१५ वर्षअघि आजैको दिन ‘ल है मेरो पनि ब्लगिंग सुरु भयो’ भनेर ब्लग लेख्न थाल्दा त्यो यात्रा कहिलेसम्म होला भन्ने सोचेकै थिइनँ। त्यतिबेला देश संकटमा थियो। राजा ज्ञानेन्द्रले संकटकाल घोषणा गरेका थिए। १५ वर्षपछि आजको दिन फेरि देश संकटमा नै छ। कोरोना भाइरससितको युद्धका लागि १३ दिनदेखि पूरै नेपाल ठप्प छ। नेपालीहरु घरभित्रै छन्। यो अवधिमा राजनीतिक मात्र हैन सञ्चारमा पनि अद्भूत परिवर्तन हामीले देख्यौँ। फेसबुक,ट्विटर र युट्युब जस्ता अहिलेका चर्चित सोसल मिडिया त्यतिबेला थिएन। इन्टरनेट पनि अचेलको पुस्तालाई अचम्म लाग्ने डायल अप मोडमको भरमा चल्थ्यो। न्युजपोर्टलहरु अङ्ग्रेजीमा मात्र थिए। स्मार्टफोनको त के कुरा, मोबाइल फोनै भर्खर आएको थियो। त्यस्तो प्रतिकूल परिस्थितिमा सुरु भएको माइसंसारको यात्रा निरन्तर हुनुको एक मात्र कारण साथ दिने पाठकहरु नै हुन्।
सुरुदेखि नै पाठकहरुको माया माइसंसारले पायो। सोसल मिडिया नभएको त्यो बेला इन्टरनेटमा राखिएका कुनै कुरा प्रचार गर्न सजिलो थिएन। यो वेबसाइट पनि छ है भनेर जानकारी दिने माध्यम नै इमेलबाहेक अरु केही छँदै थिएन। तर पनि लोकतान्त्रिक आन्दोलनको त्यो समयमा त्यतिबेला विदेशमा भएका पाठकहरुले माइसंसारको प्रचारका लागि ठूलो योगदान गरे। साइटको लोकप्रियतासँगै होस्टिङ लगायतका प्राविधिक समस्या समाधान गर्न पाठकहरुले स्वेच्छाले आर्थिक सहयोग पनि गरे। त्यतिबेला त्यस्तो सहयोग नभएको भए माइसंसारको अवसान भइसक्थ्यो।
माइसंसारको सुरुवात १५ वर्षअघि आजैको दिन भए पनि त्यतिबेला यो डोमेनमा भने थिएन। निःशुल्क पाइने ब्लगसमबाट यो यात्रा सुरु भएको थियो। डलर तिरेर डोमेन दर्ता गर्न र वेबहोस्टिङ गर्न अहिले त गाह्रो छ भने त्यतिबेला सजिलो हुने कुरै भएन। तर पनि निःशुल्क सेवाले दिने दुःख बढेपछि झण्डै एक वर्षपछि २९ मार्च २००६ मा माइसंसार डट कम दर्ता गरी यात्रा सुरु भएको थियो।
माइसंसार सुरु हुँदा नेपालमा नेपाली भाषाको न्युजपोर्टल खासै थिएनन्। इन्टरनेटमा समाचार पढ्ने पाठक विदेशका हुन्छन्, त्यसैले विदेशमा बस्नेहरुलाई अङ्ग्रेजी सहज हुन्छ भन्ने मान्यता थियो। त्यसलाई चिर्दै माइसंसारले युनिकोडमा नेपाली भाषामा ब्लगिङ थालेको थियो। अचेल स्मार्टफोनबाट फेसबुक तुरुन्त लाइभ स्ट्रिमिङ गर्न सकिन्छ। तर त्यतिबेला यस्तो प्रविधि नभएको अवस्थामा माइसंसारले नारायणहिटी दरबारबाट लाइभ भिडियो स्ट्रिमिङ गरेको थियो।
सन् २००८ मा नारायणहिटी दरबारअगाडिबाट लाइभ गर्ने तयारी।
अहिले नेपालमा न्युजपोर्टल धेरै भइसके। सूचना विभागमा दर्ता भएकै न्युजपोर्टलहरुको संख्या झण्डै दुई हजार पुग्न लागिसकेको छ। तर पनि विश्वासिला र नाम चलेका अनलाइनहरुको संख्या औँलामा गन्न मिल्छ। ती मध्ये सबैको शैली लगभग उस्तै छ। औपचारिक र सतहीि समाचारहरुमा नै यी अनलाइनहरु अल्झिएका छन् जसलाई नपढे पनि हामीलाई खासै केही घाटा हुँदैन। अर्कोतर्फ सोसल मिडियामा फैलने फेक न्युजहरुले अनलाइनको विश्वसनीयतामाथि प्रहार गरिरहेको छ। अनलाइनको संख्या बढ्यो तर गुणस्तर बढेन। मूलधारका मिडिया मध्ये नागरिक र अन्नपूर्ण पोस्टको अनलाइनको संस्थापन नेतृत्व गरेको र पछि अनलाइन मात्र सञ्चालन गर्ने पहिलोपोस्टको नेतृत्व गरेका कारण मलाई मूलधारका अनलाइन र ‘इन्डेपेन्डेन्ट अनलाइन’ दुवैको शक्ति र कमजोरी थाहा छ जस्तो लाग्छ।
