gostosas dando o cuzinho dordoz.com acompanhantes goianas homens sex chuporn.net morena boa videos caseiro sexo xxxvideo.name levando rola bunda gostosa praia xlxx.pro video de sexo famosas filmes pornôs brasileiro kompoz.me xvideos atores
novinha gozando no quintal liebelib.net bucetinha rosada novinha dp anybunny.mobi sambapornol comendo uma travesti nesaporn.mobi luxuria porno esposas gustosas ar.kompoz.me nu bbb sexo com patroas tubetria.mobi brasileirinhas traindo o namorado

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

संस्मरण साहित्य : सिकार

– गोविन्द बेल्वासे –

गरीबहरू खानको लागि सिकार गर्छन्, सम्भ्रान्तहरू रहरले सिकार गर्छन्।

विक्रम सम्बत २०३० सालमा तौलिहवाबाट हाम्रो गाउँमा सिडियो सहितको टोली सिकार खेल्न आएको थियो। पूर्व पश्चिम राजमार्ग बन्न सुरू मात्र भएको त्यो अवस्थामा तौलिहवा अहिलेको बुटवलको तुलनामा बढी नै चहलपहल हुन्थ्यो। त्यस समयमा भारतसँग पीच बाटोले नेपाल जोडिएका चार बजार मध्येको एक हो, कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजार। गौतम बुध्दका पिता सुद्धोधनको दरबार तिलौराकोट भरखर उत्खनन् हुने क्रममा थियो। खासै प्रचार भैसकेको थिएन। गोरखपुरबाट पेन्सन बुझेर फर्कने लाहुरेहरूको मुख्य मध्येको नाका नै थियो। उनीहरू तौलिहवासम्म मोटरमा वा टाँगामा आउँथे। त्यहाँबाट बाकस र गुण्टा घोडामा बोकाएर उत्तरतिर लाग्थे। सिडियो भनेका जिल्लाका राजा सरह नै हुन्थे त्यसताका। त्यो पञ्चायत शासन काल थियो। कानून भन्दा शासकहरू माथि नै हुन्थे। संविधान भन्दा राजा माथि हुन्थे। जिल्ला न्यायाधीशहरू पनि सिडियोसंग थुरथुर हुने परिस्थिति हुन्थ्यो। कानूनले जरायो, मृग, हरिण जस्ता जङ्गली जनावर सिकार गर्नु अपराध हुन्छ भनेको थियो, जेल सजाय हुन्थ्यो। तर, जिल्लाका बनका हाकिम डिएफओ र सिडियो नै टोलीमा मिसिएर सिकार खेल्न हिँडेपछि कानूनका कुरै नहुने? रेञ्जर र फरेस्टरले कानूनको ध्वास दिएर गाउँले थारूसंग कुखुरा, चामल, निहार (रक्सी) भने खुव उठाउँथे र मोज गर्थे। थारूहरूका लागि त्यस्ता कर्मचारीहरू सत्कार गर्नै पर्ने भयावहका स्वरूप हुन्थे।

सिकारी हाकिमहरू आउनु भन्दा एक दिन अघि नै झण्डेनगर (कृष्णनगर)बाट हात्तिमा चढेर बड्का शीरका मालिक खलकका युवा र किशोरहरू आइसकेका थिए । बड्का शीरका मालिकहरू वर्षमा दुई तीन पटक मात्र बस्ने गरी गाउँमा पुग्थे, नत्र सधै रैती तथा हरूवा–चरूवा थारूहरूको जिम्मामा हुन्थ्यो। चीते थारूका जेठा छोरा बड्का शीरका अघरिया थिए, काम भने शिरवार जस्तै गर्थे। कुन धन्सार, भकारी र डेहरीमा कति मन कति शेर धान छ, मसुरो र छिटाको दाल कति छ भन्ने सवै हिसाव पहाडमै बसोबास गर्ने अर्घाखाँचीका राष्ट्रिय पञ्चायत सदस्य बड्का (जेठा) मालिकको बहीखातामा लेखिएको हुन्थ्यो। उनैले चिठ्ठीमा लेखेको विवरण अनुसारमात्र कसलाइ कति नापेर दिने भन्ने हिसाब उनै अघरियाले गर्थे। त्यस्तै चिठ्ठीमा ठूला हाकिम पाउनाहरू आउने र उनीहरूलाइ सवै ब्यवस्था गर्न खवर पहिला नै पुगिसकेको थियो। केके ब्यवस्था गर्नु पर्ने हो भन्ने ब्यहोरा पनि खुलाइएको थियो चिठ्ठीमा।

