यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

पैदल हिँड्दा पनि असुरक्षित, अब के हेल्मेट लगाएर हिँड्ने? अझ दुर्घटना गराएपछि ‘पावर शो’ !


शनिबार भएको दुर्घटनामा ज्यान गुमाउने र कार चालकको फोटो साभार : थाहाखबर।

घटना १ : विजया दशमीको टीकाको पर्सिपल्ट साँझ घर फर्कँदै गरेका कृष्ण ढुंगाना (नेपालखबरका सम्पादक) लाई त्रिपुरेश्वर आँखा अस्पताल अगाडिको जेब्राक्रसमा बाटो काट्दै गर्दा मोटरसाइकलले ठक्कर दियो। टाउकोमा गम्भीर चोट परेका कृष्ण कयौँ दिनसम्म जीवनमरणको दोसाँधमा संघर्ष गर्दै अस्पतालमा कोमामा रहे।

घटना २ : गएको शनिबार मन्दिर गएर घर फर्कँदै गरेकी लीला देवकोटालाई बूढानीलकण्ठ स्कुलनजिकै सडकपेटीमा हिँडिरहेको अवस्थामा कारले ठक्कर दिँदा ज्यान गयो।

दुर्घटनाका खबर दिनहुँ जसो आउने भएकोले यस्ता घटना सामान्य झैँ लाग्न थालेको छ धेरैलाई। दुर्घटनाका धेरै खबरहरुमध्ये एउटा अर्को खबर। तर, खासमा यो असामान्य घटना हो। जेब्राक्रसमा बाटो काटिरहेकालाई ठक्कर दिएर सिकिस्त बनाउनु र सडक पेटीमा हिँडिरहेकी पैदल यात्रुलाई ठक्कर दिएर ज्यानै लिनु दुर्घटना होइन, लापरवाहीको हद हो।

पहिलो घटना पत्रकार भएकोले केही मिडियामा समाचार आए। तर ती समाचार दुर्घटना भएको जानकारी मात्र दिने खालका थिए। विस्तृत विवरण केही थिएन। त्यो परिवारले यो बीचमा कानुनी प्रक्रियामा जाने क्रममा के कस्ता ‘प्रेसर’ भोगे र कति पीडादायी परिस्थितिबाट गुज्रनु पर्‍यो, त्यो कसैलाई थाहा छैन। दोस्रो घटना त मिडियामा खासै खबर नै बनेन। थाहाखबरले पहिलो पटक सोमबार विस्तृत समाचार बनायो। अरु मूलधारका मिडिया र अनलाइनहरुले यसबारे खासै समाचारै बनाएनन्। बनाएकाहरुले पनि सानो कामचलाउ समाचारमात्रै बनाए।

पहिलो घटनाकै बारेमा केही भनौँ। साथी कृष्ण ढुंगानालाई मोटरसाइकलले ठक्कर दिएको भन्ने खबर सुनेका अधिकांशलाई यो सामान्य खालको दुर्घटना होला, मोटरसाइकलले हानेर हातखुट्टा केही भाँचेको होला भन्ठान्छन्।

त्यसो होइन, उनी त मृत्युको मुखबाट बाँचेका हुन्। जेब्रा क्रसमा बाटो काट्दै गरेका कृष्णलाई बा३३प २३७ नम्बरको मोटरसाइकल चलाउने ५३ वर्षीय शम्भु गुरुङले कारलाई उछिनेर ठक्कर दिएपछि अरु अङ्गमा भन्दा पनि टाउकोमा बढी चोट परेको रहेछ। प्रहरीले तत्काल उद्दार गरी सुरुमा काठमाडौँ अस्पताल र त्यसपछि वीर अस्पतालको ट्रमा सेन्टर पुर्‍यायो। तत्काल अस्पताल पुर्‍याएर शल्यक्रिया नगरेको भए त ज्यान पनि जान सक्थ्यो। सामान्य मान्छे भएको भए त आइसियु पनि छैन भनेर पठाइदिन्थे। धन्न आइसियुको बेड पनि पाइएछ।

