यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

एउटा आत्मालोचनाले साम्य भएको नेकपाको रडाको

विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट देशवासीलाई बचाउन लकडाउनमा राखेको ४० औँ दिन, २० वैशाखमा सत्ता नायक प्रधानमन्त्री केपी ओलीबाट जनतालाई ठुलो राहत बक्स भएको छ । त्यो राहत भनेको उहाँले गरेको आत्मालोचना हो । शनिवारको सन्ध्यामा पार्टीको एक अध्यक्ष समेत रहनु भएका प्रम ओलीले आफ्नो पार्टी र सत्ताको आसनबाट शासन गर्दा भएका भुलचुकहरुप्रति मार्क्सवादी, लेनिनवादी र माओ विचारधारा फ्युजन शैलीमा बडा भावुक, मिठासपूर्ण आत्मालोचना गर्नु भयो । आत्मालोचना, त्यो पनि देशको कार्यकारी प्रधानमन्त्री र पार्टीको पहिलो वरीयताको अध्यक्षबाट । झन् लकडाउनले जनता घरघरमा थुनिएका बेला । एकलै पनि होइन, पार्टी सचिवालयका सबै सदस्यहरूको माझमा । हेर्नुस्, भाग्यमानी हुन् नेपाली जनता जसले आत्मालोचना गर्ने महान् सरकार प्रमुख पाएका छन् । गौरवशाली क्रान्तिकारी सत्ताधारी पार्टी नेकपाका तमाम नेता, कार्यकर्ता लागि त झन् यो अहोभाग्यको कुरा हो । यस्ता, विनम्र, विनयशील र क्षमाप्राथी भन्न सक्ने पार्टी प्रमुख छन् ।

कुरो किन पनि यो महत्त्वपूर्ण छ भने, हेर्नुस्, वैशाख मध्यमा चर्केको सत्तारुढ नेकपाभित्रको हावाहुरीले यो पार्टीमा दुई साल अघि भएको एकता, ए कता ? हुनै हुनै लाग्या जस्तो थियो, तर अध्यक्ष तथा प्रधानमन्त्रीको एउटा आत्मालोचनाले त्यो सब साम्य भयो, घरको आगलागीलाई पानी हालेजस्तै । नेकपामा विभाजन वा फुटको रोटो सेक्नेहरूका लागि प्रधानमन्त्रीको आत्मालोचनाले रामवाणको काम गरिहाल्यो । त्यतिमात्रै हो र उहाँले यसबिचमा उपाध्यक्ष वामदेव गौतमलाई चर्चाको उधारो प्रधानमन्त्री बनाइदिनु भयो । बरु, सचिवालय बैठकले पो गौतमलाई फेरि प्रतिनिधि सभाका लागि उम्मेदवार बनाउने काउसो बोकाइदियो । कति दूरदर्शी र पार्टी निर्णयको आज्ञाकारी प्रधानमन्त्री भने नि, यसअघिको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न सरकारले सिफारिस गर्ने गरी गरेको निर्णय पनि उधारो प्रतिनिधि सभाको उम्मेद्धवारीसंगै ढिसमिस पारिदिनु भयो । अब जनता भनेको कुन चरीको नाउँ हो भन्ने पाराका अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले बिना माननीय दोहोरिएर पाएको डबल मन्त्रीको जिम्मेवारी राष्ट्रिय सभामा सरकारबाट पुनः मनोनीत भएर ६ महिनापछि पनि जोगाउन पाउने बाटो खुल्यो । कति पारङ्गत निर्णय नि प्रधानमन्त्रीको, वामदेव पनि मक्ख, डा. खतिवडा पनि मक्ख । सचिवालय वा स्थायी समिति बैठकले अब यो मुद्दामा टाउको दुखाउनै परेन । सर्प पनि मरयो, लाठी पनि जोगियो ।

यति मात्रै हो र ? जनता लकडाउनमा परेका बेला निराश, हताश वा एकोहोरो बानीका पो भए की, कतै डिप्रेसनमा जाने खतरा पो छ की भनेर प्रधानमन्त्री अचेल आशु कवि पनि बन्नु भएको छ । अस्ति १ मे का दिन उहाँले बालुवाटारबाट पहिलो कविता प्यारा देशवासीका नाममा, तमाम श्रमजीवी मजदुर वर्गमा समर्पित गरेर लेखी पठाउनु भयो । मविवि शाह, चाँदनी शाह, जी शाह जस्ता उहिलेका शासकका कविता खेतालाले लेखिदिन्थे रे भन्ने सुनेका जनका लागि प्रधानमन्त्रीले त स्वयं रचना गरेर, आफै कलम च्यापेर कागजमा कोर्नु भएको हो कविता । त्यो पनि जनतालाई कोभिड १९ को कहरले च्यापेर जनता लकडाउनमा निसास्सिएको बेला, राहतस्वरुप ।