अर्घाखाँची गल्दा गाउँका गोठाला किसानहरू (गल्देली)को गोठ उकालो लागि सकेका थिएनन् । पुस माघको जाडो छल्न पहाडबाट गल्देलीहरूले भाँवर प्रदेशमा हरेक वर्ष डिँगा(भैसी) लिएर आउँथे। गर्मी चढे पछि औलोको डर हुन्थ्यो । त्यसैले गर्मी नचढ्दै फर्कन्थे । सरकारले डिडिटी छर्न थालेदेखि औलोको डर हराइसकेको थियो । त्यसैले हरेक वर्ष त्यसरि डिँगा लिएर झर्ने मध्ये पाँच घरले त बड्का शीरको केही जग्गा पनि दुर्इ वर्ष पहिला किनेर पहाड र तराइ गरी दुइ पाइ बनाएका थिए । नत्र पहिलापहिला त अलि चाडै नै डिँगा लिएर औलो छल्न गैसकेका हुन्थे ।

पहाडका डाडा सकिएर तराइ सुरू हुने भाँवर प्रदेशमा बसेको छ बोक्टापुर गाउँ । तराइ सुरू हुनासाथको कपिलबस्तुमा पर्ने पहिलो गाउँ नै टाँकु–बोक्टापुर हो । त्यहाँबाट उत्तर पट्टि सवै अर्घाखाँची पर्छ । टाँकुबाट उत्तर जङ्गलकै बीचमा पहाडको फेँदैमा अर्घाखाँचीमा पर्ने महुवारी गाउँ छ । चारै तिरबाट बोक्टापुर र टाँकु गरी दुइ गाउँलाइ जङ्गलले घेरेको छ। जङ्गल नछिरि अरू गाउँ तिर त निकासै छैन । सवै भन्दा थोरै जङ्गल हिँडेर अर्को गाउँको सिमाना पुग्ने नगिचको गाउँ रन्गाइ हो । अहिले पनि अवस्था उस्तै छ तर जङ्गल भने पहिला जस्तो बुट्यान र झाडी हराएका छन् । नदीमा पुलहरू थिएनन् तर अहिले भने पुल बनेकाले पूर्व पश्चिम राजमार्गबाट बर्खामा पनि गाउँमा पुग्न सकिन्छ । उस समयमा घण्टौसम्म पर्खिएर खोलाको बाढी कम भएर तर्न सकिने भएपछि मात्र जान पाइने अवस्था अहिले छैन । नगिचको स्कूल भनेको पत्थरकोटको ८ कक्षासम्म पढाइ हुने मिडिल स्कुल थियो । त्यो पनि ९ किलोमिटर टाढा पर्छ ।