माइसंसारलाई पनि न्युजपोर्टलमा परिवर्तन गर्नुपर्यो भन्ने सुझाव नआएका हैनन्। तर यदि माइसंसारले ब्लगको अनौपचारिक शैलीलाई परिवर्तन गरी न्युजपोर्टलमा आफूलाई ढालेको भए यो पनि त्यही सयौँ अनलाइनहरुको भिडमा एक हुनपुग्थ्यो भन्ने लाग्छ। अनि के हुन्थ्यो? विज्ञापनहरु हुन्थे। आर्थिक रुपमा त सबलै भइन्थ्यो। तर विज्ञापन भएपछि के हुन्थ्यो? विज्ञापनदाताको स्वार्थसँग बाझिने गरी केही लेख्न नपाउने गरी हात बाँधिन्थ्यो। सम्पर्कहरुको घेरा बढ्दै जाँदा यसको स्वार्थ र उसको स्वार्थ थपिँदै जान्थ्यो र बिस्तारै इन्डिपेन्डेन्ट हुन गाह्रो हुँदै जान्थ्यो।
चाहे ती मूलधारका राष्ट्रिय दैनिकहरु हुन् वा धेरै लगानीका अनलाइन, अथवा साप्ताहिक पत्रिका र साना अनलाइनहरु- सबैका आफ्ना स्वार्थ हुन्छन् नै। अलिकति मिडिया साक्षर व्यक्तिले फ्याट्टै थाहा पाइहाल्छ, कुन मिडियाको स्वार्थ के, के कारणले यो समाचार आयो, यो समाचारले कसलाई ठोक्न खोज्यो, कसलाई बोक्न खोज्यो?
अहिले भएभरका सबै मिडियाको मुख्य लक्ष्य व्यापार अर्थात् नाफा कमाउने नै छ। तर मिडिया नाफा मात्र कमाउने व्यवसाय भने होइन। तर ठूलो खर्च व्यहोर्नु पर्ने व्यवसायिक पाटोका कारण मिडियाका हात त्यसै पनि बाँधिन्छन्। पाठकको सहयोगमा चलेको मिडियाको उदाहरण विदेशमा छ, तर नेपालमा छैन। अहिले झन् इन्डिपेन्डेन्ट मिडियाको खाँचो बढेको छ। अहिले संख्यामा त हामीसँग धेरै अनलाइनहरु छन्। तर हेर्नुस् त, हरेक अनलाइनमा उस्तै समाचार, उस्तै शैली। सोसल मिडियाबाट जानकारी पाइसकेको खबरका लागि हरेक अनलाइनमा छुट्टाछुट्टै गएर क्लिक गर्नुपर्ने आवश्यकतै हुन्न। तर पनि यत्रा अनलाइनहरु चलेकै छन्। त्यसमा विज्ञापनहरु देखिएकै छन्। क्रिटिकल एनालाइसिसहरु र डेप्थ रिपोर्टिङ पढ्नै पाइन्न। समाचारको फरक पाटो कसैले खोज्दै खोज्दैनन्, सतही जानकारीमै अल्झिएका छन् सबै।
मिडियाको संख्या धेरै भए पनि धेरै मिडिया बेलाबेलामा चिप्लिने गर्छ। माइसंसार एक्लो प्रयासमा चलिरहेको सानो ब्लग भए पनि ठूला मिडियाका ठूलै किसिमले चिप्लेका घटनाहरुमा सतर्क गराइरहेको छ। राष्ट्रपतिसमेत झुक्किन पुगेको कान्तिपुरको अनुजा बानियाँको गलत समाचारको विषयदेखि टियुका मानवशास्त्र प्रमुख डम्बर चेम्जोङविरुद्ध रिपब्लिकाको नियोजित समाचारको ब्लगले पारेका असरहरु बारे तपाईँ पाठकहरुलाई स्मरण हुनु नै पर्छ। निर्मला पन्तको बलात्कार र हत्याको प्रकरणमा मूलधारका मिडिया हल्लाका भरमा नकुदेको भए यतिबेलासम्म दोषीले कानुनसम्मत सजाय पाइसकेको हुन्थ्यो भन्ने मलाई अहिले पनि लाग्छ। त्यो थाहा हुनुको कारण चाहिँ पहिलोपोस्टमा हुँदा गरेको #WhoKilledNirmala सिरिजको डेप्थ रिपोर्टिङ हो।
