यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

मदन भण्डारीसित जोडिएको ‘फेक न्युज’का दुई स्क्यान्डल


२७ वर्षअघि आजकै दिन दासढुङ्गामा भएको जीप दुर्घटनामा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको मृत्यु भएको थियो। यत्रो वर्ष भइसक्दा पनि त्यो दुर्घटना थियो कि नियोजित षड्यन्त्रका कारण भएको हत्या थियो भन्ने विषयमा चर्चा हुँदै गर्छ। त्यतिबेला त झन् विभिन्न हल्लाहरु चल्नु स्वभाविकै थियो। यही घटनासँग जोडेर नेपाली पत्रकारितामा दुई वटा स्क्यान्डल भएका छन्।

स्क्यान्डल नम्बर १ : ‘जनादेश’मा टीएन प्रधान
मदन भण्डारीको मृत्यु भएको धेरै समय भएको थिएन। अहिले जस्तो इन्टरनेट र सामाजिक सञ्जालहरु पनि थिएनन्। मौखिक हल्ला व्यापक हुन्थ्यो। पत्रिकामा छापिएका कुरालाई त आधिकारिक नै ठान्ने प्रवृत्ति थियो। हो, त्यही बेला हो यो ‘जनादेश’ साप्ताहिकको स्क्यान्डल भएको।

मदन भण्डारी र उनीसँगै यात्रा गरिरहेका जीवराज आश्रितको जीप दुर्घटनामा मृत्यु भएको चार वर्षपछि अर्थात् २०५४ मंसिर १७ गते जनादेशले एउटा लेख भनौँ वा रिपोर्ट छापेको थियो- ‘महाकाली प्याकेज र सन्धि अनुमोदनको रहस्य’ शीर्षकमा। यसका लेखक थिए- टि.एन प्रधान, दार्जिलिङ।

यो सुरुवात मात्र थियो। यसपछि त जनादेशले सिरिज नै छाप्यो। अर्को अङ्क अर्थात् २०५४ मंसिर २४ गते अर्को सनसनीपूर्ण रिपोर्ट छापियो- ‘मदन भण्डारी हत्याबारे थप तथ्य’ शीर्षकमा। यो रिपोर्टमा भने टिएन प्रधानमात्र होइन, सहलेखकका रुपमा रमेश प्रधान, इलाम पनि जोडिएको थियो।

अर्को हप्ता फेरि अर्को सनसनीपूर्ण रिपोर्ट छापियो- मदन भण्डारी हत्याबारे थप तथ्यहरु (२०५४ पुस १ गते)।

यी तीन वटा रिपोर्टले सनसनी मच्चाइसकेको थियो। नियोजित हत्या थियो भनी चलेका विभिन्न षड्यन्त्र सिद्धान्त (कन्सपिरेसी थ्यौरी) लाई वैधानिकता दिने रिपोर्ट थिए ती। कतिपय कुरालाई आफ्नै आँखाले देखे जस्तो गरी बयान गरिएको थियो। त्यो हत्याको षड्यन्त्रमा वर्तमान प्रधानमन्त्री केपी ओली र माधव नेपालको हात भएको ठोकुवा गरिएको थियो। अहिले सामाजिक सञ्जालमा भाइरल भए सरह त्यो रिपोर्ट भाइरल हुनपुग्यो।

सँगसँगै प्रश्न पनि उठ्यो- आखिर यति डिटेलमा यो घटनाक्रम सबै थाहा भएका मानिसहरु को हुन्? किन टिएन प्रधान र रमेश प्रधानको अस्तित्व यसअघि भएन। यति विस्तृत जानकारी राख्ने मानिसहरु यसअघि किन कुनै पत्रिकामा छापिएका थिएनन्? खुबै अनुसन्धानमूलक जस्तो देखिएको रिपोर्टका लेखकबारे पत्रकारहरुले पनि चासो राखे, पाठकहरुले पनि चासो राखे।