बर्षा महिनामा मोटर त्यो गाउँसम्म पुग्ने सम्भावना नै रहन्थेन । बर्षा याममा हिलो र पाँगोले लत्पतिएका खोला मोटरले तर्न सम्भव थिएन । माघ महिनाको अन्तिम तिरको कुरा हो, ठ्याक्क गते भने मलाइ याद भएन । दिउस एघार बजे तिर एउटा जीपमा ती हाकिम पाहुनाहरू आएका थिए । गाडी गाउँसम्म पुग्ने बाटो भटवामा झिँगइ खोलाको तिरै तिर महादेव थान निरबाट दायाँपट्टि घुमेर सिधा आएपछि पुगिन्छ । भटवामा मोटर छिर्नु भन्दा पहिला नै जङ्गलबाट निस्कने बेलाबाटै मोटरको आवाज सुनेपछि गाउँका केटाकेटीहरू मोटर हेर्न दगुर्दै महादेव थानसम्म पुग्दा मोटरहरू पनि त्यहाँ पुगेका थिए । केटाकेटीहरू कतिपयले बटन नभएका सर्ट र कट्टु लगाएका, फाटे उरेका लेहेँगा र चोलीमा केटीहरू, कसैका नाकमा पहेँलो सिँगान झुण्डाउँदै दगुर्दै, कोही अरू भन्दा पहिला आफुले मोटर देख्ने होडमा दगुर्दा झर्न थालेको कट्टु एक हातले समाउँदै अर्को हातको नाडीले सिङ्गान लफ्रक्क पुछ्दै गरेका । सवै भन्दा अगाडि घन्चराने लाटो (केटो) धरो र छोँटो सर्टको पहिरनमा थियो । उसले स्वर नसुन्ने भएकोले केटाकेटी दगुरेको देखेर हुलमा लहलहैमा दगुरेको थियो । संगैको साथीले इसाराले मोटर गाउँमा आउन थालेको बताए पछि उसले सवैलाइ उछिनेर दगुर्दै अगाडि सवै भन्दा पहिला मोटर देख्यो । मोटर देखेर उसले प्रफुल्ल मुद्रामा खित्खिति हास्दै मोटरले उडाएको धुलोभित्र छिर्दै मोटरको पछिपछि दगुर्न थाल्यो । त्यस पछि मोटरका पछि अरू केटाकेही पनि धुलो र पेट्रोलको वासनामा रमाउँदै खुसी हुँदै पच्छाउँदै गए । बाँस, इमिली र आँपका पात पनि त्यो रसियन जिपका चक्काले उडाएर धुलो र पेट्रोलको गन्धमा मिसाएर कक्टेल बनाएको थियो । केटाकेटी त्यही कक्टेललाइ रमाइलो मान्दै धुलोले फुस्रो पारिएको कपाल, अनुहार र जिउ लिएर एकले अर्कालाइ अन्दाजले मात्र चिन्ने भएका थिए ।

गाउँ पुग्ने बेलामा थोरै उकालो चढ्नेबेलामा मोटरको गति पनि कम भयो । साइलेन्सर पाइपले धुवाँको मुस्लो उडाउँदै सिडियोको रसियन जिप अघिअघि केटाकेटी पछिपछि थिए । केटाकेटीले पनि जिपको पछाडीको भाग हातले छुँदै दगुर्न थाले । भूमिसुधार लागुभएर सहकारीका लागि जम्मा पारिएको धान राखिएको धन्सार निर गएर मोटर रोकियो । गाडी रोकिएपछि गाडीबाट झर्दै पातलो गम्छाले धुलो टक्टकाउँदै मान्छेहरू यता र उता उभिन थाले ।

गाडीले उडाएको र यात्रुहरूले टक्टकाएको धुलो मत्थर भएर अलि शान्त भएको थियो । त्यत्तिकैमा अघिल्लो दिन नै शीरका मान्छे लिएर गाउँमा आएको हात्तिले घण्टी बजाउँदै उत्तर तिरबाट आएर त्यहीँ मोटर भएको ठाउँ निर पुग्यो । हात्तिको टाउका माथि बसेको पिलवान(माउते) का पछाडि पिपलका हाँगा काटेर ल्याइएको घास माउतेले बाँधेको रस्सी फुकाएर भूर्इमा झारिदिए । पिलवानले इसारा गरेपछि हात्ति बसेपछि पिलवान तल भूइमा झरे । भूइमा गाडिएको काठको मुङ्ग्रोमा साङ्लोको एउटा टुप्पो र अर्को टुप्पो हात्तिको अगाडिको दायाँ खुट्टामा बाँधेर छाडिदिए । हात्तिले आफ्ना सुँढले पिपलका डाँठ च्याप्प समातेर आफ्नै खुट्टामा ठटाएर टक्टकाउँने अनि मुखमा चपाउने गरेको हेर्दै कतिपय केटाकेटी रमाउन थाले । अरू केही केटाकेटी मोटरमा आएका मान्छेका पछिपछि लागेर शिर (जिमिदारको घर, गोठ, ठाँटी भएको क्षेत्र) सम्म गए । हात्ति हेर्दै गरेका भुराहरू पनि पछि अरू केटाकेटीसंग मिसिन पुगे ।