शल्यक्रिया (Decompressive Craniectomy) गर्दा पनि एकदमै जोखिमपूर्ण अवस्थामा गरिएको थियो। यो भनेको के भनेर गुगल गरी हेर्दा थाहा भयो, सुन्निएको ब्रेनलाई ठाउँ दिनका लागि टाउकोको हड्डी निकाल्नु रहेछ। शल्यक्रियापछि बोली नफर्कने, प्यारालाइसिस हुनसक्ने, पुराना कुरा सम्झन नसक्ने धेरै जोखिम रहेछन्।

धन्न त्यस्तो केही भएन। कृष्ण आफै विपश्यनाका साधक, सकारात्मक सोचका धनी। अचेत अवस्थामा पनि शरीरमा विपश्यनाका केही प्रभाव देखा परेको उनका ससुराले सुनाएका थिए।अहिले उनको मेमोरी पनि लगभग पूरै फर्किसकेको छ। दुर्घटनाको दिन अफिसबाट निस्केकोसम्म र त्यसपछि दुई हप्तापछि जनरल वार्डमा सारेपछिको सबै घटना उनलाई याद छ। दुई हप्ता कोमामा र १९ दिन आइसियुमा बसेर उनी अहिले घरैमा उपचारकै क्रममा छन्।

अब फेरि पनि कृष्णको एउटा मेजर सर्जरी बाँकी नै छ। टाउकोबाट निकालेर सुरक्षित पार्न पेटमा राखिएको हड्डीलाई फेरि टाउकोमा नै राखेर बन्द गर्नु पर्नेछ। सामान्य जीवनमा फर्कन अझै समय लाग्नेछ। अस्ति भेट्न जाँदा कृष्णले भनेको एउटा वाक्य झल्झली याद आउँछ- ‘म सामान्य गरी खाने मान्छेलाई कस्तो बनाइदियो….’

‘पावर प्रेसर’
यो त भयो दुर्घटनापछि उपचारको कुरा। अब यो परिवारले भोग्नु परेको पीडाको केही नमूना हेरौँ। दुर्घटना गराउने गुरुङ परिवारले सुरुमा थापाथली प्रहरीमा प्रभाव पार्न खोज्यो। श्रीमान् आइसियुमा अचेत अवस्थामा छन्, तर श्रीमतीलाई फोन आउँछ- ल घाइतेलाई लिएर चौकीमा आइदिनु पर्‍यो! उनलाई कस्तो भयो होला? श्रीमान् जीवन मरणको दोसाँधमा अस्पतालको बेडमा लडिरहेका छन्, तर पीडकको परिवारले ‘हुने कुरा भइहाल्छ, मिलिदिनु पर्‍यो’ भन्दै श्रीमतीलाई दबाब दिएको बेला त म आफै पनि आइसियु बाहिरै थिएँ।

दुर्घटना गराउने गुरुङ परिवारको गुरुङ थरका एक कांग्रेसी नेतासित राम्रो सम्बन्ध रहेछ। त्यसपछि कांग्रेसी लिङ्क पछ्याउँदै नेता, पुलिस र प्रशासनसम्म खेल्नसम्मको पावर शो भयो। धन्न, कृष्णकी श्रीमती स्मीता एक्लैले सबको सामना गरिन्। रसुवामा सहायक प्रजिअ भइसकेको र गृह मन्त्रालयमै काम गर्ने सरकारी कर्मचारी भएकोले पनि उनलाई सहयोग भयो र एक-एक पावर प्रेसरलाई उनले निस्तेज पार्न सकिन्। नाथे सोझो पत्रकारको त के भाउ हुनु र, सरकारी कर्मचारीको घटना हुँदासमेत यति धेरै पावर प्रेसरको सामना गर्नुपर्‍यो भने सामान्य मान्छे भएको भए के हुन्थ्यो, प्रष्टै छ।

यो विषयमा काठमाडौँ जिल्ला अदालतमा सवारी अंगभंग मुद्दा अहिले चलिरहेको छ। थुनछेक बहसका क्रममा काठमाडाैं जिल्ला अदालतका न्यायाधीश प्रकाशचन्द्र अधिकारीकाे इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्ने आदेश दियो। उपचार खर्च कति लाग्ने हो यकिन छैन। उपचार खर्चका रुपमा केही रकम दुर्घटना गराउनेले व्यहोर्ने भएको छ। मुद्दाको प्रक्रिया कति लामो जाने हो, थाहा छैन।