यति धेरै चासो भइसकेपछि अर्को हप्ताको अङ्क अर्थात् २०५४ पुस ८ गते तिनै टिएन प्रधान र रमेश प्रधानको बाइलाइनमा नयाँ लेख आयो- ‘हाम्रो भनाई अनि मदन भण्डारी’ शीर्षकमा। त्यो लेखमा ‘काठमाडौमा हाम्रो बारेमा उठेका जे जति चर्चा छन्, हामीले सबै बुझिराखेका छौं। कसैमाथि आरोप लगाउनु पर्दैन, झण्डै एक महिना पछि हामी दार्जिलिड फर्केपछि हामी हाम्रो तस्बीर पठाई दिनेछौँ। तब हाम्रो बारेमा भ्रम निवारण होला। अहिले हामी नेपालमा जहाँजहाँ ‘र’ को बढी सक्रियता छ त्यतै घुम्छौँ। र, नेपालको पत्रपत्रिकामा लेख्छौँ। हामीले लेख्ने गरेको पत्रिकाको च्यानलभित्र पनि आफनो मान्छे छिराउने अहिले खुब प्रयास भएकाले हामी त्यो पनि ‘वाच’ गरिरहेका छौँ’ जस्ता कुरा उल्लेख थिए।

अलि अघि एमसिसी र अहिले लिपुलेकको विषयमा के राष्ट्रवादका चर्का नारा लागेका थिए र, त्यतिबेला महाकाली सन्धिबारे लागेको थियो। प्रधानद्वयका लेखहरुमा पनि भारतीय जासुसी संस्था ‘र’को बारेमा उल्लेख हुन्थ्यो। ‘र’का एजेन्टहरुको नाम र कोड नम्बरसमेत उल्लेख हुन्थ्यो।

भूमिगत लेखकहरुको लेख छापेको विषयमा जनादेशमाथि पनि प्रश्न उठ्यो। त्यसको जवाफ दिँदै २०५४ पुस १५ मा सम्पादकले ‘मदन आश्रित हत्या र ‘र’ को रिपोर्टबारे हाम्रो भनाई शीर्षकमा स्पष्टीकरण छापियो। त्यसमा सम्पादकले ‘तथ्यमाआधारित सत्यका नजिक, गम्भिर र महत्वपूर्ण भएको’ भन्दै बचाउ गरेका थिए।

को हुन् त ती भूमिगत लेखक भन्ने प्रश्न उठ्दै गर्दा र पत्रिकालाई उनीहरुको परिचय खुलाउन दबाब बढ्दै गर्दा अर्को हप्ता अर्थात् २०५४ पुस २२ गते जनादेशमा समाचार छापियो, ‘मदन आश्रित हत्याको पोल खुल्दै, टि. एन प्रधानको पत्ता लाग्दै’। यसमा रमेश प्रधान भोजपुरको चरम्बीमा जन्मेको, भारतको आसामस्थित मणिपुरमा विवाह भएको, काठमाडौ शंकरदेव र कीर्तिपुरबाट एम. कम र एम. ए.सम्मको अध्ययन गरेको, पूर्व अनेरास्ववियुको कार्यकर्ता भएको र मदन भण्डारीसँग विराटनगरमा भेट भई कोठामा खाना खुवाएको दावी गरिएका थिए।

अब मैले बोल्नै पर्‍यो शीर्षकमा २०५४ पुस २९ गते टिएन प्रधानको बाइलाइनमा र माघ ७ गते यो ‘मेरो सानो भनाई’ शीर्षकमा रमेश प्रधानको लेख छापिएपछि जनादेशमा यी प्रधानद्वयको केही छापिएन।

नेकपा नेता कर्णबहादुर थापाका अनुसार एमालेको छैटौँ राष्ट्रिय महाधिवेशनका बेला एउटा पुस्तिका निकै बिक्री भएको थियो। ‘मदन आश्रित हत्याकाण्ड र यसको रहस्य’ नामको त्यो पुस्तिकामा तिनै लेखहरुको संग्रह थियो। पुस्तिकाको मुखपृष्ठमा टि.एन प्रधान र रमेश प्रधानको नाम उल्लेख गरी दुई वटा फोटो पनि राखिएका थिए। पुस्तिकाको संकलक र प्रकाशक गोपाल चिन्तन र जनक पाठक थिए।


फोटो साभार : नागरिकन्युज

यसरी विभिन्न कन्सपिरेसी थ्यौरीहरु राखेर सनसनी मच्चाएर २०५४ माघपछि टिएन प्रधान र रमेश प्रधान गायब भएको दुई वर्षपछि फेरि अचानक देखा परे। त्यतिबेला अर्थात् २०५६ सालमा देशमा संसदीय निर्वाचनको माहौल थियो। एमाले टुक्रिएर वामदेव गौतमको नेतृत्वमा माले बनिसकेको थियो। त्यही मालेको मुखपत्रको रुपमा नयाँ निश्कर्ष मासिक प्रकाशन हुन्थ्यो। यस पटक टिएन प्रधान माओवादीको मुखपत्र जनादेशमा होइन मालेको मुखपत्र नयाँ निश्कर्षमा देखिए। २०५६ जेठ अङ्कमा ‘केपी माधवको ‘र’ सँग सम्पर्क र दासढुंगा हत्याकाण्ड’ शीर्षकमा टिएन प्रधानको लेख छापियो। यसमा नयाँ कुरा चाहिँ टिएन प्रधानको पूरा नाम भनेर तीर्थनारायण प्रधान लेखिएको थियो। त्यसैगरी यिनै हुन् टिएन प्रधान भनेर फोटोसमेत राखियो।

