निर्मला प्रकरणमा प्रहरीलाई प्रहरीकै यातना, भन्छन् : सहन नसकेर झण्डै झुण्डेर मरिसकेको थिएँ


आजको कान्तिपुरनयाँ पत्रिका दैनिक हेर्नुभएको भए त्यहाँ तपाईँले निर्मला प्रकरणमा एउटा महत्त्वपूर्ण समाचार हेर्नुभयो होला। समाचारमा हालका एआइजी धीरु सिंह बस्न्यातको प्रतिवेदनलाई प्रहरी संगठनले औपचारिक रुपमा गलत भएको स्वीकार गरेको छ। यो प्रतिवेदन कार्यान्वयन नगर्न निर्देशन पनि प्रहरीले दिइसकेको छ।

निर्मला प्रकरणमा ‘रे’ का आधारमा धेरै अफवाह र हल्ला फैलाइए। सोसल मिडियाका के कुरा, मूलधारका मिडिया नै बहकिए। यसबारे पहिलोपोस्टमा हुँदा #WhoKilledNirmala सिरिजमा धेरै लेखिसकेको छु। यो प्रकरणमा गृह मन्त्रालयले छानबिनको लागि सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा एउटा टोली बनाएको थियो। टोलीको प्रतिवेदन पनि तथ्यमा भन्दा त्यस्तै हल्लामा आधारित, भिड निर्देशित थियो। त्यसपछि प्रहरीले आफ्नै आन्तरिक टोली गठन गरेको थियो। यही टोलीको नेतृत्व धीरु बस्न्यातले गरेका थिए।

बस्न्यात नेतृत्वको टोली पनि तथ्यमा भन्दा पनि अफवाहको आधारमा बहकिन पुग्यो। अन्य परिस्थितिजन्य प्रमाणहरुतिर नगई अहिले रुल आउट भइसकेको डिएनए रिपोर्ट नमिलेकै आधारमा दिलिपसिंह विष्टलाई फँसाइएको, उनी दोषी हुनै नसक्ने भन्ने मानसिकताबाट पहिल्यै निर्देशित भई छानबिन थालियो। प्रहरीको आन्तरिक छानबिन भएकोले यो प्रतिवेदन सार्वजनिक गरिएको छैन। तर यसको प्रतिवेदनपछि नै आफ्नै संगठनका सदस्यहरुविरुद्ध यातना र प्रमाण नष्टको उजुरी पर्दा मुद्दा चलाउन नेतृत्वले मञ्जुरी दिएको हो। जुन मुद्दा अहिले कन्चनपुर जिल्ला अदालतमा जारी छ।

प्रहरीले दिलिपसिंह विष्टलाई यातना दिएको विषयमा मुद्दा चलिरहँदा प्रहरीले आफ्नै संगठनका सदस्यलाई यातना दिएको विषय भने बाहिर आउन सकेको छैन। मैले यो विषयमा धेरै कुरा बुझिसके पनि निर्मला प्रकरणमा लेख्दै गरेको किताबमा राखौँला भनी कतै लेखेको थिइनँ। त्यतिबेला प्रहरी आफैले यो प्रतिवेदनलाई यसरी गलत भनेर स्वीकार्ला भनी लागेको पनि थिएन। अहिले यो सब भइरहँदा प्रहरीले प्रहरीलाई नै यातना दिएर कसरी गलत कुरा स्वीकार्न लगाएको थियो भन्ने बुझाउन पनि जरुरी जस्तो लाग्यो।

धीरु बस्न्यातको समितिलाई प्रहरीले गल्ती गरेको हो कि हैन पत्ता लगाउन म्यान्डेट दिइएको थियो। समितिले यो प्रकरणमा मुछिएका सबैलाई काठमाडौँ ल्याएर कसैसित सम्पर्क गर्न नदिई लगभग बन्दी अवस्थामा राखेर सोधपूछ गरेको थियो। त्यतिबेला आफूहरुले पाएको यातना बारे अहिले पनि सार्वजनिक रुपमा बोल्न उनीहरु डराउँछन्, कारबाही हुने डरले।

