यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

विदेशमा बस्ने म जस्ता देश भक्तहरु

-अज्ञात-

सधैं झैं यस पटकको दशैँ तिहार जमघटमा धेरै नेपालीहरुसँग भेटघाट भयो। नेपालीको जमघटमा दुईवटा कुरा छुटेको हुँदैन- पहिलो कुरो र क्सी र दोश्रो कुरो राजनीतिक गफ। सानो जमघट होस् या ठूलो, नेपालको राजनीतिको कुरा जहिले पनि गफको केन्द्रमा हुन्छ।

नेपालको अहिलेको राजनीतिको विषयमा विदेशमा बस्ने म सहित प्राय: सबैको तर्क एउटै हुन्छ- अहिलेका नेताहरु निकै भ्र ष्ट र अनै तिक भए। यिनीहरुबाट देश विकास हुने सम्भव छैन। ओलीले केही गर्लान् कि जस्तो लागेको थियो तर उनी पनि अरु जस्तै कान चिरेको जोगी निस्के। भ्रष्टाचारीहरुलाई कारवाही नहुनुमा यिनै नेताहरु आफै मुछिएकाले हो।

‘‘सिस्टम’ नै छैन कसरी हुन्छ?’ एकजनाले शिशाको गिलासको र क्सी सिनित्त पारेर आफ्नो धारणा व्यक्त गरे।

‘किन छैन सिस्टम? कसैले माने पो? जसले सिस्टम बनाउँछ उसैले मान्दैन अनि जनताले कसरी मानुन्?’ अर्का एकजनाले टिप्पणी गरे।

म सुनिरहेको मात्र थिएँ। बोल्नुमा भन्दा मलाई र क्सी मै दिलचस्पी थियो।

उनीहरुले देश विकासका मोडेलहरु प्रस्तुत गर्दै थिए। कसैले चीनको उदाहरण दिन्थे भने कसैले सिंगापुरको अनि कसैले भारतले गर्दै गरेको विकास। गफ अन्तमा गएर नेताहरुमा टुंगिन्थ्यो- नेताहरु बदमास भएकोले देशको यो दुर्दशा भएको हो।

मैले त्यहाँ भेला भएका धेरैलाई नियालें। धेरैजसोले विदेशी नागरिकता लिइसकेका थिए। अरु बाँकी चाहिँ जसरी भए पनि विदेशको नागरिकता या ग्रीन कार्ड लिने चक्करमा थिए। तर विदेशी नागरिकता लिइसक्दा पनि उनीहरुले नेपालप्रति लिएको चिन्ता देख्दा त्यहाँ उनीहरुको देशभक्ति प्रष्टिन्थ्यो। उनीहरुले गरेको कुरो एकदम ठिक थियो र म पनि त्यसमा सहमत थिएँ। भ्रष्ट र अनैतिक नेताले देश बिगारेका थिए।

त्यसैबीच दशैं मान्न र छोरा बुहारी भेट्न नेपालबाट आएका एकजना साथीका बुवाले भने, ‘तपाईंहरु यहाँ बसेर देश विकासको कुरो गर्नुहुन्छ, नेता र कर्मचारीहरुलाई गाली गर्नुहुन्छ तर तपाईंहरुले आफ्नो तर्फबाट चाहिँ देशको लागि के गर्नु भएको छ त? तपाईंहरु जस्तो पढेलेखेको, जाने बुझेको मान्छे त यसरी नेतालाई गाली गरेर बस्नु भन्दा देशमा केही न केही नयाँ काम गरेर देखाउनुस् न। उद्योग कलकारखाना खोल्नुस्, अरुलाई रोजगारी दिनुस्। त्यसैगरी हुने त हो नि देशको विकास। यसरी कुरा मात्रै गरेर बसेपछि तपाईंहरु पनि नेपालका नेता भन्दा कति फरक हुनु भयो त?’