अहिलेका अनलाइनहरुलाई यो अवस्थामा ल्याउन प्रेरित गर्ने उही ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा जन्मिएका ब्लगहरु नै हुन्। अहिले पनि मूलधारका बाटो बिराएका मिडिया र सरकारलाई सचेत गराउन यस्ता ब्लगहरुको आवश्यकता खट्किन्छ। तर दुःखका साथ भन्नुपर्छ, त्यो बेला सँगै ब्लग गरेकाहरुले अहिले ब्लगसितको नाता तोडिसके। माइसंसारभन्दा पहिले ब्लग थालेको युनाइटेड वी ब्लगमा सन् २०१५ देखि नयाँ पोस्ट छैन। यसका संस्थापकमध्ये दिनेश वाग्ले मूलधारको पत्रकारिताबाट अलग्गिएका छन् भने उज्ज्वल आचार्य बीबीसी नेपालीमा छन्। हाम्रोब्लगको डोमेनै एक्सपायर भइसक्यो। यसका संस्थापक केपी ढुंगाना नेपाललाइभका सम्पादक छन्। नयाँ पुस्ताबाट आशालाग्दो रुपमा देखापरेको मिडियासम्बन्धी छुट्टै ब्लग चलाइरहेको मिडियाकुराकानीमा नयाँ अपडेट हुन छाडेको झण्डै दुई वर्ष पुग्न लाग्यो। यसका संस्थापक रविराज बराल हाल नेपाल म्यागेजिनको डिजिटल विभाग सम्हाल्दैछन्। अहिले त फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक, युट्युब जस्ता सोसल मिडियाका कारण नयाँ ब्लगरहरु पनि देखिनै छाडिसके।
सहयात्रीहरुले छाडेर एक्लो बनाए पनि माइसंसारको ब्लग यात्रा जारी छ। १५ वर्ष पूरा भयो तर अनेक चुनौतिका बीच हालसम्म निरन्तर छ। कृष्ण ढुंगाना, दीपक भट्टराई, उत्तमबाबु श्रेष्ठ, प्रमेय भण्डारी, सुदर्शन काफ्ले, स्याटेलाइट, सूर्य खड्का आदिले विभिन्न समयमा नसघाएको भए यो यात्रा कठिन हुन्थ्यो। फेसबुकमा अन्तर्क्रिया सुरु हुनुअघि माइसंसारमा पाठकहरुको कमेन्टको लर्को लाग्थ्यो जसलाई व्यवस्थापन गर्न निकै गाह्रो हुन्थ्यो। पुष्प, लुना, मदन, गगने, द्रोण, शिशिर आदि सेलिब्रिटी कमेन्ट लेखकहरु थिए। आजको दिन उनीहरुमात्र हैन ती सबै पाठकलाई सम्झेर तपाईँहरुको योगदानका लागि धन्यवाद दिन चाहन्छु। स्वदेश तथा विदेशमा बाटोमा यसै भेट भएका आफूले नचिनेकाहरुले पनि ‘तपाईँ माइसंसारको हैन, म पढ्ने गर्छु नि’ भनेको सुन्दा रमाइलो लाग्छ।
आगामी दिन
माइसंसार सुरु हुँदा र अहिलेको अवस्था फरक छ। राजनीतिक, सामाजिक र प्रविधिगत रुपमा पनि यो बीचमा धेरै परिवर्तन भइसकेको छ र आगामी पाँच वर्षभित्र अझै के कस्तो परिवर्तन हन्छ, कसैले यही हो भनेर भन्न सक्ने स्थिति छैन। तर तपाईँ पाठकहरुकै माया र साथका कारण माइसंसार निरन्तर छ। मिडियाको निरन्तर निगरानी र सोसल मिडियामा भाइरल हुने विषयहरुको फ्याक्टचेक अहिले हाम्रो प्राथमिकताको विषय भएको छ। यसका लागि संस्थागत रुपमा गैर नाफामूलक सेन्टर अफ मिडिया रिसर्चसँग पनि सहकार्य भएको छ। हामीले नेपालफ्याक्टचेक साइट पनि सुरु गरेका छौँ। अहिले दुवै वेबसाइटमा एकै साथ प्रकाशित हुँदै गरेको भाइरल विषयका फ्याक्टचेक बिस्तारै त्यो वेबसाइटमा मात्र अपडेट हुनेछ। त्यसबाहेक न्युजसाइटहरुको एकोहोरो विषयवस्तु भन्दा फरक रोचक ब्लग पस्कने कोशिश जारी हुनेछ। कुनै रोचक विषयवस्तु भएमा तपाईँले पनि लेखेर माइसंसारमा पठाउन सक्नुहुनेछ। अथवा यो विषयमा लेख्दा राम्रो हुन्छ है भनेर सुझाव दिन सक्नुहुनेछ। माइसंसारलाई नयाँ परिस्थितिमा कसरी अघि बढाउन सकिन्छ, त्यो विषयमा पनि सुझाव दिन सक्नुहुनेछ [email protected] मार्फत्।
र अन्त्यमा, वर्षौँदेखि परिवर्तन नभएको माइसंसारको लेआउट पनि यो वर्ष परिवर्तन गर्ने प्रयास हुनेछ। सबैलाई धन्यवाद !
