यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

के व्यक्तिगत स्वतन्त्रता निरपेक्ष हुन्छ ?

—दधि अधिकारी—

** भरखरै मात्र नर्वेमा एक भारतीय दम्पत्तिलाई डेढ बर्षको काराबासको सजाय सुनाईयो । उनीहरुमाथि आफ्नो सात बर्षको बच्चालाई घरमा पढाऊँदा यातना दिएको अभियोग लागेको थियो । हाम्रो देश लगायत करिब करिब संपुर्ण एसिया र अफ्रिकामा बच्चाहरुलाई पढाऊँदा दिइने सजाय सामान्य नै मानिन्छ ।

** आकासबाट खस्ने उल्का पिण्ड लगायत अन्य आकाशीय पिण्डहरु खस्दा प्रत्येक बर्ष करिब नौ सय व्यक्तिको ज्यान जान्छ । तर हामि कसैले पनि आकाशीय पिण्ड खस्छ भनेर न कुनै बलियो छाता बोकेर हिड्छौं न त घरमा निकै बलियो छत नै निर्माण गरेका हुन्छौं । तर घाम पानी बाट बच्न भने हामिले छानो पनि हालेका हुन्छौं, छाता पनि ओढछौं ।

** अब एउटा अन्तिम काल्पनिक तर यथार्थको नजिकको उदाहरण । मानौ तपाईं निकै थकित अवस्थामा घरमा छिर्नु भएको छ (तपाईंको घर वा भनौ डेरा काठमाण्डौमा छ )। तपाईंलाई निकै प्यास लागेको छ र तपाईं पानी पिउन चाहनु हुन्छ । तर काठमाण्डौको पानी नउमालीकन पिउन मिल्दैन । दुर्भाग्यवस तपाईंको घरमा उमालेको पानी सकिएको रहेछ । दिक्क मान्दै तापाईं पानी उमाल्ने तरखर गर्न थाल्नु हुन्छ । त्यसैबेला तपाईंलाई तुरुन्त आफ्नो हाकिमलाई भेट्न जानुपर्ने फोन आऊँछ । अब तपाईं के गर्नु हुन्छ ? पानी उमालेर पिएर जानु हुन्छ वा चिसै पानी पिएर जानुहुन्छ ? पक्कै पनि नउमालेको चिसो पानी पिएर जानु हुन्छ ।

केहि दिन अघि माई संसारमा डा. डोलेश्वर भण्डारीको लेख “आपूmले आफैलाई हानी गर्न पाउने की नपाउने ?” भन्ने लेख प्रकाशित भएको थियो । माथिका उदाहरण उक्त लेखकै संदर्भमा प्रस्तुत गर्न खोजिएको हो । म डोलेश्वर सरलाई व्यक्तिगत रुपमा चिन्दछु र मलाई यो कुरा लेख्न कुनै द्विविधा छैन की उहाँ जस्तो सरल, सहृदयी र आँखामा राखे पनि नविझाउने मानिस पाउन आजको यो स्वर्थी संसारमा गाह्रै पर्ला । अतः व्यक्तिगत रुपमा म उहाँलाई हृदय देखी नै आदर गर्दछु । माई संसारमा कतिपय पाठकहरुले उहाँप्रति प्रयोग गर्ने अशिष्ट भाषाले गर्दा मेरो मन आहत हुन्छ । तर पनि डोलेश्वर सरले उठाउनु भएको प्रश्न सामाजिक, आर्थिक र राजनैतिक दर्शनको एउटा निकै विवादित वा भनौ निकै छलफल भएको, छलफल गर्न रुचिकर र सायद निष्कर्ष निकाल्न नसकिने विषय हो । अतः यस लेखमा मैले समस्याको अर्को पाटो पस्कने जमर्को गरेको छु । म एउटा विद्यार्थी भएकोले, पाठकहरुका हरेक प्रश्नको जवाफ दिन समय नहोला (होमवर्क र टर्म पेपरको कारणले ) तर पनि आवश्यक परे कुनै समयमा सानो लेख मार्फत जिज्ञासा शान्त पार्ने कोशिष गर्ने छु ।

