यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

बाउआमा मरेपछि अंश लिन मात्र नेपाल जाने

-श्रवण कुमार-

“तिनका बाउ आमा मर्छन्, अनि बल्ल जाने नेपाल आफ्नो अंश लिनलाई। नत्र किन जाने अहिले सबैको नोकर हुनलाई? “, मन्दिरा भाउजूले च्याँठिएर भनिन्। कुरा क्रिसमसको हो, स्थान बाल्टिमोर – अमेरिका। २ वर्षमा मन्दिरा भाउजूमा निक्कै परिवर्तन आएछ। २ वर्ष अघिसम्म सासु ससुरा भनेका हाम्रा आफ्ना जन्मदिने बाउ आमा समान हुन्छन्, उहाँहरुको सेवा गर्नु हाम्रो धर्म हो भन्ने मन्दिरा भाउजूको आवाज मेरो कानमा गुन्जेको हिजो जस्तो लाग्छ। बुहारी होस् त यस्तो , रमेश दाइभन्दा बढी भाउजूले सासु ससुराको हेरविचार गर्ने रैछिन भनेर मलाई लाग्या थियो। तर आज एक्कासी….

हाम्रो रगतको नाता नभए पनि आफ्नै दाजु भाइ जसरी मिलेर बसेका थियौं नेपालमा डेरामा सँगै बस्दा। त्यो बेला मन्दिरा भाउजूले भन्नु हुन्थ्यो, सासु ससुराको सेवा गर्नु हाम्रो धर्म हो, उहाँहरुलाई हामीले नहेरे कसले हेर्छ ? रमेश दाजुले आफ्नो बुवा वा आमाको जन्म दिन बिर्से पनि भाउजूलाई याद रहन्थ्यो र दाइलाई बिहान उठ्नासाथ जनकपुर घरमा आमालाई फोन गर्न लाउँथिन्। दाइ आफूले खोजेको जस्तो बुढी पाएर मख्ख थिए भने भाउजू पनि जाँड रक्सी नखाने सीधा सोझा बूढा पाएर मख्ख थिए।

झन्डै डेढ वर्ष सँगै बसेपछि मैले अमेरिकाको एउटा युनिभर्सिटीमा पीएचडी गर्ने मौका पाएँ। अमेरिका जान लाग्दा मन्दिरा भाउजूले आँखाभरी आँसु पारेर भनेकी थिइन् “श्रवण बाबु, मान्छे विदेश गए पछि विदेशी हुन्छन्, आफ्नो घर -परिवार र देशलाई पनि बिर्सन्छन् , बाबुले त्यसो नगर्नु होला। संसारमा जन्म दिने बाउ आमा र देश भन्दा ठूलो कुरा केही हुन्न, पैसाले त्यो सब कुरा किन्न सकिन्न…..धेरै पढेर नेपाल नै फर्केर आउनू , बाबु जस्तो राम्रो मान्छेको खाँचो छ यो देशमा। हामीलाई नबिर्सनू……”

सुरु सुरुमा महिनामा १-२ पटक कहिले यता कहिले उताबाट हाम्रो फोनमा कुरा हुन्थ्यो। पछि-पछि २-३ महिनामा एक पटक कुरा हुन थाल्यो। तर पनि सम्बन्ध उही पुरानो थियो, राम्रो थियो। म अमेरिका आएको एक वर्षपछि मन्दिरा भाउजुलाई डिभी लोटरी पर्‍यो। मलाई फोन गरेर सुनाउनु भयो दाइभाउजूले। मैले बधाई दिएँ र कोलोराडो आउने निम्ता पनि दिएँ। बीचमा मेरो फोन नम्बर परिवर्तन भयो, अनि म पनि आफ्नो पढाइमा अलिक ब्यस्त भएछु। त्यसैले उहाँहरु अमेरिका आइसकेको वा आउन बाँकी भन्ने खबर थाहा पाइएन। हुनत मन्दिरा भाउजूकी मितिनी बाल्टिमोरमा छिन्, सुरुमा उनैकहाँ जाने भन्ने कुरा फोनमा भएको थियो । काम पाइए बाल्टिमोर मै बस्ने नत्र कोलोराडो आउने कुरा थियो। आउना साथै दुवै जनाले काम भेटेछन्। रमेश दाजुले ग्यास स्टेशनमा र भाउजूले मसाज सेन्टरमा। मलाई त थाहा नै भएन उहाँहरु आइसकेको, उहाँहरु चाहिं मेरो फोन नलागेर दिक्क मानेर बसेका रहेछन् ६ महिनादेखि। धन्न फेसबुक , मन्दिरा भाउजूले मलाई भेटिन् त्यसमा र मेसेज पठाइन्। पाउना साथ फोन गरेँ, सुरुमा दुवै जना रिसाए मैले बिर्सेँ भनेर। तर पछि एकछिन को भलाकुसारीपछि सबै कुरा मिल्यो। झन्डै १ घण्टा ४० मिनेट गफ भयो हाम्रो फोनमा र चाँडै भेट्ने वाचा पनि गरेँ मैले क्रिसमसमा बाल्टिमोर आउँछु भनेर।