सबै ब्लग पड्ने तर कहीले कमेन्ट नगर्ने पाठक हुम । सधै हफ्ता हप्ता मा के नयाँ ब्लग आयो भनेर चेक गर्छु । २००८ तीर बाट यो क्रम जारी छ। सारै उत्कृष्ठ खोज अनुशन्धान गरेर ब्लग लेख्नु हुन्छ ।
सम्झनुभो; खुशी लाग्यो उमेशजी । बधाइ तथा शुभकामना ।
Coagulation mysansar. I have been a regular reader of this blog since 2009. Those were the days when comments sometimes had more weight than the article. I hope we will still get to read more from you in coming days and get similar vibes of those days. Personally I really appreciate your hard efforts in those days of tough times.
अहिले मलाई अतीतका ती दिनहरु सम्झन मन लागेर आयो जब हामी बिदेशिएकाहरुलाइ नेपालको ताजा अनि भरपर्दो समचार पढ्नको लागि माईसंसारको विकल्प थिएन । राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर संकटकाल लगाएका थिए । उता नेपालमा जनआन्दोलन २ को आधिबेरी सुरु हुदै थियो । यता जापानमा घर परिवार आफन्त र साथीहरुको पिरले हाम्रो मनमा आधिबेरी ल्याऊदथ्यो । त्यो बेला यस्तो पनि थियो म र अर्का साथी केवल माइसंसार पढ्नको लागि मात्रै हाम्रो विश्वविध्यालयको कम्प्युटर ल्याबमा छिर्ने गर्थ्यौ । एक्लो मान्छेको प्रयासले जोखिमपूर्ण त्यो आन्दोलनको भिडभाडमा गएर फोटो भीडियो खिच्नु, त्यो बेलामा उपलब्ध सिमित प्रबिधिले रात भरि लगाएर अपलोड गर्नु , न्युज लेख्नु, नेपालीमा टाइप गर्नु ; खै त्यो सबै कसरी म्यानेज गर्नु हुन्थ्यो अहिले सम्झदा अनौठो लाग्छ । त्यो बेला देखि नै उहाको समाचार पढ्ने अनि केहि नभए पनि दिनको एकपल्ट भए पनि माइसंसार खोल्ने लत नै लाग्यो । नढाटी भन्दा आज भोलि पनि यी औलाहरु अनायासै माइसंसार टाईप गर्न गइहाल्छन । तर नया पोस्ट नदेख्दा दुखि हुन्छन यी आँखाहरु ।उमेशजीका पनि आफ्नै बाध्यताहरु होलान ।अबुझ पनि त छैन यो मन । उमेशजी र माइसंसारलाइ धेरै धेरै धन्यबाद अनि उत्तरोत्तर प्रगतिको शुभकामना !