उनको त्यो टिप्पणीले सबैमा एकाएक सन्नाटा छायो। सबै मुखामुख गर्न थाले।

उनको टिप्पणीले मलाइ मनमनै रिस उठ्यो। म धेरै बोल्ने मान्छे होइन त्यसैले पनि तुरुन्तै आफ्ना विचार व्यक्त गर्ने हिम्मत आएन। मलाइ स्पष्ट थाहा छ नेपालमा बस्ने ‘ठूला’ भनाउँदाहरु सबै भ्रष्ट र स्वार्थी हुन्। कुरा चाहिँ ठूला गर्छन् काम चाहिँ शुन्य। देशभक्ति भनेको उनीहरुलाई के थाहा। देशभक्ति भनेको त भित्र हृदयदेखि नै आउनुपर्छ। गफ गरेर, भाषण गरेर, जनतालाई उल्लु बनाएर आउने हो र? उनले आफूले चाहिँ के गरे देशको लागि? मैले उनलाई चिनेको त थिएन तर पक्कै पनि कुनै ठूलो पदको भ्रष्ट्राचारले गन्हाएको कर्मचारी भन्दा के होलान् र भन्ने मलाइ लाग्यो। म आफू निकै देशभक्त भएकोमा गर्व छ। म देशप्रेमले ओतप्रोत छु जुन कुरो म कुनै पनि नेताहरुमा र उनीजस्ता भ्रष्ट कर्मचारीहरुको मुहारमा देख्न र अनुभव गर्न सक्दैन।
म नेपालमा बसेका अधिकांश नेपालीहरु भन्दा पढेलेखेको छु, सायद नेपालको भन्दा राम्रै कमाइ गरेको हुँला, राम्रोसँग परिवार पालेको छु, बच्चाहरुलाई राम्रो शिक्षा दिएको छु, भविष्यमा नेपाल फर्किने भनेर सबै पैसा नेपालमा जग्गामा लगानी गरेको छु। अझै सम्म पानि कुनै देशको नागरिकता या ग्रीन कार्ड लिएको छैन। बुवा आमालाई पटक पटक विदेश ल्याइरहन्छु। यदि सबैले मैले जस्तै आफ्नो पौरखमा बाँचेर, भ्रष्ट्राचार नगरेर, नैतिकता नबेचेर काम गर्‍यो भने देश बन्न कति नै लाग्छ र?

त्यही सोच्दासोच्दै रक्सीको झोंकमा मेरो मुखबाट फुत्त निस्किहाल्यो- ‘गफ नछाँट्नुस् तपाईं पनि। देश बिगार्ने भनेका तपाईंहरु जस्तै देशमा बसेर केही काम नगर्ने अनि अरुलाई पनि काम गर्न नदिने कर्मचारी र नेताहरुले हो। यदि तपाईंहरुले देशमा राम्रो वातावरण बनाइदिएको भए हामी जस्ता दक्ष जनशक्ति विदेशिनु पर्थ्यो?’

हो, पढेलेखेको भनेर विदेशमा बस्ने हामी अरुभन्दा उच्च छौं भन्ने अहम र भ्रम म जस्तै धेरैमा छ। म या म जस्तै अरु पढेलेखेकाले सत्ता पाएमा देश विकास हुन्छ, सुशाशन आउँछ भन्ने मलाइ विश्वाश छ।

‘ए उसो भए देश बिगार्ने नेता र कर्मचारीहरु मात्र हुन् हैन त ?’ उनले मलाइ चुनौती दिंदै सोधे।

मलाइ आफूप्रति निकै विश्वाश थियो, मैले पनि कुनै संकोच नमानी भने, ‘हो, नेताहरु र कर्मचारीहरु स्वार्थी भएर, देशको माया नभएर, सबैले आफ्नो मात्रै पोल्टो भर्न खोजेर नै देशमा अहिलेको स्थिति आएको हो।’

‘त्यसको मतलब तपाईंहरु मात्रै निस्वार्थी र देशभक्त हैन त?’ उनले खिसी गरेको पारामा सोधे।

अरुहरु सबै चुप थिए। उनको र मेरो वादविवाद ठूलै होला जस्तो देखिन थालेको थियो। मलाइ उनको मुखमा बुझो लाग्ने गरी ‘हो’ भनेर जवाफ दिन मन लागेको थियो तर आफ्नो बढि नबोल्ने बानीले मलाइ रोक्यो। मैले उनको प्रश्नको उत्तर नदिएर ‘तपाईं जसरी बुझ्न चाहनुहुन्छ त्यसै बुझ्नुस्’ भनेर पन्छिएँ।

तर उनको त्यो प्रश्नले रक्सीको नशामा पनि मलाइ गम्भीर भएर सोच्न बाध्य बनायो- के साँच्चै म निस्वार्थी र देशभक्त छु त?

