यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

गायक तह लगाउने पुलिसको अपरेसन : दुर्गेश पक्रेको ‘प्रेसर’पछि भिटेनको शिकार?

पुलिस अचेल नैतिकताको पहरेदार भएको छ। भन्छन् नि त्यो अङ्ग्रेजीमा मोरल पोलिसिङ। अहिले त्यही गरेर चर्चा पाउनमा व्यस्त छ। एकताका यही प्रहरीले कपाल पाल्ने केटा र मिनी स्कर्ट लाउने केटीलाई पक्रे रमिता देखाउँथ्यो। त्यतिबेला पनि केही मान्छे समर्थनमै हुन्थे- हो नि त, कपाल पाल्ने यति प्रतिशत जङ्की नै हुन्छन्। कहाँको रिसर्च हो थाहा हुन्थेन, बोलेपछि पुगिगो। अहिले अकस्मात् पुलिसलाई गीतसंगीतमा रुचि लागेको छ। जुन जुन गायकको गीत जिब्रोमा झुण्डिन्छ, त्यसैलाई पक्रेर रमिता देखाइराछ। रेपिस्ट पक्रनु पर्ने ठाउँमा र्‍यापर पक्रिरहेछ। गीत मन नपरे कान थुने पुग्नेमा गाउनेलाई थुनिरहेको छ। बीच्च बीच्चमा हिट भयो, त्यही गाउने दुर्गेश थापालाई पक्रियो। ‘हामी यस्तै त हो नि ब्रो’ मुखमा मात्र हैन, टिसर्टमा समेत देखिन थाल्यो, आज त्यसैको गायक भिटेन (समिर घिसिङ) लाई पक्रियो।

दुर्गेश थापाले एउटा बियर ब्रान्डको देखिने गरी प्रचार गरेर तिहारको गीत बनाए। खासै गतिलो गीत थिएन। अगतिला गीतहरुको आयु खासै लामो हुन्न। समयसँगै हराइहाल्छ। तर केही मान्छे उचालिए। संस्कृति मास्न खोजेको आरोप लगाइयो। त्यति कमजोर चाहिँ थिएन भो संस्कृति, एउटा गायकले गीत गाउँदैमा मासिने। बरु सिर्जनशीलता (क्रियटिभिटी) चाहिँ मासिएको हो हाम्रो। यत्रो वर्ष भयो, सधैँ त्यही ‘तिहारै आयो लौ झिलिमिली’ गीत मात्रै।

मान्छेले मात्र उचालेको भए त उस्तै हो, लाग्छ जे गर्‍यो बियर ब्रान्डले गर्‍यो। बियर कम्पनीहरुको प्रतिस्पर्धा त बुझिनसक्नुको छ नि। अर्ना बियरको प्रचार देखेपछि प्रतिस्पर्धी कम्पनीलाई झोँक चल्यो होला।

त्यसपछि खै के भयो, जिल्ला प्रशासन कार्यालयमा उजुरी पर्‍यो भनियो। अनि दुर्गेश थापालाई प्रहरीले पक्रेको समाचार आयो। प्रहरीको नियन्त्रणमा नै गीत युट्युबबाट डिलिट गर्न लगाइएको समाचार आयो।

यो उनको अगतिलो गीतभन्दा पनि अगतिलो व्यवहार भयो। गीत डिलिट गर्नु पर्ने/नपर्ने, कानुन उल्लङ्घन भएको/नभएको, सजाय हुने/नहुने टुङ्गो लगाउने काम अदालतको हो। प्रहरीले त यो कानुन उल्लङ्घन भयो भनेर अदालतमा सम्म लाने हो। तर यहाँ त अदालतै नलगी गीत डिलिट गर्न लगाइयो। कुन कानुन लगाउने भन्नेमा नै कन्फ्युज भयो रे भन्ने पनि सुन्नमा आयो।

प्रहरी नियन्त्रणबाट फुत्किएको केही घण्टामै उनले बियर र गाजा शब्दमा ‘टुँट’ राखेर सेन्सर गरी गीत फेरि युट्युबमा अपलोड गरे जसमा बियर ब्रान्ड प्रष्टै देखिन्छ। दुई दिनमा गीत पाँच लाख हिट्स भइसक्यो। झन् फैलियो गीत।

दुर्गेशलाई पक्राउ गरेपछि नै हो, एकथरिको आवाज सुनियो- भिटेनलाई नपक्रने, दुर्गेशलाई पक्रने ! कस्तो शब्द हुन्छ त्यसमा !