६ महिनामा मेरो र दाजु-भाउजुको हप्तैपिच्छे झन्डै आधा घण्टा गफ हुन्थ्योl सुरु सुरुमा अमेरिकामा आएर पाएको दुःख, अनि कामको दुःखका कुरा हुन्थे। म पनि उहाँहरुलाई हौस्याउँथे। अमेरिका भनेको यही हो- सुरुमा दुःख , पछि सुख। तर पछि-पछि फोनमा कुरा गर्दै जाँदा रमेश दाजुको आवाजमा एक किसिमको सन्नाटा छाएको पाएँ मैले। मानौँ मनमा अनेकौँ कुराहरु गुम्सिएर बसेका छन्, तर पोख्ने ठाउँ पाएको छैन। भित्र-भित्र पिडित सुनिन्थे रमेश दाजु तर मन्दिरा भाउजूमा त्यस्तो थिएन। उनी फोन गरे पिच्छे आफू अमेरिकामा निक्कै खुसी भएको र सँधै यहीँ बस्ने मनसाय भएको कुरा सुनाउँथिन् मलाई। खैर…..डलरको गर्मी होला सबै भनेर मैले उनको कुरा लाई इजी लिन्थें। यसरी नै ६ महिना पनि बित्यो र आखिर हाम्रो अमेरिकामा भेट हुने दिन पनि आयो। म २२ डिसेम्बरमा बाल्टिमोर आएँ।

बाल्टिमोरमा मेरो नेपाल देखिकै मिल्ने साथी थियो सागर। ३ वर्षअघि मास्टर्स डिग्री गर्न आएको र अहिले पढाइ सकेर आफ्नै पढाइ अनुसारको काम गरेर बसेको। म सुरुमा उसकोमै गएँ किनकि उसले पनि मलाई बोलाएको बोलायै थियो। दोस्रो ऊ एक्लै बस्थ्यो, बिहा गरेको थिएन। त्यहाँ पुगेको भोलिपल्ट मैले मन्दिरा भाउजूलाई फोन गरें , म बाल्टिमोर आइसकें भनेर। सुरुमा उनी रिसाइन् किन सिधै उनकोमा नगएको भनेर। पछि मैले कुरा मिलाएँ र २५ डिसेम्बर क्रिसमसको दिन उनको घरमा आउने वाचा गरेँ। साँझको ६ बजेको थियो, म एउटा फूलको गुच्छा र एउटा चकलेटको राम्रो प्याकेट बोकेर उनको घर पुगेँ ट्याक्सीमा। घर बाहिर हल्ला सुनिन्थ्यो मान्छेको, म बिस्तारै ढोका नजिक पुगें र बेल बजाएँ। रमेश दाजुले धोका खोल्नु भयो, मलाई देखेर खुसी हुनु भयो तर कता कता डराए जस्तो पनि गर्नुभयो। दाजुले अंकमाल गर्दै मलाई भित्र लानु भयो बैठक कोठातिर। त्यहाँ ६-७ जना महिला र ८-९ जना पुरुषहरु पनि रहेछन पहिलेदेखि नै , सबै आ- आफ्नै धुनमा मस्त थिए। कोइ वाइनको गिलास हातमा लिएर नाच्दै थिए भने कोही एक झुप्प भएर कुरा गरिरहेका थिए, तर कसैले म कोठामा आएको चाल पनि पाएनन्। पाउन् पनि कसरी , त्यत्रो ठूलो स्वरमा अंग्रेजी गाना घन्किरहेको थियो ” पापा राजी “। रमेश दाजुले साउन्डको भोल्युम घटाउनु भयो र सबैको ध्यान आकर्षण गर्दै मेरो परिचय गराउनु भयो। त्यस्को एकछिनमा मन्दिरा भाउजू आउनु भयो किचेनबाट ठूलो क्रिसमस केक बोकेर। मैले हत्तपत्त आफुले लिएर आएको कोसेली भाउजूलाई दिएँ र क्रिसमस विस गरें। भाउजू मलाई देखेर निकै खुशी भइन् र मलाई एउटा वाइनको ग्लास तेर्साइन्। म त नेपाल मै पनि यसो कहिलेकाहीं साथीभाइको जमघटमा बियर पिउँथेँ। वाइन भने राम्ररी अमेरिकामै सुरु गरेको थिएँ। मेरो लागि ठूलो कुरा थिएन वाइन। त्यसैले मैले पनि सबैसँग तालमा ताल साथ दिएँ “क्रिसमस चीयर्स “। अचानक मेरो आँखा रमेश दाजुमा पर्‍यो। उहाँ खाली ट्रे लिएर किचेनतिर लाग्नु भयो। म उहाँको पछि-पछि गएँ। रमेश दाजुले म तिर नहेरी भन्नु भयो- चिकेन विन्ग्स सकिएछ, त्यसैले यहाँ लिन आएको। दाजुसँगै म पनि किचेनबाट बाहिर निस्केँ, बैठकतिर।

