यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

‘अदालतै निर्मलाको हत्यारासँग मिलेको’ भन्न थालेका खेम भण्डारी जेल पर्नुको पर्दा पछाडिको कथा

यो हप्ता अलि अनौठो भयो। मंगलबार कञ्चनपुरका पत्रकार खेम भण्डारी एक घण्टाका लागि जेल परे। उनले एक रुपैयाँ जरिवाना पनि तिरे। कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्र आचार्यले असार ३० गते अदालतको अवहेलना मुद्दामा खेमलाई दोषी ठहर गर्दै यस्तो सजाय सुनाएका थिए। असारमा सुनाएको सजाय मंसिरमा बल्ल कार्यान्वयन भएको हो।

नौलो खालको फैसला भएको हुनाले धेरैलाई यो अनौठो लाग्यो। कुनै अनलाइनले त नबुझेर प्रहरीले एक घण्टा नियन्त्रणमा लिएर छाडेको भनेर समेत लेखे। वास्तवमा त्यसो हैन। यो त अदालतले अवहेलना भएको भनेर फौजदारी कसुरमा दोषी ठहर गरेको हो। त्यसै अनुसार उनलाई कैद गरिएको हो।

दोषी ठहर भएपछि सजाय कति दिने भन्ने अदालतमा भर पर्छ। यो केसमा न्यायाधीशले खेमलाई सजायका लागि पनि उपयुक्त नभएको तुच्छ भएको फैसला गरेका छन्। उनले फैसलामा लेखेका छन्- ‘यसबाट न्यायालयले यो मान्दछ कि तँ यति तुच्छ (Mean/Damn) छस् कि सजाय पनि तेरो लागि अनुपयुक्त छ भन्ने हुन्छ।…..यस्तो सजाय पाएको व्यक्तिले मलाई सानो सजाय गयो भनेर मख्ख पर्नु भन्दा पनि म कति तुच्छ रहेछु जहाँ मेरो लागि सजाय पनि उपयुक्त भएन भनेर सोच्नु पर्ने हुन्छ। यदि सो कसूरदारले सोचेन भने पनि सो सजाय पायो भनेर सुन्ने व्यक्तिले सो व्यक्तिलाई तुच्छताको धारणा बनाउन सक्ने हुन्छन्। यस्तो प्रकृतिको सजाय निकै खतरनाक हुन्छ। बरू १ वर्ष कैद बस्न उपयुक्त हुन्छ। सही सद्दे मानिसलाई १ मिनेटको कैद वा १ दामको जरिवाना सामाजिक एवम मानसिक रूपमा पीडादायक हुन्छ।’

असारमा भएको फैसला अकस्मात् मंसिरको ३ गते कसरी कार्यान्वयन हुन गयो त? यसको पर्दा पछाडिको कथा यस्तो छ-

निर्मला पन्तको बलात्कार र हत्याको मूल मुद्दा अहिलेसम्म अदालतमा पुगेको छैन। मूल मुद्दा नपुगे पनि अरु पाँच वटा यो प्रकरणसँग सम्बन्धित मुद्दा कञ्चनपुरको जिल्ला अदालतमा चलिरहेका छन्-

१) चार प्रहरीहरु विरुद्ध गैरकानुनी यातना दिएको (दिलिपसिंह विष्टका दाजुको जाहेरीमा)

२) आठ प्रहरीहरु विरुद्ध प्रमाण नष्ट गरेको (निर्मलाकी आमा दुर्गादेवी पन्तको जाहेरीमा)

३) बबिता बमले खेम भण्डारी, इन्द्र अर्याल र भक्ति फुलाराविरुद्ध दिएको गाली बेइज्जतीसम्बन्धी मुद्दा

४) किरण विष्ट (एसपीका छोरा) ले खेम भण्डारीविरुद्ध दिएको गाली बेइज्जतीसम्बन्धी मुद्दा

५) अधिववक्ता विनोद भट्टले खेम भण्डारीविरुद्ध दिएको प्रतिष्ठाविरुद्धको कसुरसम्बन्धी मुद्दा

छैटौँ मुद्दा जिल्ला बारले खेम भण्डारीविरुद्ध दिएको अदालतको मानहानीसम्बन्धी थियो, जसको फैसला भइसकेको छ। त्यही फैसला अनुसार नै खेम एक घण्टा जेल परेका हुन्।

