यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

किशोरीको मोबाइलबाट नवराजलाई गएको एउटा मेसेज, जसले उनलाई ‘पुर्पक्ष’मा पठायो

‘परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६’ लाई पुर्पक्षका लागि बाल सुधार गृह पठाइदिनु।

रुकुम जिल्ला अदालतको बाल इजलासमा जिल्ला न्यायाधीश विद्याराज पौडेलले सोमबार यस्तो आदेश दिए। अहिलेको बहुचर्चित रुकुम चौरजहारी हत्या प्रकरणको मुद्दामा प्रतिवादी बनाइएका दुई नाबालग मध्ये एकको सांकेतिक नाम हो- ‘परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६’। उनी १७ वर्षकी किशोरी हुन्। आधिकारिक डकुमेन्टमा ‘कानूनको द्बन्दमा परेको बालिका (Children who are accused of the rule of law and/or in conflict with law)’

बालबालिकासम्बन्धी ऐन २०७५ को दफा २४ (२) अनुसार उनलाई न्यायाधीशले पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश दिएका हुन्। अर्थात् मुद्दाको टुङ्गो नलागुन्जेल किशोरी बाल सुधार गृहमै बस्नु पर्नेछ। यही ऐनमा बालबालिकाको पहिचान लुकाउनु पर्ने व्यवस्था छ। त्यही भएर आधिकारिक डकुमेन्टहरुमा उनको यस्तो परिवर्तिन नाम राखिएको हो। तर फेसबुक र युट्युबमा उनको नाम र फेसबुकबाट निकालिएको फोटोसहित गालीगलौज छ्याप्छ्याप्ती छन्। मिडियाले समेत किशोरीलाई युवती भनेर समाचार लेखेका छन्। 

रुकुममा बाल सुधार गृह छैन। त्यसो त अनुसन्धानकै क्रममा पनि बालबालिकालाई हिरासत कक्षमा नभई अनुसन्धान अवधिभर निगरानी कक्षमा राख्नुपर्ने हो। तर निगरानी कक्ष नभएकोले त्यसैले महिला सेललाई नै सुधार गृह बनाएर किशोरीलाई आमासँगै राखिएको थियो।

नेपालमा आठ ठाउँ– भक्तपुर, कास्की, विराटनगर, नेपालगंज, रुपन्देही, मकवानपुर, पर्सा र डोटीमा मात्र बाल सुधार गृह छ। मुद्दाको छिटो टुङ्गो नलागे वा अभियोग प्रमाणित भए किशोरीलाई यी मध्ये एक ठाउँको बाल सुधार गृहमा पठाइनेछ। त्यतिन्जेल शायद् मुसिकोटमा रहेको यही जिल्ला प्रहरी कार्यालयको कुनै कक्षमा राखिनेछ।

के लाग्यो अभियोग?

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २४ मा ‘कुनै पनि बालबालिकालाई मुद्दाको पुर्पक्षको सिलसिलामा थुनामा राखिने छैन र निजसँग धरौटी वा जमानत नमागिने’ उल्लेख छ। तर न्यायाधीशले उपदफा २ को प्रयोग गरेका हुन् जसमा भनिएको छ-

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा बाल अदालतले कसूरजन्य कार्यको अभियोग लागेको बालबालिकालाई कारण खुलाई पुर्पक्षको लागि बाल सुधार गृहमा राख्न सक्नेछः–

(क) बालबालिकाको जीउज्यान जोखिममा पर्ने, निजद्वारा कसैलाई हानि नोक्सानी पुर्‍याउने, त्यस्तो बालबालिका भागी जाने वा अन्य कुनै कारणले अन्यत्र राख्न उपयुक्त नहुने पर्याप्त आधार भएमा,

(ख) तीन वर्ष वा सोभन्दा बढी कैद सजाय गर्नु पर्ने कसूरजन्य कार्यको अभियोग लागेका बालबालिका तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भएमा वा कसूरदार हो भन्ने विश्वास गर्ने मनासिब आधार भएमा।

प्रहरी अनुसन्धानले किशोरीले नवराज विकसहित ६ जनालाई ‘क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको’ र ‘अपहरण गरी वा शरिरबन्धक लिई ज्यान मारेको’ वारदात घटाउन आपराधिक षड्यन्त्र रचेको दावी गरेको छ। त्यसैगरी जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव पनि गरेको अभियोग छ। यही दावीका साथ जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा उनीमाथि यस्तो सजाय दावी माग गरिएको छ-

-ज्यान मार्ने नियतले काम गरेकोमा जन्मकैद,

– क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको तथा अपहरण गरी वा शरिरबन्धक लिई ज्यान मारेकोमा कसूरदार जीवित रहेसम्म कैद