Maile padna thaleko thyakka 10 barsa vayecha. Ramro lagcha
बधाई छ शालोक्य (उमेश श्रेष्ठ) ज्यू,
म ठ्याक्कै कहिले देखि माइ संसारको पाठक भएँ भन्ने त थाहा छैन तर जहाँँ सम्म लाग्छ, एक दशक भन्दा बढी चाहीँ नाघी सकेको छ । यो अवधीमा मैले फेसबुकमा लेखेका केही स्टाटसहरु समेत प्रकाशित् गरेर विष्वव्यापी बनाएर मलाई ऋण समेत लगाउनु भनेकोमा धन्यवाद भन्नै पर्छ । जत्ती सुकै अनलाइन वा पत्रीकामा आएका समाचार हुन वा सामाजिक सञ्जालमा भाईरल भएका असमाचारहरु, सबै सबै खोजी खोजी फ्याक्ट-चेक देखि वास्तविकताको खुलासा गर्ने नै यही माइ संसार नै हो । यो अवधीमा शालोक्यजीले कस्ता-कस्ता “स्वघोषित बरिष्ठ पत्रकार” हरुको धोती खुस्काइ सक्नु भएको छ । त्यस बाहेक हरेक समाचारको जरा सम्म पुगेर खोजि-निती गरेर लेखिएको ब्लगहरु गज्जब लाग्छन । मलाई यो चाहीँ गज्जब चाख लाग्ने भएकैले गर्दा होला, दैनिक नभ्याउँदा पनि हप्तामा ३-४ चोटी यता छिरेर एक एक ब्लग नपढी चित्तै बुझ्दैन । यो यसरी नै निरन्तर अगाडी बढी रहोस्, अझै पचासौँ एनिभर्सरीमा भब्य पार्टी आयोजना होस् र त्यो पार्टीमा मलाई पनि निम्तो आवोस भन्ने सदिच्छाका साथ शुभ कामना ।
अहिले छ्यापछ्यापति निस्केका युट्युबेहरु जस्तो कमेडी, उच्छ्रिन्कल र हृदय विदारक घटना जथाभाबी देखाउने पारा नभएको मेरो संसारलाई रजत जयन्तीसम्म पुगोस भन्ने शुभकामना छ।
आहा !! १५ वर्ष भएछ, सालोक्य जी तथा सम्पूर्ण साथीहरूलाई हार्दिक बधाई र आगामी दिनका लागि सफलताको शुभकामना । म दिनमा कम्तीमा २-५ पटक ब्लग हेर्ने र पढ्ने गर्छु, विगत १० वर्ष देखि ।
माइसंसार “नेपालीको आवाज” मात्रै होईन “नेपालीको खवरदार” पनि बनेको छ्। बधाई छ्।
Congratulation Mysansar, Umesh ji and entire team!
I came to know your blog around 2008 via Uttam Babu Shrestha (in Boston at that time) and have been a very regular reader of your blog since, but a passive reader. I enjoy it thoroughly including the comments and clarifications. IMO, Sapkota is by far the most analytic, authentic, brave and fearless, unbiased independent blogger in contemporary Nepalese journalism. I want to congratulate you on this milestone and wish you the very best for your continued fearless and unbiased in-depth analytic blog journalism.
मलाई मन पर्छ ।
Congratulations and best wishes.
ओहो १५ वर्ष भएछ माई संसार पढ्न थालेको। १५*३६५= ५४७५ चोटी त नबीराई पढेको छु माई संसार।
हार्दिक वधाई उमेश दाजु। east or west , MySansar is the best?
१५ बर्ष पुरा भएकोमा बधाई छ| मैले पनि माइसन्सर हेर्न थालेको १४ बर्ष पुगेछ| बिदेशमा थिए, नेपालमा आन्दोलन शुरु भएको थियो| आन्दोलनको खबर हेर्न मन लाग्थ्यो| नेपाली पत्रीकाहरु भर्खर अन्लाइनमा गएका, खासै भर्पर्दा थिएनन| त्यही मौकामा यो ब्लग फेला परेको थिए| गहिराइमा गएर रिपोर्टिङ गरेको हुन्थियो| आन्दोलनको भिडियो पनि हेर्न पाइन्थ्यो| त्यसैले नियमित हेर्थे| आन्दोलन सकिएपछी पनि नियमित नै हेर्थे|बेला-बेलामा कमेन्ट पनि गर्थे| २००- ३०० कमेन्ट हुन्थे| त्यसैले कमेन्ट मोडेरेटर पनि थिए होलान| तेतिबेला देश नै माओवादीमय थियो| माइसन्सरमा पनि माओवादीलाई समर्थन गर्ने खाल्का