त्यो फैसलामा उनले पुनरावेदन गर्न पाउँथे। पुनरावेदनमा गएको भए सजाय तत्काल कार्यान्वयन नहुन पनि सक्थ्यो। तर उनले पुनरावेदनको म्याद गुजारे। विभिन्न किसिमका म्यादहरु हुँदै अन्तिम म्याद गएको कात्तिक १६/१७ गते सकिएको थियो।

खेमले आफूलाई पुनरावेदनको मौका नै नदिइएको, फैसलाको जानकारी नै नदिइएको तर्क गर्छन्। तर अदालतले भने नयाँ लागू भएको फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा १३४ (३) अनुसार आफैले इजलासमा उपस्थित भई बहस पैरवी गरेकोले जानकारी पाएको मानिने हुनाले पुनरावेदनको म्याद जारी गर्न नपर्ने बताउँछ। फैसलामा पनि त्यस्तै लेखिएको छ।

ऐनको सो दफामा (३) ‘यस संहितामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अदालतबाट सुनुवाई हुँदाका बखत मुद्दाको पक्ष वा निजको वारिस उपस्थित भएको वा निजको कानून व्यवसायी उपस्थित भई बहस पैरवी गरेको रहेछ र सोही दिन फैसला भएको रहेछ भने मुद्दाको पक्षले त्यस्तो फैसला भएको थाहा पाएको मानिनेछ’ भनिएको छ।

यो मुद्दा बारले नै दर्ता गरेको भएर सबै वकिल खेमको विरुद्धमा थिए। त्यसैले उनको पक्षमा बहस गर्ने कुनै वकिल भएका थिएनन्। उनले अदालतबाट कानुन व्यवसायी राखी पाउँ भनी निवेदन दिए। तर अदालतका वैतनिक अधिवक्ता देवराज पन्त जिल्ला बार एसोसिएसनका तर्फबाट कानुन व्यवसायी नियुक्त भएकोले खटाउन मिल्दैन भन्ने आदेश भयो। त्यसपछि उनी आफैले प्रतिवादमा बहस गरेका थिए।

अदालतले मानहानीकारक सामाग्री सामाजिक सञ्जाल र पत्रिकाको अनलाइनबाट सात दिनभित्र हटाउन, बार र बारका पदाधिकारीविरुद्ध अनर्गल विषयवस्तु पोस्ट नगर्न र त्यसमा न्यायिक कामकारबाही नजोड्न र तीन दिन भित्र बिना शर्त आत्मालोचना गर्न निर्देशन दिएको थियो। त्यो आदेश पालना नगरेमा १ घण्टा कैद र एक रुपैयाँ जरिवाना तोकिएको थियो। एक रुपैयाँ जरिवाना नतिरे दुई दिन कैद भनिएको थियो।

खेम भण्डारीले निर्देशन पनि मानेनन्, पुनरावेदन पनि गरेनन्। उनले फैसलाको जानकारी आफूलाई आधिकारिक रुपमा नदिइएको नै भनिरहे।

यो कुरा यत्तिकैमा थियो।

माथिका अन्य मुद्दाहरु भने प्रक्रियामा गइरहेको थियो। अदालतले यी सबै मुद्दालाई लगाउमा राखेको छ। अर्थात् एक अर्कासँग जोडिएको हुनाले सँगै सुनुवाई गर्ने गरी।

अनुसूची २ का मुद्दा अर्थात् सीधै अदालतमा दर्ता हुने देवानीका मुद्दामा मेलमिलापका लागि इजलास राख्ने प्रक्रिया हुन्छ। माथिका तीन वटा गाली बेइज्जती र प्रतिष्ठाविरुद्धको कसुर यस्तै प्रकृतिका मुद्दा हुन्। यसमा अदालतले खासमा मिलापत्र गर्ने भए गर भनेर चान्स दिएको हो।

प्रक्रिया अनुसार सबै पक्ष भेला हुने अनि माफी माग्न चाहे माफी माग्ने अनि माफी दिन चाहेमा माफी दिएर मुद्दा टुङ्ग्याउनेतिर लाग्ने हो। अघिल्लो पटकको तारिखमा नै १५ दिनको समय दिएर मंसिर ३ गते मेलमिलापका लागि समय तोकिएको थियो।

