यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

प्रधानमन्त्री ओलीको शक्तिको श्रोत र विरोधका आयाम

-मनोज बाबु पनेरु-

दुई तिहाइको प्रधानमन्त्री हुँदै सबै भन्दा लामो समयसम्म टिकेका (नफेरिएका) निर्वाचित प्रधानमन्त्रीको रेकर्ड तिर आँखा लगाउँदै गरेका श्री खड्ग प्रसाद ओलीको शक्तिको श्रोत के हो ? सत्ता शक्तिको श्रोत विगतमा बल, वंश हुँदै लोकतन्त्रको स्थापना पछि अङ्कमा (संसद् सङ्ख्या) पुगेको निर्क्योल उत्तरको एक कुनो मात्र हो, बाकी पहेलीहरु छन् ।

चुनावको प्रक्रियाबाट अङ्क जुटाउने लोकतान्त्रिक व्यवस्थामा अङ्क पछाडि बल, वंशका साथै धनको पनि भरमार प्रयोग हुन्छ । साधारण पारिवारिक पृष्ठभूमिको परिवारमा जन्मिएका हालका प्रधानमन्त्रीको पैतृक पृष्ठभूमि (इतिहास) भौतिक सर्वहारा नमान्दा पनि सत्ता सर्वहारा हो भनेर मान्दा गल्ती नहोला । सत्ता सर्वहारा यस अर्थमा की उनी अघि उनको रगत नातामा परेका कोही पनि सत्ताका खेलाडी होइनन् ।

सायद, सैद्धान्तिक रूपमा लेस भएर भन्दा पनि परिस्थितिजन्य रोमान्टीजमले जेल हुँदै राजनीतिको खेलाडी हुन ल्याइपुराएको हो, उनलाई । वंश श्रोत नभए पनि बल र धन जस्ता श्रोतको प्रयोगमा उनी पारङ्गत नै हुन् । त्यसो भए के मात्र बल र धनको आडमा जुटाएको अङ्क नै उनको शक्तिको श्रोत हो त ?

प्रथमतः, जुन अङ्क उनको शक्तिको श्रोत मानिन्छ त्यो सम्पूर्ण रूपमा उनको पकडमा भएको मान्न सकिन्न । किनकि बल र धनका अरू पनि धुरन्धर खेलाडी एउटै टिममा तैनाथ छन् जो आफै उनले प्रयोग गरिरहेको शक्ति मैदान उपभोगका अभिलाषी हुन् । उनले तिनलाई बेन्चका खेलाडीका रूपमा निरन्तर कसरी बसाएका छन् यो बुझ्न अङ्क जोड–घटाउको गणित काफी छैन।

प्रयासहरू नदेखिएका होइनन् । पार्टी एकीकरण अघिको घर्षण, नेता वरीयताको सकस, अध्यक्ष दुईको खट्पटी–छटपटी, सभामुखको गिरप्mतारी र नयाँ सभामुख चयनको दोधार, वामदेवको इच्छा र अर्थमन्त्री निरन्तरताको टक्कर, भीम रावलको राष्ट्रवाद र प्रदीप ज्ञवालीको रट बिचको बेमेल, यिनै खेलाडी बिचका दाउ पेचका केही उदाहरण हुन् । यिनको पुठमा घन–घडान विश्लेषण र विशेष श्रोतको हवाला दिँदै मिडिया फिचर रिपोटीङ्ग नछापिएका होइनन् । तर ती सबै टाइ टाई फिस भए ।

पछिल्लो अवस्थामा आएको अध्यादेशको राजनैतिक तुफान हाल (नेकपाको) आफ्नै चियाको कपमा मात्र सीमित भए पनि र अन्य दलका चियाका कप भने फुट्ने– जोडिने भएका छन् । प्रधानमन्त्री ओली आफैले मौन साँची (पुष्पकमल दाहाल) राखेर अध्यादेशलाई बहुलबादी व्यवस्थाको नियमित–आकस्मिक आवश्यकता हो भन्ने व्याख्या स्थापित गराए पनि कालान्तरमा यसले उनी सवार जहाजमै पनि प्वाल बनाउने औजारको (गिरमिट) रूपमा विकसित हुने–नहुने जुनै बिश्लेषणीय निर्षक निकाले पनि केही काल त्यो अनुमान नै रहने देखिन्छ । मुलत, आन्तरिक
विवादहरूलाई टाइ टाइ फिस गराउन सक्ने रणनीतिक लेनदेनको क्षमता तथा दुलो पारी नसक्ने जहाज चढ्ने आँट नै ओली शक्तिको पहिलो पहेली हो ।

