पत्रिका भन्ने बित्तिकै तपाईँ के बुझ्नुहुन्छ? पक्कै पनि समाचार। समाचार बिनाको पत्रिका तपाईँ कल्पना गर्न सक्नुहुन्छ? अहँ। गाह्रै हुन्छ।
तर हामी तपाईँलाई यहाँ एउटा यस्तो पत्रिका देखाउँदैछौँ, जसमा समाचार नै छैन।
यो नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश विक चिन्तन प्रकाशक सम्पादक रहेको रुकुमबाट प्रकाशित नयाँ यात्रा साप्ताहिकको गत असोज १० मा प्रकाशित अंक हो। ४ पेजको पत्रिकामा एउटा पनि समाचार छैन्। मुश्किलले एउटा सम्पादकीय भने अटाएको छ। तर उक्त सम्पादकीय पनि जिल्लामा प्रभाव पार्ने खालको छैन्। यो पत्रिकाको वर्ष ९ र अंक ७ लेखिएपनि बजारमा भने यो पत्रिका पाइँदैन।
गत असोजमा प्रकाशित भएको यो अंक संयोगले भर्खर फेला पर्यो। यसको अघिल्लो पृष्ठदेखि अन्तिम पृष्ठसम्म जम्मै सूचना तथा विज्ञापन मात्र राखिएको छ। बजारमा नपाइए पनि यो पत्रिका सम्बन्धित विज्ञापनदाता तथा स्थानीय तह र सरकारी तथा गैरसरकारी संघसंस्थाको लेखाशाखामा भने पाइने गरेको छ। कन्टेन्ट भन्दा पनि विज्ञापनमा चासो दिने यो पत्रिका कहिले प्रकाशन हुन्छ र कहाँ पुग्छ भन्ने कसैलाई पत्तो हुँदैन।
पत्रकार महासंघकै अध्यक्षले निकाल्ने पत्रिका नै कस्तो नमूना ! पत्रकारिताका विद्यार्थीले छुटाउनै नहुने।