यसका लागि शर्त चाहिँ सबै आफै उपस्थित हुनुपर्ने हुन्छ। अर्थात् वारिस गएर हुँदैन।

तर यसमा म्याद गुजार्न पनि पाइने अवस्था भने थियो। जस्तै प्रतिवादी बनाइएका इन्द्र अर्याल उपस्थित भएका थिएनन्। खेम भण्डारी पनि उपस्थित नहुन सक्थे।

आफै उपस्थित हुनु पर्ने भएपछि तीन वटा मुद्दा परेका खेम भण्डारी पनि स्वयं अदालतमा आउनु पर्थ्यो। अदालतमा आउँदा पुनरावेदनको म्याद गुजारिसकेका कारण तोकिएको सजाय कार्यान्वयन गरिनु पर्छ भनेर एक पक्ष बाटो ढुकेर बसेका थिए। त्यही अनुसार खेम भण्डारी आएपछि प्रक्रिया अनुसार उनले जरिवाना तिरे एक रुपैयाँ। अदालतले जिल्ला कारागारको नाममा एक घण्टा थुन्नु भनेर पत्र लेखेर उनलाई कैदी पुर्जी दिइयो।

खासमा अदालतसम्म प्रहरीले लानु पर्ने थियो। तर उनी आफ्नै साथीको मोटरसाइकल चढेर कारागार पुगे र एक घण्टा कैद भुक्तान गरेर फर्किए।

फर्किएपछि उनको आवाज झन् चर्को हुन थाल्यो। निर्मला प्रकरणमा अदालतकै मिलेमतोको गन्ध पाइएको भनेर स्टायटस लेखे-

आफै सम्पादक रहेको पत्रिका मानसखण्डमा उनी आफैलाई उद्‍धृत गर्दै आफूविरुद्ध फैसला गर्ने न्यायाधीशले हत्यारा पक्षसँग मिलेमतो गरेको भन्दै यस्तो समाचार लेखे- दैनिक मानसखण्डका सम्पादक तथा निर्मला प्रकरणमा न्यायका लागि संघर्षरत पत्रकार खेम भण्डारीले निर्मला प्रकरणमा कञ्चनपुर जिल्ला अदालतका तत्कालिन एक नम्बर न्यायाधीश डा. राजेन्द्र आचार्यले हत्यारा पक्षसँग मिलेमतो गरेर आफूलाई आधारभूत न्यायिक अधिकारबाट बन्चित गरेको आरोप लगाएका छन् । (पूरा समाचारको लिङ्क)

आफूले खडा गर्दै आएको भिआइपी अपराधीको हौवामा समर्थन जनाउने जति उनलाई राम्रो हुन्छ, त्यसो नगर्नेलाई नानाभाँती आरोप लगाउनु नयाँ कुरा हैन। उनले कस्ता कस्ता मनगढन्ते आरोप लगाउँदा रहेछन् भनेर त निर्मला प्रकरणमा #WhoKilledNirmala सिरिजमा उनका स्टायटसहरुसहित अन्य जानकारीहरु अध्ययन गरी लेखिएको सामाग्री प्रकाशित भएपछि थाहा भयो। हामीले फलानोलाई फोन गर्‍यौँ रे भनेर काल्पनिक संवादै उनले स्टायटसमा कोरेका थिए।

(पढ्नुस् https://whokillednirmala.com/ मा सबै ३० अङ्क। त्यसमध्ये २६ औँ अङ्कमा लेखिएको निर्मला प्रकरणलाई ‘ट्विस्ट एन्ड टर्न’ गराउने ती शक्तिशाली व्यक्ति जसलाई अदालतले समेत Obiter fact का रुपमा लिएको छ। Obiter fact भनेको observation मा लिनु हो acknowledge गरेको छु भन्नु हो। तर यसलाइ एउटै सत्यको रुपमा वा authentic source वा प्रमाणको रुप ग्रहण गरिएको हैन। यसको अर्थ हाम्रो रिपोर्टलाई अब्जर्भ गरी further issue केलाउनु हो।)

त्यसैगरी दिलिपसिंह विष्टलाई म आफैले भेटेर कुरा गरी भिडियो र अडियो बनाएको थिएँ जसमा पहिले प्रचार गरिए अनुसार उनी शारीरिक रुपमा एकदमै कमजोर नभएको, केटीको मामिलामा गौतम बुद्ध भनेर उनका दाजुले भने पनि उल्टो आशक्त रहेको, फोहरी कुरा गर्ने, महिलाप्रति आशक्त रहेको, घाँटी थिचेर कसरी मार्न सकिन्छ भन्ने ज्ञान भएको, निर्मलालाई खोला पारी कसरी लगेको भन्ने समेत बताएका थिए उनले।