नेपालका प्रधानमन्त्रीको शक्तिको श्रोत भनेर सर्वकाल रूपमा प्रयोग गरिने जर्गन ,भारतको साथ, हो । प्रधानमन्त्री ओलीले यसको विविधीकरण गरेर चाइनालाई पनि यो जर्गन भित्र अटाएका छन् । केही भू–राजनीतिका धुरन्धर जानकारहरूले बिश्वशक्तिको मानेमा अमेरिकालाई तथा एन्.जी.योको धार्मिक–सांस्कृतिक औपनिबेसीकरणको हवालामा युरोपियन मुलुकहरूलाई पनि यस जर्गन भित्र राख्ने गरेका छन् । सोभियत सङ्घको पतन पछि, हालको रसिया भने यस जर्गन बाट मुक्त भएको छ । यी एक वा अर्को विदेशी शक्तिको टेकोलाई ओली शक्तिको श्रोत मान्न इतिहास वा वर्तमानका घटनाहरू रिफरेन्सका लागि नखोजे पनि अनगिन्ती भेटिन्छ । घटनाहरूको छनिकरण (छान्ने–छुट्ट्याउने) गरे तर्कहरू जुट्छन् । छनिकरणको प्रक्रियालाई क्यालिब्रेट गरे इच्छाएको जुनै टेको पनि प्रमाणित हुन सक्छ । यी तर्कहरू हुन् । अझ षड्यन्त्र सिंदान्तका तर्क । यी फेरिन्छन्, यी काटिन्छन् । मुलत, ओली शक्तिको श्रोत हो भनेर बोध गराउन भने ल्याकत पुर्याउदैनन् ।

सक्रियता र स्वास्थ्य सत्ता शक्तिका लागि महत्त्वपूर्ण रहने आम अनुभविय धारण हो । विश्व वा नेपालकै इतिहासमा हेर्दा सत्तामा पुग्न यी निर्णायक रहेका छन् तर यी टिकाउ राख्ने मुख्य सर्त भने होइनन् । यी दुवै हालका प्रधानमन्त्रीका लागि उपलब्ध नभएका औजारहरू हुन् । यी नहुँदा बेफाइदा भन्दा मित्रवत् सहानुभूतिले सिर्जित समर्थनले गर्दा फाइदा नै भएको देखिन्छ । सकारण आन्तरिक कोलमा तेल निस्किन्जेल नपेलिनु ओली शक्ति श्रोतको दोस्रो पहेली हो ।

लामो सङ्क्रमणले ग्रसित समाजको सत्ता स्थिरताको तिर्खा र जुरमुरिएको विकासले निसास्सिएका जनताको मुर्छाएको समृद्धिको सपना जगाउने कथनले उनलाई शक्ति सत्तामा पुर्‍याएको हो। ती पुरा गर्ने बाटामा छन् ठानेर दिइने “बेनिफिट अफ डाउट”, आंसिक रूपमा स्थापित “हुँदै छ त मुख्य कुरो उपलब्ध अरू भन्दा यिनको नियत ठिक छ” भन्ने स्वीकारोक्ति र बजारमा जुनै फेशन भाइरल भएको अवस्थामा पनि शतप्रतिशत नियत सफा र समृद्धिमा अजुर्नदृष्टी रहेको आत्मा ओतप्रोत अडान राख्न सक्ने उनको अहंमलाई शक्ति श्रोतको तेस्रो पहेली मान्न सकिन्छ ।

