यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

आहा, त्यो नयाँ वर्ष !

– सन्तोष न्यौपाने, बेल्जियम –

फूलहरू त धेरै थिए
तर गुलाफको फूल मन पर्‍यो
साथीहरु त धेरै थिए
तर तिमीलाई नै मन पर्‍यो

यिनै सुभेच्छाका साथ तिमीलाई नयाँ वर्षको शुभकामना।

कक्षा ९ मा पढ्दै गर्दा यही सायरी लेखेर साथीलाई पोस्टकार्ड मार्फत् नयाँ वर्षको शुभकामना पठाएको थिएँ। तर मैले पठाएको कार्ड जसले पाउनु पर्थ्यो उसले नपाएर अर्को साथीलाई पो गएछ। अब भएन फसाद।

विगतमा सबै विद्यालयहरू माध्यमिक तहसम्म हुँदैनथे। मैले अध्ययन गरेको विद्यालय माध्यमिक तहसम्म थियो। ८ कक्षा पास गरेर केही नयाँ विद्यार्थी साथीहरु मैले अध्ययन गरिरहेको विद्यालयमा जोडिन आइपुगे। त्यो नयाँ समूहमा मेरा लागि दुईजना विशेष थिए। एकजना सिर्जना र अर्की निमा।

मैले खासमा त्यो शुभकामना कार्ड निमालाई पठाएको थिएँ। खै किन हो निमालाई पहिलो नजरमा नै मैले मन पराएको थिएँ। नयाँ वर्षको मौका पारेर पठाएको कार्ड निमालाई नगएर अर्की साथी मञ्जुलाई पो गएछ। अब केटा साथीहरुले यता मलाई जिस्काउन थाले उता मञ्जुलाई। ती क्षणहरु अहिले पनि हिजोका दिन जस्तै लाग्छन्। ती नयाँ वर्षहरू अहिले पनि सुन्दर तस्वीर जस्तै मानसपटलमा सजिएर बसेका छन्।

स्कूले विद्यार्थी समयमा हरेक नयाँ वर्ष सुगन्धित हुन्थे। फिल्मका हिरो हिरोइन भएका कार्ड किन्यो, पछाडि शुभकामनाका सन्देशले भर्‍यो,अनि कापीको बीच भएको पाना च्यात्यो। खामको आकार बनायो अनि एकातिर पठाउनेको नाम र अर्कातिर पाउनेको नाम लेख्यो। अनि आदान प्रदान गर्‍यो। त्यसमा हुलाकीको काम गर्नेमा अरू साथीहरु हुन्थे। आहा कति रमाइला थिए ती नयाँ वर्षहरू। साथीबीच आत्मीयता हुन्थ्यो। नयाँ साल आएको जस्तै लाग्थ्यो। हामी सबैमा अर्कै प्रकारको खुसी मन हुने गर्थ्यो।

प्रत्येक नयाँ सालमा विशेष शुभकामना सन्देश पठाउने साथी खिमु र मेरो एकजना विशेष साथी थिए सुजित। सुजित हामीलाई नेपाली पढाउने शिक्षिका दीप्ति मेडमको छोरा थिए। हामी तिनै जना ३ कक्षासम्म सँगै पढ्यौँ। हामी तिनै जनासँगै एउटै बेन्चमा बस्ने गर्थ्यौं। जब ३ कक्षाबाट ४ मा गयौँ, सुजित अर्को विद्यालयमा पढ्न गए। सुजित हामीसँग छुट्टिन चाहेनन्। धेरै रोए। कराए। मेरो सम्झनामा आए अनुसार धेरै दिन त उनी नयाँ विद्यालयमा अध्ययन गर्न पनि गएनछन्। तर त्यसपछि हरेक नयाँ वर्ष हाम्रो लागि विशेष बनेर आयो। प्रत्येक वर्ष हामीले हिरो हिरोइनका कार्ड शुभकामना सन्देशका पात्र बने। अरूलाई एउटा कार्ड पठाउँदा हामीले उनलाई दुइटा कार्ड पठाउने गर्थ्यौं। यो १० कक्षासम्म निरन्तर नै चल्यो। यी क्षण सम्झँदा लाग्छ ,हरेक नयाँ साल किन विगत जस्तै हुदैँन? कसले पापी आँखा लगायो??

