प्रयास थोरैले मात्र गर्छन| परीक्षकहरु धेरै जसो गैर आदिवासी जनजाति भएकोले आफ्नै नेपाली लेखनको मापक स्तरमा जांचछन|
    यस्तो तालले दुरी घटने कुरै छैन| आक्रोश र अन्तरविरोध पनि बढदो छ|
    अर्को खटकिने र नबुझिएको कुरो के भने हाम्रा नेताहरु र आफुलाई विद्वत ठान्नेहरु केहीले शुद्ध भाषा बोलेको देखाउन हो क्यारे, “स” लाई “श” र “ष” उच्चारण गर्ने प्रबित्ति बढदो छ| (उदाहरण: उक्त कुरालाई आत्माशात गर्दै हामी शबै नेपाली षाराले शर्जकका शर्बोत्तम शाहित्य रचनालाई प्रशंशा नगरी बष्ण शक्दैनौ|) त्यस्तै गरेर “श” लाई स उच्चारण गर्ने त साधारण भैसक्यो|
    मेरा एकजना मित्रले एक अंग्रेज पाहुनालाई आसन ग्रहण गर्ने आग्रह गर्दै प्लिज “शीट” डाउन भन्दा जिल खाएर कुर्सीमा थेच्चिए|

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Nabin

    मेरो computerma त तपाइले भनेको दुवै लिंक खुलेन

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Ratna Thapa

    सालोक्यजी , यो ब्लगमा दियिएको शब्दकोशको लिंकमा डट हुनु पर्नेमा विरामको चिन्ह रहेछ, त्यसैले गर्दा त्यसै क्लिक गर्दा साइट खुल्दैन | हतारमा टाइप गर्दा फुलस्टप हानियो होला जुन नेपालीमा पूर्णविराम भयेछ | अंग्रेजी लिंकमा विरामले काम गर्दैन | मैले डट राखेपछि खुलोयो र वृहत शब्दकोश २०७५ डाउनलोड गरियो |

    त्यस्तै दोश्रो लिंक खुलेन |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Ratna Thapa

    धेरै राम्रो लेख; लेखकलाई धन्यवाद | तपाइंको धेरै कुरामा सहमत छु | हिजोआज मिडियामा धेरै प्रतिस्पर्धा छ, कसले समाचार वा लेख कत्ति छिट्टो प्रकाशित गर्ने | यो कारणले गर्दा समाचार / लेख तयारी गर्दा द्रुत गतिमा टाइप गरिन्छ र युनिकोड वा अन्य नेपाली फोन्टहरु प्रयोग गर्दा जाने बुझेकै हिज्जे पनि उल्टो भएर आइदिन्छ जसलाई सच्च्याई रहने न कसैलाई फुर्सत हुन्छ न रुचि नै | यसैले गर्दा नेपाली भाषामा विरुपता देखिएको हो भन्दा अत्युक्ति नहोला |

    अर्को तर्फ : तपाइंको – ” ‘श’, ‘ष’ र ‘स’ अनि ‘ब’ र ‘व’ मा चाहिँ मैले अझै खास नियम खुट्याउन सकेको छैन । अनुभवकै आधारमा लेख्ने प्रयास गरेको छु ।” भनाइमा मेरो मत के छ भने ती शब्दहरुको प्रयोग हिन्दी भाषामा कसरी गरिन्छ त्यो सिकेर जान्न सकिन्छ | उनीहरुको हिन्दी लेखाइ प्रिन्टमा होस् वा अनलाइन सबैमा शुद्ध नै देखिन्छ, जस्तो कि — आकाश (नेपालीले आकास लेख्छन), धनुष (हाम्रो चाही धनुस), कुश लाइ कुस लेखेको देकिन्छ भने विमललाइ हामी बिमल लेख्छौं | उनीहरु विकाश लेख्छन हामी बिकास |
    ह्रस्व र दीर्घ पनि राम्रो हुन्छ हिन्दीमा जस्तो कि भतिजी, नीति, नुपूर, बद्रीनाथ (हाम्रो चाही बद्रिनाथ), इत्यादि |

    हिजोआज हिन्दीको व्याकरण भन्दा पनि भारतीय शब्दहरु धेरै प्रयोगमा देखिन्छन – जस्तो कि बोलबाला, दबदबा, बवाल, घुसपैठ, रस्साकस्सी, आदि | शुद्ध साहित्य लेखनको खडेरी परेको छ हाम्रोमा ; त्यसमाथी हिन्दी टेलिभिजन च्यानलले झन् बोलीचालीका भाषामा पनि ठूलै अतिक्रमण गरेका छन् |

    जे होस् तपाइले राम्रो जानकारी दिनु भयो त्यसलाई हामी मनन गरेर अनुशरण गरौँ सबैले |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • madan bajracharya

    कुनै पनि भाषा सुद्ध लेख्न जान्नु राम्रो हो/ तर नेपालि भाषालाई “नेपालि भाषा सुद्ध लेख-बोल अन्यथा…” को जस्तो नीति लियको छ तेस्ले सयौं भाषा बोल्ने जनजाति आदिबाशी माथि कसले के गर्दैछ र त्यो नीतिको कारण उनीहरु दोश्रो दर्जाको नागरिक जस्तै बनेको छैन?