एक जनाले भने म सार्वजनिक रुपमा बोल्छु भनेरै बोले। हवल्दार धर्मसिंह भाट। आफ्नै संगठनले यातना दिएको सहन नसकेर झण्डै आत्महत्या गर्न लागिसकेका थिए उनले। पछि उनले जागिरै छाडे। जागिर छाडेकै कारण उनी मसित खुलस्त भई बोल्न सके। अरुले भने जागिरको मायाले ‘नलेखिदिनुस् है’ भने। पीडा त उनीहरुलाई पनि थियो। मेरो छोरा बिरामी भयो, घर जान दिनुस् भन्दा ‘तँ जवान छस्, छोरा मरे अर्को छोरा जन्माइहाल्छस् नि, किन तनाव लिन्छस्’ भन्ने जवाफ पाउँदा उनीहरुको मन कति पोलेको होला। तर बोल्न डराउँछन्।

यसरी यातना दिइयो

यो भिडियो साथी महेन्द्र बमसित म तेस्रो पटक स्थलगत रिपोर्टिङका लागि कञ्चनपुर जाँदा खिचेका हौँ। यसमा धर्मसिंह भाटले आफूले पाएको यातना बयान गरेका छन्। हेर्नुस् भिडियो-

धर्मसिंह भाटको कैलालीबाट बाजुरामा सरुवा भएको थियो। उनको घर भने कञ्चनपुरमा। निर्मलाको शव भेटिँदा उनी बाजुरामै थिए। अनुसन्धानमा सहयोग गर्ने खालको जनशक्ति भएकोले उनलाई यही घटनाको अनुसन्धान गर्न कञ्चनपुर पुगेको सिआइबी टोलीलाई सहयोग गर्न बोलाइयो।

‘एएसपीको आदेशमा म ८/१० दिनपछि सिआइबीको अनुसन्धान टोलीमा सहभागी भएँ,’ भाटले भने। उनको काम खोजिएका मान्छेलाई बोलाउने र सिआइबी वा मुद्दा फाँट रहेको अफिसमा उपस्थित गराइदिने थियो।

अनुसन्धान गर्न कञ्चनपुर पुगेको सिआइबी टोलीको नेतृत्व गर्ने डिएसपी अंगुर जिसीले दिलिपसिंह विष्टकी भाउजु र भतिजी बुहारीको जुन भिडियो खिचेका थिए, त्यो भिडियो खिच्ने बेलामा भाट कै मोटरसाइकलमा दुवै गएका थिए। ‘भिडियो डिएसपी साबले खिच्नुभएको थियो’, उनी सम्झन्छन्।

लुकाएर खिचिएको त्यो भिडियोमा भाउजु र भतिजी बुहारीले दिलिपको व्यवहारको बारेमा बताउँछन्। भतिजीबुहारीले यौन आशयले आफूलाई हेर्ने गरेको गुनासो पनि गर्छिन्। दिलिपको व्यवहारले दिक्क भएको बताउँछन्। हेर्न छुटाउनु भएको भए यहाँ क्लिक गरी हेर्नुस्- एउटा भिडियो जसले निर्मलाकी आमाको सोच बदलियो

कन्चनपुर प्रहरीले सिआइबीको अनुसन्धानको आधारमा दिलिपलाई अभियुक्त भएको भन्दै म्याद थप गर्ने क्रममा सार्वजनिक गरेलगत्तै दिलिप दोषी हुनै नसक्ने भनी अफवाह फैलाइन्छ। त्यसकै आधारमा उनका भिनाजु खेम भण्डारीले मानसखण्डमा समाचार लेख्छन्, फेसबुकमा अनगिन्ती स्टायटस लेख्छन्।

