सिङ्गै विश्व मानव जीवनको साझा शत्रु कोरोना भाइरससँग जुधिरहेको बेला देशका प्रधानमन्त्री केपी ओलीले दिलोज्यानले कोभिड १९ विरुद्ध राज्य शक्ति खर्च गरेर लडिरहनु भाछ । तर पार्टीभित्रै र बाहिरबाट, खास गरी मिडिया र सामाजिक सञ्जालबाट उहाँको खैरो खन्ने काम कदापि रोकिएन । यसको प्रतिरक्षामा माहुरी र अरिङ्गालरूपी सूर्यछापहरुले पनि यस्तो सङ्कट र महामारीका बेला खासै शिरमा कफन बाँधेर उत्रिएको देखिएन । यो बडा दुःखको बात छ । त्यसैले यी पंक्तिहरु सम्माननीय प्रधानमन्त्रीका तमाम सत्कर्म र उहाँको समर्थनमा शतप्रतिशत समर्पित छन् । कहीँ कतै, विषय वा प्रसङ्गले अनर्थ लागेमा भुलचुक क्षमा दिनु होला ।
विषय आरम्भ गरौँ सोमवारको क्याबिनेटबाट जन्मेका र शुक्रवार तुहिएका दुई थान अध्यादेशका चिर्कटोबाट । यसमा प्रधानमन्त्रीले सोचिविचारीकन नै निर्णय गर्नु भा थ्यो । उहाँलाई लाग्यो, केही वर्ष अघि आफूलाई मधेस पस्न नदिने उतिबेलाका पाकेका आँप झार्ने बेला यही हो । पार्टीभित्र पनि आफ्नो कुर्सीतिर कर्के नजर लाउनेलाई ठेगान लाउने मौसम यही हो । कोरोना विरुद्ध लड्न देश लकडाउनमा जान हुने देशको एक जना कार्यकारी प्रधानमन्त्रीले चाहिँ विशेषाधिकार प्रयोग गरेर अध्यादेश ल्याउन नहुने भन्ने पनि हुन्थ्यो र ? त्यसैले उहाँले ल्याउने निर्णय गर्नु भा थ्यो । उहाँले जे गर्नुहुन्छ, ठिक गर्नुहुन्छ, सबै ठिक मात्रै गर्नुहुन्छ भनेर नपत्याउने नेकपाकै ६ सचिवालय सदस्य सहित अध्यादेशको विरोध गर्ने सबै अल्प ज्ञानी, मूर्ख हुन् है ।
सप्पैलाई थाह छ, नेपाल प्रधानमन्त्रीय शासन प्रणालीमा छ । संसदीय सर्वोच्चता त किताबरूपी संविधानमा लेख्या कुरा मात्र हो । त्यही भएर उहाँले ठिक ठानेको कुरा ल्याउनु भो, र त, सेरोमोनियल राष्ट्रपति महामहिम विद्या भण्डारीले खुरुक्क निर्णयको मसी सुक्न नपाउँदै सोमवार सदर र शुक्रवार बदर गर्नु भो । यो हो नि कार्यकारी प्रधानमन्त्री र रबरस्टाम्प राष्ट्रपतिको असली नाता, एकता र सहकार्यको अनुपम अभ्यास । यसलाई सरकारको मातहत राष्ट्रपति छ भन्ने नयाँ नजिरका रूपमा बुझ्न छाडेर अन्यथा चर्चा गर्नु, राष्ट्रपति संस्थालाई विवादित गर्न खोज्नु सर्वथा गणतन्त्र नसहने घरेलु र बाह्य शक्तिको सुनियोजित षडयन्त्र मात्र हो । त्यस कारण जारीदेखि खारेजीसम्मका दुई थान अध्यादेशलाई लिएर कसैले पनि सरकारदेखि राष्ट्रपतिसम्मको विरोध नगरौँ । यसले फेरि गणतन्त्र र संविधानलाई हानी नोक्सानी पुर्याउँछ ।
