कोभिड १९ को संक्रमण देखिन थाले यता आज सबैभन्दा बढी संक्रमित भेटिएको छ। आज एकै दिन ११ जनामा संक्रमण पुष्टि भएको छ। यो सबै उदयपुरका केस हुन्। योसँगै अब नेपालमा कूल संक्रमितको संख्या ३१ बाट बढेर ४२ पुगेको छ।
लकडाउनको म्याद वैशाख १५ मा सकिँदै गर्दा सबैलाई झस्काउने गरी उदयपुरबाट ठूलो संख्याको संक्रमण भेटिएको हो। प्रदेश नम्बर १ को उदयपुरले अहिले संक्रमितको संख्यामा नेपालका सबै ठाउँलाई उछिनिसकेको छ। त्यहाँ अहिलेसम्म भेटिएका संक्रमितको संख्या २४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले गर्ने सवा ४ बजेको नियमित प्रेस ब्रिफिङमा १ जनामात्र पोजिटिभ भेटिएको बताइए पनि साँझ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी कूल ११ जनाको संक्रमण पुष्टि गरेको हो।
उदयपुरमा पहिलो संक्रमण त्यहाँको भुल्केस्थित मस्जिदमा बस्दै आएका भारतीयमा देखिएको थियो। तर अहिले भने त्यो मस्जिद वरपरका मात्र हैन गाइघाट बजारका पसलेमा समेत संक्रमण भेटिएको कुरा आएका छन्। यसले उदयपुरमा समुदायमा संक्रमण फैलिसकेको हो कि भन्ने चिन्ता बढेको छ।
यसअघिसम्म नेपालमा विदेशबाट फर्किएका नेपालीमा मात्र संक्रमण भेटिएको थियो। विदेशबाट फर्किएकाले यहाँकालाई सारेको दुई तीन वटा केसमात्र देखिएकोमा अहिले भने संख्या धेरै हुन पुगेको देखिएको छ।
मन्त्रालयका अनुसार हाल त्रियुगा नगरपालिका स्थित भुल्केका संक्रमित पुष्टि भएकाहरुको विवरण यस्तो छ-
केस नम्बर ३२ : १८ वर्षका पुरुष
केस नम्बर ३३ : १८ वर्षका पुरुष
केस नम्बर ३४ : २० वर्षका पुरुष
केस नम्बर ३५ : ३३ वर्षका पुरुष
केस नम्बर ३६ : ४० वर्षका पुरुष
केस नम्बर ३७ : ४१ वर्षका पुरुष
केस नम्बर ३८ : ४१ वर्षका पुरुष
केस नम्बर ३९ : ५२ वर्षका पुरुष
केस नम्बर ४० : ३६ वर्षका महिला
केस नम्बर ४१ : उमेर नखुलेकी महिला