यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

स्वर्ण पदकको संख्या सुनेरै दङ्ग परेका हामी, तर यी तीन तथ्य जुन हामीले याद गरेनौँ


फुटबल फाइनलमा नेपालका समर्थक। फोटो साभार : एन्फाको फेसबुक

होला किन नहोला भन्ने अन्यौलका बीच १३ औँ साग इतिहास बनाउँदै हिजोदेखि सकियो। वर्षौँपछि दशरथ रंगशालामा खेल हेर्न पाउँदा हामी दर्शक दङ्ग पर्‍यौँ। त्यहाँमाथि फुटबलमा फाइनलै जितेपछि समापनको दिन उत्साहपूर्ण नै रह्यो। उद्घाटनमा लाइटिङ र समापनमा ड्रोनहरुले बनाएका आकृतिको चमकदमकले अरु सबै अव्यवस्थापनहरुलाई छोपिदियो। मिडिया पनि पहिलो दिनदेखि नै नेपालले जितेका स्वर्ण पदकको संख्याबाटै दङ्ग भइदियो। देशको इज्जत धान्नु पर्छ भन्ने सोचेर हो कि प्रचार प्रसार तथा प्रकाशन समितिमा पत्रकारहरु पनि सदस्य भएको प्रभावले हो, प्रतियोगिता अवधिभर खासै क्रिटिकल समाचारहरु देखिएनन्। तर पनि सुटिङमा अरु देशसित मागेर बन्दूक चलाउनु परेको समाचार भने भाइरल भइदियो। ५१ स्वर्ण पदकसहित नेपालले साग इतिहासकै सबैभन्दा बढी स्वर्ण पदक जितेर प्रतियोगितालाई ऐतिहासिक बनायो। तर सागका यी तीन तथ्य पनि छन् जसलाई हामीले खासै याद गरेको जस्तो लागेन।

स्वर्ण पदकको संख्या : खेलाडीको मेहनतसँगै अरु के थियो कारण ?

नेपालले अहिलेसम्मको सागमा नजितेको संख्यामा स्वर्ण पदक जित्नुमा खेलाडीहरुको मेहनत त छँदैछ, अरु केही कारण पनि थिए।

१) आयोजक हुनुको फाइदा
नेपालले यस पटक ५१ वटा स्वर्ण पदक जित्यो। पहिलो दिनदेखि नै नेपालले स्वर्ण पदक जित्न सुरु गरेको थियो। प्रतियोगिता सुरु भएको केही दिनसम्म त नेपाल पदक तालिकामा पहिलो स्थानमा थियो। खेलाडीको मेहनतसँगै यसमा आयोजकका रुपमा नेपालले गरेको चलाखी पनि कारण थियो। नेपालले आफूले पदक जित्न सक्ने खेलहरुलाई अगाडिको दिनमा राखेको थियो। त्यसैले प्रतियोगिताको केही दिनसम्म ‘नेपाल पदकविहीन’ शीर्षकको समाचार देख्न मात्रै परेन, अघिल्लो १२ औँ सागमा जितेको भन्दा चार गुणा बढी स्वर्ण पहिलो दिन नै जित्यो। अघिल्लो सागमा जम्मा तीन वटा स्वर्ण जितेको थियो नेपालले, यस पटक पहिलो दिनमै १५ वटा। मान्छेहरु दङ्ग परे, अहो ! नेपालले त गज्जबै गरेछ नि। मिडिया पनि दङ्ग। आयोजकको चलाखी कसैले याद गरेनन्।

नेपालले पहिलो दिन जितेका स्वर्ण मध्ये ७ वटा कराते र ७ वटा तेक्वान्दोबाट थिए। आयोजक राष्ट्रको फाइदा उठाउँदै नेपालले यी खेललाई प्रतियोगितामा समावेश गरेको थियो। अघिल्लो सागमा कराते राखिएको थिएन। तेक्वान्दो त थियो तर नेपालले एउटा पनि स्वर्ण पदक जित्न सकेको थिएन। नेपालले यसअघि सबैभन्दा बढी ३१ स्वर्ण जितेको १९९९ मा काठमाडौँमै भएको आठौँ साग थियो जसमा २८ स्वर्ण तेक्वान्दो र करातेबाटै आएको थियो।