भावी सन्तति नभकाले पुरै देशवासीलाई नै आफ्नो सन्तति मानेर प्रधानमन्त्रीले आफूसँग भएको निजी सम्पत्ति त आफ्ना दम्पतीको देहान्तपछि लागू हुने गरी दान गरिसक्नु भा छ भने उहाँको त्यागी आसनको शासनमाथि कोही कसैले प्रश्न उठाउनु नै बेकार छ । कोही थ्यो हिजो, जिउँदैमा आफ्नो सम्पत्ति दान गरेर शासन चलाउने प्रधानमन्त्री देशमा ? आज उहाँ नै पहिलो त्यागी, दानी प्रधानमन्त्री हो । तसर्थ उहाँको शासन शैली माथि नानाभाँती आक्षेप कसैले पनि भुलेर पनि लाउने दुस्साहस नगरौँ प्लिज ।
नेता मात्रै होइन, राजनेता हुनुहुन्छ उहाँ । मन सानो, मुख वैरी वा चित्त सानो र दम्भी भएर के भो त, सोच त ठुला ठुला छन् नि उहाँका । ५ वर्ष अघि भूकम्प जाँदा होस वा संविधान जारी गर्दा उहाँले ज्यान हत्केलामा राखेर त्यत्रो भारतसँग टक्कर लिँदै देश र जनताका लागि राष्ट्रवादी अडान राख्नु भा होइन ? हिजो डिप्रेसनमा परेका नेपालीहरूलाई आशा र भरोसाको सञ्चार गराउँदै सपना देख्न सिकाउनु भा होइन ? हिजो त उहाँका सपनाको कन्टेन्ट नबुझेर पानी जहाजदेखि घरघरमा ग्याँसका पाइप, गरिबलाई बोरा बोरामा चामल भन्दा उडन्ते गफ भनियो, आज त त्यसरी उडाउन पाइन्न नि गाँठे । आखिर प्रधानमन्त्री हो नि उहाँ त नयाँ नेपालको । त्यो पनि दुई तिहाइ बहुमतवाला ।
अब ठुलो राजनेताको ठुलै चाला । आफ्नै हुन्छ शासन शैली । उहाँ बाँच्ने अपार जिजीविषा भएको अदभूत मान्छे हो । दुई पट्क मिर्गौला प्रत्यारोपण गरेर पनि दैनिक १८ घण्टा देश र जनताकै भलाइका लागि काम गरिरहनु भाछ । उहाँलाई लोभ पटक्कै छैन । अध्यक्ष, प्रधानमन्त्री, अन्य मन्त्री र मन्त्रालयका महत्त्वपूर्ण विभाग आफूमा निहित गर्नुभएको त एकद्धार नीतिबाट छिटो संवृद्धि हासिल गर्नका खातिर हो । नयाँ गणतान्त्रिक केन्द्रीकृत समाजवादी शासनको ओली मोडल देखाउन पाउनुपर्दैन त उहाँ जस्तो झापा क्रान्तिको जगबाट उठेर आएको क्रान्तिकारी राजनेताले ? बित्थामा उहाँमाथि सर्वसत्तावादी सत्ताको मिथ्या आरोप लगाउने डा. बाबुराम भट्टराईदेखि सप्पै विपक्षी आलोचकको दृष्टि दोष मात्र हो ।
अब अध्यादेश प्रकरणकै उदाहरण लिने हो भने पनि उहाँले पुत्र समान मान्य द्वय महेश बस्नेत, किसान श्रेष्ठ वा पूर्व आइजिपी सर्वेन्द्र खनाललाई तत्कालीन समाजवादी पार्टीका एक जना माननीयलाई महोत्तरीबाट उठाएर राजधानी ल्याउन लगाउनु भो त के बिराउनु भो ? उहाँलाई त्यही ठिक लागो, त्यही गर्नु भो । आफैले आइजिपीका रूपमा चराएका निवर्तमान एक जना उच्च फौजी अधिकारीलाई त्यत्रो ठुलो प्रधानमन्त्रीले जाबो एक जना विरोधी