स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आज आयोजित पत्रकार सम्मेलनमा तेस्रो कोरोना भाइरस संक्रमित व्यक्ति चैत ६ गते कतारबाट आएको बताएका थिए। तर उनी कतारबाट हैन एयर अरेबियाबाट आएको भन्दै स्वास्थ्य मन्त्रालयले गल्ती सुधारेको छ। मन्त्रालयले आफ्नो फेसबुक पेजमा ‘कोरोना भाइरस (कोभिड-१९)का तेस्रो संक्रमित व्यक्ति मार्च १९ (चैत ६) गते एयर अरेबियाको फ्लाइट नम्बर जी९५३७ बाट राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको’ जानकारी दिएको छ। संवेदनशील यस्तो विषयमा समेत मन्त्रीले यसरी गल्ती गर्न नहुने हो।
फ्रान्सबाट नेपाल आएकी एक किशोरीलाई कोरोना भाइरस संक्रमण भएको खबरपछि कतार एयरवेजको QR 652 बाट नेपाल आएकाहरुको खोजी जारी भइरहेकै बेला फेरि नयाँ चुनौति थपिएको छ। अब फेरि चैत ६ गते एयर अरेबियाबाट नेपाल आएका यात्रुहरुलाई खोज्नुपर्ने भएको छ।
अघिल्लो ब्लगमा पनि भनेको थिएँ, भियतनामको स्वास्थ्य मन्त्रालयले यसरी फ्लाइट नम्बर नै तोकेर सम्पर्कमा आउन सूचना दिएको छ। हामीले पनि त्यसै गर्दा सहज हुन्थ्यो।
ती व्यक्ति काठमाडौँ आएर ट्याक्सी चढेर गई होटलमा बसेका थिए। अब ट्याक्सी र होटलका मानिसहरु पनि पहिचान गरेर उनीहरुको पनि निगरानी र परीक्षण गर्नुपर्ने भएको छ।
नेपालमा अहिलेसम्म लोकल ट्रान्समिसन अर्थात् विदेश नगएकाहरुलाई कोरोना संक्रमण भएको भेटिएको छैन। तर भइसकेको हुनसक्ने भएकोले सतर्कता आवश्यक छ। हामीले प्रभावित देशबाट आउने यात्रुहरुलाई समयमै क्वारेन्टिनमा राख्नबाट चुकेको अब प्रष्ट भइसक्यो। नत्र फ्रान्स र युएईबाट आएका यी व्यक्तिहरु क्वारेन्टिनमा हुन्थे र उनीहरुले अरुलाई सार्ने सम्भावना कम हुन्थ्यो।