अब जाऊँ पहिलो उदाहरण तर्फ । नर्वेमा किन बच्चालाई सजाय नदिए पनि हुने वा भनौं सजाय दिन नपाईने तर नेपालमा भने पढेनन भनेर किन कान निमोठने, गाला पडकाउने, उठबस गराउने, मुर्गा बनाउने, सिस्नु पानि लगाउने । मेरो बुवाले मलाई चौध अञ्चलको नाम कण्ठ गरेन भनेर राती घरबाहिर आँपको बोटमा बाँधेको अभैm सम्झना छ । यहाँ बुझ्नुपर्ने कुरा के छ भने, कुनै पनि समाजका औपचारिक वा अनौपचारिक संस्कार, नियम वा पद्दतीलाई त्यहाँको आर्थिक प्रणालीले निर्देशित गरेको हुन्छ । नर्वेमा उच्च स्तरको सामाजिक सुरक्षा छ जसले गर्दा कुनै पनि बेरोजगार व्यक्तिले महिनाको करिब करिब १५०० डलर बेरोजगारी भत्ता पाऊँछ । अझ विस्तृतमा भन्ने हो भने कुनै व्यक्तिको भ्रुणावस्था देखि चिताग्नी सम्मको दायीत्व सरकारको हुन्छ । यस्तो अवस्थामा कुनै पनि बावु आमा आफ्नो बच्चा बच्चीको भविष्यको बारेमा त्यति चिन्तित हुनुपर्ने अवस्था रहँदैन । अमेरिकामा नर्वेको तुलनामा व्यवहारिक रुपमा बालअधिकार अलिकति कम रहेको पाईन्छ । यो कुन संदर्भमा भने, कुनै पनि अमेरिकी विद्यालयमा बालकको गुनासोको भरमा आमा बावुलाई सजाय दिएको देखिदैन । तर नेपालमा आमा बाबुले आफ्नो बच्चा बच्चीलाई एक वा अर्को तरिकाले सजाय दिएरै भए पनि पढाउनुपर्ने कारण उनिहरुको भविष्यको सुनिस्चितताको लागी हो । यदि नेपालमा पनि बच्चाको भविष्य सुनिस्चित भएको भए पक्कै पनि आमा बावुले उनिहरुलाई सजाय दिने थिएनन् ।

यहाँनेर अर्को तर्क के हुन सक्छ भने, अमेरिका जस्तो विकसित देशमा प्रविध र सिकाई विधि यति विकसित भएको छ की बालबालीकालाई सजाय दिनुनै पर्दैन । तर यो तर्क त्यतिबेला गलत देखिन्छ जब हामि विश्वब्यापी गणित र विज्ञानको क्षमता मापन गर्ने सूचकांक हेर्छौं । यस सूचकांकमा अमेरिका जस्ता देश निकै पछि छन भने भारत, कोरिया, चीन जस्था देश अग्र स्थानमा छन् जहाँ सानामा बच्चालाई विभिन्न डर देखाएर पढ्न बाद्य बनाइन्छ । विभिन्न अध्ययनले के देखाएका छन् भने अमेरिकी विश्वविद्यालयमा विज्ञान र प्रविधिको क्षेत्रमा विद्यावारिधि गर्ने दर तिनै विदेशी विद्यार्थीको उच्च रहेको छ भने विद्यावारिधि गरेर विज्ञान र प्रविधिको क्षेत्रमानै काम गर्ने दर पनि तिनै विदेशी विद्यार्थीको उच्च रहेको छ । त्यसैले त अमेरिकामा विज्ञान र प्रविधिको क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्ने विदेशि विद्यार्थीकोलागी सिधै स्थायी बसोबासकोलागी स्विकृति दिने बारेमा छलफल हुँदैछ । यदि बालश्रम प्रयोग गरेको कार्पेट आयातमा प्रतिबन्ध लागेको जस्तै बालअधिकार हनन गरि शिक्षित बनाईएका विद्यार्थीलाई पनि प्रवेशाज्ञा नदिने नियम भैदिएको भए के हुन्थ्यो होला ?