पार्टीको सांसद उठाउने जिम्मा दिनै नपाउने भन्ने पनि हुन्छ र भन्या ? यसमा खनाल सापको पनि कुनै दोष छैन । बर्दीमा हुँदा गरेका जायज नाजायज कामको साइड इफेक्टले नसताओस् भनेर न खनाल सापले सूर्यको छायामा बस्न खोज्नुभएसम्म न हो । जाबो बर्दी उतारेपछि पनि सूर्यको ताप लिएर मान्छे उठाउने जस्ता सामान्य कर्म गर्न पनि वञ्चित गर्ने गरी भइरहेका आलोचनाहरू त खनाल सापको आधारभूत मानावाधिकारमाथि नै हमला गर्ने दुस्साहस मात्रै हुन् । ओलीतन्त्र आफैमा यस्तै मान्यताको पर्याय हो भनी नबुझनेहरु पो गलत हुन् नि ।
तपाई हामी कसैलाई पनि भ्रम किन परेको ? यो त लोकतन्त्र भन्दा नि माथिको ओलीतन्त्र हो नि । लोकतन्त्र पुरानो भो भनेर उहाँले आफ्नै शैलीको शासन शैली स्थापित गर्न यो नवीन तरिका अपनाउनु भा हो । विश्वबाट साम्यवादी सत्ताहरू तासको पत्ता जस्तै ढल्दै गर्दा मदन भण्डारीले जनताको बहुदलीय जनवादको मौलिक कार्यनीति ल्याएर नवीन विचारक बन्न हुने, पाउने अनि केपी ओलीले चाहिँ त्यत्रो युद्धकालीन माओवादी पार्टी समेतलाई मिलाएर जननिर्वाचित दुईतिहाई हाराहारीको बहुमत ल्याएर बनाएको सरकारमा ओली शैलीको सत्ता सञ्चालन गर्न नपाउने पनि कहीँ हुन्छ ? यो त जनादेशमाथिको अनादर पो हुन्छ । थोडा, उहाँ काँग्रेसको स्वर्गवासी किसुनजी हो र ? झापा क्रान्तिले जन्माएको, १४ वर्ष जेलनेल भोगेको हिमालयको देश नेपालको नयाँ कम्रेडी सत्ताको नायक पो हो त ।
अँ, कोरोना महामारीको बेलामा नै हो, सरकारले धक फुकाएर काम गर्ने । कोरोना संक्रमण रोक्न त ईश्वर पोखरेलको नेतृत्वमा सेनाको छाउनी ब्यारेकमा मुख्यालय रहने गरी उच्च स्तरीय समिति बनाईदेकै छ नि । नागरिक र निजामती सत्ता नै छाउनीको फौजी अड्डा मातहत सार्दिएर ईश्वरको जिम्मा लगाएपछि अरू सरकारले के नै गर्नुपर्ने हो र ? यसलाई भोलि सत्ता सैनिक अड्डाबाट चलाउने पूर्वाभ्यास नै मान्दिए नि भो । आखिर सङ्कटको अन्तिम सारथि सेना हो भने सुरुवाती ट्रायल त छाउनीबाटै गर्न परयो नि ।
पहिलो चरणमा औषधी खरिद गर्दा बजार मूल्यभन्दा ६ खण्ड महँगो भनेर विरोध गर्ने सबका सब कोरोना रोक्न असहयोग गर्ने तत्त्व हुन् । अनेरास्ववियूकालिन नेता हुँदादेखि मिलाएर खान खप्पिस स्वास्थ्य मन्त्री भानुभक्त ढकालले हल्का हिसाब निकाल्न नजानेर मात्रै मूल्य तलमाथि हुन गाको हो । महामारीका बेला यस्ता सामान्य कुरालाई तिलको पहाड बनाउन मिल्दैन । महामारीमा ओली तन्त्रको यो मौलिक खरिद स्टाईल हो । कोरोना कहरका पहिलो पङ्क्तिका सैन्य दस्ता चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरुलाई हौसला दिनैका लागि डा. शेरबहादुर पुनलाई हल्का सेक्न खोज्या हुन भानुभक्तले । नत्र उनीहरूको उच्च मनोबल हुँदैन भनेरै त्यसो गरिएकोथ्यो ।
