यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

‘हिमाल जल्यो भन्न पाइन्छ?’ भन्दै उदितनारायणको गीतलाई प्रतिबन्ध लगाइएको त्यो समय

‘हिमाल जल्यो भन्न पाइन्छ? नेपालको बदनाम गर्न पाइन्छ?’

‘हिमाल पनि कहिले जल्छ? नेपालको गलत प्रचार गर्ने?’

२०३८ सालतिर पञ्चायति शासनका बेला यस्तो तर्क गर्नेहरु प्रशस्त थिए। बाँसुरी फिल्मको गीत थियो उदितनारायण झाको स्वरमा- ‘हिमाल जलेर, ज्वाला भएछ। आशाहरु सब राख भएछ’ गीत लेख्ने कुसुम गजमेर। संगीत दिने रनजित गजमेर। फिल्म बनाउने तुलसी घिमिरे। सबै नेपाली मूलका भारतीय।

भारतीयले नेपालीको अपमान गर्‍यो भन्ने हौवा चलाइयो, हो जस्तो पनि लाग्यो होला। सिडिओ कार्यालयमा स्क्रिप्ट बुझाएर सेन्सर पास गराएर प्रहसन देखाउने पाउने, पत्रपत्रिकामा पनि सेन्सरसिप भएको त्यो बेला यो गीतमाथि प्रतिबन्ध लगाइयो।

त्यतिबेला फेसबुक थिएन, ट्विटर थिएन, युट्युब थिएन। रेडियो नेपाल मात्रै थियो गीत बजाउने। त्यसमा यो गीत बजेन। यो फिल्म पनि नेपालमा पनि रिलिज हुन दिइएन।

अहिले भएको भए उनीहरुलाई पनि पक्रेर अभद्र व्यवहारको मुद्दा ठोकिन्थ्यो कि।

चार दशकपछि तपाईँलाई अहिले त्यो गीत सुन्दा कस्तो लाग्छ? साहित्यमा प्रयोग हुने लाक्षणिक अभिव्यक्ति कि नेपालको जानाजान बदनाम गराउने प्रयास?

हो त नि, हिमाल पनि जल्छ कहीँ? यस्तो वाहियात गीतमा प्रतिबन्ध लगाएर ठीक गर्‍यो भन्ने तपाईँलाई लाग्छ भने तपाईँ त्यो समयबाट अघि बढ्न सक्नुभएको छैन।

हैन, यस्तो जाबो गीतमा पनि के प्रतिबन्ध लगाएको होला भन्ने तपाईँलाई लाग्छ भने पनि यो समय त्यो समयकै पाराभन्दा अघि बढ्न सकेको रहेनछ भन्ने बुझ्नुभयो होला।

त्यतिबेला त्यही फिल्मका गीतहरु मिर्मिरे साँझमा सिमसिमे पानी, झझल्को लिएर आएछ सावन गीत हिट भएका थिए। रेडियोमा बज्थ्यो। यही एउटा गीत रेडियोमा बजेन। त्यतिबेला क्यासेट चक्का निस्कन्थ्यो। त्यो किनेर टेप रेकर्डरमा राखेर सुन्न पाइन्थ्यो। त्यसमा सुन्न भने प्रतिबन्ध थिएन। प्रतिबन्ध रेडियोमा मात्र थियो।

अहिले क्यासेट चक्काको जमाना हरायो। युट्युबको जमाना आयो। युट्युब भनेको पनि आफूलाई मन लागेको बेलामा आफूलाई मन लागेको कुरा हेर्ने र सुन्ने ठाउँ हो। प्रविधिको यो परिवर्तनसँगै अब सरकारले यो कुरा हेर्न हुन्छ, यो कुरा हेर्न हुन्न भन्न खोज्दैछ।

कुरा भिटेन पक्राउको। भिटेनको ‘हामी यस्तै त हो नि ब्रो’ गीतका शब्दलाई लक्षित गरेर प्रहरीले पक्रेको समाचार आएका छन्। यो गीत रेडियो र टेलिभिजनले बजाएका छैनन्। युट्युबमा प्यारेन्टल एडभाइजरीसहित राखिएको थियो।

गीतका शब्द अश्लील भए, छाडा भए भनिएको छ। अश्लील नहुनुपर्थ्यो, छाडा नहुनु पर्थ्यो। त्यसलाई रोक्न यस्ता गीत नसुनेर बहिस्कार गर्न सकिन्छ। सम्झाउन सकिन्छ- हेर बाबु, तिमी अब फेमस भइसक्यौ, तिम्रा पनि केही सामाजिक दायित्व हुन्छन्, तिमीलाई पछ्याउनेहरु हुन्छन्, सकारात्मक सन्देश देऊ भनेर। छाडै मात्र भएर उनका गीत चलेका हैनन्। यदि छाडा शब्द राख्दैमा चल्ने भए युट्युबमा नेपाली भाषामै सयौँ त्यस्ता योभन्दा छाडा गीत छन् जसलाई यहाँ लिङ्कब्याक गर्न पनि सकिन्न। खै त ती गीत चलेका छैनन् त।