किन छैन? अवश्य छु। मेरो रगतको थोपा थोपामा नेपाल बगेको छ। म हरेक दिन नेपालको बारेमा सोचेर चिन्तित हुन्छु। हरेक दिन नेपाली समाचार पढ्छु र तिनमा टिप्पणी पनि गर्छु। नेपाली गीत सुन्छु, घरमा धेरैजसो नेपाली खाना खान्छु। नेपालमा मान्ने हरेक पर्वमा पुजा गर्न नसके पनि तिनलाई मनले सम्झिन्छु। एक दुई वर्ष बिराएर नेपाल पुगेकै हुन्छु। नारायण गोपालका आधुनिक गीत र गोपाल योन्जनका राष्ट्र भक्तिका गीत सुन्छु। कहिलेकाहीँ देशमा कसरी विकास गर्नुपर्छ भनेर आफ्ना विचारहरु पनि राख्छु। विदेशमा बसेर त्यो भन्दा बढि के गर्नु?

‘तर के त्यति मात्र हो त देशभक्ति?’ म फेरि सोच्न थालें।

मलाइ देशले पढायो, ज्ञान दियो, आफ्नो खुट्टामा उभिन सक्ने बनायो तर देशको लागि केही गर्नुपर्ने बेलामा म चाहिँ विदेशमा बसेर आफ्नो र परिवारको मात्र स्वार्थ हेरेर आरामदायी जीवन बिताउँदै छु। न त ममा नेपालमा पसिना बगाएर जीवन गुजार्न सक्ने हिम्मत छ न त नेपालको विकास प्रति वास्ता। डुब्न लागेको डुंगाबाट मुसाहरु भागे जस्तै म पनि नेपालमा आफ्नो भविष्य नदेखेर विदेश पलायन भएको हुँ। त्यही हो मेरो अहिलेको वास्तविकता। के मेरो देशभक्तिको परिभाषा त्यही हो त?

के म नेपालको स्वार्थ भन्दा आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएर विदेशिएको हैन र?

के म विदेशमा छोराछोरी पढाएपछि उनीहरुको भविष्य राम्रो होला भनेर यहाँ बसेका हैन र?

के नेपाली बोल्दा मलाइ अलि अप्ठ्यारो लाग्ने भैसकेको कुरो सत्य होइन र?

के छोराछोरीको अंग्रेजी बिग्रन्छ भनेर श्रीमती र म पनि घरमा अंग्रेजी नै बोल्न थालेको सत्य हैन र?

के विदेशमा नाकमा डोरी लगाएर नियम पालना गर्ने म नेपाल जाँदा चाहिँ नियम तोड्नुमा आफूलाई महान ठान्दै अध्यागमनमा कर्मचारीले आवश्यक कागजात खोज्दा होस् या ट्राफिक प्रहरीले लाइसेन्स हेर्दा होस् उल्टै आफ्नो फूर्ति देखाएर उनीहरुलाई सत्तो सराप गर्ने म नै हैन र?

के विदेशमा निकै सभ्य र इमान्दार भएर काम गर्ने तर नेपालमा आफ्नै दाजुभाइ र साथीहरुको प्रगतिमा इर्श्या लागेर कसरी उनीहरुलाई खुट्टा तानेर तल झार्न सकिन्छ भनेर सोच्ने म नै हैन र?

के विदेश जाँदा भिसाको झन्झट नहोस् अनि कसैले नेपाल जस्तो अविकसित देशको नागरिक भनेर हेपेर कुरा गर्ने हिम्मत नगरोस् भनेर नेपालको पासपोर्ट त्याग्ने उदेश्यले हरेक बर्ष सुटुक्क डी भी भर्ने म नै हैन र?