लेखहरु हुन्थे, कमेन्ट पनि अधिकांश तेस्तै| बाहुन- क्षेत्रिलाई गाली गर्नु त्यो बेलाको फेसन जस्ताइ थियो, कमेन्ट्मा देख्न सकिन्थ्यो| म चाँही अली फरक खालको कमेन्ट गर्ने| धेरैजस्तो छापींदैन थिए| युनिकोडमा कती मेहेनत गरेर लेखेको कमेन्ट नछपिंदा रिस पनि उठ्थ्यो| कहिलेकाहीं माइसन्सार पक्षपाती भएको भन्दै कमेन्ट लेख्थें| ति त छापिने कुरै भएन| जे लेखे पनि मेरो भाषा चाँहीं सभ्य नै हुन्थ्यो| पछी फेरी नाममा कडाइ हुन थाल्यो| छद्म नाममा कमेन्ट लेख्न नपाईने, रियल नाम राख्नुपर्ने| जागिर खोजेको हो र ईन्टरनेटमा कमेन्ट लेख्दा परिचय खुलाउनु पर्ने भन्ने लग्थ्यो| मेरो कलेजको डट इडियु ईमेललाई पनि फेक ईमेल भनेर कमेन्ट रिजेक्ट हुन्थे| बिस्तारै कमेन्ट गर्न छोडें| तर ब्लग चाँही बेलाबेला चेक गरिरहन्थें| पछी नेपाली भाषामा समाचार पढ्ने धेरै माध्यम भए| तर पनि माइसन्सार हेर्न चाँही अझै छोडेको छैन| बिस्तारै ब्लगमा पानी maturity बढेको भान हुन्छ, लेखहरु निस्पक्ष लाग्छन, हल्लाको पछी नकुदेर वास्तविकता खोजी गर्न खोजेको भान हुन्छ| अरुतिर कुनै समाचार पढ्दा त्यसको सत्यता माथि संका लाग्यो भने माइसन्सारमा के लेखिएको रहेछ भनेर हेर्न मन लाग्छ| पाठकको रुपमा मेरो पनि maturity बढेको होला| १९- २० बर्षको युबकबाट उमेर पनि अगाडि बढीसक्यो| सानातिना टिकाटिप्पणी गर्ने रहर पनि हुँदैन| जे होस् हाम्रो सम्बन्ध निरन्तर जारी छ| हरेक सम्बन्ध राम्रै राम्रो वा नराम्रै नराम्रो हुंदैन| शायद यो सम्बन्ध पनि यस्तै होला| उमेशजी र माइसन्सार ब्लगको शुभचिन्तक हुँं| भबिस्यमा पनि सफलताको शुभकामना|
पाठकहरुमाझ विश्वासको पात्र बन्न सफल माइसंसार ब्लग ब्लग नै रहोस् । थोरै तर पुष्टिकासाथ प्रकाशित हुने विचारहरुले सबैको मन जितेको छ ।
हेर्दाहेर्दा सोह्र बर्षे लक्का पठ्ठो भैसकेछ । बधाई छ ।
Dear Salokya JI Please keep it on i’m one of your follower
मेरो मनपर्ने माइसंसार ब्लग १५ बर्ष पुगेछ !
यो युनिकोड नेपालीमा सञ्चालन भएको विश्वकै पहिलो ब्लग हो । यसबारे विदेश बस्दा थाहा पाएको थिए । दिनमा कम्तिमा २ पटक खोल्थे । ब्लग र तिनमा लेखिएका कमेन्टहरु पढ्दा निकै आनन्द लाग्थ्यो । अहिले पनि नियमीत रुपमा खोली रहन्छु, पढीरहन्छु । खोल्ने मात्र होइन आज भोलि कहिलेकाँही लेख्छु पनि ।
आँटिला, ज्ञानी र मेहनती उमेश श्रेष्ठले (सालोक्य) यसलाई बिगत १५ बर्ष देखी चलाई रहेका छन् । उनी व्यक्ति मात्र रहेनन्, उनि माइसंसार मार्फत सँस्था नै बनि सकेका छन् । माइसंसारको आगामी दिनहरु पनि बिगत जस्तै सफल रहुन ।
I have been following mysansar from day 1, always a fan.
Good Good
मैले २०६८ देखि माइसन्सारका हरेक ब्लग नछुटाइ पढेको छु । यसमा लेखिएको जानकारीले धेरै जिज्ञासाहरू पूरा भएको पाउँछु र हरेक समय यसलाई पछ्याउँछु । माइसन्सार डटकमको अझै प्रगतिको कामना ।
badhai chha Umesh ji, Natra nirantar chalirahos.
मैले पनि २००७ तिर बाट माइसंसार पढिरहेको हो। अहिले पनि कार्यस्थलमा भएको बेला कम्तीमा एकपटक खोल्ने गर्छु। पहिला पहिला खुब रमाइला लेखहरु अनी शनिवार साहित्य आउने गर्थ्यो। कमेन्ट पनि अली अली गर्ने गर्थे । त्यो बेला अहिले जस्तो सन्जाल अनी ईन्टरनेट सर्वसुलव पनि थिएन। खुब मजा आउथ्यो माइसंसार पढ्न । धन्यवाद सालोक्य जी….