अरे म के देख्दैछु, मन्दिरा भाउजू वाइनको गिलास हातमा हल्लाउँदै एक हुल केटाहरुको भीडमा नाच्दै पो छिन् त। मलाई आफ्नो आँखामा विश्वास भएन, के यो त्यही मन्दिरा भाउजू हो जो नेपालमा हुँदा कोकको सट्टा फेन्टा पिउँथिन् र मलाई पनि बियर खान हुन्न बाबु भन्थिन्? अमेरिका आएको ६ महिनामा यत्रो परिवर्तन ! अहो कस्तो आश्चर्य !!

मैले रमेश दाजु तिर हेरें, उहाँ एउटा कोकको क्यान हातमा लिएर अरुलाई देखाउने हाँसो देखाएर बसेका थिए। बुढीको चर्तिकला उनलाई मन परेको थिएन तर बोल्न सकेका थिएनन् उनी। दया लाग्यो मलाई दाजुप्रति। तर केही बोलिनँ। एवंरितले ८-९-१० बज्न थाल्यो, मान्छे हरु पनि झ्याप हुँदै आ-आफ्नो घरतिर लागे। मैले पनि साथीकोमा जान बिदा मागेँ। भाउजू रिसाइन् र आज त्यतै बस्न कर गरिन्। मलाई भाउजूको हर्कत देखेर बस्न मन थिएन, रमेश दाजुको आग्रह काट्न सकिनँ र त्यहीँ बस्ने निधो गरें।

रातको ११ बजेको थियो, घर खाली भयो, मात्र हामी ३ जना थियौं त्यहाँ। अब हाम्रो कुरा भलाकुसारी सुरु भयो। पहिले मैले आफ्नो वृतान्त सकें। त्यसपछि रमेश दाजु ले सुरु सुरुमा आफूले अमेरिका आउने बित्तिकै पाएको दुःख फेरि सुनाउनु भयो। त्यति बेलासम्म मन्दिरा भाउजू लगभग झ्याप भैसकेकी थिइन्। उनले दाजुको दुखेसो सकिने नपाउँदै प्वाक्क बोलिन्, कति त्यही गनगन ? यस्ता हुतिहाराले किन अमेरिका आउनु, बसे भैगयो नि नेपालमा बाउआमाको काख समाएर ! कस्तो कठोर वचन, सुन्दै आङ जिरिङ्ग हुने।

लौ जानु तपाईं सुत्नलाई, भोलि ६ बजे काम होइन ? भोलि कामबाट फर्केर आएपछि कुरा गर्नु बाबुसँग, आफ्नो त भोलि काम छुट्टी, रातभर बाबुसँग कुरा गरेर बस्ने हो। रमेश दाजु लुरुक्क उठेर जानु भयो, भाइ निन्द्रा लग्यो म सुत्छु, भोलि फेरि बिहान काम छ, उताबाट आएर कुरा गरौंला हुन्न ? दाजुको आँखा मलिन देखिन्थें, मैले उनलाई खुशी बनाउन पनि भनेँ भइहाल्छ नि, भोलि दाजुभाइ मज्जाले गफ गरौंला।

