नेपालमा कोरोनाको रफ्तारले अझ गति लिएको छ। संक्रमितको संख्या एक हजार नाघेको पाँच दिनमै त्यसको दोब्बर अर्थात् २ हजार नाघेको छ। स्वास्थ्य मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा कूल संक्रमितको संख्या २ हजार ९९ जना भएको बताए। अघिल्लो दिनको सिचुएसन रिपोर्टमा यो संख्या १७९८ थियो। अर्थात् आजको सिचुएसन रिपोर्ट निकाल्दासम्म कूल संक्रमितको संख्यामा २४ घण्टामा ३०१ को वृद्धि भएको छ। २४ घण्टामा कूल ३४४० पिसिआर परीक्षण गरिएको रहेछ।
नेपालमा पहिलो केस भेटिएपछि १०० को संख्या पुग्न १०६ दिन लागेको थियो। त्यसपछि त्यसको १० गुणा अर्थात् १ हजार पुग्न मात्र २२ दिन लागेको थियो। अहिले १ हजारबाट दोब्बर २ हजार पुग्न भने मात्र पाँच दिन लागेको छ।
नेपालमा मृत्यु दर भने कम देखिएको छ। ८ जनाको मृत्यु भएको हिसाबले ०.३३ प्रतिशत मृत्यु दर देखिएको छ।
त्यसैगरी निको भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २६६ छ। अर्थात् रिकभरी रेट १२.६७ प्रतिशत छ।
क्वारेन्टिनमा रहेकाहरुको संख्या १ लाख ४५ हजारभन्दा बढी छ। २४ घण्टामा ११ हजार भन्दा बढी क्वारेन्टिनमा थपिएका छन्। यी मध्ये लगभग सबै भारतबाट आएका हुन्। उनीहरुको पीसीआर परीक्षण हुन समय लाग्नेछ।
संक्रमित भेटिएका जिल्लाको संख्या पनि बढ्दैछ। प्युठान र पर्वत थपिएपछि कूल ६१ जिल्लामा संक्रमण भेटिएको छ। अर्थात् संक्रमण नभेटिएका जिल्लाको संख्या अब १६ मात्र छ।