म यस माइसंसारको नियमित पाठक हुँ, साथै प्रतिक्रिया जनाइरहने व्यक्ति पनि हुँ । समाचार आएपछि टाउको घुमाएपछि माईसंसार छिरेपछि टाउको हल्का हुने जानकारी पनि गराउँछु ।
बधाइ छ माइसन्सार र उमेशसर लाई । म नि माइसन्सार को नियमित पाठक थिय उ बेला ।र अहिले नि हेरिरहन्छु ।सुर्य खड्का को ब्लग को त म फ्यान नै हो।मैले नि एक दुई वटा ब्लग लेखेको थिय उ बेला आज त्यो हेर्न मन लाई रा छ तर कसरी होला? 2009/10 तिरको कुर होला त्यो ।
२००५देखि२०१० सम्म लगभग सबै ब्लग हेरिन्थ्यो र चाख लागेको बिषयहरुमा पुराना जमेर आफ्नो भनाई राख्दै माईसंसार बिचरण गर्ने विभिन्न मित्रहरु संग स्वस्थ्य मुकावलाकर्ताको रुपमा कांचो कर्कलोको नामले उभ्याएको थिएं।अहिले पनि त्यो झल्को लागि रहन्छ र ती मित्रहरु कता हुनुहुन्छ होला भनेर कल्पिन्छु।बास्तबमै त्यस ताका धेरै जसो ब्यक्तिहरुलाई(जो नेट पहुंचमा हुनुहुन्थ्यो)माईसंसार नहेरे दिन नै अपुरो लाग्ने गर्दथ्यो।ती दिन सम्झिदा अहिले पनि रोमान्चित हुन्छु।माथी उल्लेख गर्नु भएका कमेन्टहरु संग तत्कालिन अबस्थामा करिपय बिषयमा मत मिल्थ्यो भने कतिपय बिषयमा मत बिभाजित हुन्थ्यो। तर कमेन्ट हेर्नुको मज्ज र प्रती कमेन्ट गरेपछी आउने प्रतिक्रिया र ठाडो बुढी औलाको संख्या गनेर आफ्नो हैसियत खुट्ट्याउने जमात पनि सानो थिएन।अहिले सबै गाएब भएको देख्दा प्रबिधी र जमाना धेरै अघि बढे छ कि क्या हो जस्तो लाग्छ।ती सबै कमेन्टकर्ताहरुको पुरानै नाममा पुनरागमन भएर माईसंसार फेरि अघि बढेको देख्न पाए सार्है सुखद अनुभूति हुने थियो।
एक्लो प्रयासमा जसोतसो भरथेग गरेर यहाँ सम्म निरन्तर यात्रा गर्न सफल हुनु भएकोमा उमेश जि बधाईको पात्र हुनुहुन्छ।
ल
१५ मा सुन्य थपिदा सम्म यस्ले आफ्नो युनिकता कायम राख्न सकोस,मंगल कामना!
माइ सन्सार को सुरुवाती कालदेखिको नियमित पाठक म पनि एक हो । माइ सन्सार ले आफ्नो सन्चालन को १५ बर्ष पुरा गरेको मा हार्दिक बधाइ साथै आगामी यात्राको लागी शुभकामना ब्यक्त गर्न चाहन्चु
युबराज फुयाल ( आसिश स्विस्)
स्विटजरल्याण्ड
Congratulations on your 15 wonderful years of blogging! Mysansar is much more than a regular blog! It has, at times proved itself to be way better than many existing news agencies in the country, in terms of imparting news and information to people. It stands for credibility, ample indepth research and professional responsibilty in media and communication! All the very best for future endeavours. I look forward to read from you more, as always!