कक्षा ९ मा पढ्दै गर्दा नयाँ वर्ष सँगै अर्को बिर्सने क्षण पनि कैद छन्। नयाँ साथीसँग जोडिने क्रममा हामीसँग थर्क नामका साथी पनि आए। उनी अर्घाखाँचीको कर्चुलीबाट आएका थिए। उचाइको हिसाबमा धेरै सानो। धेरैले उसलाई भाइ भनेर बोलाउँथे, माया गर्थे। सर म्याडमको पनि फुच्चे भएको कारण प्यारो हुँदै गएको थियो ऊ। एकदिन म, निमा, सृजना र थर्क भएर खेल्ने क्रममा थर्क झ्यालमा अड्कियो। थर्क सानो पनि थियो अनि चकचके पनि। त्यतिखेर झ्यालमा फलामका डन्डी हुन्थे। त्यही डन्डीबाट निस्कने क्रममा ऊ अडकिएको थियो। उसलाई निकाल्न नसकेपछि मैले लात्ताले उसलाई पछाडिबाट हानिदिएँ। ऊ तुरुन्तै बाहिर निस्क्यो। यो सबैलाई सुनाएपछि एक हप्तासम्म यही सम्झँदै सबै हाँसे। अहिले पनि हाम्रो यही विषयमा हाँसो छुट्छ, जुन यही हरेक वर्ष आउने नयाँ वर्षको उपहार थियो।

कक्षा ९ पछि कक्षा १० को नयाँ वर्ष पनि साह्रै यादगार छ। कक्षा ९ पछि कक्षा १० मा म लगायत केही साथीहरूले हामीले विद्यालय परिवर्तन गर्‍यौँ। विद्यालय परिवर्तन गर्नुको एउटै उद्देश्य थियो एसएलसीमा राम्रो नम्बर ल्याउनु। जहाँ हामीले छोडेका साथी सुजितसँग पुनः जोडिने मौका मिल्यो। नयाँ विद्यालय, नयाँ मित्र।

हामीलाई विज्ञान पढाउने मोहन सर हुनुहुन्थ्यो। साह्रै कडा। पढाउने स्टाइल पनि फरक थियो। दिनहुँ कपडामा आइरन लगाए धार पारेर आउनुहुन्थ्यो। तर उहाँको विशेष गुण थियो हरेक बिहीबार लौरो साथमा लिएर आउने। हरेक बिहीबार उहाँले प्रश्न सोध्ने गर्नुहुन्थ्यो। हरेक हप्ता पिटाई बढदै जान्थ्यो। २ लौरोबाट सुरु भएको पिटाई ८० लौरोसम्म पुग्थ्यो। नयाँ वर्षको माहोल सँगै रमाइरहेका हामीहरूलाई त्यो बिहीबार नआएको भए हुन्थ्यो झै लाग्या थियो। साथी लक्ष्मी निकै तर्सित देखिन्थिन्। तर त्यो बिहीबार मोहन सरले सबैलाई उपहार दिनुभयो। भन्नुभयो:- ‘ आज तिमीहरूलाई आज प्रश्न सोध्ने छैन। बरु तिमीहरूको पिटाई पुनः सुरुबाट हुनेछ। यो तिमीहरूलाई नयाँ वर्षको शुभकामना सँगै उपहार पनि भयो।”

मोहन सरले यति के भन्नु भएको थियो सबैले टेबल ठटाएर उहाँको प्रशंसा गरे। हरेक बिहीबारको दिनमा पिटाई नखाने क्लास भरीमा एक दुई जना मात्रै हुन्थे । नयाँ वर्ष सँगैको त्यो क्षण अहिले सबैको दिमागमा ताजै रहेको छ। जुन रमाइला त्यतिकै छन्।

स्कुले जीवनका ती नयाँ वर्षहरू अब फर्केर आउने छैनन।कहिल्यै पनि फर्केर आउने छैनन्। त्यस्तै नयाँ वर्षहरू हामीले पाउने छैनौं। न हामीले पोस्टकार्ड खोजेर पाउनेछौ न त कापीका पानाका लिफा नै। केवल रहेका छन् स्मृतिका ती क्षणहरु जसले हरेक नयाँ वर्षमा पुन त्यही समयमा डोर्‍याउँदै पुर्‍याउँछ।

प्रविधिको फड्को सँगै सबै स्कूले साथीहरु लगायत सबैलाई नयाँ वर्षको शुभकामना।

Comments