भाउजूले दाजुलाई भनेको सुन्दा मलाई उनीसँग कुरा गर्ने रहर हराइसकेको थियो। त्यही पनि १२ बजे राति कता जानु साथीकोमा ? ऊ पनि आफ्नो पर्ने मामाको घर भर्जिनिया गएको थियो। त्यसैले मन नलागी-नलागी बसेँ भाउजुको गफ सुन्न। भाउजूले कुरा उकेलिन्, म नभाको भए अमेरिकामा तपाईंको दाजुको कमाईले खान पनि पुग्दैनथ्यो, बुझ्नुभयो ? मुला ७ डलर घण्टाको काम गर्छन् , हफ्ता को ५० घण्टा , त्यो पनि धोतीको ग्यास स्टेशनमा , मलाई फूर्ति देखाउँछन्। उनको कमाई महिनाको १२ सय डलर , जबकि हाम्रो फ्लाटको मासिक भाडा नै झन्डै १५ सय हुन्छ, बिजुली , गास, इन्टरनेट , फोन गरेर। खै खाने, लाउने खर्च ? गाडीको खर्च, मोबाइलको खर्च खै ? उनको एक्लो कमाई हुँदो हो त आज हामी बाटोमा मागेर हिँड्नुपर्थ्यो , भोकै हुनु पर्थ्यो , अहिले रुन्चे आँसु देखाउँछन् नामर्द।

मन्दिरा भाउजूको मुखबाट दाइप्रति त्यस्तो कुरा मैले कल्पना पनि गर्न सकेको थिइनँ….यो कानले के सुन्नु पर्‍यो ? मलाई भित्रभित्र मन पोल्न थालिसकेको थियो। अब मलाई भाउजू प्रति घृणा जागिसकेको थियो, म अरु कुरा सुन्न चाहन्नथें, तर पनि उनले सुन्न बाध्य बनाइन्।

मान्छेले परदेशमा कत्ति दुःख पाउँछन्, हामीले त्यस्तो केहि भोग्नु परेन। अमेरिका आउने बित्तिकै मितिनीको घरमा आइयो, एक महिना फ्रीमा बसियो, मितिनीले नै एक महिना पछि दाजुलाई काम लगाइदिए अहिलेको ग्यास स्टेशनमा। अहिलेको फ्लाट पनि मितिनीले नै खोजिदिएकी हुन् हामीलाई यति सस्तोमा। सुरुमा ४ महिनासम्म दाजु को नाइट ड्युटी थियो, पछि मितिनीलाई भनेर दे टाइममा सारेको, अब के चाहियो उनलाई ? नेपालमा भाको भए उही मास्टरी जागिर गुन्द्रुक भात पनि राम्ररी खान पाउँदैन थिए, अहिले मात लागेको यिनलाई “कुकुरलाई घिउ पच्दैन भन्छन नि यिनलाई त्यही भाको हो, अरु केही होइन बुझ्नु भो ?

अब मेरा कन्सिरी का रौँ ताती सकेका थिए, जुरुक्कै उठेर जाउँ भैसकेको थियो, तेही पनि रमेश दाजुसँग अन्तिम पटक भोलि बिहान बिदा भएर मात्र जान्छु भन्ने सोचेर बसें चुपचाप। भाउजूले मुख लेपारेर भनिन, थाहा छ मा कति कमाउँछु भनेर ,महिनाको ५०००, नेपाली होइन डलर बाबु , अमेरिकी डलर। यहाँको नाम चलेको मसाज सेन्टर मेरो मितिनीको हो, उनको मै काम गर्छु म। घण्टाको ५० डलर हुन्छ , टिप्स अलग्गै , हफ्ता को ३० घण्टा गर्दा पनि काफी हुन्छ मलाई। नेपालको भन्दा राम्रो बसाई छ, खानपिन दामी छ, महंगा महंगा लुगा लगाउन पाएको छ, गाडी चढिएको छ, बाहिर महँगा रेस्टुरेन्टमा खान पाइएको छ, अब के चाहियो तिनलाई ? दुखियालाई दुखी ठाउँ नै ठिक भन्थे, हो रैछ बाबु। नेपालमा दुख पाएर बस्नु पर्ने मान्छे , यहाँ सुख पाएर मातिएका, भाउजूले फेरि हेपिन् दाजुलाई।