विरोधका आयाम
सबै जोगी कान चिरेका वा सबै एकै ढंयाङ्गका मुला टाइपको विरोध, दूध दुहुँदा गाइले लात्ती हान्दाको झोक बेलुका श्रीमतीले पकाएको बिलनो तर्कारिका घोप्टाएको जस्तो मात्र हो । यी उम्लिन्छन् घोप्टिन्छन् र हराउँछन्, फेरि अर्को प्रसङ्ग नभेटिन्जेल । सामाजिक सञ्जालले स्थापना गरेको मानकमा भन्दा यी भाइरल वा मेमे हुन् । यसको न विगतको इतिहास हुन्छ न भविष्यको इतिहासमा छाप । यी वर्तमानका फोका हुन् । यिनको नियति फुट्नु हराउनु र यो निरन्तर दोहोराउनु हो । यस्ता विरोधले न केही नाप्छन् न केही सपार्छन् । कर्ता–श्रोतालाई केही शीतलता दिनु यसको एक मात्र गुण हो ।

राजनीतिमा सान्दर्भिक रहन शक्तिको केन्द्रमा रहेकाको विरोध गर्नु मुख्यतया विपक्षीको राजनैतिक जीविकाको साधन हो । कहिले काहीँ सान्दर्भिक रहने लहडमा अन्टसन्ट बोलेर मुकुन्दे उपस्थिति जनाउन पनि सकिन्छ । सान्दर्भिक रहन मिडियामा कोट भइराख्नु पर्ने, फोटो छापिन पर्ने, म हुँदा के गर्थे भन्ने कथन गर्नु पर्ने, ठिकै हो तर पर्याप्त भएन भन्नु पर्ने जस्ता कस्मेटिक आवश्यकताहरू रहन्छन् । यी विरोध भन्दा पनि फरक कर्ताका निष्काम कर्म हुन् । यी राम राज्यमा पनि रहने सत्ता यथार्थता हुन् । मुलत, यस्ता केही प्रयासहरू व्यक फायर हुन्छन्, केही व्ल्याङ्ग फायर हुन्छन् र केही रौँ हल्लाएर जान्छन् । हालसम्म, डाइरेक्ट हिट गर्ने ल्याकत विपक्षीले देखाउन नसकेको (नसक्ने) स्वतः सिद्ध र सर्व–स्वीकार्य अनुभव हो ।
सान्दर्भिकताका लागि विरोध गर्नु पर्ने आवश्यकता विपक्षीलाई मात्र नभएर पक्षीहरुलाई पनि हुन्छ । वाचाल पक्षीहरूको विरोध गर्ने स्वतन्त्रता हनन नगर्नु आम असन्तुष्टि डिफुयज गर्ने सुरक्षित उपाय भने हो । यो विरोध, विरोधका लागि मात्र हो भनेर पन्साइने गरेको देखिन्छ । ओली शक्ति माथि प्रत्यक्ष क्षेत्री पुर्‍याउने रेक्टर स्केलमा यो विकसित भएको देखिन्न । कम्पन महसुस भए मन्त्री परिषद् बिस्तारमा वा कुनै राजनैतिक नियुत्तीमा यसको व्यवस्थापन गरिने गरिएको छ ।

बिरामी प्रतिको मित्रवत् सहानुभूतिले सृजित समर्थनले पुर्‍याएको भर थेग देखेरै होला स्वास्थ्यका लागि आराम गर्न दिइने विपक्षी तथा पक्षी शुभचिन्तकहरूको गहिरो चिन्ता, रूपमा हितयेसी सुझाव भए पनि, सारमा भने विरोध नै हो । प्रतिक्रिया स्वरूप प्रधानमन्त्री ओली डिस्चार्ज हुन साथ बैठकमा गएर, मास्क नलगाई ठमठम हिँडेर, राष्ट्रिय सम्बोधनमा देह दर्शन गराएर साथै भाइरल अन्तरवार्ता दिएर आफ्नो प्रतिरक्षा गरिरहेका÷गराइरहेका देखिन्छन् । यो विरोध प्रयास छिचोल्न धपेडी परेको देखिए पनि उनलाई गलाइहालेको भने देखिन्न । अधिक प्रयोगले भविष्यमा यसैले थलाउने सम्भावना भने छ । शरिरिक सँगै मानसिक स्वास्थ्यका प्रश्नहरू पनि नउठाइएका होइनन् तर यसको विरोध क्षमता हाल सम्म दमित नै छ ।