त्यति मात्र हैन, मेरी श्रीमती तीजमा अंग्रेजी गित लगाएर ‘डान्स’ गर्छिन्।

उनले नेपाली साथिहरु भेट्दा समेत नमस्ते नगरेर गाला जोडेर म्वाई खान्छिन्।

म पनि साथीहरु भेट्दा आधा भन्दा बढि अंग्रेजी शब्दहरु नै ‘युज’ गरेर बोल्छु। त्यसो गरेपछि मात्रै मेरो महानता स्पष्ट हुन्छ। नेपाली मात्र बोलें भने त्यहाँ म पाखे र असभ्य ठहरिन्छु भन्ने डर भित्रै देखि छ।

छोराछोरीले नमस्ते बाहेक बढि नेपाली बोल्न सक्दैनन्। उनीहरुलाई दाल भात भन्दा ‘बर्गर’ र ‘बिफ स्टेक’ मिठो लाग्छ र दशैं भन्दा क्रिसमस रमाइलो लाग्छ।

नेपालमा बसेकाहरुले कस मे कम देशमा बसेर त कोशिश गरेका छन् तर म चाहिँ एउटा भगौडा सिपाही या भाडाको सिपाही जस्तो अर्काको देशमा आफ्नो पसिना बगाएर आफूलाई महान ठान्दै बसेको छु।

अहिलेको विश्वव्यापीकरण, व्यक्तिगत स्वतन्त्रता र व्यक्तिवाद हावी भएको यो समयमा जसले जसरी जीवन व्यतित गर्न चाहन्छ, जसले जहाँ जीवन व्यतित गर्न चाहन्छ उसको स्वतन्त्रताको कुरो हो। देशको लागि सिन्का पनि नभाँचेर देशभक्तिको राग अलाप्नु पाखण्ड हो। गफ छाँट्नु र गफको विषयलाई आफ्नो दैनिकीमा चरितार्थ गर्नु धेरै भिन्न कुरो हो। भन्न जति सजिलो हुन्छ गर्न त्यत्तिकै गाह्रो। जब कहिलेकाहीँ देशभक्तिको भावनाले छोपेर म भावुक बन्छु, त्यतिबेला मेरो व्यक्तिगत स्वार्थले तुरुन्त त्यो भावुकतालाई विस्थापित गर्छ। अहिले कमाइरहेको पैसा, आरामदायक जीवन, छोराछोरीको पढाइ र भविष्य, नेपालको अस्तव्यस्तता सबै सोच्छु अनि मेरो स्वार्थले जहिले पनि मेरो देशभक्ति माथि विजय हासिल गर्छ। त्यही पराजयलाई नै मैले आफ्नो देशभक्ति ठानेर बसेको छु।

तर म एक्लै चाहिँ छैन, म त एउटा प्रतिनिधि पात्र मात्र हुँ। विदेशमा बसेर देशभक्तिको भाषण गर्ने र त्यही अनुरुप आफूले पनि देशको सामाजिक र आर्थिक विकासको लागि दत्तचित्त भएर काम गर्ने नेपालीहरु एकाध होलान्, अरु सबै म जस्तै स्वार्थी हुन्। उनीहरुले जानेर या अन्जानमा देशभक्तिको नाम बेचेका मात्रै हुन्। आफ्नो व्यक्तिगत स्वार्थलाई सबभन्दा माथि राखेर विदेशमा आफ्नो स्वार्थ पुरा गर्न बसेका हुन्।

यदि मैले र म जस्ता विदेशमा बस्ने नेपालीहरुले आफूलाई देशभक्त भन्न रुचाउँछन् भने फत्तेमान र पुष्प नेपालीले गाएको गीत ‘नेपालले के गर्‍यो मलाइ भन्न छोदिदेऊ, नेपाललाई के गरें मैले सोच्न थालिदेऊ’ मा भने जस्तै सोच्ने बेला आएको छ हैन भने बलेको आगो मात्रै ताप्ने मेरो जस्तो स्वार्थी देशभक्तिको कुनै अर्थ छैन।