आन्दोलन हुन्छ। मान्छे मर्छन्, घाइते हुन्छन्। डिएनए मिल्दैन। त्यसै त अफवाह फैलिरहेको त्यसमाथि डिएनए नमिलेको। त्यसपछि प्रहरीले निर्दोषलाई फँसाएको भन्ने सबैलाई पर्न जान्छ। त्यही कुराबाट निर्देशित हुन्छ मूलधारका मिडिया पनि। अनि निजामती कर्मचारीको नेतृत्वमा बनेको गृहको उच्चस्तरीय छानबिन समितिले पनि हल्ला र भिडकै कुराबाट निर्देशित भएर बयानमुखी प्रतिवेदन सार्वजनिक गर्छ। त्यसपछि प्रहरीले गल्ती भएको हो हैन पत्ता लगाउन धीरु बस्न्यातको समिति गठन गर्छ। यो समिति पनि निर्दोषलाई फँसाएकै हो भन्ने मानसिकताबाट निर्देशित हुन्छ र जसरी हुन्छ सबै बकाउनु पर्छ भन्नेमा हुन्छ।

यही क्रममा निर्दोष प्रहरीले यातना पाउँछन्।

‘म पनि प्रहरी हुँ। मैले पनि कति अपराधीलाई सोधपूछ गरेको देखेको छु, तर मलाई त सामान्य अपराधी मात्र हैन देशै बेच्न लागेको देशद्रोहीलाई पनि नगरिने व्यवहार गरियो’, उनी पीडा पोख्छन्। उनीसित मैले दुई पटक कुरा गरेको थिएँ- एक पटक काठमाडौँमै हुँदा फोनबाट। अर्को पटक महेन्द्रनगरमै।

आफ्नै संगठनका सदस्यले आफूलाई दिएको यातना बयान गर्न उनी शब्द पनि पाउँदैनन्।

तीन वर्षअघि मोटरसाइकल दुर्घटनामा परी उनको बङ्गारा झरेको थियो, मुखभित्रको तालु नै छेडिएको थियो। उपचार जारी थियो। अपरेसनको डेट थियो। तर प्रहरीले जानै नदिने।
घरका कसैसँग सम्पर्क गर्न नदिने, मध्यरातमा सुतिरहेको बेला उठाएर सोधपूछ भन्दै लैजाने। ४/५ जना बस्ने, एउटाले सोधेको प्रश्नको जवाफ दिन पाएको हुँदैन अर्कोले अर्को प्रश्न सोध्ने। ‘वाहियात वाहियात प्रश्न सोधेको सोध्यै गर्ने, त्यतिबेलाको कुरा सम्झेर अझै अनुहारमा आक्रोश झल्काउँदै सोध्छन्, ‘कसरी जवाफ दिने मैले?’

सर्टको खल्ती च्यातेर नक्कली प्रमाण बनाएको हो भनी बकाउन चाहन्थ्यो प्रहरी। नास्पाती खाने भनेर दिलिपको घरमा गएर भाउजु र भतिजीबुहारीको भिडियो खिच्ने डिएसपी अंगुर जिसीसँग जाने उनै भएकोले उनकै मुखबाट यो बकाउन चाहन्थ्यो प्रहरी। तर भाट भएको कुरा बाहेक अरु कुरा भन्दै नभन्ने। त्यो नभनेसम्म छानबिन गर्नेहरु छाड्दै नछाड्ने।

एक दिन उनलाई चार पाँच तल्ला माथिको कोठामा राखेर बयान लिइँदै थियो। सोधपूछ गर्नेहरु थाकेर बाहिर निस्केका थिए। यातना सहन नसकेर उनले यसो माथि दलिनितर हेरे। पंखा देखियो। सोचे, फेसबुकमा मलाई यिनीहरुले यातना दिए, मैले केही गरेको होइन भनेर सबै कुरा लेखेर यही कम्प्युटरको तारको पासो बाँधेर पंखामा झुण्डिउँ कि के हो। अर्कोतिर हेरे। झ्याल देखेँ। अर्को मनले झ्यालबाट हाम्फालौँ कि जस्तो भयो।

मनमा यो सोच आउने बित्तिकै यसलाई कार्यान्वयन गरेको भए शायद् आज उनी यो धर्तीमा हुने थिएनन्। निर्मला प्रकरणमा एक प्रहरीले आत्महत्या गरे भन्ने समाचार आइसकेको हुन्थ्यो। दोषी भएकैले त ग्लानीका कारण आत्महत्या गरे भन्ने हुन्थ्यो होला। कन्स्पिरेसी थ्यौरीमा नयाँ कुरा थपिन्थ्यो होला।

