यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कोरोनाले पत्रकारको बिजोग : कामबाट हटाउने, बेतलबी विदा, गिट्टी कुट्नेलाई जस्तो काम गर्ने दिनको मात्र तलब


नेपालमा पत्रकारहरुको स्थिति कोरोनाका कारण झन् बिजोग भएको छ। पहिले पनि केही नाम चलेका पत्रिकाहरु बाहेक अरुमा नियमित तलबको समस्या थियो। तर कोरोना संकटपछि त नम्बर वान दावी गर्ने मिडियाहरुले नै खुट्टा तानेका छन्। देशभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले कोरोना संक्रमण तथा लकडाउनको अवधीमा पत्रकारहरुले भोग्नु परेको समस्या तथा सञ्चार गृहहरुको अवस्थाका बारेमा जानकारी लिन एउटा अनुगमन गरेको थियो। १४ जिल्ला र २० वटा सञ्चारगृहहरुमा प्रत्यक्ष भ्रमण र अन्यमा कार्यरत श्रमजीवी पत्रकारलाई फोन तथा अनलाइनका माध्यममार्फत जानकारी लिइएको यो अनुगमनको प्रतिवेदनले पत्रकारहरुलाई कोरोनाले रुन बाध्य बनाएको देखियो। हेरौँ प्रतिवेदनको अनुगमनबाट प्राप्त तथ्य

नियमित तलब पाएनन्, तलब घटाइयो
गत दुई महिनाको अवधिमा १४ जिल्ला तथा ५१ सञ्चार प्रतिष्ठानहरुमा गरिएको अनुगमनका क्रममा प्राप्त तथ्यहरुका आधारमा कोरोना संक्रमण तथा लकडाउनका बेला श्रमजीवी पत्रकारहरुले विभिन्न खाले समस्या भोग्नु परेको देखिएको छ । जसमध्ये प्रमुख रुपमा नियमित तलब नपाउने समस्या देखिएको छ । केही सञ्चार माध्यमहरुले लकडाउन अघिकै समयदेखिको नियमित तलब नदिएको पाइएको छ भने अन्य कतिपयले लकडाउन शुरु भएदेखि दिनु पर्ने तलब नदिएको पाइएको छ । अधिकांश सञ्चार प्रतिष्ठानहरुमा कार्यरत पत्रकारहरुले वैशाखदेखिको तलब नपाएको बताएका छन् । त्यसैगरी धेरैजसो सञ्चार प्रतिष्ठानले पत्रकारहरुलाई तलब घटाएर मात्र दिएको पनि पाइएको छ ।

कामबाट हटाइयो, बेतलबी विदामा राखियो
त्यसैगरी यो अवधीमा केही सञ्चार प्रतिष्ठानहरुले आम्दानी कम रहेको अवस्था देखाई पत्रकारहरुलाई कामबाट हटाउने गरेको पाइयो भने, अन्य कतिपयमा बेतलबी बिदा बस्न दबाव दिइएको देखियो। संकटको अवस्थामा नियमित तलब नपाउँदा, तलब कटौति हुँदा र बेतलबी बिदामा पठाउँदा श्रमजीवी पत्रकारहरु जीविकोपार्जनका लागि नै पनि समस्यामा परेको अनुगमनका क्रममा देखिएको छ। यसैगरी कतिपय सञ्चारगृहहरुले पत्रकारहरुको बिमा समेत नगरेको अनुगमनका क्रममा पाइयो ।

चरम आर्थिक संकट
काठमाडौं उपत्यका बाहिर जिल्लामा रहेर काम गरिरहेका पत्रकारहरु थप समस्यामा परेका छन् । जिल्लाहरुबाट प्रकाशित हुने अधिकांश पत्रपत्रिका बन्द अवस्थामा छन् भने सिमित पत्रपत्रिकाहरु अनेकौं समस्या झैल्दै प्रकाशित भएको अवस्था छ । अनलाइन सञ्चार माध्यम, रेडियो र टेलिभिजन चरम आर्थिक संकटबाट गुज्रीरहेका छन् । विशेष गरेर राष्ट्रियस्तरका सञ्चारमाध्यममा कार्यरत पत्रकार, स्थानीय सञ्चार माध्यममा कार्यरत पत्रकारहरु र सदरमुकाममा भाडामा बस्ने पत्रकारहरु आर्थिक र व्यवसायीक समस्या झेल्न बाध्य छन् ।

सर्वाधिक जोखिममा
कोभिड–१९ को उच्च संक्रमण रहेको प्रदेश नं २, प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पत्रकारहरु सर्वाधिक जोखिम मोलेर काम गरिरहेका छन् । अहिलेसम्म दर्जनबढी पत्रकारहरु कोभिड–१९ को संक्रमणमा परेका छन् । उदयपुर, बारा, पर्सा, कपिलवस्तु, बाँके लगायतका जिल्लाका पत्रकारहरुमा संक्रमण भेटिएको छ । तीमध्ये केही उपचारपछि निको भएका छन् भने केही उपचारकै क्रममा रहेका छन् । पत्रकारहरुले पेशागत दायित्व निर्वाह गर्दा आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित ढंगबाट काम गर्नुपर्ने आवश्यकता छ।
अनुगमन गरिएका जिल्लाहरुमा सञ्चालनमा रहेका सञ्चारमाध्यममा कोरोना भाइरसको महामारीमा सम्प्रेषण भएका सूचना तथा समाचार सामग्रीहरुमा पत्रकार आचार संहिता पालना गर्नुका साथै जिम्मेवार भूमिका निभाएको देखियो ।