२) अफगानिस्तानको अनुपस्थिति
कराते, तेक्वान्दो जस्ता मार्सल आर्टसका खेलहरुमा नेपाललाई पछिल्लो समयमा कडा चुनौति दिन थालेको थियो अफगानिस्तानले। सन् २००४ देखि लगातार चार वटा सागमा सहभागी भएको अफगानिस्तान यस पटक नेपालमा भएको सागमा सहभागी भएन। यसको फाइदा नेपाललाई कति भयो भन्ने कुरा भारतमा भएको १२ औँ सागमा तेक्वान्दोतर्फको नतिजाले स्पष्ट गर्छ। तेक्वान्दोमा अफगानिस्तानले ६ स्वर्ण जित्दा नेपालको स्वर्ण पदक ० थियो। नेपालले रजतमात्रै सात वटा जित्न सकेको थियो।

३) भारतको कम सहभागिता
यसपालि सागमा भारतको सहभागिता उसले पहिले गर्ने सरह थिएन। भारतीय मिडियामा त सागका लागि बजेट कम भएको, टिम मेनेजरहरुको खर्च बेहोर्न भारत सरकारले अस्वीकार गरेको, बलियो खेलहरुमा पनि भारत सहभागी नहुने भएको जस्ता समाचार आएका थिए। स्वर्ण पदकको दावेदार रहेको भारत पुरुष फुटबलमा सहभागी नै भएन। यही कारण भारत सहितको पहिले बनाएको खेल तालिका परिवर्तन गर्नुपर्‍यो। पुरुष क्रिकेटमा पनि भारत सहभागी भएन। भलिबलमा सहभागी नहुने भने पनि अन्तिम समयमा सहभागी भयो र महिला भलिबलमा नेपाललाई हराई भारतले स्वर्ण जित्यो। आन्तरिक विवादका कारण भारत कराते र तेक्वान्दोमा पनि सहभागी नहुने देखिएको थियो। तर अन्तिम समयमा तेक्वान्दोमा भारतलाई सहभागी गराउनु भनी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले नेपाललाई पत्र पठाएपछि बल्ल सहभागी हुन पायो। भारतले ४८७ खेलाडी मात्रै पठाएको थियो जुन नेपाल (५९६) र श्रीलंका (५६४) भन्दा कम थियो। तर पनि भारत १७४ स्वर्णसहित ३१२ कूल पदकका साथ पहिलो स्थानमा कायम रह्यो। भारतको कम सहभागिताको फाइदा नेपालले आयोजकका रुपमा भरपुर उठायो।

लुकेको अव्यवस्थापन

सागमा अव्यवस्थापनको बारेमा मिडियाले खासै चर्चा गरेनन्। तर पनि प्रतियोगिताका क्रममा सुटिङ खेलाडीहरुले प्रतिस्पर्धीसँग बन्दूक र गोली मागेर खेल्नुपरेको दयनीय स्थिति भाइरल भयो। त्यसबाहेक अव्यवस्थापनको बारेमा क्रिटिकल समाचार थोरै मात्र आए। क्षमताभन्दा बढी टिकट काटेको, टिकट नकाट्नेलाई पनि रंगशालामा प्रवेश दिइएको, खेलाडी, दर्शक, पत्रकार कहाँ बस्ने भन्ने टुङ्गो नभएको, मैले यसअघि पनि ४ संस्करणको साग रिपोर्टिङ गरेको छु। तर, यतिसारो अवस्थित भेन्यु कहिल्यै देखिनँ भनेर विदेशी पत्रकारले भनेको, , ट्रायथलनकी स्वर्ण विजेता सोनी गुरुङले नयाँ साइकल माग्दा नपाएपछि थोत्रो साइकल चढेरै स्वर्ण जितेको, फुटबलमा फिफाको मान्यताविपरीत २४ घण्टामा दुई खेल खेलाएको, खेलस्थलमा दर्शकभन्दा बढी सङ्ख्यामा पुलिसको उपस्थिति र खेलस्थलका सिटहरू पुलिस र उनीहरूकै आसेपासेले भरिएको जस्ता समाचार देखिए। अन्तिम दिन डिएसपीको नेतृत्वमा सर्वसाधारणलाई लाठी र बुट प्रहार गरेको फोटो खिच्ने नागरिकका पत्रकार सुमन चापागाइँलाई पुलिसले लट्ठी बजारेर अस्पताल जानु पर्ने बनाइदिएपछि कालो ब्यानर बोकेर प्रदर्शनमै उत्रनु पर्‍यो। उनीहरुले खेल मैदानमै ब्यानर देखाउँदा प्रहरीले खोसिरहेको दृश्य पनि सामाजिक सञ्जालमा देखियो।


फोटो साभार : नेपालन्युज

गरे सकिन्छ, नगर्ने किन?