यस्तो घटना नयाँ पनि होइन। पूर्वगृह सचिव पद्मराज सुवेदीको २०७४ सालमा जेब्राक्रसबाट बाटो काट्ने क्रममै मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको थियो। त्यसको करिब एक महिनापछि जेठमा जेब्राक्रसमै बसले ठक्कर दिँदा सुनसरीकी २३ वर्षीया रविना चौधरीको ज्यान गएको थियो। जेब्राक्रसमै ठक्कर दिनेहरुलाई थप कडा सजाय दिने कुनै कानुन छैन। त्यसैले पैदल हिँड्दा हेल्मेट लगाएर हिँड्नु पर्ने स्थिति छ।

सडक पेटीबाट हिँड्दा ज्यानै जाने!

जेब्राक्रसबाट बाटो काट्दा मात्र हैन सडक पेटीबाट हिँड्दा पनि ज्यान गयो ३८ वर्षकी लीला देवकोटाको गएको शनिबार। घरमा श्रीमानबाहेक १५ वर्षको छोरा र दुई छोरी रहेछन्। तीन सन्तानको जीविका उनैले धानिरहेकी। गोरखा घर भए पनि हाल काठमाडौँमा बसोबास। पश्मिना उद्योगमा सामान्य काम गरेर जीविका चलाइरहेका।

त्यो दिन बिहान करिब साढे १० बजेतिर बा १४ च ६१२३ नम्बरको कारले बूढानीलकण्ठ स्कुलको गेटनजिकै सडक पेटीमा हिँडिरहेकी लीलालाई ठक्कर दिएको थियो। मान्छेलाई किचेर हुत्तिएको कार बिजुलीको खम्बामा ठोक्किएपछि रोकिएको थियो। यो क्रममा कारले दुई वटा मोटरसाइकललाई पनि क्षति पुर्‍याएको थियो।


फोटो साभार : थाहाखबर

घाइतेलाई तत्काल नजिकैको न्यूरो अस्पताल नलगेका पनि हैनन्, तर डाक्टरहरुले मृत्यु भइसकेको घोषणा गरे।

यो विषयमा पहिलो पटक विस्तृत समाचार लेख्ने थाहाखबरको समाचारमा कारभित्र रक्सीका बोतल र मादक पदार्थसमेत भेटिएको, कारमा दुई जना युवक र दुई जना युवती रहेकामा दुई जना युवती घटना लगत्तै भागेको, उनीहरु रातभर काठमाडौंका रात्रिकालिन बजारमा मादक पदार्थ पिएर बिहानीपख शिवपुरी नजिककैको डाँडागाउँ पुगेको, त्यहाँ पनि मदिरा पिएको, मदिरा पिएर मातेर गाडी चलाउँदा दुर्घटना भएको उल्लेख छ।

मूलधारका मिडियामा खासै कुरा नआए पनि सोसल मिडियामा भने यसबारे चर्चा भयो।

कशिशदास श्रेष्ठले यसबारे धेरै ट्विट गरेका छन्। एउटा चाहिँ रुटिन अफ नेपाल बन्द पेज बारे छ। अचेलको नयाँ पुस्तामाझ एकदमै प्रभावशाली रुटिन अफ नेपाल बन्द फेसबुक पेजले ससानो सवारी दुर्घटनाको बारेमा पनि समाचार पोस्ट गरिरहेको हुन्छ। तर यो दुर्घटनाबारे भने अहिलेसम्म केही पनि लेखेको छैन। ट्विट अनुसार यो फेसबुक पेजको अकाउन्ट मेनेजर र यो दुर्घटना गराउने चालक र त्यसमा रहेका यात्रु साथी हुन्।

गाडी चलाउने पृथ्वी मल्ल प्रभावशाली परिवारका हुन्। उनका पिता युएन ह्याबिट्याटमा काम गर्छन् भने आमा पनि एनजिओमा काम गर्छन्।

थाहाखबरका अनुसार लिलाको ज्यान लिनेगरी कार चलाउने मल्ल पाँच दिनअघि मात्रै अमेरिकाबाट फर्किएका र अमेरिकामा पनि मादक पदार्थ पिएर पटक-पटक वितण्डा मच्चाएका थिए।