तर धर्मसिंह भाटको मनमा आत्महत्याको सोचसँगै एउटा अर्को सोच पनि आयो- साला, मैले के अपराध गरेको छु र मर्ने। मरेँ भने त म दोषी भइहाल्छु नि।

अनि उनले तत्कालका लागि यो यातनाबाट मुक्ति पाउने, बाहिर निस्कने उपाय सोचे। ‘बाहिर आएपछि केही न केही त होला नि। एक दिन सत्य कुरा त बाहिर आउला नि। अदालतले न्याय त देला नि।’

भएको कुरामात्र भनिरहेका उनले त्यसपछि सोधपूछ गर्नेलाईहरुले सोधे, ‘मलाई के गर्दा यहाँबाट छोड्नुहुन्छ? मैले मुक्ति कसरी पाउँछु?’

‘उनीहरुले हामीले भने अनुसार कागजमा सही गर भने।’

धर्मसिंह भाट धर्मसंकटमा परे। उनीसित दुई वटा विकल्प थियो- कि आत्महत्या गर्ने कि उनीहरुले भने अनुसार गरेर तत्कालका लागि त्यहाँबाट मुक्ति पाउने। ‘मैले त्यसमा सही गरेँ त्यो यातनाबाट मुक्ति पाउन, त्यसमा के लेखिएको छ मलाई थाहा छैन,’ उनी भन्छन्।

उनको अपरेसन चलिरहेको थियो। डाक्टरले नबोल्न भन्थे। तर उनीहरु त्यहीँ आएर सोधिरहन्थे। टेन्सन दिन्थे। यही क्रममा उनको टाँका पनि फाट्यो। अपरेसन पनि राम्रो भएन।
प्रहरीले आफ्नै संगठनका सदस्यलाई यस्तोसम्म गर्ला भन्ने उनले सोचेकै थिएनन्। उनको मन कटक्क खायो। आफ्नो संगठन प्रतिको गौरव हरायो। काठमाडौँबाट प्लेनमा धनगढी उत्रने बित्तिकै उनी घरसमेत नगई सीधै जिल्ला प्रहरी कार्यालयमा गई राजीनामा बुझाए।

तर राजीनामा स्वीकृत भएन। उनले भने- ‘मलाई जागिर खान मनै छैन।’ मनै मरिसकेको थियो। अन्ततः राजीनामा स्वीकृत भयो।

महेन्द्रनगरको हामी बसेको होटलमा आफूले पाएको दुःखको बयान गर्दा उनी रुनमात्र सकेनन्। उनले आफूसँगै आफू प्रहरीमा हुँदा आफूले गरेको काम, पाएको पुरस्कारसहितको फाइल बोकेर आएका थिए। उनले तस्करी भएका वन्यजन्तु सामाग्री पक्रने काम धेरै गरेका थिए। सीमा पार गरी भारतसम्म गएर अपराधीलाई पक्रने काम पनि गरेका थिए। ‘तपाईँहरु नै राख्नुस्, अब मलाई के काम यो फाइलको’, उनी यसो भन्दै छुट्टिन खोज्दै थिए।

तर हामीलाई पनि यो फाइल के काम र। एक दिन सत्य बाहिर आउला नि, तपाईँको राम्रो कामको पनि प्रशंसा होला नि भन्दै उनैलाई फर्कायौँ।

धीरु बस्न्यातको समितिसितको बयानपछि दुई जना प्रहरीले जागिर छाडेका थिए। केहीले अवकाश पाए। केही अझै निलम्बित अवस्था मै छन्। केही भने पूर्ववत् सेवामा छन्। अफ द रेकर्डमा धेरै कुरा बताए पनि उनीहरु धर्मसिंह भाट जस्तो खुलेर बोल्ने अवस्थामा अझै छैनन्।

आज धीरु बस्न्यातको प्रतिवेदन सही नभएको भनेर प्रहरी आफैले स्वीकार्दा सबैभन्दा खुसी उनीहरु भएका हुनुपर्छ।