जिपमा आएका हाकिमहरू दुर्इ, झोला बोक्ने उनका पिउनहरू दुर्इ, एक जना पेस्तोल भिरेका सिपाही र ड्राइभर पुग्नु भन्दा पहिला शीरको आँगनमा दुर्इवटा जिउरे–खाट माथि चम्किलो रङ्गिन दह्री विछाइएको रहेछ । अघिल्लै दिन आइ पुगेका मध्ये नरेन्द्र र मुन्ना गाडी आइपुगेको थाहा पाएपछि गाडी सम्मै पुगेर – हाकिमअरू संगै भए, अघिल्लो दिन नै आइसकेका अरू यूवा र किशोरहरू ठाँटीमा बसेर रमाइलो गर्दै थिए । गाउँका केटाकेटीभने शीरको परिसर वाहिरै उभिएर तमासा हेरे जसरि हेरिरहेका थिए । शीरको घर क्षेत्रको पूर्व पट्टिको बैरका काँडाले बारेको बार निर राखिएको माटोका घैटाबाट पानी सारेर अमखोराले थरूनीहरूले पानी खनाइ दिए । हाकिमहरूले हातखुट्टा धुने गरेपछि खाटमा बसे । जिमिदारको घर भए पनि सवै गोठ, ठाँटी पनि काठ, खर, माटोबाटै बनेका थिए । उनीहरू आफूहरू बस्ने भए सिमेण्ट इटा झड जोडेर राम्रो पक्की घर बनाउने थिए होलान । तर, गाउँ भरि नै इटा देखिन्थेन । टाँकुको खोलादेखि झिङ्गइ खोलाको बीचमा कुवा (इनार) खन्न हुँदैन भन्ने अन्धविश्वास थियो । चापाकल जस्तो प्रविधि त जानकारी मै थिएन भनेपनि हुन्छ । सदरमुकाम तौलिहवा तिर भरखर प्रचलनमा आउँदै थियो । प्लास्टिकको त नाम निसान नै थिएन । आधुनिक प्रविधिका नाममा छोट्का शीरका मालिककहाँ भने ट्रान्जिष्टर रेडियो थियो । यी दुर्इ खोलाभित्र टाँकु र बोक्टापुर दुइ गाउँ थिए । दुर्इ शीर टाँकु र दुर्इ शीर बोक्टापुर अनि पाँच घर गल्देली बाहेक अरू सवै थारूहरूको बस्ती थियो दुवै गाउँ । नदी किनारका जरूवाबाट पानी भरेर माटाका घैटामा गाउँमा ओसारिन्थ्यो । खोलाको छेउँको वालुवा खोस्रेर कुन्टो बनाउँदा पानी रसाएर जम्मा हुने पानीलाइ जरूवा भनिन्छ ।

खाना खाए पछि ‘हँकवा’ सिकार जाने पहिलादेखि नै तयारी थियो । जङ्गलमा जनावरहरू खोला तरेर भाग्ने नाकाहरूमा लुकेर बन्दुकेहरू बस्ने अनि अरू तीन तिरबाट गाउँलेहरू हल्ला गर्दै अगाडि बढ्दा भाग्न थालेका जनावरलाइ गोली हानेर मार्ने सिकारको रणनीतिलाइ हँकवा भनिन्छ । हँकवामा यही जनावर मार्ने भन्ने हुँदैन जुन फेला पर्छ त्यही मार्ने हुन्छ । तर पनि शिकारीहरूले सकेसम्म गर्भवती हरिण र बच्चा नमार्ने धारणा बनाएका हुन्छन् । धार्मिक भावनाले पनि स्वतः कतिपय नियमहरू बनेका छन् । सकेसम्म सिकारीले नियम पालन गर्छन् तर कहिलेकाही सिकार नपाएको झोँकमा नैतिक नियम उलंघन त भै हाल्थ्यो ।