लौ भन्नुस् त कोरोना कहरका बिच जनतालाई निरन्तर कविता रचना गरेर सकारात्मक सोच र खोजका लागि उत्प्रेरित र जागाज्योति पार्न सक्ने कोही शासक थिए त आजसम्म नेपालमा ? धन्न नेकपाले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउने बुद्धि पुर्‍याएको थियो र मे १ देखि काव्य भावले ओतप्रोत शासकको उपहार जनताले पाएका छन् । २१ आँैं शताब्दीमा यस्ता कवि हृदयका शासक, त्यो पनि वामपन्थी, त्यो पनि यस्ता जनता मैत्री पाउनु त नयाँ रेकर्ड नै हो विश्वकै लागि । नरेन्द्र मोदी, सी जिन पिङ, डोनाल्ड ट्रम्प जस्ता हस्तीहरूले कोरोना भगाउन दुई अक्षर कोर्न नसकेका बेला कोरोना नै भाग्ने गरी, बस्ती बस्तीबाट जनता जाग्ने गरी प्रधानमन्त्रीले दुई थान कविता रचिकन पस्किसक्नु भयो । वामपन्थीले मात्रै होइन, पूँजीवादी शासकहरूसम्मले लकडाउनमा जनताको मनोबल उच्च राख्न, सकारात्मक ऊर्जा भर्न र समग्रमा कोरोना भगाउन यस्तै कवि मनका साथ काम गर्न सिक्नुपर्ने सन्देश हाम्रा एक थान प्रधानमन्त्रीले दिनु भएको छ । यो अनुकरणीय र उदाहरणीय काव्य कर्मका लागि समस्त नेपालीलाई प्रधानमन्त्री उपर धन्यवाद टक्र्याउनै पर्छ । नत्र उहाँको यो विशाल सृजनशीलतामाथि अपमान हुन्छ । साहित्यिक संघसंस्थाले अब प्रमको कवि मन र सृजनालाई पुरस्कृत गर्न चाँजोपाँजो यथाशक्य छिटो मिलाउनै पर्छ ।

वर्षौँको सङ्घर्षपछि बल्ल बल्ल पाएको दुई तिहाइ बहुमतको आसन जोगाएर आफ्नै मर्जीको शासन चलाउनु त्यो पनि कोरोना सङ्कटका बेला । चानचुने चुनौती होइन । सकुन्जेल विरोधीलाई मिच्ने, किच्ने, थिच्ने, नसकेपछि चारो हालेर भुलाउने । सताउने, गलाउने, फुटाउने र आफ्नो आसन र शासनको रक्षा गर्ने काममा त श्रद्धेय अध्यक्ष तथा प्रधानमन्त्रीले गिनीज बुकमा नै नाम राख्ने गरी काम तमाम गर्दै आउनु भएको सर्वविदित नै छ । बित्थामा पार्टीभित्र उहाँको कार्यशैली र व्यवहारलाई लिएर शीर्ष नेताहरू नै बेला बेलामा बेमौसमी आलोचना गर्छन् । शनिवारे सचिवालय बैठकमै पनि उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा अर्थात् मन लागेमा प्रतिनिधि सभामा लाने निर्णय प्रमकै अग्रसरतामा भएको हो । राष्ट्रिय सभामा लाने भनी दुई चार महिना अघि त्यही सचिवालयले गरेको निर्णय उहाँले एकतिरले दुई निशान गरेर मेहनतपूर्वक रद्द गराउनु भएको हो । वरिष्ठ नेता माधव नेपालको चित्त बुझाउन २५ गते स्थायी समितिको बैठक राख्ने निर्णय सहमतिमा नै गराउनु भएको हो । वामदेवलाई फेरि माननीय बनाउने आश्वासन, प्रचण्डलाई आफू हाराहारी बस्ने गरी बराबरको आसन, माधव नेपाललाई स्थायी समितिको बैठक राखिदिने र आफ्नो पार्टी र सरकारको आसन मजबुत र निरन्तर गराउने निर्णयहरू पनि उहाँको भगीरथ प्रयत्नका उपज हुन् । यसका लागि उहाँले शीतल निवासमा घुमफिर वार्ता गर्नु परयो, सबै सचिवालय नेतासँग वान अन वान वार्ता पट्क पट्क गर्नु भयो । अरू कति पापड बेल्नुपरयो होला नेपथ्यमा ?