हेडक्वार्टरले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी तारिणीप्रसाद लम्साललाई बस्न्यात प्रतिवेदनको वास्तविकता बुझेर प्रतिवेदन पेश गर्न भनेको थियो। त्यसपछि त्यहाँबाट भाटसहितको बयान कागज गरिसकिएको छ। बस्न्यातको प्रतिवेदनभन्दा फरक खालको प्रतिवेदन त्यताबाट आएपछि हेडक्वार्टरले फेरि डिआइजी सुरज केसीको नेतृत्वमा दुवै प्रतिवेदन अध्ययन गरेर वास्तविकता बुझ्न पुनरावलोकन समिति बनाइएको थियो। त्यही समितिले बस्न्यातको प्रतिवेदनका कमीकमजोरी औँल्याउँदै यसलाई कार्यान्वयन गर्न नहुने सुझाव दिएको हो।

प्रतिवेदनमा दबाब दिई साविती बयान गराएको पनि उल्लेख छ। अर्थात् प्रहरीले प्रहरीलाई दबाब र तनाव दिएको कुरा प्रहरीकै रेकर्डमा बसिसकेको छ। साथै अनुसन्धानमा आबद्ध प्रहरीलाई दबाब दिएर बयान गराएको, प्रमाण नष्ट र नक्कली प्रमाण खडा गरेको भन्ने मान्यताबाट निर्देशित रही अनुसन्धान गरेको, मिडिया र आन्दोलनको दबाबका भरमा प्रमाण संकलनलाई शून्य घोषित गरेको, अन्य प्रतिवेदन र बयानलाई मात्र अनुसन्धानको आधार बनाएको, दिलीपसिंह विष्टको चालचलन, पृष्ठभूमि, भिडियो बयानलाई नजरअन्दाज गरिएको, प्रहरी जवान चाँदनी साउदले गरेको बयानमा पोलिग्राफ परीक्षणमा झुटो बोलेको नदेखिएको भए पनि पूर्वमानसिकतालाई पुष्टि गर्ने प्रकारका प्रमाणलाई मात्र स्वीकार गरिएको जस्ता कमजोरी लेखिएको छ।

सत्यलाई मोड्न सघाउने प्रतिवेदन दिने एआईजी बस्न्यातको अवस्था अहिले के छ त ? आर्थिक अनियमितताको आरोप लागेपछि एआइजी बस्न्यातलाई मन्त्रिपरिषद्को २०७६ वैशाख १७ गते बसेको बैठकले दरबन्दी नै नभएको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा सरुवा गर्‍यो। त्यो भनेको एक किसिमको कारबाही नै थियो। त्यतिबेलादेखि उनी गुमनाम छन्। आइजी सर्वेन्द्र खनालसँगै ३० वर्षे सेवा हद नियमका कारण भोलि मध्यरातबाट उनी अवकाशमा जाँदैछन्।

निर्मला प्रकरणको निकै नै जेलिएको यो केसमा विज्ञ जीवन रिजाल नेतृत्वको टोलीले डिएनए किन कसैसँग नमिलेको भन्ने कारण खोतली डिएनएलाई रुल आउट गर्नु र धीरु सिंह बस्न्यातको प्रतिवेदनलाई प्रहरीले औपचारिक रुपमा गलत ठहर गर्नु महत्त्वपूर्ण फड्को हो। अब यसलाई टुंगोमा पुर्‍याउन बाँकी छ।

प्रहरीले अरु सम्भावित सबैलाई सबै कोणबाट अनुसन्धान गरेर निचोड निकालिसकेको छ। शंकाको सबभन्दा नजिक दिलिप नै छ। दिलिप अपराधी हुनै नसक्ने भनी त्यतिबेला फैलाइएको अफवाहको वास्तविकता पनि सर्वसाधारणले बल्ल बुझ्दैछन्।

यो एउटा भिडियो तपाईँले हेर्नुभएको छैन भने फेरि हेर्नुहोला, दाजुले गौतम बुद्ध जस्तै भनेको र केटीलाई आँखा उठाएरसमेत हेर्दैन भन्ने दिलिपसिंह विष्टले मसित कस्ता कुरा गरेका थिए-