– तथा मुलुकी अपराध संहिता,२०७४ को दफा ३३ को उपदफा ३ मा भएको जघन्य वा गम्भीर प्रकृतिको कसूरको आपराधिक षड्यन्त्र गर्ने वा गराउने व्यक्तिलाई यस सहितामा अन्यत्र छुटैृ सजायको व्यवस्था भएकोमा सोही बमोजिम र नभएकोमा देहाय बमोजिम सजाय हुनेछः–

(क) आपराधिक षड्यन्त्र बमोजिमको कसूर गरेको भए त्यस्तो कसूर गरे सरहको सजाय,

(ख) आपराधिक षड्यन्त्र बमोजिमको कसूर नभई अन्य कसूर भएकोमा त्यस्तो कसूर त्यस्तो षड्यन्त्र कार्यान्वयनको सिलसिलामा वा त्यसैको सम्भावित परिणामस्वरुप भएको रहेछ भने त्यस्तो कसूर बापत हुने सजाय,

(ग) आपराधिक षड्यन्त्र बमोजिमको कसूरको अतिरिक्त अन्य कसूर पनि भएकोमा त्यस्तो कसूर पनि सोही षडयन्त्र कार्यान्वयनको सिलसिलामा वा त्यसैको सम्भावित परिणामस्वरुप भएको रहेछ भने त्यस्तो कसूरको समेत थप सजाय,

यिनी नाबालिका भएकोले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३६(४) बमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको दुई तिहाई सजाय हुन मागदावी लिइएको छ।

त्यसैगरी, किशोरीमाथि जातीय भेदभावको पनि अभियोग लगाइएको छ। जातीय छुवाछुत वा भेदभाव हुने कार्य गर्न कसैलाई भड्काउने, उक्साउने वा त्यस्तो कार्य गर्न दुरुत्साहन हुने कुनै कार्य गर्न वा त्यस्तो कुनै क्रियाकलापमा जानी-जानी सहभागी भएको अभियोगमा सजाय माग दावी गरिएको छ। यस्तो अभियोग पुष्टि भएमा तीन महिनादेखी तीन वर्षसम्म कैद र पचास हजार रुपैँयादेखि दुई लाख रुपैँयासम्म जरिवाना हुनसक्छ।

अनुसन्धानले के देखाउँछ?

रुकुम-जाजरकोट जानु अघि मैले पनि तपाईँहरुले जस्तै विभिन्न मिडियामा आएको समाचारै पढेको हुँ। ती समाचारहरुका आधारमा मेरो दिमागमा यो घटना यस्तो भएको भन्ने थियो-

नवराज र किशोरीबीच मायाप्रेम थियो। उनीहरु प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न चाहन्थे। तर परिवार त्यसको विरोधमा थियो। किनभने केटा कथित दलित जातको पर्‍यो। केटीले एक दिन नवराजलाई मलाई लिन केटाहरु लिएर आऊ भनी बोलाए। केटीले बोलाएकै भएर नवराज साथीहरु लिएर केटी भगाउन जाजरकोटमा रुकुमको सोती गाउँ हिँडे। तर केटीको घरमा पुगेपछि केटीकी आमाले जातीय गाली गरिन्। त्यसपछि गाउँलेहरु मिलेर उनीहरुलाई लखेटी लखेटी ढुंगामुढा र घरेलु हतियार प्रयोग गरेर मारे। अनि लाश भेरी नदीमा बगाए।

सामाजिक सञ्जालमा भाइरल बनाइएको फेक च्याटको स्क्रिनसट। धेरैले यसलाई सही भन्ठाने। 

नवराज र किशोरीबीच भएको मेसेज भनेर यो एउटा स्क्रिनसटका आधारमा कयौँ युट्युब भिडियो बनेका छन्। यसैको आधारमा किशोरीको पेटमा नवराजको गर्भ रहेको भन्ने समेत हल्ला मच्चियो।  युट्युबरहरुले हुँदै नभएको गर्भ बसाएर जन्मिएपछि हुने डिएनए परीक्षणसमेत आफै गरी बाउको पहिचान गर्न भ्याएर अझ त्यसलाई फाल्न नपाइनेसम्मको लबिङ गरिसकेको बारे अघिल्लो ब्लगमा लेखिसकेको छु। पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ।