पुलिसले अकस्मात् प्रेसर फिल गर्‍यो कि के हो, आज झ्याप्पै समाइदियो भिटेनलाई। अनि दुर्गेश नजिरलाई कायम राखेर हो कि के हो, ‘हामी यस्तै त हो नि ब्रो’ गीत उनको युट्युब च्यानलबाट डिलिटियो।

एउटा एल्बम पनि ननिकालेका, रेडियो, टिभीमा नबज्ने गीत गाउने भिटेनलाई कतिले चिन्दा पनि चिन्दैन थिए। तर एउटा समूहबीच चाहिँ उनी निकै लोकप्रिय थिए। उनको पछिल्लो गीत ‘हामी यस्तै त हो नि ब्रो’ बब्बाल चलेको थियो। गीत नसुन्नेले पनि यो वाक्यांश फेसबुक, ट्विटरमा देखेकै होलान्। अनि १५ सेकेन्डको टिकटक भिडियोहरुमा टुक्राटाक्री हेरेकै होलान्।

दुर्गेशको बारेमा त उजुरी परेको पनि भनिएको थियो। भिटेनको त्यस्तो सुनिएको थिएन। भिटेन एक समूहमा लोकप्रिय भए पनि उनलाई घृणा गर्नेहरु पनि टन्नै नभएका हैनन्। पोखराको कन्सर्टमा त उनलाई ढुंगा हानिएको पनि थियो। शायद त्यही देखेर होला दुर्गेशलाई त्यतिकै छाडेको पुलिस भिटेनलाई अभद्र व्यवहारको मुद्दा नै चलाउन तम्सेको समाचार पढ्न पाइएको छ।

एक्सप्लिसिट ल्याङ्ग्वेज भनेर प्यारेन्टल एडभाइजरी चेतावनी दिएर युट्युबमा राखिएको गीतको भिडियोमा मोरल पोलिसिङ गर्न पुलिस तम्सिएछ। अनि त्यसमाथि सरकारका प्रवक्ता त्यो गीत परिवारसँग बसेर हेर्न सक्नुहुन्छ भनेर भन्ने! परिवारसँग बसेर मात्र हेर्न मिल्ने कथा, फिल्म, त्यतिमात्र किन, परिवारसँग बसेर मात्र गर्न हुने काम मात्र गर्न पाउने पनि उर्दी आउला भन्ने डर लागिसक्यो। खासमा चुनाव अघि शेरबहादुर देउवाले भनेका थिए नि- रुन पनि पाइन्न भनेर। रुन एउटा चाहिँ पाइन्छ होला भो ! बरु पुलिसकै हाकिमहरुले कनिष्ठलाई कस्तो भाषा प्रयोग गर्छन्, कुन चैँले भिडियो खिचेर युट्युबमा भाइरल बनाइदेलान् है सरहरु, यसो ध्यान दिनुहोला।

भिटेनलाई पक्रेसँगै एक्कासी गीत संगीतका विज्ञहरु देखा पर्न थाले फेरि। गीत भनेको त यस्तो पो हुनुपर्छ, उस्तो पो हुनुपर्छ। जथाभावी शब्द गाउन पाइन्छ? भिटेनको नामै नसुन्नेले पनि खाली छाडाबाहेक केही छैन शब्द, त्यस्तो पनि गीत हुन्छ भन्न थाले। छाडा शब्दले मात्र चलेको चैँ हैन। त्यो गीत त्यसरी चल्नुमा ‘केही’ छ। समाजले किन त्यस्तो गीत मन परायो, नबुझ्ने? बुझ्न नखोज्ने?