अब दोश्रो उदाहरणको अर्थ । हामिले दैनिक जीवनमा गर्ने कामहरुमा अनिस्चितता हुन्छ । उदाहरणको लागी सडक पार गर्दा दुर्घटना हुन सक्छ, जाँच दिँदा फेल हुने पनि सम्भावना हुन्छ आदि ईत्यादी । यस्तो अवस्थामा हामिले त्यो काम गर्दछौ जहाँ सफलता प्राप्त गर्ने सम्भावना बढि हुन्छ वा सफलता प्राप्त गर्ने संभावना निकै कम भए पनि सफलता प्राप्त भईहालेमा हुने फाईदा निकै बढि हुन्छ (जस्तै चिठ्ठा किन्नु ) । माथिको उदाहरणमा पनि कुनै आकाशीय पिण्ड हाम्रो टाउको माथि खस्ने सम्भावना निकै निकै कम छ (करिब करिब एक लाखमा एक) तर त्यसबाट बच्ने उपाय अबलम्बन गर्न निकै धेरै खर्च पर्दछ । अर्को तर्फ घाम पानीको संभाव्यता निकै बढि हुन्छ । त्यसैले हामिले छाता ओढछौं, घरमा छानो हाल्छौं तर निकै बलियो र बाक्लो छत को निर्माण गर्दैनौ ।

तेश्रो उदाहरणमा लागत र लाभ अनि अल्पकाल (क्जयचत चगल) दीर्घकाल (ीयलन चगल) को कुरा गर्न खोजीएको छ । चिसो पानी पिऊँदा तपाईंलाई अल्पकालमा केहि हानी हुँदैन तर हाकिमकहाँ नजाँदा भने तपाईंलाई तुरन्त हानि हुन सक्छ । त्यसैले तपाईं चिसै पानी पिएर भएपनि हाकिमकहाँ जानु हुन्छ । प्राय गरिब मानिस र गरिब देशका निर्णयहरु अल्पकालका परिणामलाई ध्यानमा राखेर गरिएका हुन्छन । यसो हुनुको कारण श्रोत र सूचनाकोे अभाव हो । काठमाण्डौको हङकङ बजारमा (कतिजनालाई यो नामको बजार बारे थाहा छ कुन्नी ?) पाईने चाईनिज सामान धेरै टिक्दैनन् भन्ने थाहा हँुदा हँुदै पनि मानिसले ती सामानहरु किन किन्दछन् ? किनभने धेरै टिक्ने महंगा ब्राण्डेड सामान किन्न तत्काललाई उनिहरु संग पैसा नहुन सक्छ ।

माथिका हरफहरुमा भन्न खोजेको कुरा के भने कुनै पनि नीति निर्माणमा तथा व्यक्तिगत र सामाजिक व्यवहारमा त्यहाँको (क) आर्थिक प्रणाली (ख) लागत र लाभ (ग) संभावना (Probability) लगाएतका धेरै कुराहरुले असर गरेको हुन्छ । यदि कुनै कुरा विश्वव्यापी रुपमा एकै प्रकारको हुने भए बांगलादेशमा सफल भएको ग्रामिण बैङक नेपालमा असफल हुने थिएन र नेपालमा सफल भएको सामुदायीक बन प्रणाली भारतमा असफल हुने थिएन । ईजरायलको सहकारी प्रणालीलाई नेपालमा लागु गर्न खोजिएकै हो भने २०२८ सालमा नयाँ शिक्षा मार्फ अमेरिकी शिक्षा प्रणाली अबलम्वन गरिएकै हो । तर यी कसैले पनि आशातित सफलता प्राप्त गर्न सकेनन् । यसको कारण के भने कुनै पनि नीति नियमहरु त्यहाँको बस्तुगत परिस्थितीमा आधारित भएर निर्माण गरिनु पर्दछ ।

अब जाऊँ डोलेश्वर सरले उठाउनु भएका केहि उदाहरण तर्फ । मेरो भनाई के भने यी प्रश्न नाजायज होईनन् तर समय, परिस्थिती अनुसार यस बारेका निर्णयहरु फरक फरक हुन्छन् ।