दुई बीच प्रेम सम्बन्ध रहेको र किशोरीले बोलाएकै भएर नवराज केटी भगाउन गएको कुरा प्रहरीको अनुसन्धानबाट देखिँदैन। प्रहरीको अनुसन्धानले त घटना हुनु केही अघिदेखि नै दुईको सम्बन्ध बिग्रिसकेको देखाउँछ। सबै मोबाइलहरुको कल डिटेल र एसएमएस डिटेल खोज्दा पनि प्रहरीले किशोरीले बोलाएकै भएर नवराज त्यहाँ गएको प्रमाण फेला पार्न सकेको छैन। बोलाएको भए किशोरीले प्रयोग गर्ने वा गर्न सक्ने मोबाइल नम्बरहरु र नवराजको मोबाइल नम्बरबीच सम्पर्क घटना भएको दिन वा अघिल्लो दिन भेटिन्थ्यो नै।

तर पनि प्रहरी अनुसन्धान प्रतिवेदनले उनीमाथि ज्यान मार्न आपराधिक षड्यन्त्र गरेको दावी गरेको छ। र त्यही अनुसार सजाय पनि माग गरेको छ।

रुकुम जिल्ला अदालत।

नवराजको मोबाइलमा गएको त्यो एसएमएस

उनी माथि लगाइएका गम्भीर अभियोगहरुबारे प्रहरीको बयानमुखी फितलो अनुसन्धानमा कुनै दरिलो प्रमाण छैन। तर एउटा एसएमएस सरकार वादी हुने यो मुद्दामा दरिलो प्रमाण हुनसक्छ जातीय विभेद भएकै हो भन्ने देखाउन।

घटना २०७७ साल जेठ १० गते भएको हो। त्यसको एक महिनाअघि वैशाख ९ गते किशोरीको मोबाइल र नवराजको मोबाइलबीच एसएमएस आदानप्रदान भएको अनुसन्धानले देखाएको छ। एउटा मेसेजमा किशोरीको मोबाइलबाट लेखिएको थियो, ‘ठकुरीसँग कुरा गर्ने डुम, जेठ १२ मा देख्लास्, ड्याडी मम्मीलाई भन्दिन्छु।’

यो मेसेज गर्ने किशोरी नै हुन् कि उनको मोबाइलबाट अरु कसैले गरेको हो भन्ने शंका पनि रहला र त्यसमा उठ्ने प्रश्नको पनि अदालतमा बहस होला। तर प्रहरीले यही एसएमएसलाई उनले नवराजप्रति जातीय भेदभाव गरेको प्रमाणका रुपमा पेश गरेको छ। त्यसैगरी अभियोगपत्रमा आमाले नवराजलाई जातीय भेदभाव हुने गरी गाली गर्दा उनी पनि सँगसँगै थिइन् भनी घाइते पीडितहरुले चिनी सनाखत गरिदिएको अर्को प्रमाण पनि छ।

घटना कसरी भयो भन्ने बारे प्रहरी अनुसन्धानको भर्सन यस्तो खालको देखिन्छ-

-नवराज र किशोरीबीच प्रेम सम्बन्ध थियो। (यो त हामीले दुवै फेसबुकमा एकअर्काको फोटोमा गरेको अन्तरङ्ग कमेन्टहरुबाट पनि देख्न सक्छौँ)

– तर पछि दुई जनाको सम्बन्ध बिग्रिएको थियो। अनुसन्धान अधिकारी समक्षको बयानमा पनि किशोरीले नवराजसँग प्रेम सम्बन्ध थियो तर छाडिसकेको छु भन्ने उल्लेख छ। (हामीले फेसबुकमा हेर्दा पनि दुईबीच पछिल्लो समयको मितिमा कमेन्ट लेखिएको देखिन्न) किशोरीले बयानमा फेसबुकमा ब्लक गरिसकेको पनि बताएकी छिन्।

– किशोरीकी बहिनी नाता पर्ने सुस्माले दिएको बयानले पनि सम्बन्ध बिग्रिसकेको देखाउँछ। उनले   नवराजले समय समयमा आफूलाई फोन गरेर फागुन महिनादेखि किशोरीसित कुरा नभएको, नम्बर चेन्ज गरे कि के हो भनेर सोधेको उल्लेख छ। ‘नवराजले किशोरीका बुवाले मलाई कुटपिट गरी प्रहरीमा पनि बुझाउनु भयो , कुटपिटका कारण मेरो टाउकोमा चोट लागेकोले  कपाल पनि फालेको छु भनेका थिए । लास्टै तनावमा छु राम्रो संग संझाइदिनु नानु भनेका थिए’ भनेर बयान दिएकी छिन्। त्यसैगरी फागुन १० गते किशोरीको घरमा गएको समयमा नवराज र किशोरीबीच फोनमा झगडा भएको सुनेको र ‘किन यसरी फोनमा झगडा गर्छौ, मन छैन भने आ-आफ्नो तरिकाले बाँचे भयो नि भनेर दुबैलाई सम्झाएको थिएँ’ पनि भनेकी छिन्। यसबाट पनि पछिल्लो समय दुईबीच सम्बन्ध बिग्रेको देखिन्छ।