6 comments to विदेशमा बस्ने म जस्ता देश भक्तहरु

  • डिल्लि

    विषय उठान सान्दर्भिक हो । तर्क आ-आफ्नै किसिमले गर्न सकिन्छ । गलत भन्ने सहास ममा चाहिँ छैन । तर परदेशीनु कम्तिमा पनि ३ पुस्ता अघि लाहुरे बनेर होस् वा असम हुँदै वर्मासम्म मुङ्लानिएर होस् चलिरहेकै हो । ठाउँ रन्दर्भ फेरिए कुरा यत्ति हो । साविकको बसोबास छोडेर परदेश हिड्दैमा विदेशी भन्ने तीरले शिकार खेल्ने वा देश नेताले बिगारेको भन्दै विदेशी भूमीमा अवसर छोप्ने अहिले विकसित आम “राष्ट्रवादी” प्रबृत्ति हो ।

    मूलतः राणा फाल्नदेखि राजा फाल्नेसम्मका प्रशिक्षणहरूका हामी उग्रवादी उपजहरू हौ । हामी कुनै दिन स्वतन्त्र नागरिकका हैसियतले विचार राख्ने कर्म गर्ने सामान्य सामर्थ्य समेत राख्दैनौँ । “हाम्रा” र “महान”का प्रशिक्षणमा दीक्षित हामीले शासक र सरकारलाई शत्रु बुझ्यौँ । उनीहरूले भिराइदिएको वीष थैली बोकेर फँडा फुलाउँदै विपरित सोच हुनेलाई डस्न उकासियौँ र उकासिदै छौ । नागरिक कोही छैन छ त केवल जात, रंग, दल र सधैँ र सबैका लागि शत्रु सरकार । आम नागरिक यही हुनुमा गर्व गर्छौँ । सीमाना पारीका हुँडारहरूलाई अनन्य मीत्र ठानेर घरका सामल खुवाउँदै आँगनमा नचारइ रहेका छौँ । प्रशासनमा हुनेले नागरिकता बेचेर भात खायौँ । बहुदल पछिका चुनावमा त बुथ कब्जा जमाउन पारिबाट झिकाएका डाकालाई राजनीतिमा जित्नका निम्ति हुल्यौँ र नेता बनायौँ । नागरिकता किन्ने बंशज र मुङ्लानिनेलाई विदेशी ठान्ने जमात खडा भएको छ र यो पनि कति श्रेयस्कर छ त बिचार गरौँ ।

    इमान्दारलाई गरिखान झोले नेता र गुण्डाहरूले दिन्छन् वा दिँदैनन्दि त्यो पनि मनन गरौँ । केही गर्न खोज्नेलाई च्याउसरी उम्रिएका दलसंरक्षित गुण्डाले कति लुट्छन् वा निरुत्साहित गर्छन् त्यसलाई बुझ्छ कस्ले ? नेता संरक्षित ट्रेड युनियनका संगठित अपराधिहरूले स्वतन्त्ररुपमा रहन खोज्नेहरूलाई र इमान्दारहरूलाई कतिसम्म हतोत्साहित पार्छन् घटनाक्रम काफी छन् । पुलिस प्रशासनको सुरक्षा प्रत्याभूति सुनिश्चितता खोज्छ लगानीकर्ताले । वर्तमानमा के यो आशा गर्न सकिन्छ ?

    महावीर पुन जस्ता प्रसिद्धि कमाएकालाई त काम गर्न पापड बेलिरहनु परेको वर्तमान अवस्थामा देशलाई के गरिस् भन्ने प्रश्नको ओठे जवाफ दिनु बाहेक अरु रहदैन ।

    सुरक्षा र न्याय प्रणाली भत्काएर “हाम्रो राम्रो” प्रणालीमा जो कोहीलाई पनि नगानी गर्न सहज छैन । लगानी गर्नेले त असुरक्षित बनेर कौडिको भाउमा बेचेर परदेशिने छन् भने लगानी गर्न खोज्नेलाई सुरक्षा दिने कसले ! यसमा सुधार नभएसम्म परदेशिएकाले मर्नकालागि मात्र भए पनि देश फर्किने मीठो कल्पनामात्र गर्न सक्छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • bodh

    hami stone age bhanda pani pachi chau.yeha no system and no disciplane.1month out of Nepal gayera aayepachi taha bhayo.sarai nai dukha lagyo.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • अनभिज्ञ

    “….भविष्यमा नेपाल फर्किने भनेर सबै पैसा नेपालमा जग्गामा लगानी गरेको छु। अझै सम्म पानि कुनै देशको नागरिकता या ग्रीन कार्ड लिएको छैन। बुवा आमालाई पटक पटक विदेश ल्याइरहन्छु।..”

