फ्याक्टचेक : म्याग्दीको तातोपानीमा मास्क लगाउनेहरुको फोटो एक वर्षभन्दा पुरानो


आज सोसल मिडियामा म्याग्दीको तातोपानीमा डुबुल्की लगाउनेहरुले मास्क लगाउँदै गरेको फोटो राखेर त्यसलाई कोरोना भाइरसको संक्रमणसँग जोडेर ‘मूर्खहरु’ भन्दै आलोचना भइरहेको तपाईँले धेरै देख्नुभयो होला। सोसल मिडियामा ती फोटोहरुको स्रोत आजको कान्तिपुर दैनिक हो। आजको कान्तिपुर दैनिकको पाँचौँ पेजमा महामारीको घोषणासँगै सतर्कता बढाइयो शीर्षकको समाचारमा एउटा ठूलो फोटो राखिएको छ, जसको क्याप्सनमा पोखरीमा मास्क अनिवार्य गरिएको छ त लेखिएको छ तर त्यो फोटो हालसालैको हो कि पुरानो फाइल फोटो हो भनेर खुलाइएको छैन। फोटो र समाचार पढ्नेहरुलाई त्यो हालैको फोटो जस्तो लाग्छ। अर्थात् कोरोना भाइरसको संक्रमणको खतरा बढेपछि मास्क लगाउन अनिवार्य गरिएको हो जस्तो लाग्छ। तर वास्तविकता त्यस्तो होइन। फ्याक्टचेक गर्ने क्रममा यो फोटो एक वर्षभन्दा पुरानो भएको पत्ता लागेको छ।


आजको कान्तिपुरमा प्रकाशित फोटो।


सोसल मिडियामा खिल्ली उडाउँदै गरिएका पोस्ट।

के हो सत्य ?

यो फोटो अहिलेको होइन। यो फोटो एक वर्षभन्दा पनि पुरानो हो। कान्तिपुर दैनिकमै यो फोटो एक वर्षअघि अर्थात् १७ पुस, २०७५ (१ जनवरी २०१९) मा गण्डकी प्रदेश पेजमा प्रकाशित भएको देख्न सकिन्छ।

कान्तिपुरको अनलाइन संस्करणमा पनि यो फोटो उतिबेला नै राखिएको थियो। यहाँ क्लिक गरी हेर्न सकिन्छ।

रोचक त के भने उतिबेला नै पत्रिका र अनलाइन दुवैमा यो फोटोलाई ‘फाइल फोटो’ लेखिएको थियो। अर्थात् त्यो फोटो त्यतिबेला खिचिएको पनि हैन, पुरानो हो।

तर आज कोरोना भाइरसको संक्रमणको त्रास बढ्दै गर्दा त्यसैसँग सम्बन्धित समाचारमा प्रयोग भएको फोटोमा पोखरीमा मास्क प्रयोग अनिवार्य गरिएको छ भन्दै पाठकलाई हालैको फोटो जस्तो गरी झुक्याउने गरी फोटो प्रयोग भएको छ जुन गलत हो। पाठकलाई यसले भ्रममा पारेको छ।

खासमा यो पोखरीमा वीरेनुन र गन्धककाे गन्ध आउने ताताेपानी रहेको छ। त्यही भएर मास्क लगाउन व्यवस्थापनले कोरोनाको प्रकोप हुनुभन्दा अघि नै आग्रह गरेको थियो।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Social Media Auto Publish Powered By : XYZScripts.com