यस्तो दौडधुप र शीघ्र निर्णय गरेर विरोधी जतिलाई एकै पट्क सोत्तर बनाउन सक्ने अध्यक्ष वा प्रधानमन्त्री त हेर्नुस् हम्मेसि पाइँदैन नि । धन्न नेकपाले, नेपालीजनले पाएका छन् । त्यसैले उहाँको यो शासन जोगाउने शैली पनि निकै प्रेरणादायी छ है । उहाँको यही दौडधुप र शकुनी चालले त हो नि मिडिया र सामाजिक सञ्जालमा झन्डै झन्डै भैसकेको नेकपाको विभाजन रोकिएको । उधारोमा केही दिने अखबारी उधारो प्रधानमन्त्री बनेर मच्चिएका वामदेवलाई थान्को लगाउन, कुर्सी नमिलेर बाउठिएका प्रचण्डलाई कुर्सीको आसनले मिलाउन, स्थायी कमिटी बैठक राख्न राजी भइदिएर माधवको मुखमा बुझो लगाउन, र आत्मालोचित भइदिएर पार्टी एकताको रसायन झन् मजबुत र बलियो पार्न उहाँले जति मेहनत कसले पो लगाउन सक्थ्यो र ?

यी सबै पृष्ठभूमिहरूका माझ अब जनताले कवि प्रधानमन्त्री, पार्टी एकता झन् कसिलो बनाउन काबिल प्रधानमन्त्री, जनताको समस्याका लागि रसिक प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद र आभार प्रकट गर्नुपर्छ । बेकारमा मिडियावालाहरू अप्ठ्यारो परिस्थितिलाई अकारण देशमा राजनीतिक अस्थिरता ल्याउन लागि परेका छन् । यसले जालझेल, षडयन्त्र, लोभ लालच, तिकडम केही नजानेका र जना देश तथा मतादेशको भार कहिल्यै नभुलीकन आफ्नो कमजोर आसन र शासन जोगाउन अहोरात्र खटिइरहनु भएका प्रधानमन्त्रीलाई सबले आआफ्नो ठाउँबाट सकेको होस्टेमा हैँसे गर्नुपर्छ । त्यसो गर्न नसक्ने भए पनि विरोध नगरी मौन बस्नुपर्छ नि । नत्र कवि मनका प्रधानमन्त्रीको दिल दुख्छ, अनि कोरोना सर्छ फेरि जनतालाई । मिडियावालाहरूले बारबार उहाँलाई अकारण दुख दिएका छन्, ढिलो चाँडो अब तिनसँगको पनि हिसाब राफसाफ गर्नु, गराउनुपर्छ ।

बरु, परिवर्तित परिस्थितिमा जनजनले घरघर र बस्ती बस्तीबाट अबको स्थायी समितिको बैठकमा पनि सरकारलाई, प्रधानमन्त्रीलाई र्याख र्याख नपार्ने, बेमौसममा ल्याउँदा ल्याउँदै तुहाउनु परेका दुई अध्यादेशका बारेमा आलोचना नगर्ने , कोरोनाको चेक जाँचमा भएका विलम्बहरूका बारेमा प्रश्न नउठाउने, स्वास्थ्य सामाग्री खरिदमा भएका अनियमितता बारेमा प्रश्नै नगर्ने जस्ता कामना गर्न कोसिस गरौँ । यसो गर्दा सरकारलाई साथ हुन्छ । नत्र कोरोना फैलिने खतरा छ । लकडाउनमा घर बसी बसी कविता लेख्न सक्ने प्रधानमन्त्रीलाई साथ दिन बरु सबै जनले कथा कविता लेखौँ, लकडाउन अरू केही हप्ता बढाउन सरकारलाई साथ दिऔँ । आखिर दक्षिणतिर ठूल्दाईले बढाइसकेको लकडाउन हामी कहाँ पनि दुई हप्ता थप्दा आकाश खस्ने होइन पो । सब थोक गरौँ सङ्कट र महामारी निस्तेज पार्न यसरी दिनरात नभनी खटिएको सरकार प्रमुखलाई आलोचना गरेर कोरोना सर्ने, बढ्ने भुल कसैले पनि नगरौँ । कि कसो त हो कमरेडहरू ? जय नेपाल ।

3 comments to एउटा आत्मालोचनाले साम्य भएको नेकपाको रडाको

  • थेबा राम

    धन्यवाद सुर्यजी! एउटा पाठकको हैसियतमा वालुवाटार नाटक मन्चन बारे
    दुईचार प्रश्न र कमेन्ट दिऔ है|

    ती नेताहरु अहिले कोरोनाको कहरमा राहत र ब्यवस्थातिर केन्द्रित हुनपर्ने हो तर नाटक मन्चनमा लागे|

    १. प्रेस काउन्सिल भन्ने वस्तु छ कि छैन? छन भने किन श्मसानको मौनता ? किन दमदार पत्रकारहरुले यसबारे दरो र खरो प्रश्न गरेनन वा गर्दैनन?

