यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

‘लोभी पापी’ हराउँदै गएकोमा चिन्ता, के छ फाइदा यसलाई संरक्षण गर्दा?


राप्ति नदीमा आहारा खोज्दै एक जोडी गरुड। फोटो : राम थारु

-प्रशान्त घिमिरे-

कालो शरीर र सेतो घाँटी अनि अग्ला खुट्टा। यसको ठेट नेपाली नाम हो ‘लोभी पापी गरुड’। यो गरुड विश्वमा पाइने १९ र नेपालमा पाइने ८ प्रजाति मध्येको एक हो। सेतो ऊनजस्तो घाँटी भएकोले विश्वमा यसलाई ‘ऊन जस्तो घाँटी भएको गरुड’ भनेर पनि चिनिन्छ। नेपालमा चाहिँ किन ‘लोभी पापी’ भनिएको होला त ?

वरिष्ठ पन्छी विज्ञ एवंम जुलोजिकल सोसाइटी अफ लन्डनका नेपाल प्रतिनिधि डा. हेमसागर बराल एउटा रमाइलो घटना सुनाउँछन्। डा. बरालको टोली त्यो ताका नेपालमा पाइने पन्छीहरुको नेपाली नाम खोज्दै गैँडाकोट पुगेको रहेछ जहाँ यो चराले गुँड लगाएको थियो।

टोलीले दुरबिन निकालेर रुखमाथिको गरुड के हेर्न थालेका थिए, एकजना स्थानीय महिलाले सोधिछिन्- ‘के हेर्नु भा’को सर, लोभी पापीलाई हो?’

कुराकानी हुँदै गर्दा यो खालको गरुडलाई स्थानीयले लोभी पापी गरुड भन्ने गरेको पाएको र त्यो नेपाली नाम रहेको बताउँछन डा. बराल। हालै गरिएको अनुसन्धानले पनि स्थान अनुसार नाम फरक भएको देखाएको छ।

विश्वमा अवस्था

लोभी पापी गरुडको घटदो अवस्थाले यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोषको (IUCN) को रातो सुचीमा ‘संवेदनशील’ मा राखेको छ भने नेपालमा यसलाई संकटापन्नको नजिक भनिएको छ। यो गरुड अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार पाकिस्तान (अहिले निकै कम देखिने), भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यानमार, थाइल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, पश्चिम मलेसिया, इन्डोनेसियामा पाइन्छन्। चीनको युनान प्रान्तमा पनि यसको अभिलेख गरिएको छ। फिलिपिन्समा भने लगभग लोप भएको आशंका गरिएको छ।

नेपालमा अवस्था

१९औ शताब्दीमा पहिलोपल्ट अभिलेख गरिएको यो गरुड पुर्वको झापादेखि पश्चिममा कन्चनपुरसम्मका तराईका जिल्लाहरुमा पाइन्छ भने मध्यपहाडी जिल्ला जस्तै इलाम, संखुवासवा, खोटाङ, धादिङ, नुवाकोट, कास्की, गुल्मी, प्युठान, अर्घाखाँची, सल्यान, जाजरकोटमा पनि भेटिएको छ।

सिन्धुपाल्चोकको कुतुमसाङ्गमा २४७० मि उचाईमा र मनाङ्को भार्का गाउँ नजिक ३५४० मि उचाईमा अभिलेख गरिएको छ जुन दक्षिण एसिया मै अग्लो स्थानमा पाइएको लोभी पापी गरुड हो। यो गरुडको संख्या बारे विस्तृत अनुसन्धान भएको छैन तर जाडो मौसममा सिमसारमा गरिने चरा गणनाले भने यसको संख्या निकै कम देखाएको छ। अन्तर्रास्ट्रिय सिमसार संरक्षण संघका अनुसार २०१५ मा नेपालका विभिन्न ४२ स्थानमा गरिएको गणनामा जम्मा ६२ ओटा लोभी पापी गरुड पाइएको थियो। रुपन्देही र कपिलवस्तुमा गरिएको अनुसन्धानमा २०१७ मा ४१ र २०१८ मा ४६ ओटा लोभीपापी गरुड भेटिएका थिए ।

के छन् त यसलाई खतरा ?

लोभीपापी गरुडले आहारा खोज्ने खेतबालीमा मान्छेको बस्ती बन्दै छन्। अझ भनौ उद्योग कलकारखाना बन्दै छन् जसले यसलाई प्रत्यक्ष असर गरेकै छ। अर्कोतिर यसले गुँड लगाउने अग्ला रुखहरु मास्सिदै गएका छन्। सिमसारहरुको खस्किँदो अवस्थाले पनि यो गरुड लागायत अन्य पन्छीहरुलाई असर गरेको छ। यस गरुडको बच्चाहरु गुँडबाटै निकालेर खाने गरेको पनि देखिन्छ। तर पनि यस्तो अवस्थामा संवेदनशील सुचीमा भएको यस गरुडको अनुसन्धान र संरक्षणको प्रयास निकै कम छ।


बर्दिया राष्ट्रिय निकुन्जमा गैडासँगै रमाइरहेको लोभी पापी गरुड। फोटो : नीकिता फुयाल।

कसरी सम्भव छ यसको संरक्षण ?
खेतबालीमा रासायनिक विषादीको न्यून प्रयोग गर्ने, समयमै चोरीसिकारी रोकी बासस्थानको अग्ला रुख अनि सिमसारको संरक्षण गर्ने हो भने यसको संरक्षणमा टेवा पुग्छ।

यसलाई संरक्षण गरे के हुन्छ ?

गरुड स्वच्छ सिमसारको सूचक लोभी पापी गरुडले विषालु सर्पदेखि भ्यागुता, खेतबारीमा हुने अन्य कीरा खाएर किसानलाई सहयोग गर्छ। पारिस्थितिक प्रणालीको सन्तुलनको लागि यसको संरक्षण निकै महत्व रहन्छ। विश्वमै पन्छी पर्यटन निकै महँगो पर्यटन हो। अझ नेपाल सरकारले २०२० लाई भिजिट नेपाल वर्ष भनेर मनाउन सुरु पनि भैसक्यो। यसै चरा लगाएत अन्य चराहरुले पर्यटकलाई आकर्षित गर्दछ जसले स्थानीय एवम रास्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउँछ।

लोभीपापी गरुड जस्ता दुर्लभ पन्छीको संरक्षण गर्न सके नेपालमा चरा हर्न आउने पर्यटकलाई अझैँ आकर्षित गर्न सकिन्थ्यो कि?

Comments