नेपालको इतिहासमा काण्ड÷पर्व मुख्यतया सत्ताको हिंसात्मक अभिव्यक्तिको घोतक रहने गरेको हो । कोत पर्व, भन्डारखाल पर्व, मकै पर्व हुँदै छिन्ताङ्ग काण्ड, सुखानी काण्ड, होलेरी काण्ड, बादरमुडा काण्ड हिंसात्मक परिघटनाका उदाहरण हुन् । काण्डको प्रयोग पछिल्लो अवस्थामा राज्य सम्पत्ति दोहन, भष्टचार र कमिसनको घटनामा जोडिएर हुने गरेका छन् । सत्ता शक्तिको देखिने गरिएको दुरुपयोग हिंसाबाट पैसामा सर्नु हाम्रो राजनैतिक अर्थनीतिको अवस्थिति हो । यसको आडमा गरिने विरोधका बहु रङ्गी आयाम हुन्छन् ।

यसको एउटा आयाम कमिसन लाइनमा नपर्नेहरूको गिडगिडाहट हो । नयाँ लाइन विस्तार र पुरानो लाइन बिचको अस्तित्वको लडाइ हो । खान नपाउनेले खाइरहेकाको विरोध गर्नु प्राकृतिक नै हो । आम मनोभावना भड्काउने मसलाका रूपमा यसको प्रयोग हुँदै रहेको देखिन्छ । विपक्षीहरूले सरकार नभएर काण्डकार हो भन्ने कथ्य रचिरहेका छन् । यो कथ्यको प्रयोग आउने चुनावमा पक्कै हुनेछ । सहभागिता पुष्टि नभइन्जेल प्रधानमन्त्री यो विरोधमा ओभानै टक्टकीदै आएका छन् । केही खसालिए, केही थप मन्त्रीहरू खसालिएलान् यसले प्रधानमन्त्रीकै कुर्सी भने हल्लाउन नसक्ने देखिन्छ ।

धेरै छिटपुट कुनै दिनका घटना, पलपलका समाचारका खुराक तथा अमुक बिदयेकको विरोध नियमित क्रिया–प्रतिक्रियाहरू हुन् । प्रधानमन्त्री श्री खड्क प्रसाद ओलीको सबै भन्दा ठुलो विरोध भने उनी आफै रहेका देखिन्छन् । कोरोना रोकथामका उपायहरू जस्ता भर्खरै अपडेटेट जोक्स अपार्ट, उनका महावाणीमा दर्शने, आइसक्रिम नखानु ! भन्ने सुझाव र फ्रान्सेली राज्यक्रन्ती अघिकी अन्तिम रानी (मेरी एन्टोइनेट)को, ती किन केक खाँदैनन् ? भन्ने प्रश्न बिचको समानता, भोकले हिँडेका नागरिकमा नियोजित अराजकता देख्ने खोटी चस्मा तथा अहंम र घमण्ड बिचको नो म्यान्स ल्यान्डमा उनको विचरण यस प्रकारका विरोधका उदाहरणहरू हुन् । यी यस्ता, सोच कथन र कर्म बिचको बिरोधाभासी परिघटनाहरू दोहोरी रहँदै आएका हुँदा अपवादका वा अन्य विरोध आयाम भित्र अटाउन सकिन्न । यो मुख्य ठोस विरोध हो जसको आयतन बढ्ने हो वा घट्ने हो स्वयम् प्रधानमन्त्रीलाई नै थाह हुने कुरा हो । पुरा कार्यकाल प्रधानमन्त्री रहने रेकर्ड पुरा हुन्छ वा हुन्न त्यो यही स्व–विरोधको मुख्य आयममा निर्भर रहला । देशमा समृद्धि ल्याउने असल नियत भरित उत्कट अभिलाषा राजनैतिक यर्थाथताका तपसिलिय बुँदा मात्र हो ।