जीप लिएर सिकार खेल्न आएका पाउनाहरूको प्रमुख रोजाइ जरायो मार्ने भन्ने हुन्थ्यो । त्यस्तो घना जङ्गल भएको त्यो समयमा पनि जरायो भेट्न भने मुस्किल नै पर्थ्यो । गार्इ भैसी चराउन जाने गोठालाहरूले जरायो देखियो भन्ने खबर गाउँमा पुर्याउँदा शिकारीले दुर्इ तीन दिनको खर्च बोकेरै जरायोको सिकार गर्न जङ्गल पस्थे । जाडो महिना छ भने पानीको रहको नगिचको रूखमा मचान बनाएर जरायो कतिखेर रहमा खाल खेल्न आउँछ भनेर ढुकेर बस्थे । भेटे भने मचानबाटै गोली ठोकेर मार्थे । रूखमा बस्न सुत्न मिल्ने गरी बनाइएको अस्थाइ बासस्थानलाइ मचान भनिन्छ । जङ्गलबाट बन्दुक पड्केको आवाज सुनेभने गाउँका मान्छे दगुर्दै त्यहाँ पुग्थे । जो जो पुग्थ्यो उसले सिकारको भाग पाउँथ्यो । नजानेले भाग पाउँथेन । सिकारको आधा सिकारीको हुन्थ्यो, बाँकी आधामा अरूको भाग लगाइन्थ्यो । जरायो अरू जनावर भन्दा बेग्ले हुन्छ । जाडोमा पानीमा खाल खेल्छ । अनि गर्मीमा आगो सल्किएको मुढाको छेउँमा बसेर आगो ताप्छ । अर्थात गर्मीमा तातो खोज्छ, अनि जाडोमा चीसो खोज्छ । गर्मी महिनामा घाम लाग्ने अलि पारिलो ठाउँमा मुडा बालेर मचानमाथि बसेर शिकारीले जरायो ढुक्थे । जरायोको छालामाथि गर्मीमा बस्दा सित्तल हुन्छ, जाडोमा न्यानो हुन्छ त्यसैले उसको मासु मात्र होइन छालाको झन ठूलो महत्व छ । जरायोको मासु नखाएको पनि ४० वर्षभन्दा बढि भयो । उतिबेलाको त्यो जरायोको मासु र सुकुटीको झोलको स्वाद अहिले सम्म पनि जिब्रोमा बसेको छ । सम्झँदा पनि मुखमा पानी आउँदै छ । तर, उतिबेला त विरलै पाइने जरायो अहिलेको जमानामा त आशा नै गर्न पर्दैन । जरायो मार्न ढुके पनि शिकारीले हरिण वा राते जस्ता जनावर भेटे भने पनि मार्न त छाड्थेनन् तर अरू जनावर मार्दाको बन्दुकको आवाजले जरायो जङ्गलै छाडेर भाग्छ कि भन्ने लाग्यो भने अरू जनावर देखेर पनि बन्दुक नपड्काइ जरायो कुरेर बस्थे । शिकारीहरूले बेलाबखत जरायो ढुकेर बस्दा बाघ देखेर झम्टन्छकि भन्दै थुर्थुर काम्दै कुप्रिएर बसेको कथा गाउँलेलार्इ पनि सुनाउँथे ।

अघिल्ला दिन गाउँमा आएका माल्काने (मालिक घरका) लवंडा(केटा)हरूले गाउँलेले कहिल्यै नदेखेका नयाँ खालका बन्दुकहरू पनि देखे । रूखमा बसेका ढुकुर र सुगा मारेका थिए ती बन्दुकले । एउटा बन्दुकलाइ टुटु बताइयो, अर्को बन्दुकलाइ ‘एयर–गन’ भन्थे । गाउँमा त भरूवा बन्दुक मात्र थियो । कहिले काहीँ आउने सिकारीहरूको बाह्रबोर बन्दुकसम्म गाउँलेले देखेका थिए । बड्का शीरका बड्का मालिकको पनि बाह्रबोर बन्दुक थियो । उनी आउँदा उनीसँग आउने उनका सहायकले बोकेका हुन्थे । घरमा बस्दा बड्का मालिकको छेउँमै राखिएको हुन्थ्यो त्यो बन्दुक ।