    २. टीभी र अनलाईन अन्तर्वातामा धेरै बिश्लेषकहरुले नेताहरुको चरित्रबारे टिप्पणी गर्दै यो नेपालीहरुको चरित्र हो भने| संसदमा प्रतिपक्ष दल निरन्तर भुमिकाविहिन रहेको अवस्थामा नेपाली जनताको आवाज मुखरित गर्ने एकल प्रतिपक्षका दायित्व वहन गर्दै आएका डा सुरेन्द्र केसीले पनि त्यसै भन्न भ्याए| मेरो बिचारमा ती नेताहरुले देखाएको घिनौना र चरम सत्तामोह र मन्चित नाटकलाई नेपालीको चरित्र भन्नु जस्तो ठुलो अन्याय अरु के हुन्सक्छ? ती चारपाँच जना शीर्ष भनिएका नेताहरुलाई हेर्नुस्, स्पष्ट हुन्छ| जसरी पनि लिऔ, राजनैतीक वा ब्यक्तिगत चरित्र, ती एकै थरी हुर्काई बढाई, प्रिष्टभुमि, संस्कारीय सोच र ओरिएन्टेसन भएका नेताहरु हुन जसले यो देश डुबाएका छन, सपना देखाएका छन तर पद, सत्ता, पैसा र नातेदार र आफ्नै संपर्कका ब्यक्तिहरु पर्छन| त्यसले सिँगो नेपालको र नेपालीको चरित्रको प्रतिनिधित्व गर्दैन| तर मुख खोलेर यो यथार्थ कसैले बुझेर पनि भन्न चाहदैनन| बाहिर जनताका खपतका लागि जे देखाए पनि ती नेताहरुमा साझा भनेको त्यही अन्तर्निहित मोह हो| नामै लिईरहन नपर्ला र यो भन्दा बढी खुलेर लेख्न पनि आवश्यकता नहोला| एकथरी धर्म नमान्ने भन्ने ढोँग रचेका छन, अर्का थरीकाहरु धर्मलाई राजनैतीक स्वार्थसिद्धिको बाटो रोजेका छन, पञ्चायतका वीष र अमृत दुवै चाखेका नेताहरुमा वैतरणी सम्मै पदवहाल रहिरह्ने तीब्र लालसा छ| यस्ता कुचक्री र अधर्मी नेताहरुको चरित्रलाई नेपाली चरित्र भनिनु आम नेपाली जनताको अपमान हो|

    अन्त्यमा, के ओलीजीको आत्मा आलोचनाले मात्र पुग्छ? समान स्तरमा अर्को रातो टेबुल थपिनु नै यो नाटकको अन्तिम द्रिश्य अवश्य पनि होइन जस्तो लाग्छ|

    जो कोही पनि सार्बजनिक पदमा रहेका छन, उँहाहरुका सम्पति सही ढंगमा छानवीन हुनपर्ने र सार्वजनिक गरिन पर्ने बारे शेरबहादुर तामाङले कानुन मन्त्री हुँदा उठाएका थिए, तर अहिले सम्म ओलीजीको कृपाले केही पनि भएन| यस बारे पनि तपाईंको तीखो कलम चलोस|

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • vishwa

    Mazza aayo padhera….ashadhhai saandharbhik..sabaile bujhne tara…hamro baaddhyata kehi garna nasakne.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • madan bajracharya

    राजाको राजाबादिको बनेको सुर्यज्युले अहिले माईसन्सारमा लेखेको “उहिलेको मबिबि शाह चादनि शाह जि शाह आदि शासक…….खेतालाले लेखि दिन्थे” वाक्यले उहा उहिले राजा बसेको गद्दी बाट चुहेको मह खान मात्रै राजाबादी बनेको बुझियो। अहिले के के लेखेको पनि शायद; माने है सुर्यज्युलाई/

    राम्रोमा राम्रो राजातन्त्र पनि शासकले जनताकै मतको प्रतिनिधित्व गर्ने र् सदनमा जनताको मत बाट चुनियका कसैलाई कसैले “व्हिप” ठोकेर आफ्नो कोठे सहमतिमा ल्याप्छे थोक्ने बनाउन नसक्ने प्रजातन्त्र बा लोकतन्त्र भन्दा राम्रो हुन सक्दैन तर तेसो नभयमा नराम्रो राजातन्त्र पनि प्रवाशितन्त्रलाई प्रजातन्त्र र् आफ्नै बोलीलाई नागरिकको बोली भन्ने झुठो नेताको झुठो लोकतन्त्र भन्दा राम्रै हुन्छ.

    यो आत्मालोचना र् त्यो जारी गरेर खारेज गरेको अध्यादेस कुनै घटना होईन दु:खद अन्त भयको एउटा खेल हो र् खेलमा जितहारको निर्नय् खेलादिलेनै गर्न सक्दैन। अनि समर्थक र् बिरोधि बनेका हामी मात्र् दर्शक हौ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0