हेर्नुस् भिडियो-

यो भिडियो आएपछि खेम भण्डारीले मलाई निर्मलाको हत्याराहरुले भाडामा लिएको ब्लगर भनेर स्टायटस लेखे-

त्यतिबेला म मंगोलियामा थिएँ। काठमाडौँमा आउँदा साथीहरुले जिस्काइरहेका थिए- क्या महँगो रहेछस् तँ। अरुलाई भए बिकेको भनेर लेख्थे। तँलाई त किन्न नसक्ने रहेछ, त्यही भएर भाडामा मात्र लिएको रे। हैट।

त्यतिमात्र हैन उनले मलाई पागल पनि घोषणा गरिदिए कमेन्टमै

उनका समाचार र उनले लेखेका स्टायटसहरुको लामो समयदेखि अध्ययन गरिरहेको भएकोले मलाई यो नौलो लागेन।

बरु यिनैले भनेको पत्याएर डोरिएका मिडियाहरु उनको बारेमा खुलासा भएपछि पहिलेभन्दा सचेत भएको देख्दा खुशी लाग्छ।

उनी जे पनि भन्छन्। प्रहरी जवान चाँदनी साउदलाई प्रमाण मेटे वापत बढुवा गरेर हवल्दार बनाइयो भनेर सार्वजनिक कार्यक्रममा बोल्छन्। जुन पूरै झुट हो। किरण विष्टको जन्मदिनलाई फेक कि फेक बर्थ डे भनेर भन्छन्, फ्याक्ट के हो हेर्दैनन्, बुझ्दैनन्।

नातामा सालो पर्ने दिलिपसिंह विष्टले त्यसो गर्नै नसक्ने भनेर उनले लेखेका समाचारहरु उनको पत्रिकाको फाइल पल्टाएर हेरे हुन्छ। अनुसन्धानले भने उनै दिलिपसिंह विष्टलाई त्यतिबेलै अभियुक्त देखाएको थियो। हल्लैहल्लामा निर्दोष फँसाइएको आरोप लगाइयो। हल्लाहरुबाट गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिसमेत प्रभावित भयो।

खेम भण्डारी भिआइपीले अपराध गरेको र पूरै राज्य जोगाउन लागिपरेको दावी गर्छन्। तर त्यसको विश्वसनीय आधार भने देखाउन सक्दैनन्। सभामुख जस्तो देशको माथिल्लो वरियतामा रहेका भिआइपी त जेलमा रहेको अनि गृहमन्त्रीका भाइसमेत पक्राउ परेको, सांसद आलम पक्राउ परेको घटनाहरु हेर्ने हो राज्यले यो केसमा पनि भिआइपी यदि हाे भने पनि कसैलाई संरक्षण दिन जरुरी देखिन्न।

एक वर्षदेखि यो प्रकरणमा फलोअप गरिरहँदा धेरै संकेत दिलिपसिंह विष्टतर्फै इंगित भएको देखिन्छ। दिलिपसित भेटेर प्रत्यक्ष कुरा गर्दा थाहा भयो, जसरी हुँदै नभएका भैँसी ब्याएको, बम दिदीबहिनीको घरमा लगाउँदै नलगाएको रङ लगाएको, उनीहरुको घरमा आउँदै नआउने केटाहरु आएको, अम्बाको रुखमा झुण्ड्याएको जस्ता कुरा हचुवा हल्ला थिए, त्यसरी नै उनको बारेमा भनिएका,सुनिएका र विश्वास गर्न लगाइएका धेरै कुरा गलत रहेछन्।

अब फेरि उनलाई (र अरु छन् भने अरुलाई पनि) अनुसन्धानको दायरामा ल्याई कम्तिमा न्यायिक निरुपणका लागि अदालतसम्म लानै पर्छ। आखिर दोषी वा निर्दोष ठहर गर्ने काम अदालतकै हो।

खेम भण्डारीको त के छ र, आफूले भनेको नभए पछि उनले निर्मलाको हत्याराहरुसित मिलेमतो भएको भनिहाल्छन्।

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)