बन्दाबन्दीको जो अप्ठयारो छ, यो त संसारकै रीत हो । अझ यहाँ त हुलका हुल मान्छेलाई मान्यहरुले गाडी चढाएर फोटोसेसन गराउँदै हिँड्न दिएकै हो । सुरुका दिनमा फुत्त फुत्त सडकमा लाम लागेर हिडने श्रमजीवी तथा गरिब वर्ग पक्कै सरकार विरोधी मिडिया र दलका गोटी बनेका हुन भनेर उहाँले सरकारी मिडियालाई दिएको अन्तर्वार्तामा प्रष्टयाईसक्नु भा छ । त्यो पनि अब साम्य हुदैछ । सीमामा रोकिनु परेकोमा सरकारको विरोध गर्ने पनि सबै सरकारलाई चेपुवामा पार्न उद्धत बाहिरिया घुसपैठ थिए । महाकालीमा हाम्फालेर नेपाल आउन खोज्ने मूर्खले त सरकारको राष्ट्रवाद नङ्ग्याउन खोज्दा आफैँ नांगिएकोे प्रमाणित भैसक्या छ ।
यो बेला किसानले आफ्ना उत्पादन खेतबारीमा सडाउने , दूध सडकमा पोख्ने र सहरले भारतीय आयातित महँगो खानुपर्ने बाध्यता स्वाभाविक छ, महामारीको बेला । लकडाउन रोकिने वा बढ्ने कुरा हिन्दुस्तानको कदममा भर पर्छ । खुल्ला सीमा पनि हिन्दुस्तानको सजिलोमा मात्रै बन्द वा खुल्ला हुने भन्ने निर्भर हुनेछ । अन्तर्राष्ट्रिय उडान भिजिट नेपाल २०२० को बाँकी सपना पुरा गर्न चाडै खुले अन्यथा हुने छैन नै ।
समग्रमा यहाँ शब्द धेरै हुने भएकाले पुराका पुरा ओली तन्त्रको रक्षामा खुलेर व्याख्या गर्न सम्भव भएन । तर चुरो कुरो यति हो की जे गर्नुहुन्छ सरकार प्रमुख ओलीले देश र जनताका लागि मात्रै गर्नुहुन्छ । उहाँलाई खेदने सबै देश र जनता विरोधी हुन्, कोरोनाका पक्षपाती हुन् । त्यसै कारण कसैले पनि ओली तन्त्रको विरोध भुलेर पनि नगर्नु नगराउनु । पार्टीभित्र नैतिकताका सुकार्नेले उहाँको बेगलाई कसैले रोक्ने भुल नगर्नु होला । सरकार भन्दा माथि पार्टी होइन, पार्टीभन्दा माथिको नीति नै ओलीतन्त्र हो भनेर सबैले बुझ्नु । अब कोरोना लगत्तै ओलीराजको संवृद्ध समाजवाद आउनै लाग्य छ, ढोकैमा आउन आउन लाग्या बेला प्लिज ओली तन्त्रको कसैले पनि विरोध चाहिँ गर्दै नगरम, बरु सबैले भनम्, जय ओली, जय ओलीतन्त्र ।
पारस ले गाडिले किचेर मच्छे मार्दा र होटल मा गोली चलाउने समम् गर्दा र ज्ञान दाई ले कुशासन गर्दा आज समम् तीनको वकालत गर्ने सूर्य खड़का प्रवृत्ति महा अघोर चाकडी बाजी को नई पराकाष्ठा गर्ने खड़का जीको कुरा कस्ले पत्याउलन / रूस्य डखका जी तपैको कुनै क्रेडिबिलिटी छईन