एउटा भाले कुखुराको मासुमा ढुकुर र सुगाको मासु मिसाएर थरूनीहरूले पकाएको मासु, भात र छिटा (खेसरी)को दाल र साथमा प्याज र आलुको भर्ता खानामा तयार पारेका थिए । विहान गल्देलीहरूले आरीमा दुध–दही, भर्लाको पातमा पोको पारेर कुरौनी र डेक्चीमा खुवा घोटेर ल्याइदिएका थिए । मल्कान लवडांहरूले दुधको चीया पकाउन लगाएर खाए, अनि कुरौनी र खवाको नास्ता गरे । गाउँमा त चियापत्ति पनि हुँदैन । उनीहरूले आफुहरूसंगै ल्याएका रहेछन् र थरूनीहरूलाइ चिया पकाउन पनि उनीहरूले नै सिकाए । उनीहरूले दिएको सिगरेट खाँदै चिया पकाएका थिए थरूनीहरूले । बीँडी र कक्कड खाएका थरूनीले सिगरेट खान पाउँदा अचाक्ली प्रफुल्ल भए । बिँडी पनि खासै कहाँ जुर्थ्योर ! सालको पातमा सुर्तीबेरेर अर्गानिक बिँडी बनाएर खान्थे उनीहरू । बजारको विँडी त कहिलेकाहीँ मात्र जुर्थ्यो । बजार अथवा मेला गएका बेला अलिअलि ल्याएको बिँडी खाँदा चाही गाउँमा अलि सान पनि फरक हुने । झन चुरोट खान पाउँदाको के कुरा गर्नु र !! हाकिमहरूले त अझ फिल्टरवाला सिगरेट खाने रहेछन् । गाउँलेले त्यस्तो फेटा लगाएको सिगरेट त कहिल्यै नदेखेका जिल्ल परेर हेरे । पाए त एक सर्को तान्न हुन्थ्यो भनेर घुटुक्क थुक निले ।

खाना खाएपछि एकछिन बिसाए । हाकिमहरूले घुडासम्म पुग्ने बुटजुत्ता लगाएका थिए । दुर्इ नाले बाह्र बोरका बन्दुक भिरेका । त्यस्तो घुडासम्मका बुट त गाउँलेहरूले पहिलो पटक देखे । अनि मल्काने लवडांहरू पनि उनीहरूसंगै र पछिपछि पिउन, सिपाइ, ड्राइभर र त्यसका पछाडि अरू गाउँले भएर हँकवा सिकार गर्न जान थाले । त्यो लस्करको पछिपछि लागेर केटाकेटी पनि गएका थिए तर झिँगइ नदी तरेर गब्दहवा तिर जाने जङ्गलतिर शिकारी जान लाग्दा केटाकेटीलाइ खोला वारिबाटै फर्काइदिए । ललवा, लल्पुवा र घिसुवाहरू सिकारीका पछि जान नपाए पछि कपडा खोलेर नाङ्गै भएर खोलामा पौडी खेल्न थाले । भोक लागेपछि बल्ल घरतिर लागे । अरू केटाकेटी पहिलानै घरतिर फर्किएका थिए ।

पहेँली घाम भैसकेको थियो, दिन ढलिसकेको थियो । त्यसैबेला जङ्गलबाट बन्दुक पड्केको आवाज सुनेर गाउँलेहरू भाग भेट्न बन्दुकको स्वर जताबाट आएको थियो उतै तिर लागे । ठुलै नीलगाइ ढलेको रहेछ । गाउँमा नीलगाइ खाए पापलाग्छ भन्ने थियो, थारूहरूले मार्दैनथे र खान्थेनन् पनि । सामान्यतया सिकारको कहिल्यै कमी नहुने जङ्गलमा त्यसदिन किन हो कुन्नी खासै ठूला जनावर अरू नभेटिएको झोँकमा ती हाकिमहरूले नीलगाइ नै भएपनि मारेछन । उनीहरू र मल्काने लवंडाहरूले त नीलगाइ पनि खाँदारहेछन् । गाउँलेहरू भने त्यो देखेर छक्क परे । भाग पाइन्छ भन्दै पछि गएका गाउँलेहरू पनि नीलगाइ भने पछि भागै नखोजी, नलिइ फर्किए । साँझ, त्यसैको मासुसंग खाना पाक्यो बड्का शीरमा । नीलगार्इको मासु भनेर पकाउन पनि मन नलागिनलागि थरूनीहरूले बाध्यताले मात्र पकाए । बर्खामा धानको विउ काट्दा उज्यालो पार्न मात्र बालिने मेन्टोल बालेर बड्का शीरको आँगन झकिझकाउ भयो । भान्सा घरमा पकाउनेका लागि लाल्टिनको उज्यालो थियो । नत्र गाउँमा मेन्टोल बाल्ने भनेको त नौटंकी देखाउँदा मात्र हो ।

