यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

एउटा बिरालोको त्यस्तो फोटो जसले अनुसन्धानकर्मीहरु समेत अलमलमा परे


सन् २०१३ मा हुम्ला जिल्लाको लिमि उपत्यकामा राखिएका केही स्वचालित क्यामेरामध्ये एउटामा अनौठो बिरालो परेको थियो। अनुसन्धानकर्मीहरु निकै खुसी भए। करिब ४००० मिटरको उचाइ र गाउँदेखि निकै पर सो बिरालो परेको थियो। रातको समयमा परेको सो प्रजाति घर पालुवा होइन भन्नेमा ‘प्रकृतिका साथीहरू’का अनुसन्धानकर्मी ढुक्क थिए। उनीहरू यो प्रजाति यसअघि नेपालबाट अभिलेख नगरिएको ‘यूरेसिएन वाइल्ड क्याट’ (यूरेसिएन वन बिरालो) हो भन्नेमा थिए।

काठमाडौँ फर्केपछि क्यामेरामा परेको फोटो विज्ञहरूलाई पठाए पछि उनीहरू निराश बने। विज्ञहरूले यो प्रजाति घर पालुवा हुन सक्ने, वा घर बाट भागेर जङ्गली जस्तै भइसकेको हुनु पर्ने बताए। केहीले सो बिरालोको फोटो सफा गरेर लिमी क्षेत्रको हाल्जी गाउँमा घरघरमा सोध्नु पर्ने समेत बताए। तर धेरै जसोको तर्क थियो ‘यो प्रजातिको अनुवंशिक परीक्षण नगरेसम्म केही भन्न सकिन्न।’

तर यो तर्कसँग प्राध्यापक करनबहादुर शाह सहमत थिएनन्। उनी भन्थे ‘यो घरपालुवा हुन सक्दैन। ‘रातको समय, गाउँदेखि निकै पर पनि छ।’ उनले यो प्रजातिबारे थप अनुसन्धानको लागि घच्घच्याउने काम गरी रहे। उनी पनि यो प्रजाति नेपालको लागि नयाँ हो भन्नेमा ढुक्क थिए।

यो प्रजातिबारे चर्चा चलिरहँदा अनुसन्धानकर्मी ज्योतेन्द्र ज्यू ठकुरीले सन् २०१९ मा तनहुँ जिल्लामा, फोटोग्राफर चुम्बा शेर्पाले सन् २०१९ मा काठमाडौँमा, फोटोग्राफर तथा संरक्षणकर्मी टासी आर घलेले सन् २०१५ मा हुम्लामा, संचारकर्मी मधु नेपालले सन् २०१३ मा काभ्रेपलान्चोक जिल्लामा सोही प्रजाति जस्तो देखिने वन बिरालोको फोटो खिचे। यी फोटोहरू मध्ये तनहुँ र हुम्लामा खिचिएका तस्बिर हेर्दा प्रस्ट रूपमा यिनीहरू ‘यूरेसिएन वाइल्ड क्याट’ सँग मिल्ने देखिन्छन्।

तनहुँमा खिचिएको तस्बिर प्रस्ट रूपमा ‘यूरासियन वाइल्ड क्याट’को भारतमा भेटिएको प्रजातिसँग मिल्छ। ५०० किलोमिटर पर भारतमा यसको अभिलेख छ। तर पनि शत प्रतिशत नेपालको लागि नयाँ प्रजाति भन्न सकिने अवस्था छैन। त्यस्तै हुम्लामा भेटिएको प्रजाति ७०० किलोमिटर पर चीनमा भेटिएको प्रजातिसँग मिल्छ। यसको पनि समस्या तनहुँ जस्तै हो। समग्रमा सो प्रजाति नेपालको लागि नयाँ हो वा होइन भन्ने बारेमा अझै यकिन भइसकेको छैन।

भर्खरै अन्तर्राष्ट्रिय संरक्षण सङ्घद्वारा प्रकाशित ‘क्याट न्युज’ पत्रिकामा सो बारे नेपाली वन्यजन्तु अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुले ‘अनुवंशिक अनुसन्धानमा’ जान वा यिनलाई बाहिरबाट हेर्ने बित्तिकै पत्ता लाग्ने विधिबारे थप अनुसन्धान अघि बढाउन सरोकारवालाहरूलाई अनुरोध गरेको छ। यो प्रविधिको विकास युरोपमा भने गरिएको छ। यादव घिमिरेको नेतृत्वमा तयार गरिएको सो वैज्ञानिक लेखमा सह लेखकको रूपमा राजु आचार्य, विधान अधिकारी, रिन्जिन फोंन्जोक लामा, ज्योतेन्द्र ज्यू ठकुरी, चुम्बा शेर्पा, टासी आर घले, मधु नेपाल र प्राध्यापक करनबहादुर साह रहेका छन्।

नेपालमा अहिलेसम्म १२ प्रजातिका वन बिरालाहरु अभिलेख गरिएका छन्। सो मध्ये बाघ सबैभन्दा ठुलो हो भने ‘रस्टि स्पोटेड क्याट’ सबै भन्दा सानो हो। ‘यूरेसिएन वाइल्ड क्याट’ पनि प्रमाणित भए नेपालमा यिनको सङ्ख्या १३ पुग्ने छ। वन बिरालाहरूले वातावरण सन्तुलन राख्न र पर्यापर्यटन वृद्धि गर्नका लागि ठुलो भूमिका निर्वाह गर्दछन्। साथै मानव धर्म र संस्कृति सँग पनि यिनको बलियो सम्बन्ध रहेको पाइन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विभिन्न सरोकारवालाहरू सँग मिलेर बाघ, हिउँ चितुवा र ध्वाँसे चितुवाको अध्ययन र अनुसन्धानमा विशेष कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

1 comment to एउटा बिरालोको त्यस्तो फोटो जसले अनुसन्धानकर्मीहरु समेत अलमलमा परे

  • श्रीकृष्ण अधिकारी

    बिरालोको विवादमा सर्वसाधारणलाई अल्मल्याएर ठुलै राजनितिक उथलपुथल गर्ने संकेत त होईन नि । यस्ता नाथे बिरालो त हाम्रा गाँउघर नजिकका जंगलमा कति छन् कति छन् । फोटो खिच्न मात्र नभ्याएको हो ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0