दुर्घटना गराउने कारमा रहेका २१ वर्षीय पृथ्वी मल्ल र २० वर्षीय करिश मास्केलाई प्रहरीले तत्कालै समातेको थियो। दुई युवती भने भागेकी थिइन्। भाग्ने युवतीबारे पत्रकार केपी ढुंगाना भन्छन्-

इन्स्टाग्राममा दुर्घटनाभन्दा केही घण्टाअघिको भन्दै फोटो समेत हालिएको छ

कारभित्र रहेर घटनास्थलबाट भागेका मध्ये दुई युवती मोडल रहेको र तीमध्ये चर्चित एक मोडल हिजो राति काठमाडौँमा भएको फेसन सोमा समेत सहभागी भएको ट्विटमा उल्लेख छ

सोसल मिडियाका पोस्टहरुका अनुसार यो बारे सोध्नेहरुलाई ती मोडलले इन्स्टाग्राममा ब्लक गरिरहेकी छिन्। २ लाखभन्दा बढी फलोअर्स रहेको अकाउन्टलाई उनले प्राइभेट बनाएकी छिन्।

कशिशदास श्रेष्ठले सेयर गरेको एउटा ट्विटमा रिच किड्स अफ नेपाल नामको इन्स्टा अकाउन्टले सेयर गरेको एउटा पोस्ट पनि छ जहाँ ती व्यक्तिले यो घटनाबारे चर्चा नगर्न आग्रह गरेका छन्-

लीलाका देवर यादव देवकोटाले दुई वटा मार्मिक ट्विट गरेका छन्-

हाम्रो कानुन भने बलियो छैन। नेपालको जे व्याख्या गरे पनि हुने कानुन छ। सवारी तथा यातायात व्यवस्था ऐनमा चालकको नियतअनुसार सजाय तोकिएको छ। नियत व्याख्या गर्ने काम अदालतले गर्छ। ऐनको दफा १६१ मा ज्यान मार्ने नियत नभए पनि दुर्घटनामा मृत्यु भएको खण्डमा १ वर्ष कैद २ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्छ। यसैगरी नियतवश किचेर वा सवारी साधन ठोक्काएर ज्यान लिएको देखिएमा सवारी चालक प्रमाणपत्र लिएकाको हकमा दुई वर्षदेखि १२ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ।

पावरफूल र धनी व्यक्तिको परिवार भएका कारण यो केस कसरी अघि बढ्छ, हेर्न बाँकी छ। सोसल मिडियाको दबाबका कारण आज बुधबार प्रमुख अनलाइनहरुले यसबारे समाचार भने लेखेका छन्।

काठमाडौँ पोस्टको यो समाचारमा विस्तृत विवरण छ।

2 comments to पैदल हिँड्दा पनि असुरक्षित, अब के हेल्मेट लगाएर हिँड्ने? अझ दुर्घटना गराएपछि ‘पावर शो’ !

  • madan bajracharya

    संबिधान बदलियो तर यातायातको साधनलाई हत्याको साधन बनाउनेलाई दण्ड दिने कानुन बनेन।अहिले जुन कानुन छ तेस्ले तेस्तालाई दुरत्साहित गराउन होईन उल्टै प्रोत्साहन गर्छ। तापनि तेस्तो कानुनलाई संसोधन समेत गरेको छैन; कारण:
    क) चालक र यातायात ब्यबसाईहरु कुनै न कुनै रुपमा दलका दल्लेपिल्ले भयकोले हो बा दल र दल्कालाई पाल्नेनै भयकोले हो ?
    ख) आ हामी मर्ने होईन ५ बर्समा यक चोटी भोट दिन जन्मेका दुई खुट्टे पशु मात्रै मर्ने त् हो ठानेकोले हो?
    ग) आफ्ना र आफ्नो दलको बिरोध गर्ने सिध्याउन परिचालित गर्नु पर्ने भनेर हो?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Nirum

    Punishment for the culprit and support for the victim has to be in place with immediate effect. Secondly, to discourage this kind of activity, the government need to establish a framework with international agencies, whether it is the US or other nations, so that culprit won’t commit the same.

    Source force still appears to be a factor that encourages this kind of ill-act. It is unfortunate that the law of the land still in the grip of wealthy and influential people. Talking high and delivering speech does not bring safety harness for deprived.

    it is not long to wait, people resist the pressure of affluent ONLY to an extent.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0