खाना खाएपछि हाकिमहरू र मल्कान नरेन्द्र र मुन्नाबाबु भएर जीपमा अरू थारूसमेत लिएर सिकार खोज्न गए । गाडीमा चहकिलो बत्ति देखेर जनवारहरू लट्ठ परेर उभिएर हेर्छन त्यसैबेला बन्दुकले हानेर मार्न सहज पनि हुन्छ । सिकार खेल्दा टोटावाल बन्दुक भएपछि सजिलो पनि हुने । हान्यो गोली फेरि भर्यो पड्कायो गर्न पाइन्छ । फटाफट पड्काउन पाइने । तर, गाउँका भरूवा बन्दुकमा त कुन जनावर मार्ने हो त्यसै अनुसार आवस्यकता पर्ने दुर्इ अङ्गुल देखि चार अङ्गुल सम्मको बारूद गजले खाँद्यो त्यसपछि थोरै कपडाका टुकडा हाल्यो । अनि सिसा (लिड)का टुक्रा हाल्यो । फेरि माथिबाट कपडाका टुक्रा हालेर गजले खाँदेपछि एक फायर गर्न तयार हुन्थ्यो । बिजुली क्याप घोँडामा च्यापेर राख्यो । अनि बन्दुकको घोडा–नलीको टुप्पाको चुच्चो–र जनावर ताकेर निसाना ताकिन्छ । ताकेपछि बन्दुकको घोँडा तानेर अङ्गुलाले खुड्किलो तानेपछि विजुली क्यापबाट निस्केको आगोको झिल्कोले बारूद सल्किएपछि त्यो बारूदको प्रेसरबाट धकेलिएका ती छर्रा उछिट्टिएर जनावरको शरीर छेँडेपछि जनावर ठहरै हुन्छन् । सिपालु सकारीले जनावरको मुटुमा छर्राले छेँडिने गरी या टाउको नै छेँडिने गरी हान्छन र ठहरै पार्छन । निसाना राम्ररी मिलेन र ठाउँमै लागेर ढलेन भने जनावर कहिलेकाहीँ रगत चुहाउँदै भाग्छ र रगत पच्छाउँदै गएर अर्को फायर दागेर मार्न पर्ने पनि हुन सक्छ । कहिले काहीँ त धेरै चोट नलागेको भए जनावर भेटिँदैन पनि । बन्दुकको आवाजले गर्दा अरू जनावर पनि धेरै टाढा भाग्छन् । भरूवा बन्दुकमा त एक फायर दागेपछि फेरि वारूद हाल्दै गजले ठोक्दै थप्दै गरेर गोली भर्न अलि समय नै लाग्छ । टोटावाला बन्दुकमा भने अर्को टोटा हाल्यो पड्कायो गर्न सजिलो हुन्छ । दुइ नाले बन्दुक रहेछ भने त लगातार दुइ पटकसम्म पड्काउन पनि सजिलो हुन्छ । अझ धेरै राउण्ड हान्न मिल्ने बन्दुक भए झन् सजिलो पनि हुन्छ । अरू मल्कान लवंडाहरू म्यान्टोलको उज्यालोमा गुन्द्रीमाथि दह्री विछ्याएर तास खेल्न थाले । तास खेल्दाखेल्दा विहान पख कुखुरो बास्ने बेलामा सिकार खेल्ने टोलीले एउटा हरिण र एउटा राते मारेर गाडीमा हालेर ल्याएका रहेछन् । रातिको समय भएकोले बन्दुकको आवाज सुनेर पनि गाउँलेहरू भाग खोज्न गएनन्।

विहान पख सवैजना बड्का शीरको ठाँटीमा गएर सुते । हाकिमहरूले जिपमा हालेर र मल्कानहरूले हात्तिमा कपडा पनि ल्याएका थिए तिनै कपडा विछाउने र ओढ्ने गरेर सुतेका थिए । तास खेल्नेहरूका लागि राति जाडो नहोस भनेर थारूहरूले काठका मुडा सल्काएर आगोले न्यानो पारिदिएका थिए । सुत्नु भन्दा पहिला त्यही आगोमा पोल्दै मिठो मानीमानी हरिणको मासु खाए ।