– किशोरीसमेतले चलाउने मोबाइल र नवराजले चलाउने मोबाइल बीच अन्तिम पटक जेठ ५ गते दुई पटक (४९३ सेकेन्ड र ४८ सेकेन्ड) भएको देखिन्छ। त्योभन्दा अघि एकै पटक वैशाख २ मा लामो समय सम्पर्क भएको र बीचमा सम्पर्क भएको देखिन्न।  यो मोबाइल भाइले पनि प्रयोग गर्ने हो कि के हो अभियोगपत्रमा स्पष्ट खुलेको छैन।

-नवराजको जात थाहा पाएपछि जातीय भेदभाव गरी अन्य प्रतिवादीसँग नवरासमेतलाई मार्नेसम्मको षड्यन्त्र समेतको कार्य गरेको अभियोग पत्रमा दावी छ।

यो घटना जातीय विभेदको हैन भनेर विद्वानहरुसमेत जति कुर्लिए पनि आखिरमा घटनाको चुरो कुरो जातमै गएर जोडिएको प्रष्टै छ। तर नवराजको जात थाहा पाएपछि किशोरीले भेदभाव गरेको भन्ने प्रहरी अनुसन्धानको भर्सन हामीले पहिले सुन्दै आएको भन्दा अलि फरक छ।

हामीले सुन्दै आएको समाचारहरुमा त किशोरी पहिले पनि दुई पटक नवराजको घरमा बसेको, नवराजको परिवारले यसरी किन आएको हाम्रो जात मिल्दैन गाह्रो पर्छ भनेर सम्झाउँदा किशोरीले हाम्रो परिवार माओवादी हो, केही फरक पर्दैन भनेको उल्लेख थियो। अर्थात् नवराजको जात किशोरीलाई सुरुमा थाहा होस् वा नहोस्, सम्बन्ध राम्रै हुँदासम्म थाहा भइसकेकै थियो।

एक्कासी के भयो जसले सम्बन्ध बिग्रियो, त्यो रहस्यकै विषय छ।

षड्यन्त्र गरी मारेको देखिनलाई कि उनी घटनास्थलमा उपस्थित भएकोसम्म भए पनि प्रमाण हुनुपर्‍यो, कि उनले नवराजलाई मार्ने षड्यन्त्रका साथ बोलाएको हुनुपर्‍यो। उनले प्रहरीसितको बयानमा नवराज त्यो दिन आफ्नो घरतिर आउँदै गरेको थाहा नै नभएको बताएकी छिन्। लकडाउन खुलेपछि मलाई लिन केटाहरु लिएर आउँछ रे भन्ने चाहिँ बहिनी नाता पर्नेसित नवराजले भनेको र त्यो कुरा आमाले भनेपछि जेठ १/२ गते मात्र थाहा पाएको उनले अनुसन्धान अधिकारीसँगको बयानमा भनेकी छिन्।

त्यसैले षड्यन्त्र गरी मारेको भनी प्रहरी अनुसन्धानले गरेको सजायको मागदावी पूरा हुने हो कि हैन, त्यो अब अदालतले निरुपण गर्नेछ। बुझ्नु पर्ने कुरा के हो भने प्रहरीकोमा भएको बयान र अदालतमा हुने बयान फरक हुन्छ। अदालतमा हुने बयानले धेरै महत्व राख्छ।

तर तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भएमा वा कसूरदार हो भन्ने विश्वास गर्ने मनासिब आधार भएमा मात्रै बालबालिकालाई पुर्पक्षमा राख्ने कानुनी प्रावधान अनुसार किशोरीलाई बाल सुधार गृह पठाइएको छ। तत्काललाई हेर्दा नवराजको मोबाइलमा उनको मोबाइलबाट गएको जातीय विभेद जनाउने मेसेजसमेतकै कारण किशोरी पुर्पक्षमा गएको देखिन्छ।

एउटा कुरा केमा पनि प्रष्ट होउँ भने ६/६ जनाको ज्यान गएको यो जघन्य घटनामा अनुसन्धानको चरण सकिएर अब न्यायिक प्रक्रियामा प्रवेश गरेको छ। अहिले यी किशोरी अभियुक्त भएका छन्। अपराध प्रमाणित भने भइसकेको होइन।

4 comments to किशोरीको मोबाइलबाट नवराजलाई गएको एउटा मेसेज, जसले उनलाई ‘पुर्पक्ष’मा पठायो

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)