बेरोजगार हुनुहुन्छ भने तपाईँलाई एउटा खुसीको खबर- सरकारले तपाईँलाई १०० दिनको रोजगार दिने भएको छ। यसका लागि आफू स्थायी बसोबास गरेको वडामा यही चैत महिनाभरमा दर्ता हुनुपर्ने सूचना सरकारले दिएको छ।
दुःखको खबर के हो भने पोहोर यस्तै खालको रोजगार कार्यक्रममा दिने काम नभएर झार उखेल्ने काम समेत गरेर करोडौँको बजेट सकाइएको थियो। झार उखेल्ने, रङ लगाउने जस्ता झिनामसिना काम गरेर बजेट सकाउने मेसोमात्रै गरिएको थियो। यसपालि के हुने हो, हेर्न बाँकी छ।
बेरोजगार हुनुहुन्छ भने तुरुन्त दर्ता गर्न गइहाल्नुस्। दर्ता गर्नका लागि नेपाली नागरिकताको फोटोकपी, पासपोर्ट साइजको फोटो, बसाइसराइ गरेर आएको भएमा बसाइसराइको प्रमाणपत्रको फोटोकपी, पढेको भए शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपीसहित फाराम भर्नुपर्छ। तलको काठमाडौँ महानगरपालिकाको सूचना हो। सबै स्थानीय तहले यस्तो सूचना निकालेका छन्।
बेरोजगार दर्ताका लागि फाराम भने यस्तो भर्नुपर्छ। यहाँ क्लिक गरी हेर्नुस्।
यो वर्ष हरेक स्थानीय तहलाई न्यूनतम १० लाख रुपैयाँ देखि अधिकतम ७५ लाख रुपैयाँ सम्म विनियोजन गरिएको छ। यो रकम पहिले जस्तो झार उखेल्ने काममा नभएर ग्रामीण सडक निर्माण, सडक मर्मत, विद्युतीकरण र तटबन्ध निर्माण लगायतका स्थानीय योजनामा मात्रै खर्च गर्न पाइने भनिएको छ।
तर नेपाल हो, यो त सब भन्ने कुरा न हो भन्दै अर्कैमा पनि खर्च हुने हो कि, त्यतिबेला थाहा भइहाल्नेछ। अहिले भने दर्ताको काम चलिरहेको छ।