जिल्लामा कार्यरत स्थानीय तथा काठमाडौबाट सञ्चालन हुने मिडियाका पत्रकारहरुले पनि नियमित तलव नपाएको गुनासो गरेका छन् । यसैगरी केही पत्रकारले जागिरवाट निकालिने अवस्था आएको वताएका छन् भने केही पत्रकारले हात मुख जोर्न समस्या भएको वताएका छन् । कोरोना संकटको अवस्थामा पनि पत्रकारहरु अग्रभागमा रहेर स्वास्थ्य सुरक्षा साधनको प्रयोग विना नै खटिरहेकाले सञ्चारकर्मीहरुलाई तत्काल स्वास्थ्य सुरक्षा साधन उपलब्ध गराइनु पर्ने अवस्था देखियो । यस्तो जटिल अवस्थामा सञ्चारकर्मीका समस्या सम्वोधन गर्न सम्वन्धित मिडिया हाउस, सरकार र सरोकारवाला निकायले ठोस कदम चाल्नु पर्ने देखिएको छ ।

श्रमजीवीको लामो समयसम्म पारिश्रमिक रोकिएका कारण दैनिक खर्च, औषधी उपचार, कोठाभाडा तिर्न समस्या देखिएको छ । कोरोना जोखिमकाविच रिपोर्टिङमा खटिने पत्रकारको स्वास्थ्य सुरक्षामा समस्या छ । सञ्चार संस्थाहरुले पत्रकारको कोरोना विमासमेत गरेका छैनन् ।

ज्यालादारी जस्तै गएको दिनको मात्र तलब
केही मिडिया हाउसले ज्यालादारी जस्तै कार्यालयमा गएको दिनको मात्र पारिश्रमिक दिएका छन् । जस्का कारण पत्रकारको समयको लगानी, श्रम र भविष्य अन्यौलमा परेको छ । एकतर्फी रुपमा तलब कट्टा गरिएको अवस्था छ । तलब कट्टा गरेका कारण न्यून वैतनिक श्रमजीवी चर्को मारमा परेका छन् । चारपाँच महिनासम्म पारिश्रमिक नपाउने पत्रकारको अवस्था थप जर्जर बनेको छ । बन्द भएका मिडियामा कार्यरत पत्रकार आफ्नो भविष्यलाई लिएर मानसिक तनाबमा छन् । यस्तो दुविधा, संशय र अन्यौलको स्थितिमा खुला रुपले सूचना संकंलन तथा सम्प्रेषणमै बाधा उत्पन्न भएको छ । उनीहरु पुरै विस्थापनको स्थितिमा छन् ।

कतिपय पत्रकारलाई बोलाएका वखत आउने शर्तमा घर पठाइएको छ । केही मिडिया हाउसमा एकतर्फी रुपले आन्तरिक सरुवा गरिएको छ । यस्ता पत्रकारको कानुनी अवस्था, अनुभव र निरन्तरतामा प्रश्न उठेको छ । भाषा, प्राविधिक, कार्यक्रम उत्पादक, प्रस्तोता, डिजानर, क्यामरापर्सन गरी ठूलो संख्यामा जबर्जस्ती विदामा बस्न लगाइएको छ । उनीहरुको पारिश्रमिक रोकिएको छ।

जिल्लामा अधिकांश पत्रिका बन्द
सञ्चार माध्यमहरुको अवस्था विश्लेषण गर्दा मुख्य रुपमा छापा माध्यमहरुले धेरै समस्या भोगिरहेको पाइयो । जिल्लाबाट प्रकाशित हुने अधिकांश दैनिक र साप्ताहिक पत्रपत्रिका बन्द छन् । विशेषगरी स्वरोजगार तथा साना लगानीका मिडियाहरुले लकडाउनको अवस्थामा पत्रपत्रिका प्रकाशन गर्न सकेका छैनन् । काठमाडौंबाट प्रकाशित हुने स्वरोजगार तथा साना लगानीका मिडियाहरु पनि अधिकांश बन्द अवस्थामा छन् भने ठूला लगानीका केही दैनिक पत्रिकाहरु पनि लकडाउनको अवधी देखि बन्द नै छन् । थौरै पत्रपत्रिका भने लकडाउन शुरु भएपछिको केही समय बन्द गरेर पुनः सञ्चालनमा ल्याइएको छ ।

अधिकांश जिल्लाका रेडियो र टेलिभिजनहरु चलिरहेका छन् तर तिनमा पनि कर्मचारीको संख्या घटाएर वा आलोपालो गरी सञ्चालन गरेको पाइयो । सबैजसो मिडिया सञ्चालकहरुले यस अवधीमा विज्ञापनको संख्यामा कमी आएका कारण सञ्चार प्रतिष्ठानको आम्दानीमा कमी आएको बताएका थिए ।

कोभिड–१९ को महामारीमा पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का घटनाहरु घटेका छन् । समाचारको विषयलाई लिएर विभिन्न पक्षद्वारा आक्रमण, धम्की र दुव्र्यवहारका घटनाहरु घटेका छन् । लकडाउनको अवधीमा प्रेस स्वतन्त्रता हनन्का १८ घटनाहरु घटेको महसंघको अनुगमन इकाइमा अभिलेख भएका छन्।

(प्रतिवेदन पूरा पढ्न यहाँ क्लिक गर्नुस्)

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)