र्‍याप भनेको भजन हैन भन्ने पनि अर्को थरिको तर्क सुनियो। हो, र्‍याप भजन हैन। र्‍याप खासमा अमेरिकामा अफ्रिकी मूलका केटाहरुले आफ्नो गरिबी र विद्रोह दर्शाउने माध्यम बनाएको थियो।

पश्चिमतिर त्यस्तो विधा लोकप्रिय भइरहेका बेला नेपालमा एउटा गीत आएको थियो-

नो मिनिङ र्‍याप,
इट्स अ मिनिङलेस र्‍याप

अर्थै नभएको र्‍याप गीत भनेर सन् १९९२ मा गिरिश र प्रनिलले गाएको त्यो गीत नै नेपालमा र्‍याप अथवा हिपहप गीतको सुरुवात थियो। पछि उनीहरुले मिनिङलेस र्‍याप नामको एउटा एल्बमै निकाले। त्यतिबेला मिनिङलेस भनिए पनि शब्दहरु उतिसारो मिनिङलेस चाहिँ थिएन।

त्यो एल्बममा भएको एउटा गीत ‘हामी धेरै साना छौँ..’ को एउटा अंश यस्तो थियो-

मेरो पिठ्युँमाथि बुकैबुकको झोला
कुप्रो भो ढाड, सोझो कहिले होला?
छैन बोक्ने एबिलिटी,
कस्तो क्वालिटी?

इभनिङमा ड्याडलाई ड्रिङ्कस, ममलाई ककटेल
किन किन यत्रो बंगला, हामीलाई लाग्छ जेल
त्यसभित्रको कैदी हामी, हामीलाई फ्यासिलिटिजको नेल

लभ एन्ड लभ हुनुपर्ने, किन यत्रो खेल?
सधैँ जालझेल,सधैँ जालझेल
स्वर्ग जस्तो हुनुपर्ने, किन लाइक द हेल?
हुम टु टेल?

यो नब्बेको दशकको सुरुको कुरा थियो। त्यसको केही समयपछि देश सशस्त्र द्वन्द्वमा फँस्यो। नेताहरु प्रति आक्रोश भने हिपहपका यी सुरुवातकर्ताहरुको गीतमा पनि सुन्न पाइन्छ।

काम छैन काज छैन
खाने बेलामा लाज छैन
तँलाई भोट दिउँ?
कसरी तँलाई भोट दिउँ?

मलाई भोट देऊ बोलको गीतमा उनीहरुले गाएका छन्। त्यतिबेला यो गीत नेपाल टेलिभिजनमा समेत बजेको थियो।

अमेरिका र क्यानडा भएका दुई जना आरोज र एजेले नेपहप नामको साइट चलाएर अन्डरग्राउन्ड हिपहप गीत राख्न थालेपछि छाडा शब्द प्रयोग हुन थालेको हो। यो सन् २००० पछिको कुरा हो।

राजाको प्रत्यक्ष शासन भएको बेला राजपरिवारसँग जोडेर आपत्तिजनक शब्द भएका र्‍याप गीत पनि बने। त्यतिबेला विभिन्न साइटमा राखिएका ती गीत अहिले युट्युबमा खोज्दा पनि भेटिन्छन्

र्‍यापाज युनियन (निर्णय श्रेष्ठ) बाहेक अरु र्‍यापरहरु खासै जमेका थिएनन्। सिर्जनशीलता पनि देखिएको थिएन यो विधामा।

सन् २०११ तिर अनिल अधिकारी (यमबुद्ध)ले बल्ल यो विधालाई फरक ढंगले अगाडि बढाएका हुन्। उनको गीतका शब्द सन्देशमूलक हुन्थे। साथी, आमा, यो प्रसंग, म फुट्छु तर झुक्दिन आदि चर्चित गीतहरुमार्फत् उनले आफ्नो फरक उपस्थिति जनाए।