यो उनका छाडा शब्दको समर्थन हैन, यो उनलाई पक्राउ गर्ने तरिकाको विरोध हो। भिटेनका गीत सुनेर छोराछोरी बिग्रियो भन्नेहरुले आफ्नो छोराछोरी राम्रोसँग हुर्काउन नसकेका हुन्। बिग्रने केटाकेटीहरु गीत नसुनेर पनि बिग्रिन्छन्। गीत सुनेर बिग्रन्छु भनेर बसेको हुन्न। गीत मुखमा झुण्डियो रे- गीतको शब्दको अर्थ बुझाएर यसो यसो हो भनेर सम्झाउन कसले नसकेको त?

ठेकेदारसँग टिकट मागेर वा कालोधनले थाइल्यान्ड उडेर त्यहाँको होटलको बन्द कोठामा ‘खै कुन्नि के’ गरेर आउनेहरुले भिटेनको गीतमा थाइल्यान्ड शब्द सुन्ने बित्तिकै, अहो मेरो छोराछोरी पनि गीतमा जस्तै जालान् भनेर तर्सिरहेका त हैनन्? आफ्नो वरपरका केटीहरुमाथि कुदृष्टि लाउने र पर्दा पछाडि के केसम्म गर्नेहरु वा मौका पाए गर्छु भनेर सोच्नेहरुले भिटेनले ‘म मान्छे खत्तम’ गायो, त्यसले समाज बिगार्‍यो भनिरहेका त हैनन्?

गीतले के केसम्म गर्दो रहेछ, यसो फर्केर हेरौँ। अस्ति भर्खरै त हो, पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ गाउँदा दबाबै दिएर त्यसलाई हटाउन लगाइयो।

अलि अघि बाबुराम सरकारको पालामा यो गीतलाई द्वन्द्व चर्काउन खोजेको भन्दै नेपाल टेलिभिजनमा प्रतिबन्ध लगाइएको थियो।

त्यतिबेला किन प्रतिबन्ध लगाइएछ यो गीतलाई ? शीर्षकमा ब्लग लेखिएको रहेछ।

सम्बन्धित ब्लग
गायक तह लगाउने पुलिसको अपरेसन : दुर्गेश पक्रेको ‘प्रेसर’पछि भिटेनको शिकार?

4 comments to ‘हिमाल जल्यो भन्न पाइन्छ?’ भन्दै उदितनारायणको गीतलाई प्रतिबन्ध लगाइएको त्यो समय

  • आईभन

    ‘बासुँरी’ को अन्तिम सिनमा, हिरो टी.बी. लागेर मर्दा पनि मोटो-घाटो नै थियो । म यो संम्झेर अझै पनि हास्छु । यो फिल्ममा एउटा डायलग यस्तो थियो: घर तिर जाँदा बन तिर मुख, बन तिर जाँदा घर तिर मुख ।के हो भनेर सोद्धा सबैले उत्तर दिए: बन्चरो । तर एउटा दाईले (दाजुले) फ्याट्टै भन्यो: कन्डो । (अब हेरौ, सालोक्यज्यूले मेरो कलात्मक स्वतन्त्रतालाई सेन्सर गर्छ कि गर्दैन)। भन्नलाई सजिलो छ । गर्नलाई गाह्रो ।

    तर कुरो ‘कलात्मक स्वतन्त्रता’को होइन । कुरो ‘सामाजिक न्यायकर्ता’ हरूको हो । उनिहरूलाई अरूको न्याय गर्न पर्छ भनेर कानुनले अधिकार दिएको छैन । शान्ति र सुरक्षा गर्ने हो यो निकाइको काम । समाजको रक्षकहरू न्यायकर्ताहरू होइनंन् । न्याय गर्ने जिम्मा न्यायपालिकाको हो । बुझाईको कमिले रक्षकहरू भक्षक भएका हुन् । आफ्नो छवि माथि आफैले बन्चरो हानीरहेका छन् । दुखलाग्दो छ हाम्रो मनस्थिती ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • dks

    maile suneko panchayat ko time ma <chati mathi dhungha rakhi runu pareko cha, banee geet pani band bhako theyo re

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • टीका दत्त शिवा

    मलाई लाग्छ, यो तपाईंको सबैभन्दा उत्कृष्ट ब्लग हो । यति राम्रो ! सबै पक्षलाई समेटिएको छ ।

    मेरो विचारमा, हाम्रा नेताहरु पुराना पुस्ताका भए । र्याप संगीत युवा पुस्ताको हो ।

    तपाईं हामी अधबैंसी भयौं । यता न उता !

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Shankar

    एस्लाई भन्छन सेन्सरबोर्ड ले पाडाको ?? कन्याको ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)