सम्पादक हरिहर पोखरेल र प्रधान सम्पादक गुणराज लुइँटेल स्मित रहेको पत्रिकामा टि. एन प्रधानको परिचय पनि फोटोसहित यसरी दिइयो-


फोटो साभार : जनता टाइम्स

यहीँ उनीहरुले ठूलो गल्ती गरे। यत्रो दुई वर्षसम्म सनसनी मच्चाएको लेखक फर्जी भएको खुलासा यही फोटोका कारण भयो। त्यतिबेला अहिले जस्तो गुगलमा रिभर्स इमेज सर्च थिएन। तर जुन फोटो छापियो, त्यो फोटो खिच्नेले त चिन्ने नै भयो। फोटो पत्रकार उषा तिवारीले पत्रकार सम्मेलन गर्दै भनिन्- त्यो फोटो मैले खिचेकी हुँ। त्यसको एकप्रति मसँग र अर्को प्रति गणेश खत्रीसँग थियो।

उषा र गणेश खत्री भारत गएको बेलामा भारतीय पत्रकार कुलदीप नैयरसित फोटो खिचिएको रहेछ। त्यसैलाई क्रप गरेर नैयरलाई टिएन प्रधान भन्दै छापिएको रहेछ। केही पछि दृष्टि साप्ताहिकमा क्रप नगरिएको फूल फोटो पनि छापियो। २०५६ साल भदौ १४ गते नयाँनिष्कर्ष मासिकका सम्पादक हरिहर पोखरेल र गुणराज लुइटेल स्मितले एक प्रेस विज्ञप्ती प्रकाशित गरी टि.एन प्रधान स्क्यान्डलको बारेमा बताए।


फोटो साभार : जनता टाइम्स

विज्ञप्तिमा लेखिएको थियो, ‘चुनावी राजनीतिलाई समेत मध्यनजर राखेर नेकपा माले केन्द्रीय निर्वाचन परिचालन कमिटीले टिएन प्रधानको नाममा दासढुंगा हत्याकान्डसम्बन्धी सामाग्री छाप्न पठाइयो। सो सामाग्रीमा विशेषतः एमालेका महासचिव माधव नेपाल र नेता खड्ग ओलीका बारेमा विविध लाञ्छनायुक्त र शंकास्पद कुराहरु थियो।…हामीले टिएन प्रधानको फोटोसहित छाप्दा समाचार प्रभावकारी हुने सुझाव दिएपछि गणेश खत्रीमार्फत् एउटा फोटो उपलब्ध गराइयो। हामीले त्यतिञ्जेल न त टिएन प्रधानलाई चिनेका थियौँ न त भारतीय पत्रकार कुलदीन नैयरलाई नै। त्यसैले सो व्यक्ति टिएन नै हो भनेर फोटोसहित सामाग्रीफ प्रकाशित गरियो….त्यस्तो विवादास्पद सामाग्री कहाँबाट र किन आइरहेको छ भनेर बुझ्दा नेकपा एमाले एकीकृत हुँदै छैठौँ महाधिवेशन पूर्व तत्कालीन फरक मतका प्रभावशाली नेता सीपी मैनालीको नेतृत्वमा एमालेर नेतृत्वदायी व्यक्तिहरुको चरित्र हत्या गरी जनविश्वास धुमिल पार्न विविध प्रचार प्रसार गर्ने उद्देश्यले एक गोप्य टोली सक्रिय भएको र त्यस टोलीका सदस्यहरुमा तत्कालीन फरक मतका नेताहरु केशवलाल श्रेष्ठ, त्रिलोचन ढकाल लगायत रहेको पाइयो। टिएन प्रधानको नामबाट हाल नयाँ निश्कर्षमा लेख छपाउने निर्देशन उहाँहरुबाटै भएको र तीन वर्षदेखि प्रकाशित टिएन प्रधानका धाराबाहिक कथाका परिकल्पनाकार उहाँहरु नै हुनुभएको रहस्य पनि अहिले खुल्न आयो।  उहाँहरुले आफ्नो मिसन सफल पार्न पूर्व प्रम मरिचमान सिंह श्रेष्ठ, गणेश खत्री लगायतका केही व्यक्तिहरुलाई प्रयोग गर्ने गरेको पाइयो।’