    अरु कुरा मन पर्‍यो तर उक्त भनाइ चाँही तथ्यपुरक छैन भन्ने लाग्यो|

    खाली जग्गाको लगानी आँफैमा कुनै लगानी होइन, मित्र, अर्थशास्त्रीय दृष्‍टिकोणमा| पाठकहरु भ्रममा नपरुन| भोली नेपालको बसाई सुरक्षित र आराम्दायी गराउन शहरको एक दुई रोपनी वा तराईको बिघा कट्ठा जमीन लिंदैमा लगानी हुँदैन| रोजगारी सिर्जना गर्दैन| हिजसम्म खेती उप्ब्जनी गरिरहेका उर्वर जग्गा जमीन मोही खुवाउन पर्ला भनेर घेरो बार हालेर लगानी बन्दैन| आफ्नो र सन्तानको लागि जग्गा जमीन लिनु र राख्नु कुनै खराब होइन, असलै होला| घर बनाएर चर्को भाडा उठाउने र कर तिरेपछी यो बाटो भएन, पानी भएन इत्यादी गुनासा गर्ने पनि छन|आफ्नो ठाउँमा जायजै होला| आफ्नो वाध्यता र फायदा क्याल्कुलेसन गरेर “अझै सम्म पानि कुनै देशको नागरिकता या ग्रीन कार्ड लिएको छैन” भन्नुको पछी निश्चय पनि कुनै कुरो लुकेको छ् छैन भन्न् सकिन्न तर शन्का गर्ने ठाउँ प्रश्स्तै देखिन्छ जब तपाईं आफुलाई त्यस कारणले पनि देश भक्त ठान्नुहुन्छ| ग्रीनकार्ड र विदेशी नागरिकता नलिदैमा देश भक्तको प्रमाणपत्र पाईने होइन|
    नढाटी कुरोको पोको खोलिदिनुहोला| अरुलाई ढाटे पनि अन्तस्करणलाई त सकिन्न नी हौ| यो अनभिज्ञलाई ज्ञात गरादिन हुन विनम्र अनुरोध छ्|

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Ram Shrestha

    Lekh sarai ramro chha, aru sabai kura man paryo euta chahin chiita bujhena.

    Ahile samma kunai desko nagarikta wa greencard liyeko chhaina bhanne. Dui char barsa matrai basne lai hola tara dherai samaya basne lai tyo sambhab chhaina. Americama H1B visa suruma 3 barsko hunchha ani arko 3 barsa renew garna milchha, tespachhi special case bhandai 1 barsa patak patak renew hunchha. Testo tal le 8 10 barsa ta challa, tara tyo bhanda badi basna kasari sambhav chha? Kehi lekhda fact pani bichar garera lekhda ramro hunchha|