गरे सकिन्छ भने सन्देश मात्रै यो सागले दिएको छैन। हामी नेपालीहरु अन्तिम समयमा मात्र तात्तिन्छौँ, समयमा काम गर्दैनौँ भन्ने पनि देखाएको छ। भूकम्पपछि लामो समय दशरथ रंगशाला अलपत्र अवस्थामा रह्यो। पछिल्लो एक महिनामा मात्रै जोडतोडका साथ यसमा काम हुन थालेको हो। साग निर्धारित मितिमा नभएर अझै समय सारेको हुँदो हो त अझै पनि रंगशाला यो अवस्थामा आउला भन्नेमा शंका छ। समयको व्यवस्थापन राम्रोसँग गरेर समयमै काम सकाउने तर्फ हाम्रो बुद्धि कहिले आउने हो?

विश्व रेकर्ड

यस पटकको सागमा ५१ स्वर्ण पदक सहित २०६ वटा पदक नेपाली खेलाडीहरुले पाए। २६ वटा खेलमा २७१५ जना खेलाडी सहभागी भए पनि एउटा मात्र विश्व रेकर्ड बन्यो र त्यो बनाउने नेपाली खेलाडी नै रहिन्।

महिला टि २० अन्तर्राष्ट्रिय क्रिकेटतर्फ नेपाली खेलाडी अन्जली चन्दले माल्दिभ्सविरुद्ध २ डिसेम्बर २०१९ मा भएको खेलमा सून्य रन दिएर ६ विकेट लिइन्। क्रिकेटमा यस्तो बलिङ फिगर अहिलेसम्म कसैले गर्न सकेका थिएनन्। त्यसैले उनको नाममा कायम विश्व रेकर्ड तोडिन धेरै समय लाग्न सक्छ।

व्यक्तिगत सँगै राष्ट्रको गौरव बनेकाहरुमा आयशा शाक्यले दुई सन्तानकी आमा भएर पनि खेलमा पुनरागमन गरेर जितेको दुई स्वर्णको निकै चर्चा भयो। त्यसैगरी गौरिका सिंहले पौडीमा जितेको चार स्वर्णले उनलाई एकै सागमा बढी पदक जित्ने नेपाली खेलाडीको रेकर्ड बनाउन सघायो। तर योसँगै प्रतियोगिता सुरु हुनु तीन दिन अघि बन्द प्रशिक्षणबाट भागेर कतार हिँडेकी एथ्लेटिक्स खेलाडी तुलसा खत्रीको खबरले पनि नेपाली खेलाडीहरुको वास्तविक पीडा दर्शाइरह्यो।

यस पटकको सागको विषयमा तपाईँको के धारणा छ? आफ्नो प्रतिक्रिया तल कमेन्टमा लेख्न सक्नुहुन्छ।

3 comments to स्वर्ण पदकको संख्या सुनेरै दङ्ग परेका हामी, तर यी तीन तथ्य जुन हामीले याद गरेनौँ

  • Manish

    @salokya Dai, past ma yestai prize announce vayeko and players le ajai napayeko bare ma information vaye share garnus na. Hamro ma ta ghosana matrai huncha j pani so.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • ram prasad

    euta kuro chutyo tyo k bhane football final bhanda 2 hr agi kaam na kaaj ko game khelaune kaile khelna napako jasto international ground ma yasta tori haru lai game khelna dine lai karbhai huna parcha huna ta goldengate ma prasna bechda ta kehi bahyena

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • KN Chapagain

    चार स्वर्ण समेत ९ (?) पदक त गौरिकाको व्यक्तिगत प्रयासले आए। अत्याध्यिक संरचना वा संचालन खर्च चाहिने टीम-खेल बाहेक अन्य खेलका खेलाडीहरूले प्राय देशमा आफ्नो नोकरी ब्यबसायबाट रकम निकालेर खर्च गर्ने गर्दछन। राज्यको सहयोग हुनु राम्रो, तर राज्यले खासै नदिए पनि आफ्नै प्रयाशमा सफल हुने अरु खेलाडीहरू पनि पक्कै हुनुहुन्छ होला। हामीलाई गौरव गर्न लायक बनाइदिनुहुने ती खेलाडी जसले सरकारको मुख मात्र ताकेनन, तिनलाई अझ बिशेष धन्यवाद।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0