त्यतिमात्र हैन, उनले रअ बार्ज : र्‍याप ब्याटल पनि सञ्चालन गरे। उनले आफ्ना गीतमा छाडा शब्द चलाएनन्, तर र्‍याप ब्याटलमा प्रशस्तै त्यस्ता शब्द प्रयोग गर्थे सहभागीहरु। युट्युबमा एकदम हेरिएको यो कार्यक्रममार्फत् उनले नयाँ नयाँ र्‍याप प्रतिभाहरुलाई सार्वजनिक गरे। लाउरे, युनिक पोयट, परी आदि र्‍यापरहरु यही कार्यक्रमबाट उदाएका हुन्। तर दुर्भाग्य, लन्डनमा यमबुद्धले आत्महत्या गरे।

त्यसपछि यो विधामा एकदमै चर्चित र केही भिन्न गर्न खोजिरहेका भनेका भिटेन नै हुन्। भर्खर २२ वर्षका भिटेनले छाडा शब्द गाएका मात्र छैनन्, अर्थपूर्ण गीतहरु पनि गाएका छन्।

एक पटक एउटा गाडीमा भिटेनका गीतहरु जबर्जस्ती सुन्नुपर्ने बाध्यता आइलागेको थियो। गीतमा छाडा शब्दहरु सुन्दा मेरो धारणा अर्कै बनिसकेको थियो। तर त्यसै बीचमा उनैले गाएको एउटा गीत ‘कथा’ सुनेँ र यसको भिडियो हेरेँ। यो गीतका शब्द र भिडियोको कन्सेप्ट समेत उनकै रहेछ

बाटो खोज्दा बाटो पाइनँ
फल्ने फूल्ने माटो पाइनँ
शायद् भूल गरेँ मैले
भगवान गुहार्दै मन्दिर धाइनँ

परिवार पाल्नलाई साउदी अरब गएका अधिकांश नेपालीको पीडा पोखिएको छ त्यो गीतमा। नसुनेको भए यो गीत एक पटक सुन्नुस् र भिडियो हेर्नुस्। एक करोड भन्दा बढी हेरिएका थोरै नेपाली म्युजिक भिडियोमध्येमा पर्छ यो गीत।

४० लाख पटक हेरिएको उनको अर्को गीत बहिनी (सेलिन) पनि त्यत्तिकै मार्मिक छ। छाडा गीत मात्र गाउँछ भन्नेहरुले उनको यो प्रतिभा बुझेका छैनन्। कम्तिमा दुर्गेशको गीतका लिरिक्सभन्दा अर्थपूर्ण चाहिँ उनको छ।

करोड भ्युज कटेको उनको अर्को गीत हो- म मान्छे खत्तम। यसको पनि कम्पोज र लिरिक्स उनकै हो। यसको भिडियो अलि उत्तेजक दृश्यहरुले भरिपूर्ण छ।

रामेछापमा घर भएका बाउ चन्द्रनिगाहपुर आइसकेपछि त्यतै हुर्किएर एसएलसी फेल भइसकेपछि थाङ्का सिक्न काठमाडौँ आएका समिरले आफ्ना संघर्षका कथा यसमा सुनाएका छन्-

छाडा गाएको भनेर कन्सर्टमा आक्रमण समेत भएपछि उनले गीतैबाट जवाफ दिएका थिए-

राम्रोसँग सुन्छस् भने राम्रो गीत
नराम्रोसँग सुन्छन् भने नराम्रो गीत
पचाउनेले पचाउँछ, नपचाउनेले मुखमा औँला कोचारेर छादे हुन्छ

उनले शायद् सोचेका थिएनन् होला, गीत गाएकै कारण प्रहरीले आफूलाई पक्रन्छ भनेर। आफ्नै बाउ समेत जमानामा पुलिस भएको उनले बताएका छन्।