राजनीतिमा छलको महत्ततालाई महाभारतले स्पष्टसँग स्थापित गराएको छ । प्रधानमन्त्री खड्ग प्रसाद ओलीले माओवाद छाडेकोमा त कुनै विमति रहेन, आफ्नै पुरानो शास्त्र माक्र्सबाद–लेनिनवादका कुन स्तरका प्रयोगकर्ता हुन् वा उनले रट्ने गरेको जबज सिंदान्तमा उनको मोहमाया कुन कालसम्मको हो भन्ने अनुमान गर्न गाह्रो–सजिलो दुवै छ । ओली फोबियाबाट मुक्त रहेर संश्लेषण गर्ने हो भने उनी राजनीतिमा छल प्रयोगका मान्नै पर्ने खेलाडी देखिन्छन् । सामान्यजनको कमनसेन्सलाई आन्तरिक विवाद÷बाह्य काण्डहरूको उठान र बैठानको भुल भुलैयामा छिराएर साथै विश्लेषकहरूलाई ओली फोबियाको आँखा पट्टी भिराएर, उनी के छल गरिरहेछन् ? तर्कहरू खोजे जुट्छन् । एकल ओली शक्ति मात्र होइन समग्र नेकपा नेतृत्वकै लक्ष यसै संसद्को कार्यकालको अन्त्यतिर संविधानको संशोधन गरी राष्ट्रपतीय प्रणालीमा जाने र लगत्तैको चुनावबाट यसलाई आम वैधानिकता प्रधान गर्ने हो की ? बहुमत हुँदा हुँदै, दुई तिहाइ पुर्‍याउने लगातारको ओली प्रयास यसै छलसँग सम्बन्धित त छैन ? यो प्रश्नमा घोत्लिन राष्ट्रपतीय प्रणालीका वकालतकर्ता बाबुराम भट्टराई, गगन थापा लगायतलाई जिम्मा दिनु हितकर होला । त्यो छलको आवश्यकता पुष्टि गर्नु वा त्यो छलले ल्याउन सक्ने छालको आकलन गर्नु दुवै यो लेखको उद्देश्य होइन ।

अध्यादेश प्रकरणमा ओली शक्तिको हारको मुतमा भिजेका विपक्षीलाई केही समय न्यानो महसुस पक्कै हुनेछ । थप भाइरलिय विरोधको परालिय आगोले चिसिएका विपक्षीहरूलाई केही राप–ताप अवश्य पुर्‍याउला । तर माधविय भाषामा भन्दा वर्तमान परिपेक्षमा तमाम विरोधका बिच हालसम्म ओली शक्ति धकाएको देखिन्छ तर डरले कामिरहेको भने देखिन्न ।

2 comments to प्रधानमन्त्री ओलीको शक्तिको श्रोत र विरोधका आयाम

  • B P

    Good Analysis comred!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Krishna Bal

    के लेखेको हो यो ताई न तुईको लेख रकमी भाषामा|यस्तै लेखेर बीए, यमए, बीयेल, आचार्य, शाश्त्री र लोकसेवा पास गर्छन| कुरोलाई चुइङ गम बनाएर तन्काएर मर्काएर भन्ने कला हावी भएको रहेछ| माईसंसारमा सोझै दुधको दुध र पानीलाई पानी भनेर लेखिन्छ, चलन छ र सर्बसाधारणले पढछन, बुझ्छन|
    ओली एक्पल्ट मात्र होइन धेरै पल्ट चुकिसकेका छन, उनलाई मन्त्री होइन नबोल्ने मुर्ती चाहिन्छ| कोरोनाको महासंकटको बेलामा मुलुकलाई कसरी जोगाउने र अर्थतन्त्र सुधारने अनि जनतालाई दु:ख हुन नदिनतिर केन्द्रित हुन सट्टा अध्यादेशमा यसबेला समय लाउने हो? ओलीका वरपरका चोखो छन भन्ने कदापि होइन, सल्लाहकारहरु त खत्तमै रहेछन| यो अध्यादेश फिर्ता लिने स्थितीले के देखाउछ भने भोलिको बारेमा पटक्कै सोच्दैनन| त्यस्तो राष्ट्रिय संकट के आयो र रातारात अध्यदेश जारी गर्ने| सुरक्षामा चलखेल र छलखेल हुन लागेको हो कि? कस्तो सुरक्षा? कसको सुरक्षा? देशको कि पार्टिको? त्यसैभएर गृह मन्त्रिले समर्थन गरेका हुन त? त्यतातिर पनि प्रकाश पार्नु पर्‍यो| आफ्नै पार्टीलाई पनि विश्वासमा नलीई अध्यादेश जारी गर्नु कस्तो लाचारीपन हो? फिर्ता गर्नु हो भने राजिनामा पनि दिन पर्ने हो कि? सोचौ है|

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0