(क) हेलमेट नलगाउनु गैर कानुनी तर रुख चढ्नु कानुनी ः यो उदाहरणमा संभाव्यता र लागत लाभको कुरा हेर्नु पर्ने हुन्छ । कुनै व्यक्तिले घाँस काटेन भने उसका गाई भैसी भोकै हुन्छन जसले गर्दा उसलाई घाटा हुने संभावना सो व्यक्ति रुखबाट लडेर मृत्यू हुने संभावना निकै बढि छ । अतः रुख चढन प्रतिबन्ध लगाउनु नेपालमा त्यति व्यबहारिक हँुदैन । तर यदि नेपालमा घाँसको बजार भैदिएको भए र प्रविधिको विकास भैदिएको भए यसमा पनि प्रतिबन्ध लगाउन सकिन्छ । जहाँ सम्म हेलमेटको कुरा छ, हेलमेट किन्दा लाग्ने खर्च भन्दा त्यसको प्रयोग बाट हुने लाभ निकै बढि छ । हुन त लेगगार्ड अनिवार्य रुपमा राख्नु पर्ने जस्ता नियम नभएका होइनन तर लेगगार्ड नराख्दा हुने क्षतिको तुलनामा हेलमेट नलगाऊँदा हुने क्षति बढि हुने भएकोले मनिसको ध्यान हेलमेटमा बढि गएको हो । अब प्रश्न उठ्छ व्यक्तिगत स्वतंत्रताको । व्यक्तिगत स्वतन्त्रता पनि आर्थिक प्रणालीसंग गाँसिएको हुन्छ । नेपाल जस्तो देशमा जहाँ संयुक्त परिवारको प्रथा छ र कुनै एक व्यक्तिको आम्दानीमा धेरै व्यक्ति बाँच्नु पर्ने हुन्छ त्यस्तो ठाँऊँमा कुनै एक व्यक्तिले व्यक्तिगत स्वतनत्रता भनेर जोखिम मोल्ने स्वतंत्रता पायो भने सामाजिक लागत बढि पर्न आऊँछ । तर अमेरिका जस्तो देशमा यस्तो जोखिम मोल्ने स्वतंत्रता धेरै हुन सक्तछ । अर्थशास्त्रको सर्वमान्य सिद्धान्त के हो भने धनि मानिसहरुनै जोखिम मन पराउने (Risk Lover) खालका हुन्छन् । त्यसैले त अमेरिकी सडकमा हेलमेट लगाएका र नलगाएका दुवै प्रकारका चालक भेटिन्छन ।

(ख) क्यासिनोमा जुवा खेल्नु ः माथि भने जस्तै यसले नेपालजस्तो देशमा व्यक्तिगत नभई पारिवारिक समस्या निम्त्याउन सक्ने संभावना निकै धेरै छ ।

(ग) उमेर पुगेकाको शारिरिक संपर्क ः यो विषय पनि निकै विवादित हो । निस्चित क्षेत्रमा लाईसेन्स सहितको वेश्यालय संचालन गर्दा सामाजिक लागत भन्दा लाभ नै वढि हुन्छ जस्तो लाग्दछ । तर उमेर पुगेकाको जथाभावि यौन संपर्कले नेपालमा ठूलो सामाजिक समस्या निम्त्याउने पक्का छ । नेपाली समाज सानो छ । अतः त्यस्ता शारिरिक संपर्क ढिलो चाँडो सार्वजनिक हुने गर्दछन् । अझ कतिपय अवस्थामा त (प्राय ः टिन एजरहरुमा) यसलाई पुरुषार्थको रुपमा लिई मैले त फलानो केटि …………भन्दै हिँडने पनि देखिन्छ । यस्तो अवस्थामा केटालाई त खासै फरक नपर्ला तर केटीलाई भने जीवनभर नकारात्मक असर पर्दछ । आपसी समझदारीमा शारिरिक संपर्क राख्नुलाई व्यक्तिगत स्वतंत्रता मानेर खुला छोड्नको लागी की त नेपाली समाज यस्तो हुनु प¥यो जसले यो कुरालाई पचाउन सकोस वा महिलाकोलागी आर्थिक स्वतंत्रता हुनु प¥यो । तर सवै महिलाहरु नम्रता श्रेष्ठ जस्ता आर्थिक रुपमा स्वतन्त्र हुँदैनन् ।

डोलेश्वर सरले उठाउनु भएका अन्य प्रश्नहरु पनि यस्तै मथिङगल खियाउनु पर्ने छन तर ती सवैमा माथिका कारणहरु प्रभावी हुन्छन जस्तो लाग्छ । तर प्रश्न जति नै सामान्य भए पनि त्यसका पछाडी विभिन्न विधाका सिद्धान्त लागु हुन्छन् । मलाई एकजना विदेशी प्राध्यापकले नेपाल भ्रमण पछि सोधेको प्रश्न अहिले पनि याद आऊँछ । उनको प्रश्न थियो “किन तराईका महिलाले पानी टाउकामा बोक्छन तर पहाडका महिलाले ढाडमा ?” यो प्रश्न जति सरल छ त्यसको पछाडिको कारण पनि त्यति नै बैज्ञानिक पनि । मैले भन्न खोजेको के भने कुनै पनि सामाजिक व्यवहारका पछि केहि न केहि सैद्धान्तिक कारणहरु रहेका हुन्छन् ।