दिउस साढे ११ बजे तिर उठेर हातमुखमात्र धोएर रातेको मासुको झोल र भाण्टाको भर्तासंग भात खाए पछि दुवैटोली नुहाउन भन्दै खोलातिर गए । केटाहरूले नदीतिर हिँड्दै जाँदा आफूहरूले बोकेका टुटु र एयर गनले चरा ताक्दै हिँड्दै थिए । तर, धेरै जना हल्ला गर्दै हिँडेकाले चरा भुरूर्र उडेर गैहालेकाले बन्दुक पड्काउनै नपाए पछि चरा मर्ने त कुरै भएन । खोलामा पुगेर डिलमा बन्दुक र कपडा राखेर सवैजना अलि गहिरो परेको पानी जमेको ठाउँमा पसेर नुहाउन थाले । पौडिन नजान्नेहरू छेउँतिरै छप्लयाक छुप्लुक गर्दै गर्दा एउटा मजुर खोला पारि पट्टिको थुम्कोको बडेमानको रूखको हाँगामा गएर बस्दा रूखै हल्लिए जस्तो भयो । नरन्द्रले माधवलाइ ‘हेर त त्यो मजुरलाइ टुटु बन्दुकले लगेर झार त’ भन्नु भयो । उहाँको कुरा सकिन नपाउँदै हत्तन पत्त पानीबाट निस्केर भिजेकै कट्टुमा रूमालले जिउ मात्र पुछेर बन्दुक बोकेर विस्तारै गएर माधवले निसाना ताकेर हान्न त हान्नु भयो तर निसाना ठाउँमा परेन छ । लाग्न त लागेछ तर पखेटामा लागेछ क्यारे मजुरका केही प्वाख उडेर नदीमा नुहाउँदै गरेका मान्छे माथिसम्म पुगे । तर, मजुर भने भरर्र.. उडेर गैहाल्यो । मजुर झार्न नसकेकोले अलि मनिल हुँदै लाजमानेर माधव फर्किए ।

नुहाएर फर्किएपछि तौलिहवाका हाकिमहरू जाने भए, अरू मल्काने टोली भने त्यस रात पनि त्यहीँ बस्ने भए । सामान बोकेर हरियो रङको त्यो रसियन जिपमा सवै थन्काएर आ–आफ्नो सिटमा गएर बसे । ड्राइभरले गाडीको साँचो छिराएर स्टार्ट गर्न खोजेको ङ्यार..ङ्यार गर्दै अलिकता आवाज त आयो तर स्टार्ट हुन सकेन । ड्राइभर न्यूट्रल गियरमा राखेर ह्याण्डब्रेक लगाएर झरेर जिपको अगाडि गए । उनले जिपको अगाडिपट्टि अड्काएर राखिएको हेण्डल झिके । त्यो हेण्डलको एउटा टुप्पो जीपको अगाडि पट्टिको प्वालमा छिराएर एकछिन घुमाए पछि भर्ररर.. गर्दै स्टार्ट भयो । ड्राइभरले त्यो ह्याण्डल फेरि जहाँबाट झिकेको त्यही ठाउँमा अड्काए । उनले सिटमा बसेर गियर हालेर घुमाएर सूरूमा विस्तारै त्यसपछि गति बढाउँदै ओरालो लाग्दै गर्दा गाउँका केटाकेटी जीपका पछिपछि गाडी समाउँदै धुलोमा रूमलिँदै रमाए । जीपको गती तेज हुँदै गयो र उनीहरू छुट्दै गए । गाडी पर पुगेर देखिन छाड्यो तर जीपले उडाएको धुलो र पेट्रोलको गन्ध एकैछिन ती केटाकेटीले रमाइलो मान्दै गए । अलि बेरमा भूर्इको धुलोमा जीपका डोबहरू बाँकी नै थिए तर अरू सवै निसानाहरू हराइसकेका थिए । कुनै कुनै वर्ष अक्कल झुक्कल मोटर देख्न पाउने केटाकेटीहरूले त्यस्तो रमाइलो मोटरको धुलो देख्न अब कति वर्ष पर्खन पर्ला भन्ने अनुमान गर्न थाले ।

1 comment to संस्मरण साहित्य : सिकार