पुलिसले पनि शायद् उनले छाडा गीत मात्रै गाउँछ भनेर सोचेको हुनसक्छ। त्यसैले अश्लील गीत गाएको, पुलिसको वर्दीको गलत प्रयोग गरेको, पुलिसमाथि डण्ठे सण्ठे भनेको, गाली बेइज्जती गरेको जस्ता सूची बनाएको छ।

पुलिसको वर्दीको गलत प्रयोग गरेको भनेर यो फोटो देखाइएको छ-

हैट, कलामा प्रयोग गरिएको फोटोमा मुद्दै चलाउने? पुलिस वर्दीमा बलात्कार गरेको, लुटेको जस्ता दृश्य पनि त फिल्ममा देखाइन्छ। त्यसैलाई लिएर रिस नसाँधे हुने हो।

बीचमा उनी बिग्रिएका पनि थिए। र्‍यापबाट फेमस भएपछि उनी सुध्रिएका छन्। उनको लोकप्रियतालाई र उनको क्षमतालाई उपयोग गरेर युवालाई सही दिशामा डोर्‍याउने तर्फ पो ध्यान दिने हो त। पक्रेर, दुःख दिएर झन् बिगार्ने हो त?

र्‍याप गाउँदा अपाच्य शब्द नराखिदिनुस् न भनेर सम्झाए पुग्नेमा मुद्दै चलाउने कसको बुद्दि हो कुन्नि? क-कसलाई मात्र पक्रने हो? फेरि सन् २००० तिरको जस्तो अन्डरग्राउन्ड ग्रुप बनाएर छाडा गाउन थाले भने चाहिँ कसलाई पक्रने हो?

9 comments to गायक तह लगाउने पुलिसको अपरेसन : दुर्गेश पक्रेको ‘प्रेसर’पछि भिटेनको शिकार?

  • madan bajracharya

    मुन्द्रे त्यापे जगल्ते हुँदैमा अपराधी हुने भय् महागजेदी देवादिदेव हुने थियन। हतियार बोकेको सबै ज्यानमारा हुने भय् प्रलञ्कारी महाअस्त्र बोकेका कोही पुजनिय् हुने पनि थियन्। अपराधि त् त्यो हो जो आमसभा र् मिदियामा कल्याणकारी शब्दको बान्ता गर्दै कानुनप्रुफ राजनैतिक् झन्डाको कवच लगायर पकाउने भाडालाई समेटा बम बनाएर समस्त नागरिक र् समाजलाईनै आतन्कित गर्दै लुटे असुलेकोलाई चन्दा भन्दै हिद्छ तेस्तालाई समाउन समाउन नसकेकोले हाम्रा कुनै कुनै प्रहरिहरु उन्मादित नै हुने हद सम्मले हिनभावनाको रोगी बनेको छ्। तेस्तै बाट नागरिक तर्साउने यस्तो कार्य् भयको हुनु पर्छ; नभय् “स्वस्थ् र् निस्पछ्य् प्रहरिनै सरकारको सक्कली अनुहार हुन्छ” भन्ने नबुझ्ने कुन पो प्रहरी हुन सक्ला?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • dipesh

    Kamal Ji, when police starts doing moral policing then that reflects that we are no very far from the totalitarian government. When government and it’s bodies are offended by the people then that means they are turning into totalitarian. Artist are the reflection of any society.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Navin Rayamajhi