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Shankar

    पौराणिक बा एतिहासिक काल देखि कै कुरा गर्ने हो भने बा आज को सिंगापुर , मलेसिया , जापान , चीन कै उदाहरण मा सोच्नेहो भनेपनि त् देश मा सासन न भै देश बिकास हुदैन बा कुनै कारण ले भयो भनेपनि सुन्निएको , मोटाएको हैन सम्झन पर्छ ।
    राम्रो सासन न हुदा सानो , तिनो उथल पुथल ले भएको बिकास सजिलै बगाएर लान्छ ।उदारण मा पंचायत काल मै भएका तेत्रा उद्द्योग हेटौडा का उद्द्योग हरु , बास्बारी छाला , भृकुटी उद्द्योग धेरौ उद्द्योग हरु धोस्त बनाइए , ट्रली बस, साझा बस सब हराए ।
    ति सब यथाबत भएर पनि त् प्रजातन्त्र , गणतन्त्र फस्टाउँन सक्थ्यो होला ?
    आफन्त , दाजुभाइ लाइ मारेर , ब्यांक लुटेर , राजस्व दोहन गर्नेहरु सत्ता छ त्यो भन्दा डरलाग्दो त् नेपाल को दुश्मन सग घाटी जोडेर , खुफिया सन्धि सम्झौता गरेर सत्ता मा बसेको छ ।
    चीन को नेता आउदा उनीहरुलाई नेपाल मा पनि रेल गुडेको हेर्न मुन लाग्छ , मोदी आउदा मोदीले नै गोदी लि दिए हुन्थ्यो जस्तो गर्छन ।पैसा लुटेको छ आफु र आफ्ना को नाउमा विदेश मा उद्द्योग संचालन गर्छ । देश मा चै ठुला , ठुला गफ को खेति मात्र गरेको छ । मेट्रो रेल , घर घर पाइप मा ग्यास एसियामा चीन , भारत पछि नेपाल भैसक्यो यो चोर हरुलाई गफ मा कसले जित्ने ?
    तपाई जे भएपनि , या त् रबिन्द्र मिश्र जस्तै भएको प्रोफेसन छोडेर राजनीति मा जानुस र बेस्करी दुख पाउनुसन भए ।
    देश को माया त् किन लाग्दैन ?गरिब र लफंगा हुदईमा आफ्नो बाबुआमा लाइ माया नगर्ने हुन्छ र ?
    मान्छे बाचेको स्वास्नीको माया , बाल्बचाको माया , बाउआमाको माया , देशको माया यो सबैमा हुन्छ । पियच्डि गर्ने मा मात्र हैन हलो चलाउने मा पनि हुन्छ ।
    माया निभाउने पनि त् क्ष्यमता त् चाहियो ।
    दिन भरि गुगल सर्च गरेर , ल्याब मा बिताएर बा हस्पिटल मा बिताएर पनि नया नया खोज गरेर बस्दा नया लेख लेख्दा बस्दा फुर्सद को समय मा देश को माया , आफन्तको माया को तरंग ले हिर्काउनु को मतलब नाढ़ी अझै चल्दै छ , सास अझै फेर्दै छ भन्ने संकेत मात्र हो ।

    प्रक्टीश चार दिन मा लेख निकाल्ने तिर गर्ने , बा बिरामीलाई औसधि दिने , बा बिद्द्यार्थी पढाउने तिर गर्ने त्यो विधा मा सफल भए अन्तर्वार्ता दिने बस्ने जस्तो सुन्दरमणि , डा सुरेन्द्र के सी , उपेन्द्र देबकोटा , रबिन्द्र मिश्र ।
    राजनीतिक मैदान छिरे बल सम्म समाउन भ्याए , अब गोल गर्ने धेरै परको कुरा छ ।
    एउटा कुन चै बिद्द्वान ले भन्थ्यो , कहिले काही केहि न गर्नु पनि धेरै गर्नु हो ।
    अगाडिको ४०- ५० बर्ष तेसै किताब खोतल्दै बित्यो त् बाकि २०-३० मा पछाडी को ५ त् हस्पिटल र घर गर्दै बित्ने हो , के चिन्ता ?
    भित्र सहास छ , आफुमा हिम्मत र बिस्वास छ भने नया प्रिथ्बिनारायण र जंग बहादुर बन्ने कसरत गर्न जाने कि त् ? अनि त् आफ्नो अनुसार देश चलाए भैहाल्यो ?
    अर्थ पूर्ण देश भक्तिको के मतलब , भक्ति , माया , दया पनि अर्थ को लागि गरिन्छ ?
    माया त् लाग्छ कता कता बाट लाग्छ , अपांगको माया माया हैन ?
    पढेर आफ्नो आफ्नो क्षेत्र मा बिग्यता हासिल गरेकाले अरुको विधा मा टांग आडाउन जाने हैन , सकिन्छ त् बागडोर खोसेर लिने , आर्को प्रचण्ड ( सत्ता लिने कुरा मा मात्र , भ्रास्ताचार र मान्छे मार्ने मा हैन ) बन्ने र भएको प्रचण्ड लाइ नाक मा नत्थी लगाएर गोठ मा लगेर बाधी दिने
    न सके कबिता , रास्ट्र गीत , नेपाल कै स्रोत र साधन मा रिसर्च बा एक थोपा आसु नै पनि । के फरक पर्छ ? यो माटोले राम , सिकन्दर , हिट्लर , जंगबहादुर त् देखिने सकेको छ , अज्ञात नै रहे केहि फरक पर्दैन ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • desh drohi