    अहिले नेपालि भाषा भन्न थालेको भाषा नजाने केहि नहुने; कोहि योग्य पनि नहुने हो भने पृथ्बी नारायण शाहले नेपाल कब्जाउनु अघिको नेपाल प्रिबिनारायाँ शाहलाई नै लोभ्याउने कब्ज्याउन उक्साउने हुनेनै थियन/ नेपाललाई अद्वितीय शिल्पकारको भनि चिन्हाउने ..हरु, बिस्वले मानेको गौतम लगायत नेपालाई बिर र बिस्वाशिलो भनि चिन्हाउने राई मगर गुरुङ आदि आदिबाशि जनजातिहरु नेपालि भाषि थियनन/

    अहिले जसरि नेपालि लेखे बोले सुद्ध हुन्छ भन्ने कुरा मान्ने हो पृथ्बी नारायाण शाह देखि नेपाली भाषाको आदिकवि भानुभक्तको लेख र बोलि पनि असुद्ध हुन्छ; प्रमाणको निमित पृथ्बी नारायाण शाह र त्यो पछि लेखेको कानुन र भानुभक्तलाई आदिकवि बनाउने उसको लेखहरु समेत …..हुन् जान्छ/ ई कुरा त् छाडौं; जुन बाउ आमाले अहिले कसरि लेखियको नेपाली भाषा सुद्ध हुन्छ भन्नेहरुलाई नेपॉलि भाषा सिकायको थियो तिनीहरुकै नेपाली लेखाई र बोलाई पनि …..हुन् जान्छ/ त् कसले कसरी बोले-लेखेको नेपालि सुद्ध हुन्छ?

    नेपाली भाषाको सयमा सय नै त् नभनौ तर सयमा साढे उनान्सय सब्द र बोलि हिन्दि सब्द र बोलि “उस्तै उस्तै” नै भन्न सकिने गरि मिल्नु र कयौं नेपाली सब्दहरु मुस्लिमले अल्लाहको भाषा भनिने उर्दु सब्दहरु तेसरिनै मिल्नु संयोग मात्रै हो बा भाषाको ब्याकरनको कुनै नियम अनुसारै तेसो भयको हो यो कसले भन्ने?

    नेपालमा नेपालि भाषालाई परिस्कृत बनाउनेको लागि सुद्ध नेपालि लेख्न बोल्न जान्नु पर्ने भन्दै आयको छ बा तेस्को आडमा राज्यको अवशर माथि सुद्ध नेपालि जान्ने भन्ने समुहकै हाली मुहाली चलाउन सकिने आधार बनाउनको निमित सुद्ध नेपालीको शर्त तेर्साउन्दै आयको
    त् हॊईन?

    नेपाली भाषानै मातृ नभयकाले सिकेर नेपाली बोल्दा नेपाली भाषानै मातृ भाषा भयकाले उच्चारण मिलेन भनेर हिज्याउने होच्याउने समेत गर्छ/ तर तिनीहरुले नेपालकै अर्को भाषा बोल्दा कसरि बोल्छ सबैलाई थाह छ तर उनीहरुलाई कसैले हिज्याउन्दैन होच्याउन्दैन बरु अरे उसले त् हाम्रो भाषा पनि बोल्छ भनेर प्रसंसानै गर्छ? अरु भाषा बोल्नेले आफुले जस्तै नेपाली बोल्न नजानेको मा हिज्याउने होच्याउने र अयोग्य समत बनाउने “नेपाली भाषानै मातृ भाषा भयको त्यो प्रविती र तिनीहरुले नेपालको अर्को भाषा जसरि बोले पनि प्रसंसानै गर्ने अरु भाषा बोल्ने नेपालीको संस्कारमा यति फरक हुनुमा नेपालको माटोको दोष त् पक्कै होईन/

    सयौं अर्को नेपाली भाषा बोल्ने करोडौं नेपालीहरुको नेपालमा मात्र नेपाली भाषा सुद्ध लेख्न बोल्न नजाने….शासकीय बा राज्यको अवशरमा अयोग्य बनाउने नीति र प्रवितिले अर्को नेपाली भाषाहरु बोल्ने करोडौं नेपालीहरु अवसर बिहिन बन्नु परेको मात्रै छैन देसको बिकाशमा परिचालित हुनु पर्ने करोडौं नेपालीलाई के बन्न; कहा जान बाध्य गर्दै छ त्यो बारेमा कसले बिचार गर्ने?

    भाषाको सुद्धताको महत्व भाषा र साहित्यमा मात्रै हुनु पर्छ/ जहा प्रविधि र शिपको महत्व हुन्छ त्याहा भाषाको सुद्धता मात्र बुझाउन र बुझ्न सक्ने भय पुग्ने हुनु पर्छ अर्थात भाषाकै छ्यत्रमा बाहेक भाषाको सुद्धताको ग्यान बैकल्पिक मात्रै हुनु पर्छ तव नेपालको बिकाशमा सबै नेपालीको छ्यमता परिचालित हुन् सक्छ/ नभय राज्यको अवशरमा पनि “छुट अछुत” हुने हुन्छ/ “सुद्ध नेपाली” को श्रीपेच लगाउनेको तानासाही चलुन्जेल कुनै पनि व्यवस्थाले सबै नेपालीलाई समानताको हक कहिले पनि दिंदैन/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0