    गित, कविता, कथा जस्ता साहित्यको हरेक विधाको आआफ्नो ब्याकरण हुन्छ र त्यसै अनुसार फरक फरक नाम दिएको हो. कुनै कानुनले नभए पनि साधारणतया प्रत्येक विधा कस्तो हुनुपर्छ भनेर निर्धारण गरिएको हुन्छ. अब गितको नाम मा जे मनलाग्यो त्यो फलाक्नु भनेको अनुशासनहिन हुनु हो. अर्को कुरा यो नेपाली र्‍याप भनेको के हो? मेरो बिचारमा जसरी अँग्रेजीमा झ्याउरे र चुड्का हुँदैन त्यस्तै नेपालीमा र्‍याप नहुनु पर्ने हो. सरकारको हरेक कदमलाई बिरोध गर्दा सभ्य भइन्छ भन्ने भ्रम तोड्दा पनि राम्रो नै होला. आगे जानिफकार हरुको विचार.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Sailendra Thapa

    It’s not Salokya’s one-sided review, moreover it seems like you are having one of them. Millions of views with millions of likes and followers of V10 and his song might be the answer. I am not a fan of V10 nor I like his song, but at least you have to respect the followers who follows him.

    You have cited about the effects of these songs in society…wait for a moment, the same was cited by some classical singers when newcomer pop singers like Om Bikram Bista, Sanjay Shrestha, and many others tried to change the scenario of Nepalese music industry with some new flavor in the name of POP. Time changes so does other things too. You are not obliged to listen to the genre you don’t like, it depends on your choice to accept or to ignore.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • jamz

    what the hell you are talking about kamal. What is wrong is wrong. You can’t just treat singer like criminal and you are talking about culture. What do you know about culture. It has nothing to with culture. Try to read history of what is culture and then you will know.
    People like you are the reason that this is happening. Bholi dekhi daura ra suruwal lagau. Cutlure ko kura garcha. Yesko dimag chai gu ley bhareko cha.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • ध्रुव

    पूर्ण सहमत !

    यो पनि हो कि मलाई पनि यस्ता Rap (अलि छाडा शब्द भएका) मन पर्दैन । यसको मतलब त्यस्तो गीत नै खराब वा गाउने मानिस नराम्रा हुन्छन् भन्ने हुँदैन | मलाई मन नपर्नु एउटा कुरा हो, खराब वा नराम्रो अर्को कुरा |
    मैले धेरै पछि आएर के बुझे भने संसार मैले के मन पराउँछु वा के मलाई राम्रो राम्रो लाग्छ भन्नेमा सीमित हुँदैन | म बाहेक पनि धेरै मानिसहरू छन् र तिनीहरूको पनि आफ्नै रुचि र भिन्नता हुन्छन् भन्ने बुझ्न जरूरी छ |
    अब कोही भन्लान्, वाक स्वतन्त्रता छ भन्दैमा जे-जस्तो पनि शब्द राखेर गाउने? हो सोझै कसैलाई गाली गर्ने वा कानैमा आएर भन्न त हुँदैन तर Youtube वा यस्तै गीतहरू जसलाई सुन्न मन छ सुन्नु जसलाई छैन उसले नसूनुन् |
    कानुनका पनि आफ्नै सीमाहरू छन् त्यसको सही पालन हुन पर्यो न कि परिवर्तनलाई बेवास्ता गर्दै नचाहिने ठाउँमा moral policing गर्ने काम पुलिसले गर्नु भएन |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Kamal

    Salokaya Ji, I think you are doing very one sided analysis. Our cultural values has been hugely undermined because of such Rubbish artists, such as Durgesh, VTN and Jyoti Magar. Not only them there are several others. It is not necessary you need to do controversial work to catch the fame, can get from good work also. For example, Neetesh Jung’s “Sannani Hamro Nepal Ma”. So simple, so lovely song!
    Bad things always fascinates our youth generation and leads in the wrong way. So, all they need to realized the consequences of demoralizing our society. They deserve huge penalty, at least NRS1,00,000.00 and jail sentence at least 3 months.
    You need to appreciate at least some good works from Nepal Police, no matter how bad reputation they have.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Pratik Pradhan

    This is art and creativity. You don’t have to like everything.Pure and simple.

    This is an expression of an artist and the idiotic government is trying to suppress this.

    If you are worried about our culture and language, ban Indian movies and channels in Nepal.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)