    यो मगन्ते गफ भयो !! लेख को सोचको दायरा निम्न प्रकार को भयो !!
    १. बिदेसिएको नेपाली जो वेटर, चौकीदार, किचनहेल्पर, फोर म्यान अनि सफलता हात नलागेकोले गुम्सिएको सोचाइ को परिधि भित्र को !!
    २. नेपाल भित्रको नेपाली चै – खर्च नधान्ने खाले जागिरे, २५ पटक डिभी भर्दा पनि नपरे पछि रास्ट्रबादी बन्न बाध्य !!

    – अमेरिका भित्र को आप्रबासी समाज भित्र को धनि समाज – चै इजरायली चिनिया र भारतीय !!
    – युरोपियन युनियन भित्र – आप्रबासी मध्येको धनि समाज – इजरायली – चिनिया र भारतीय !!

    अब नेपाल र ति देश को आफ्ना पूर्व नागरिक लाइ हेर्ने द्रिस्टीकोण हेरौ !!
    १. एक पटक को ज्युज सधै को लागि इजरायली !! इजराइलि हरु ले २ वटा देश को पासपोर्ट एकै साथ् बोक्न सक्छन !! एउटा इजराइल को – अर्को आफु बस्ने देश को ! इजराइलिहरु जिन्दगि भर अरुको देश मा ब्यापार गर्दै हिड्छन – बुढेसकाल मा प्रसस्त पैसा लिएर आफ्नो देश फर्किन्छन र रिटायर्ड जिन्दगि जिउछन !
    २. चीन मा बिदेशी नागरिकता बोकेका पूर्व चिनिया हरु लाइ – होम रिटर्न कार्ड ( विङ्ग हेङ्ग चेङ्ग) दिइन्छ जसले परिचयपत्र को प्रतिनिधित्व गर्छ – होम रिटर्न कार्ड बोक्ने चिनिया हरु लाइ आफ्नो मातृभूमि फर्किन भिसा लगाउनु पर्दैन – चीन मा लगानी गर्न – कारखाना खोल्न – घर किन्न – बस्न र छोरा छोरी पढाउन – बैंक खाता खोल्न – कृषि कर्म गर्न सबै सुबिधा साबिक को नागरिक सरह उपलब्ध छ ! – चिनियाहरु चीन मा कारखाना खोल्छन – विदेश मा बसेर आपूर्ति ब्यबस्था मिलाउछन !!
    ३. भारतीय एन आर आइ : धनि भारतीय हरु यौटा होइन सके सम्म धेरै देश को नागरिक हुन्छन !! एन आर आइ परिचयपत्र बोक्ने भारतीय ले साबिक को भारतीय जस्तै सुबिधा उपभोग गर्न पाउछ !! भारतीयहरु विदेश मै लगानी गर्छन सकेसम्म विदेश मा बस्छन !! देश फर्किहाले मा ठुलो लगानी लिएर फर्किन्छन !!

    इजराइलि चिनिया र भारतीय मूल का ब्याक्ति विदेश मा बसेपनि ति देश ले ति व्यक्ति लाइ रास्ट्रद्रोही देख्दैन बरु – ति ब्याक्ति ले पाएको सफलतालाइ क्यास गरेर आफ्नो रास्ट्रको लागि त्यो देश को विदेश नीति लाइ प्रभावित गराउछन !! नेपालिहरु – विदेश बस्ने पनि मगन्तेपारा ले फर्किन्छन – स्वदेश का त मगन्ते नै भैहाले !!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)