कुरा गर्दै जाँदा रातको २ बज्न लागिसकेको थियो, मलाई निन्द्रा पनि लागि सकेको थियो, तर भाउजूको फूर्तिफार्ती भने सकिएको थिएन। मैले कुरा टुंग्याउने निधो गरे र भाउजूलाई सोधे , भाउजू अब नेपाल नजाने त? मेरो प्रस्न सकिद नसकिदै मन्दिरा भाउजूले च्याठियेर भनिन “तिनका बाउ आमा मर्छन , अनि बल्ल जाने नेपाल आफ्नो अंश लिनलाई , नत्र किन जाने अहिले -सबैको नोक्कर हुनलाई? ” तीनका जेठा दाजु छदै छन् नि बाउ आमा रुन्ग्नलाई , हामी किन जाने त्यहाँ दुखः पाउना लाई , खाचै सित्ति। अहिले उमेरमा नगरेको मोज-मस्ती कहिले गर्ने , बुढेसकालमा ? नेपालमा बस्यो, सासु-ससुरा भन्यो, नन्द आमाजू भन्यो, काका काकी, मामा-माइजु, भाई- भतिजा , दुनियाको नोक्कर। भान्छा, बारी , घरको र दुनिया खाते हरुको चाकरी गर्दै जिन्दगी जान्छ, अनि फेरि बच्चा ….ओह नो। मलाई त्यो सब कुराको बाल छैन, उमेर छौँजेल अमेरिका मै मोज गरेर बसिन्छ, न कसैको चिन्ता , न कसैको टेन्सन। कसैको कुरा पनि सुन्नु पर्दैन, कसैलाई केहि गर्नु पनि पर्दैन…आनन्दले येही बसिन्छ। नेपाल जाने परे पनि ती बुडा बुडी मरे पछि बल्ल जाने हो, आफ्नो अंश लिन लाई, नत्र गईन्न नेपाल , उही २-३ वर्ष म एक पटक घुम्न जाने हो , उनले फेरि मुख लेपारिन्।

२ वर्ष अगाडि मैले देखेको मन्दिरा भाउजू र अहिलेको मन्दिरा भाउजू म जमिन आकाशको फरक भइसकेछ। मलाई पत्याउन गाह्रो भइसकेको थियो, मान्छेलाई विदेशको हावा पानीले यति छिट्टै परिवर्तन गरौँछ भनेर। उनी थप्दै थिइन्, यिनले धेरै निहुँ खोजे भने म पनि मितिनीले आफ्नो बुढालाई छोडे जस्तै इन्लाई छोडेर एक्लै बस्छु, आ केको कच् कच् सधैं? यहाँ एक्लैको कमाईले खान पुग्दैन, मैले काम नगरी यिनको मुखमा माम जाँदैन भने म किन सधैं यिनको कच् पच सुनेर बस्ने ? बरु एक्लै बस्छु, पछि कोइ भेटे भने अर्को पोइ खोजौंला……अमेरिका म डलर भए सबै कुरा पाइन्छ बाबु, उनी जोडले हाँसिन्।