(सावधान : यसमा सबैका अगाडि सुन्न नमिल्ने शब्दहरु पनि छन्। उनको वास्तविक चरित्र देखाउन सम्पादन नगरी यस्ता शब्दलाई जस्ताको तस्तै प्रस्तुत गरिएको हो)

सम्बन्धित लिङ्कहरु
#WhoKilledNirmala पहिलोपोस्टमा ३० अङ्कको शृङ्खला

अब जो पीडित उही पो अपराधीसरह, आमाविरुद्ध बोल्दा प्रमाण नचाहिने, आमाले बोल्दा प्रमाण चाहिने

‘अदालतै निर्मलाको हत्यारासँग मिलेको’ भन्न थालेका खेम भण्डारी जेल पर्नुको पर्दा पछाडिको कथा

खेम भण्डारीलाई किन एक रुपैयाँ जरिवाना तिराएर एक घण्टा कैद गरियो? के छ ८४ पेजको अदालतको फैसलामा?

दिलिप सिंह विष्टसितको त्यो अप्रत्याशित भेट, के के भने उनले ? (भिडियो)

निर्मला प्रकरण : किन कसैसित नमिलेको रहेछ डिएनए? विज्ञ टोलीले बल्ल पत्ता लगायो

डिएनए मिल्दैन, दोषी ठहर हुन्छ : हैन के खालको डिएनए चेक गर्छन् यहाँ?

महेन्द्रनगरको माहौल कस्तो छ अहिले? के निर्मला प्रकरणका दोषी प क्रा उ पर्ने वातावरण बन्दैछ?

निर्मला प्रकरण : एक वर्ष नाघ्यो, अझै भ्रम फैलाउने क्रम जारी

रवि लामिछानेले तोडमोड गरेको आरोप लागेको भिडियोमा के छ? हेर्नुस् पूरा भिडियो

निर्मला प्रकरण : अझै पनि खेम भण्डारी झुट बोल्दै जाने, मिडियाले त्यसलाई ठाउँ दिँदै जाने?

निर्मला प्रकरणमा डिएनए : यी प्रश्नको जवाफ खोज्न जरुरी ठान्छन् विज्ञ

आफै गलत प्रतिवेदन दिने, सुटुक्क सच्याउने अनि ‘कहाँबाट ल्याएर पढ्नुभो थाहा छैन’ भन्ने?

निर्मला प्रकरणमा गल्ती सच्याउन छाडेर अनलाइनखबर फेरि यसरी बहकियो

अनलाइनखबरका सम्पादकलाई पीडितको प्रश्न – ‘तपाईँले लेखेको जेपिटी न्युजले हाम्रो जीवनमा के असर पार्‍यो, फिल गर्नुभा छ?’

निर्मला प्रकरण : सरकारले हैन ‘नागरिक’ले जागिरबाट बर्खास्त गरिदिए एक इन्स्पेक्टरलाई

खै त निर्मलाका हत्यारा पक्रिएको भनेको हैन? पुलिसको प्रोपोगान्डामा मिसयुज भएका मिडिया

निर्मला प्रकरण किन चर्कियो? प्रहरी, गृहमन्त्री र प्रधानमन्त्रीका यी १० गल्तीले

निर्मला प्रकरण : चार बोली सुन्नुस्, के हल्ला, के सत्य आफै छुट्याउनुस्

निर्मला प्रकरण : ‘रे’ को भरमा हल्ला चलाउने, हल्ला पत्याउने अनि अनुगमन प्रतिवेदन दिने, ‘हरे!’

निर्मलाका बाबु र आमाबारे धेरैले थाहा नपाएका कुरा

One Comment

  1. Gopal Gurung February 12, 2020

    What happened to this young girl is heinous, no human being deserves this. The culprit(s) are scot-free to this day is simply the result of Police’s incompetency and carelessness but at least some of them got “A taste of their own med”….

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Comments are Disabled

Social Media Auto Publish Powered By : XYZScripts.com