अमेरिकामा पनि मापसे गरेर गाडी चलाउन पाईदैैन । अमेरिका जस्तो व्यक्तिगत स्वतन्त्रताको हिमायती देशमा यो प्रतिबनध किन ? कारण स्पष्ट छ , मापसे गरेर गाडी चलाऊँदा हुने लाभको तुलनामा अपेक्षित क्षति निकै बढि छ । फेरि मापसे गरेको व्यक्तिको उचित निर्णय गर्ने क्षमता कम हुन्छ । जसरी एउटा शिक्षित अमेरिकीले मापसे गरेको बेलामा उचित निर्णय गर्ने क्षमताको अभावले व्यक्तिगत स्वतन्त्रता गुमाउनु पर्ने हुन्छ, अविकसित देशमा मापसे नगरिकनै पनि मानिसमा विभिन्न कारण जस्तै शिक्षाको कमि, दुरदृष्टिको अभाव (Myopic Behavior ) आदिले गर्दा उचित निर्णय गर्न सक्ने क्षमताको अभाव हुन सक्तछ । यस्तो अवस्थामा मानिसको व्यक्तिगत स्वतनत्रतामा केहि अंकूश लगाउनु पर्ने हुन सक्तछ ।

अमेरिकाकै अर्को उदाहरण । भर्खरै केन्टकी राज्यको स्कुलमा २८ जनाको ज्यान जाने गरी भएको घटना पछि यहाँ बन्दुक राख्न पाउने की नपाउने भन्ने विवाद तिब्र भएको छ । यो विवाद तिब्र हुनुको कारण यस्ता दुर्घटनाको दर बढ्दै जानु हो । यदि यस्ता दुर्घटनाको संभाव्यता नबढेको भए बन्दुक राख्न पाउने स्वतन्त्रताको विपक्षमा आवाज उठने नै थिएन र नेशनल राईफल एसोशियसन रक्षात्मक स्थितिमा पुग्ने नै थिएन ।

अन्तमा, कुनै पनि मानिस सबैभन्दा खुशी त्यतिबेलामा हुन्छ जतिबेला उसंग पूर्ण रुपमा व्यक्तिगत स्वतन्त्रता हुन्छ । समाजमा विभिन्न किसिमका बाधा (constraint) हुन्छन् । यी बाधाहरु हरेक समाजको लागी फरक फरक हुन्छ । अतः व्यक्तिगत स्वतन्त्रताको उपभोगको मात्रा ति बाधाहरुले निर्धारण गर्दछन जसरी हामिहरुले उपभोग गर्ने बस्तु तथा सेवा हरुको मात्रा हाम्रो आम्दानीले निर्धारण गर्दछ । जसरी आम्दानी बढदा बस्तु तथा सेवा हरुको उपभोगको मात्रा बढदछ त्यसरि नै व्यक्तिगत स्वतन्त्रताको उपभोगको मात्रा बढाउन पनि ती बाधाहरु कम गरिनु पर्दछ । त्यसैले व्यक्तिगत स्वतन्त्रता निरपेक्ष नभई सापेक्ष रहेको हुन्छ ।

December 24th, 2012 मा पहिलो पटक प्रकाशित

2 comments to के व्यक्तिगत स्वतन्त्रता निरपेक्ष हुन्छ ?

  • Bibek kunwar

    1.Every year thousands of people die in plane crash. Lets ban the plane.
    2. Every year millions die in road accident. Lets destroy all the roads.
    3.Few of the players already died during sports tournament. Lets ban football, cricket and so on
    4.people die from building collaps. Lets not build the building.
    5. Tiger kills human. Lets not go to jungle.
    6. Shark kills human. Lets not go to ocean.
    7.There is probability every milli-second earth will be hit and destroyed by foreign objects and all the living being die in earth.

    Now My point is lets not discuss such a useless and silly topics at least in mysansar.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • santos

    आकासबाट खस्ने उल्का पिण्ड लगायत अन्य आकाशीय पिण्डहरु खस्दा प्रत्येक बर्ष करिब नौ सय व्यक्तिको ज्यान जान्छ । yesko source pauna hajur?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0