मलाई पुगिसकेको थियो, मैले मन मनै भने ” हे मुर्ख मान्छे, पैसा ले सबै भौतिक कुरा किन्न सके पनि , चोखो माया किन्न सक्दैन, आफुलाई जन्म दिने बाउ आमा किन्न सक्दैन, आफ्नो देशको प्रेम किन्न सक्दैन। तलाई अहिले अमेरिकाको डलरले अन्धो बनाएछ, तेरो बुद्धिमा किरा परेछ। भगवान यो आइमईलाई सदबुद्धी दिनुस, रमेश दाजुको खुसीको लागि भए नि एसको घैंटोमा चाडै घाम लगाईदिनुस “। एती कुरा मनमनै भन्दै म बसेको सोफा बाट जुरुक उठें र भने भाउजू म कहाँ सुत्ने हो, बेड रेडी छ ? तेसो भन्दै म बाथरूम गएँ, आउँदा भाउजूले गेस्टरूमको ढोका खोलि सक्नु भा थियो, गुड नाइट भनेर अनुहार तिर नहेरी म कोठामा छिरें र चुक्कुल लगाएँl करिब ३ बाजी सकेको थियो , भाउजूले बोलेका तीता बचन मेरा कानमा गुन्जी रहेका थिए। करिब १ घण्टा को छटपटाहत पछि बल्ल निदाएछु, एकै छिनमा बाथरूमको ढोका खोलेको आवाज सुने। येसो घडी हेरेको ५ बजेको रैछ, रमेश दाजु हुनुहुन्छ भन्ने मलाई लग्यो, किनकि ६ बजे देखि उहाँको काम थियो। म पनि जुरुकै उठें र लुगा लगाएँ, अनि बाहिर लिविंग रूम म रमेश दाजुलाई पर्खें। रमेश दाजी काम मा जान निस्कनु भयो र मलाई देखेर छक्क पर्दै भन्नु भयो, कहाँ एती सबेरै उठेको, बस मा भरे काम बाट आए पछि दाजु भाइ मज्जाले बात मर्नु पर्छ, जौ सुत तिमि। मैले कुरा बनाएँ, कहाँ सुत्नु अब, साथीको कोठाको चाबी मसंगै आएछ, उ कोठा बाहिर वेट गरिराछ, अहिले जानै पर्ने भयो, बरु पछि फेरि आउँला। दाजुले मुसुक्क हाँसेर भन्नुभयो, अब फेरि तिमी आउँदैनौ, मलाई थाहा छ, ल हिँड म तिमीलाई बाटोमा छोडिदिन्छु। म भाउजूको रूमतिर हेर्दा पनि नहेरी दाजुसँग गाडीमा बसेर आफ्नो साथीको कोठातिर लागें। बाटोमै हामी दुई जनाले सायदै केही कुरा गर्‍यौं, त्यतिकैमा मेरो ओर्लने ठाउँ आयो र म गाडीबाट झरें। दाजुका आँखा रसाएका थिए, दाजुले मसँग राम्ररी आँखा जुधाउन सक्नुभएन र म दाजुलाई बाई भनेर पछाडि नफर्की आफ्नो रूम तिर लागें। साथीको रूममा आउनासाथ मेरो पहिलो काम मोबाइलबाट मन्दिरा भाउजू र दाजुको मोबाइल नम्बर ब्लक गरें र फेसबूकबाट दुवै जनालाई अनफ्रेन्ड गरें। अझै कति दिनसम्म ती कुराहरु याद आउने हुन् थाहा छैन, तर पनि मन्दिरा भाउजूसँगको भेटबाट एउटा कुरा के थाहा पाएँ भन्देखि “विदेशमा बुढाबुढी काम गर्ने भैसके पछि र बुढीले बुढाको भन्दा धेरै कमाउने भए पछि, बुढालाई हेप्ने र नेपाल नफर्कने सोच राख्दा रैछन्।”

[सामाजिक कारणले पात्रहरुको नाम परिवर्तन गरेको छु- लेखक]

December 27th, 2011 मा पहिलो पटक प्रकाशित

5 comments to बाउआमा मरेपछि अंश लिन मात्र नेपाल जाने

  • Basant

    मसाज सेंटर मा ५ हजार डलर कमाउने तेस्तो के काम हुदो रहेछ जानन मन लाग्यो!!!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • ठुले जेठा