१५ बर्ष पुरा गरेको मा माईसंसार लाई बधाई छ। म यो ब्लग शुरूवात देखीको नियमित पाठक हुँ। २००६ मा देशमा ठूलो आन्दोलन हुँदा यो ब्लगको निकै प्रशंसा भएको थियो। नियमित अपडेट यो ब्लगबाट मात्र हुन्थ्यो।सो समय मा फ्रान्स बाट हामी ३ जना साथीहरू मिलेर ब्लगलाई केही सहयोग पनि पठाएका थियौं। यो ब्लगको सदा झै निश्पक्ष अपडेट र उत्तरोत्तर प्रगति को कामना।
तप्त भण्डारी
पेरीस, फ्रान्स
यसको बेसिक ब्लग को लुक्स ब्लगरको जस्तै देखिन्छ है। ब्लग नै ठिक छ। रत्नपार्कमा २ रुपैयाँ मा पाइने हावा पत्रिका जस्तो भएका छन् अनलाइन पोर्टलहरु, केबल भ्रमको खेती गर्ने। माइसंसार को बिस्वसनीयता राम्रो छ। पत्रकारितामा हुने सबभन्दा ठूलो कुरा यहि हो, जुन कहिल्यै नगुमाउनु होला। हामी नि लेख बेलाबेला पठाउँदै गरौँला। १५ होइन आज ५० बर्ष पुग्यो भनेको सुन्न पाइयोस। शुभकामना
१५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गरेकोमा माइसंसार तथा उमेश दाजुलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना । साथै माइसंसारको नयाँ लेआउट आउने कुराले झनै खुशी तुल्याएको छ । बधाई तथा शुभकामना ।
नढाटि भन्नुपर्दा सालोक्य जी तपाई को ब्लग मैले २००६ देखि नै पढ्दै आएको छु । पहिला पहिला (निकै पहिला ) तपाइले राख्ने सिर्शक एकदम रमाइला खाल्का हुन्थे, झन् मजा लिई लिई पढ्ने गर्थे । हरेक दिन mysansar नखोलेको दिन छैन होला मेरो life मा । तपाई बिपसना मा हुदा mysansar पुरै रित्तै हुन्थ्यो (कुनै update हुन्नथियो) एकदम न्यास्रो लाग्थ्यो । काम गर्दा गर्दा दिक्क लाग्दा केहि नया आयो कि भनेर check गर्ने बानि नै बसेको छ । तपाइले लेख्ने तरिका मन पर्छ, हरेक कुरा लाइ राम्रोसंग अध्यायन गरेर मात्रै ब्लग लेख्ने तपाइको सैली लाइ सलुट गर्ने पर्छ । पत्रुकार जस्तो काम गर्ने टन्न छन् नेपाल मा, एउटा real पत्रकार को काम गर्ने मान्छे नेपाल मा औला मा गन्न सकिने मात्रै छन् । आगामी दिन मा तपाइँबाट झन् तिख्खर तिख्खर ब्लग पढ्न पाईयोस येही छ आशा अनि भरोसा । धन्याबाद तपाईको लेख्ने सैली, अनुसन्धान गर्ने सैली मा झन् भन्दा झन् राम्रो हुदै जावोस येही छ शुभकामना ।
म माइ संसारको नियमित पाठक हुँ। तपाइको ब्लगमा छापिने समाचारको सत्यता र निष्पक्षता नै सबभन्दा बलियो पक्ष हो। कुनै समाचारको विश्वाश नलाग्दा यादि माइसंसारमा छापिएको छ भने त्यो सत्य समाचार हो भन्ने छाप परेको छ। अहिले सत्य र तथ्यका समाचार भन्दा पैसा कमाउनको लागि लेखिने समाचार हावी भएको बेला तपाइको ब्लग हामी जस्ता पाठकहरुको लागि समाचारको सत्यता मापन गर्ने आधार बनेको छ। च्याउ सरी उम्रिदै बिलाउँदै गरेका नयाँ समाचार साइटको भिडमा माइ सन्सारले आफ्नो अनुपम पहिचान कायम राखोस्, भावी दिनहरुमा पाठकहरुको विश्वास झन् बढ्दै जाओस्। आगामी यात्राको लागि शुभकामना।
यात्रा लोभलाग्दो छ। म पनि पुरानो तर निष्क्रिय पाठक हुँ माइसंसारको। उमेशजीलाई शुभकामना।
Layout ta yei thik xa ni dai
१५ वर्षमा प्रवेश गरेकोमा माइसंसारलाई बधाई। माइसंसारको यात्रा लोभलाग्दो छ। यो विचमा सम्झेकोमा धेरै धन्यवाद। प्राविधिक कारण नचाहँदानचाहँदै हाम्रोब्लग डोमेन अर्काको स्वामित्वमा पुग्यो। महत्वपूर्ण सामाग्री हराए। चस्स हुन्छ सम्झदा नि। मेरोशहरडटकम मार्फत फेरी यात्रा शुरु गर्ने जमर्को गरेको थिए। न्युजरुमको नेतृत्वको जिम्मेवारी आएसँगै के भो के। कठिनै छ हो यात्रा ।
अहिले डिजिटल प्लेटफर्ममा उभिने साहस त्यही ब्लगको अनुभवले दिलाएको हो। अनलाइनको संख्या जति बढे पनि माईसंसारको स्वाद हराएको छैन। यात्रा थप गजव होस्। शुभकामना।
सञ्चार क्षेत्रको इतिहास पस्कनु भयो सर