यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

जे नहोस् भन्ने डर थियो, त्यही भयो : लकडाउनको धज्जी उड्यो, विदेशै नगएकोमा पनि कोरोना फैलियो

के को दूरी, केको लकडाउन : मंगलबार काठमाडौँबाट बाहिरिँदै यात्रुहरु। फोटो : प्रवीण रानाभाट

लगभग १ महिना (मंगलबारसम्म २९ औँ दिन) हामी लकडाउनमा बस्यौँ। कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्ने नै उद्देश्य थियो। तर यत्रो दिन यसरी घरमा बन्दी जस्तो भएर बसिसकेपछि पनि आज मंगलबार जे भयो, त्यही नहोस् भन्ने नै हाम्रो कामना थियो।

आज मिडियामा आएका फोटोहरु हेर्दा लकडाउनको धज्जी उडेको थियो। मान्छे बाहिर निस्कनै नपाउने गरी गरिएको लकडाउनमा दशैँमा जस्तो कोटेश्वरमा काठमाडौँ बाहिर जानेहरुको भिड थियो। दूरी कायम हुने कुरा भएन भिडमा। कसरी जम्मा भए यत्रो भिड? कसैलाई थाहा थिएन। सरकार पार्टी फुटाउने अध्यादेशमा व्यस्त छ।

सरकारले आँखा चिम्लेको जस्तो लाग्यो। त्यसै पनि मिडियाबाट आलोचना सहनु परिरहेकै थियो। पुलिस र सिडिओलाई थाहा नदिई पैदल हिँडेर घर गइरहेकाहरुको फोटो र भिडियो खिचेर बिहान ५ बजेर २२ मिनेटमा अपलोड गर्नु रहस्यपूर्ण भन्दै प्रधानमन्त्री केपी ओलीले अन्तर्वार्ता दिएका थिए। लौ त नि पैदल हिँड्यो भनेर आलोचना गर्नेहरुलाई बसबाट जान देऊ भनेर आँखा चिम्लेर जान दिएको हो त सरकारले?

नत्र यति ठूलो भिड जम्मा भएर सरकारले लामो दूरीका यात्रुवाहक बस सञ्चालन नगर्न र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने आदेश कायमै भएको अवस्थामा कसरी लकडाउनको धज्जी उड्यो त? मुम्बईमा यसैगरी सयौँ मजदूरहरु अकस्मात् सडकमा आउँदा सरकारले तत्काल नियन्त्रण गरेको थियो। गलत र भ्रामक जानकारीहरुका कारण त्यसरी मान्छे भेला भएको निश्कर्ष पनि निकालिएको थियो।

यदि काठमाडौँ बाहिर पठाउने नै हो भने व्यवस्थित हिसाबले दूरी कायम गरेर पठाउन सकिन्थ्यो। लकडाउनको स्वरुप परिवर्तनको घोषणा गरे पनि हुन्थ्यो। तर यो केही नगरी केही नहुन्जेल केही हुँदैन भन्ने हिसाबले भिडम भिड गरेर दिउँसोदेखि मध्यरातसम्म गाडी कुद्‍न किन दिइरह्यो?

सरकारले न काठमाडौँमा अलपत्र परेका बाहिरी जिल्लाका मानिसहरुलाई जहाँ छ त्यहीँ बस्नुपर्छ भनेर आश्वस्त पार्न सक्यो, न व्यवस्थित रुपमा बाहिर पठाउन सक्यो।

भन्नलाई त सुरुमा बाहिरका केही गाउँपालिकाहरुले बस पठाएर काठमाडौँमा हुनेहरुको उद्दार गरेको भनिएको थियो। यसलाई त्यही रुपमा व्यवस्थित गरेर लान सकेको भए पनि हुन्थ्यो। तर आज मिडियामा जुन तस्बिर देखिएका छन्, त्यसले अव्यवस्थित रुपमा र असुरक्षित रुपमा मान्छे बाहिरिएको देखियो। त्यो पनि त्यस्तो दिन जुन दिन एकै दिन ११/११ जना संक्रमण भएको पुष्टि भयो। त्यो दिन, जुन दिन लोकल ट्रान्समिसन अर्थात् विदेशमा नगएको, आफ्नै गाउँ, सहर, टोलमा बसेको मान्छेलाई अर्को मान्छेबाट कोभिड १९ संक्रमण सरेको देखियो।

अब यसरी असुरक्षित रुपमा बाहिरिएकाहरुलाई र बाहिरिएकाहरुले जोखिम कति बढाउने हुन्!

के समुदाय स्तरमा संक्रमण फैलियो?
केही मिडियाले उदयपुरको घटनालाई लिएर समुदाय स्तरमा संक्रमण फैलिएको हुनसक्ने भनेर पनि समाचार दिएका छन्। उदयपुरमा धेरै केस भेटिए पनि यो विश्व स्वास्थ्य संगठनले व्याख्या गर्ने कम्युनिटी ट्रान्समिसन जस्तो चाहिँ अझै भइसकेको नहोला भन्ने लाग्छ। किनभने भारतमा त्यति धेरै संक्रमणका घटना आइरहँदा पनि त्यहाँ कम्युनिटी ट्रान्समिसन भएको भनिएको छैन। विश्व स्वास्थ्य संगठनको सिचुएसन रिपोर्टमा भारतमा क्लस्टर अफ केसेज भनिएको छ। अर्थात् एउटा क्लस्टरमा धेरै संक्रमण भेटिने। हाम्रो हकमा उदयपुरमा धेरै संक्रमण भेटिए क्लस्टर अफ केसेज हुनसक्ला। नेपाललाई अहिलेसम्म विश्व स्वास्थ्य संगठनले sproadic cases भनेको छ। चीनमा समेत विश्व स्वास्थ्य संगठनले cluster of cases भनेको हो।

अमेरिका, इरान आदि देशलाई मात्र कम्युनिटी ट्रान्समिसनको रुपमा वर्गीकरण गरिएको छ। विश्व स्वास्थ्य संगठनको व्याख्या यस्तो छ-

– No cases: Countries/territories/areas with no confirmed cases

पहिलो चरण : Sporadic cases: Countries/territories/areas with one or more cases, imported or locally detected
दोस्रो चरण : Clusters of cases: Countries/territories/areas experiencing cases, clustered in time, geographic location and/or by common exposures
तेस्रो चरण : Community transmission: Countries/area/territories experiencing larger outbreaks of local transmission defined through an assessment of
factors including, but not limited to:
– Large numbers of cases not linkable to transmission chains
– Large numbers of cases from sentinel lab surveillance
– Multiple unrelated clusters in several areas of the country/territory/area

हाम्रोमा यस्तो तेस्रो चरण आइसकेको नहोला। तर अझै हामी सतर्क हुन सकेनौँ भने यस्तो स्थिति आउन सक्छ। सकारात्मक रुपमा हेर्ने हो भने अझै पनि हाम्रो देशका ७७ जिल्लामध्ये ८ जिल्लामा मात्रै संक्रमण देखिएको छ। अरु जिल्लामा अहिलेसम्म संक्रमण देखिएको छैन। त्यसो त परीक्षणको संख्या पनि कमै छ अहिले। तर पछिल्लो समयमा आरडिटी टेस्टको संख्या बढेको छ र काठमाडौँ बाहिर पनि पिसिआर टेस्ट गर्ने ठाउँ थपिएका छन्।

आशा गरौँ हामी यो भन्दा खराब स्थितिमा पुग्नेछैनौँ।

दक्षिण एसियामा के छ हाम्रो स्थिति?

Comments