    केही व्यक्ति विशेषलाई लिएर आम नेपालीहरु अमेरिका आएपछी कसरी आफ्नो धरातल विर्सिन्छन् भनेर समग्ररुपम चारित्रिकरण गर्नु सारै निन्दनीय छ । यो सिवाय अहँरुपी खोक्रो आदर्श भन्दा बढी केही पनि हैन । लेखकलाई बिगत २० वर्षमा नेपालको आर्थिक, सामाजिक र पारिवारिक रुपान्तरणको ज्ञान कमी भएको जस्तो लाग्यो । शायद त्यसैले होला पारिवारबाट अपहेलित, निष्काशित र मारिनुबाट बाँची बृद्धाश्रममा आश्रित हुनपुगेकाहरुको भन्दा अमेरिकाका केहि अपवादहरु लेखकका लागि महत्वपूर्ण कथा बन्न गयो । लेखले पनि आफ्नो धरातल भन्दा माथि उठेर समस्याको जड के हुन सक्छ त्यसमा लेख्न सके राम्रो हुन्थ्यो कि ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • डा. बाबुराम भट्टराइद्वारा लिखित “नेपाली अर्थतन्त्रको आँखिझ्याल” नामको पुस्तक दुइ दशक भन्दा अघि नै पढेको थिएं । धेरै कुरा विर्सि पनि सकें, सायद पुस्तकको नाम पनि ठ्याक्क नमिलेको पनि हुनसक्छ । यस्तै केही थियो नाम ।
    त्यसलमा लेखकले नेपालका महिलाहरू उत्पिडित हुनुको कारणमा कमाइको स्वामित्व विषयलाइ प्रमुख कारण उल्लेख गरेका छन् । वितेका दुइ दशकमा नेपाली समाज (खास गरी मध्यम वर्ग) विकसित देशको कमाइमा र देश रेमिट्यान्सबाट धानिन थालेपछिको वास्तविकतालाइ यो कथाले उजागर गरेको छ र यो विषय वस्तु यथार्थ परक नै छ ।
    डा. भट्टराइको त्यो विष्लेशण पुरै सही हो कि नेपालको मौलिक संस्कृति नै उत्तम हो भन्ने विषयमा म त्यसवेला भ्रमित थिएं । अहिलेको सामाजिक स्वरूपलाइ हेर्दा उनको विष्लेशण सत प्रतिशत ठीक रहेछ र नेपालमा हैकम चलिरहेको पुरूष समाजको भित्री रूप महिला शोषण मै निहित छ भन्ने प्रष्ट देखिन्छ । उत्पिडन सहने बानी परेका महिलाहरू मेलापात गरेर घर धान्ने र पुरूषहरू चौतारामा बसेर तार खेल्ने अनि चिया पसलमा गफ गर्ने, साँझमा भट्टीबाट हल्ला गर्दै घर फर्कने गर्थे । अहिले महिलाहरू विदेशमा पुगेर आफ्नै कमाइमा बाच्न पाउँदा नैतिकताको दाम्लो छिनाल्ने प्रबृत्ति र नेपालमा पुरूषले गर्ने शोषण दुवै गलत हुन । यस्ता प्रबृत्ति सुधार गर्न सके राम्रो त हुन्छ तर नेपालमा उत्पिडन सहिरहन बानी परेका महिलाहरूको यथास्थिति भने अन्यायपूर्ण नै छ ।
    यो कथा बस्तु पुरूष नजर(कोण) बाट लेखिएको छ । यस्तै कथा बस्तु महिला नजर (पक्ष)बाट पनि पढ्न पाए भविष्यको मार्ग अलि राम्रो पनि देखिन सक्छ । बर्तमान त यस्तै भैरहेकै छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • हिमाल नेपालि

    गाउको पाखे एक्कै पटक सहर आएर सहर को बखान गर्या जस्तो भो !! बिदेशमा पनि बाउ आमा सासु ससुरा इस्ट मित्र मान्ने र धान्ने अनि पुरुस भन्दा धेरै कमाउने महिला पनि हुन्चन – एक दुइ जना त नेपाल मै पनि बिग्रेका हुन्चन !!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • yogi

    थाहा छ मा कति कमाउँछु भनेर ,महिनाको ५०००, नेपाली होइन डलर बाबु , अमेरिकी डलर। यहाँको नाम चलेको मसाज सेन्टर मेरो मितिनीको हो, उनको मै काम गर्छु म। घण्टाको ५० डलर हुन्छ , टिप्स अलग्गै , हफ्ता को ३० घण्टा गर्दा पनि काफी हुन्छ मलाई। ……….. माथिको यत्ति कुराले थाहा भयो कि यो सबै एउटा कथा मात्र हो, मन गडन्ते कथा। घण्टा को $५० को दरले हप्ताको ३० घण्टा मात्रै काम गरे पनि $१५०० हुन्छ अनि महिनाको $६०००। अझै ४० घण्टा भयो भने त $८००० हुन्छ + टिप्स $२००० मात्र हिसाब गरेपनि कम्तिमा पनि $८००० हुन आउछ। तर कथाको पात्रको कमाइ जम्मा ५००० मात्र छ। नक्कल गर्न पनि अक्कल चाहिन्छ। येस्ता घटनाहरु नहुने होइन विदेशमा, अनि नेपालमा पनि हुन्छ तर घटनालाई रोचक बनाउन अत्ति बधाई चढाई चाही नगरौ न हो धोति नै फुस्कने गरि…….

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0