त्यसपछि कहिल्यै टिएन प्रधानको नाममा लेख छापिएन। यसरी २३ वर्षअघिको एउटा फेक न्युजको स्क्यान्डल समाप्त भयो।

धेरै भ्रममा परेकोले नोट : गुणराज लुइँटेल ‘स्मित’ र हाल नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल एकै होइनन्। ‘स्मित’ वाला गुणराज हाल अमेरिकामा छन्-

स्क्यान्डल नम्बर २ : मदन भण्डारीले दिँदै नदिएको अन्तर्वार्ता

मदन भण्डारीसँग जोडिएको अर्को स्क्यान्डल पनि २०५० सालकै हो। २०५० जेठ ३ को दासढुङ्गा दुर्घटना भएको थियो। जेठ ६ गते दोहोरी गायक तथा पत्रकार रामप्रसाद खनालले मदन भण्डारीको अन्तिम र ताजा अन्तर्वार्ता भन्दै उनको पत्रिका निष्पक्ष साप्ताहिकमा छापेका थिए। तर पछि पो थाहा भयो, मदन भण्डारीले त्यो अन्तर्वार्ता दिएकै रहेनछन्। त्यो  नक्कली अन्तर्वार्ता रहेछ। त्यसविरुद्ध पत्रकार महासंघ, रुपन्देही शाखामा उजुरी परेपछि महासंघले कारबाही स्वरुप खनालको सदस्यता खारेज गरेको थियो ।

1 comment to मदन भण्डारीसित जोडिएको ‘फेक न्युज’का दुई स्क्यान्डल

  • Gopal

    हिमालबाट साभार
    ढुकुटी लुट्ने ‘राष्ट्रवादी’ धन्दा

    १९ माघको शाही घोषणा र राजाको गुणगानमा दोहोरी गाएर आफूलाई ‘राष्ट्रवादी पत्रकार’ भनाउने रामप्रसाद खनाल ‘राष्ट्रवाद’ का नाममा आफ्ना ताइ न तुइका गीतको क्यासेट र सिडी बेच्न लागेको रहस्य हिमाल खबरपत्रिका ले फेला पारेको छ । २८ वैशाख २०६२ मा खनालले स्थानीय विकास मन्त्री खड्गबहादुर जिसीलाई ‘राजा, जनता र साँचो प्रजातन्त्र’ नामक क्यासेट, सीडी र भीसीडी ‘अधिराज्यका सबै गाविस, नगरपालिका र जिविसमा पुर्‍याउने गरी खरीद गरिदिन’ निवेदन दिएका थिए । मन्त्री जिसीले पनि तत्कालै ‘उल्लिखित माग उपयुक्त देखिएको हुँदा आवश्यक कारबाही गर्नुहुन’ भनेर सचिवलाई तोक लगाएका छन् (हे. पत्र) । मन्त्री जिसीले यस्तो तोक लगाउनु उनको बाध्यता थियो किनकि यो निवेदनको बोधार्थ राजदरबारलाई पनि दिइएको छ । ती क्यासेट, सीडी र भीसीडीमा गीत/सङ्गीतको मर्म छँदैछैन, दलहरू माथि गरिएका भद्दा गाली र दरबारको चरम चाकडीको कर्कश स्वर मात्रै छ ।

    खनालको योजना अनुसार ५८ वटा नगरपालिकालाई २० का दरले ११६० वटा, ७५ जिविसलाई १५ वटाका दरले ११२५ र ३९१६ गाविसलाई ९ वटाका दरले ३७०४४ गरी जम्मा ४०३२९ क्यासेट र त्यति नै सीडी खरीद गर्न प्रस्ताव गरिएको छ । सबै गाविस, नपा र जिविसका लागि स्थानीय विकास मन्त्रालयले नै खरीद गरिदिनुपर्ने खनालको प्रस्ताव छ । मन्त्रालयले तत्कालै सबै जिविसलाई क्यासेट खरीद गरिदिन पत्र लेखेपछि जिविसहरूले पनि गाविसलाई पत्र लेखेका छन् । १७ जेठ २०६२ मा धनकुटा जिविसले खनालको त्यो क्यासेट, सीडी, भीसीडी खरीद गर्न सबै गाविसलाई लेखेको पत्र हिमाल सँग सुरक्षित छ ।

    • गोपाल दाहाल, सुनसरी

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)